कथा : घर

~टीका खरेल सुवेदी~

आज दिन घमाइलो छ । रातभर पानीरुपी वेदनाका आँसु बर्साएर आकाश पनि थाकेको जस्तो छ । मौन भएर मेरै शिरमाथि टाङ्गिएको छ । ठाउँठाउँमा कपासझैं सेता वादलका थुम्काथुम्की विभिन्न आकृति बनाएर एक आपसमा खेलिरहेका छन् । कपासका डल्लाझैं सेता यी बादलहरु आफ्नी आमाको सारीको सप्को भित्र कु कु गर्दै बेलाबेला चियाएर हेर्छन् । यी बादलहरु कोही बेला घामसँग जिस्किँदै घामलाईनै पनि ढाकेर छायाँ बनाइदिन्छन् । ओहो कत्ति चुलबुले , चकचके छन् यिनीहरु ।
कौसीमा गएर यस्तो मनोरम दृश्यमा हराउँदा हराउँदै पनि मेरो आँखा त्यो परको सुनसान झुपडीमा गएर ठोक्किन्छ । गगनचुम्बी महलहरुले भरिएको कङ्क्रिटको यो शहरभित्र पनि हरियो रुख विरुवाले ढाक्न भ्याएको छ त्यो घरलाई । चारैतिर लहराले बेरिएको छ मानौं वर्षौंदेखि त्यो घरले एक्लै बाँच्नुपरेको छ । उसको शरीरमा

उम्रिएका झयाउ लेउलाई उखेल पाखल गरी सिङ्गारपटार गरी नवयौवना नारीझैं बनाउने कोही आएन जस्तो छ । कुपोषणले सताएको वालकझैं त्यो घर वर्षौंदेखि एकै पोको परेर बसेको होला । यो घर कति अभागी रहेछ । बिचरा न त यसले कुनै चार्डपर्वमानै सिङ्गारिने मौका पाउँछ न त बिहाबटुलोमानै ।

यो घरमा जन्मेर हुर्केकाहरु आज देशविदेशमा पुगेर कत्रो ख्याती कमाइसकेका होलान् । डक्टर , इन्जिनियर , पाइलट , कलाकार , सङ्गीतकार आदिआदि भएका होलान् तर बिडम्बना ! यो घरलाई एकपटक पनि हेरेनछन् । आफूआफू मोजमस्तीमा डुबेका होलान् । कसलाई फुर्सद यो बुढो घरको हेरचाह गर्ने । एकले अर्कोलाई खुट्टा तानातान गर्दै अर्काको टाउकोमा चढेर आफू माथि पुग्ने प्रयास गर्दैमा ठिक्क होला । के सुम्सुम्याउथे यो बुढो घर । व्यक्तिगत स्वार्थ्यमा रमाएर सामूहिक हितको भावना विपरीत नाचिरहेका होलान् हैन भने त यो घरले पक्कै पनि जिर्णोद्धार मुख लाएर बाँच्नुपर्ने थिएन होला नि ?

त्यो घरमा एउटी सेतै फुलेकी बृद्ध महिला चाउरीले पोको परेको शरीर लिएर भित्र बाहिर गरेको देखिन्छ । अँ साँच्ची त्यो बुढी मात्र किन त्यो घरमा एक्लै बसेकी होला – उसलाई कसले हेरचाह गर्दै होला ? बिरामी परेर थला परेको बेला कसले खान दिँदो होला ? मेरो मनमा एक तमासले त्यो बुढीप्रति सहानुभूति पलाएर आउँछ । बिचरी ! डाँडापारिको घाम भएर पनि एक्लै बस्नु परेको छ उसले । विधिको विधाननै यस्तो भनौं कि के भनौं उसका सन्तानहरु आज किन आफ्नी आमालाई एक्लो बनाएर आ-आफ्नो संसारमा रमाएका होलान् । के सन्तानको कर्तब्य पूरा गर्नुपर्दैन तिनीहरुले ? अनि त्यो बृद्ध महिलाको लोग्ने पनि त होला नि ? उसको लोग्ने पक्षघातले हिँडडुल गर्न नसक्ने अवस्थामा भएर पो त्यो बृद्ध महिला एक्लै लुरुबुरु गर्दै बाहिर भित्र गरेको होला कि ? कि त उसको लोग्ने सन्तान जन्माइसकेपछि संसारबाट बिदा भएर त्यो बृद्धलाई उमेरमै बिधवा बनाएको पो हो कि मेरो मन त्यसै त्यसै त्यो बृद्ध महिला अनि त्यो निलकाँडाको पर्खाल बनेको घरप्रति एक तमासले तानिइरहेको छ ।

फटाफट ओर्लिएँ । तल बैठक कोठामा माइजु बसिरहनुभएको रहेछ हिन्दी सिरियलहरु हेरेर । मलाई त्यो बृद्धको बारेमा जान्ने इच्छा जागेर आएको थियो । त्यसैले मैले माइजुलाई सिरियलमा विज्ञापन आउनासाथ सोधें । माइजु ” त्यो परतिरको लहराले जेलिएको घरमा बस्ने बृद्ध महिला किन एक्लै बस्नुहुन्छ ? उसका घरमा अरु कोही छैनन् कि क्या हो माइजु ? ” भन्दै प्रसङ्ग उठाएँ तर माइजुले खिल्ली उडाएझैं हाँस्दै भन्नुभयो :-”गाउँकी भाञ्जी न पर्‍यौ । तिमीलाई यो शहरको बारेमा केही थाहा रहेनछ । यहाँ त एउटै घरमा बस्नेको बारेमा पनि केही थाहा हुँदैन । यहाँ कसैले कसैलाई चिन्दैन । वल्लोपल्लो घरमा मान्छे मर्यो भने पनि कसैलाई मतलब हुन्न । सब आआफ्नो काममा व्यस्त कसैले कसैलाई हेर्ने फुर्सद छैन यहाँ भाञ्जी । यहाँ त अर्काको बारेमा सोच्नेलाई पागल बनाइन्छ । व्यक्तिगत स्वार्थ्य भन्दा बाहिर जानेलाई त बेबकुफनै भनिन्छ ” भन्दै मलाई त मेरी आफ्नै माइजुले पागलको संज्ञा दिनुभयो । अनि खित्का छोडेर हाँस्दै हिन्दी सिरियलको कहानीमा रमाउन थाल्नुभयो । म भने मेरी माइजुको अनपेक्षित कुरा सुनेर ट्वाल्ल परेँ ।

अनि म जुरुक्क उठेर भान्सामा गएर दिउँसोको लागि चिया-खाजा तयार गर्न थालेँ । म आएदेखि माइजुले पनि भान्साको कामबाट मुक्ति पाउनु भएको छ । उहाँलाई हिन्दी सिरियलहरु दोहोर्याइ तेहर्याइ हर्ेर्ने मौका मिलेको छ । म ग्याँस स्टोभमा चिया बसाल्छु तर मेरो मन भने यो शहरीयाहरुको कुरा सुनेर भरङ्ग भएको छ । ओहो कस्तो निर्दयी शहर किन स्वार्थी दृष्टिकोणको घेरामा खुम्चिएर बसेका होलान् यहाँका टाठाबाठा भनाउँदाहरु । के साँच्चै यो शहरका सबै मान्छेहरुको सोचाइ मेरी माइजुले भनेजस्तै विकार ग्रस्त र रोगीनै छ त ? मलाई मेरो सुन्दर गाउँलाई मानवतामानै धमिरो लागेको यो कुरुप शहरसँग तुलना गरेर हेर्ने इच्छा त किन हुन्थ्यो ? तर पनि म मेरो गाउँको मीठो स्मरणमा हराउन पुगेछु । ओहो मेरो गाउँ त साँच्चै भगवानको वासस्थान भएको ठाउँ रहेछ । त्यहाँ त को आफ्नो को पराइ भन्ने भावनानै कसैमा छैन । सबजना सामूहिक हितको लागिनै खट्छन् । अर्काको दुःखलाई आफ्नै दुःख ठान्छन् । कसैले आजसम्म एक्लो भएर बाँच्नु परेको छैन । खानाको अभावमा भोकभोकै मर्नु पर्दैन त्यहाँ । पैसा प्रशस्त चलाउन नपाए पनि पैसाको अभावमा कसैलाई कालले पनि लान सकेको छैन ।

ल चिया त उम्लिवरि सुक्न लागेछ भन्दै माइजु भान्सामा चिया खान ढिलो भयो भन्दै पस्दा त मेरो गाउँ बारेका स्मरणहरु एकाएक भत्किन पुग्छ । अनि म हत्त न पत्त ग्याँस निभाएर माइजुको लागि चिया कपमा राखिदिन्छु । उहाँ चियाको सुर्पोसँगै फेरि सिरियलहरुमानै रमाउन जानुहुन्छ । म भने हतार हतार गरेर खाजा बनाउँछु । दिउँसोको खाजा खाइसकेपछि म माइजुलाई अन्त कतै एकछिन घुमेर आउँछु भन्दै बाहिर निस्कन्छु ।

मेरो खुट्टा सरासर त्यो बृद्ध महिलाको झुपडीतिर लम्किन्छ । म एक मिनेटमै उनको त्यो मलिन अनुहारको अगाडि उभिन्छु । नमस्कार गर्छु । मलाई देखेर ती बृद्ध महिला अचम्म मान्दै च्रि्राले ढाँकेका आँखा मिच्दै नियाली नियाली हेर्छिन् । नानी मैले त तिमीलाई चिन्न सकिन भन है बाबु तिमी को हौ ? भन्दै बस्नको लागि भनेर एउटा मैलो तन्ना काठको खाटमाथि ओछ्याइ दिन्छन् । म पनि आज्ञाकारी हुँदै उनको खाटमा बस्छु । अनि उहाँ कुराकानी गर्न घाँटी सफा गर्नुहुन्छ । अनि मैले भन्छु “हजुरआमा मेरो घर गाउँमा हो । म यहाँ मामाको घरमा पढ्नलाई भनेर आएकी हुँ । तर हजुर एक्लै यो घर भित्र बाहिर गरेको देखेर भेट्न मन लागेर आएकी । “मेरो कुरा सुनेपछि ती बृद्धका आँखा त्यसै रसाएर आउँछन् । एकछिन त बोल्न सक्दिनन् । एकछिनपछि आँखा पुछ्दै भन्न थालिन् ” नानी म अभागिनी आइमाइ हुँ । आज २० वर्षभयो यो घरमा तिमीदेखि बाहेक कसैले पाइलो नटेकेको । तिमीलाई त मैले मेरै कान्छी छोरी जस्तै देखेँ । ऊ आजभन्दा २२ वर्षअघिनै यो संसारबाट बिदा भएर गई । ऊ यो देशको लागि लड्दालड्दै शहीद भई म अभागिनीलाई एक्लै बनाई । ” भन्दै सुँक्कसुँक्क गर्न थालिन् । बिचरीको दुःख पोख्ने कोही रहेनछ मलाई भेट्नासाथ मैले सोध्ननै नपाई एकएक गरेर आफ्ना पीडाहरु पोख्दै गइन् । बेलाबेला म हजुरआमा पीर नगर्नुस् , नरुनुस् भन्दै उनको भत्भत् पोलेको पीडालाई शीत्तलता प्रदान गर्न चाहन्थे ।

हुन त उनको पीडा सुनेर मेरो गलानै अबरुद्ध भएको थियो । म पनि उनीसँगै सुँक्कसुँक्क गर्न थालेछु । बिचरी म रोएको देखेर आफ्नै हजुरआमाले जस्तै पीडालाई सकेसम्म दबाएर पछ्यौराले आँसु पुछ्दै मन बुझाउँदै बेलाबेला हिक्कहिक्क गर्दै कहानी बताउनुभयो । यो कुनै फिल्मको कहानी थिएन । उनको वास्तविक जीवन भोगाइको कहानी थियो ।

उनी भन्दै गइन् ” नानी मेरो ७ वर्षो उमेरमा बिहे भएको । २३ वर्षो उमेरमा ५जना छोराछोरीलाई जन्म दिएर मेरा स्वामी विफरले परलोक हुनुभयो । मैले ती पाँचैजना छोराछोरीलाई खाइनखाई हुर्काएँ , पढाएँ । हुन त मेरा ४ जना छोरा कोही डक्टर भए , कोही इञ्जिनियर , कोही पाइलट , कोही देश चलाउने नेता भन्दै एकाएक अनुहारमा एक प्रकारको चमक देखा पार्छिन् । बच्चा बेलामा त खूब माया गर्थे मोराहरु हुर्कदै गएपछि पो मेरो वास्ता गर्न छोडे । आआफ्नो पखेटा लागेपछि त यो घरलाईनै माया मारेर अन्तै कतै देश-विदेशमा राम्रो गुँड लाएर बसेका छन् रे । मलाई कहिल्यै भेट्न पनि आउँदैनन् । बालखैमा टुहुरा बनेका भनेर आफू भने उनीहरुको भविश्य सपार्न अनेक दुःख कष्ट झेलेर पढाएँ , बढाएँ । तर आज मेरो यो हविगत हुँदा यसो फोन गरेर आमासम्म भन्दैनन् । अब त उनीहरुलाई मलाई कसैले भेटेर आएको भन्यो भने पनि लाज लाग्न थालेको छ रे । मेरो कुरा गर्नासाथ कुरा अर्कैतिर मोड्छन् रे नानी भन्दै फेरि भक्कानिएर रुन थाल्छिन् ।

एकछिनपछि पछि फेरि दुबै आँखा पुछ्दै फिस्स हाँस्छिन् । उनको त्यो चाउरी परेको गाला पूणिर्माको जूनझैं चम्किन्छ । आँखामा एकप्रकारको टहक देखापर्छ । अँ नानी मैले मेरी कान्छी छोरीको बारेमा त कुरानै गरेकी छैन । उसले त मलाई मेरा चारैजना छोराहरुले छोडेर गएपनि मेरो यो मनलाई नियास्रो लाग्न दिएकी छैन । ऊ देशका लागि मरेर गएकी हो नि नानी । हैन हैन ऊ मरेकी कहाँ हो र ! ऊ त देशका लागि आहुति भएकी नि । उसले त आफूलाई युगौंयुग अमर राख्छे । कत्ति भाग्यमानी मेरी छोरी । आज उसको नाम लिँदैमा सब धन्य हुन्छन् । २०४६ सालको आन्दोलनमानै उसले आफूलाई शहीद बनाएर देशमा प्रजातन्त्र ल्याएरनै छाडी । फेरि उनको अनुहार मलिन भएर आउँछ के गर्नु नानी यो देशमा मेरी छोरी जस्तै हजारौं जनता बलिदानी भएका छन् प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्रका लागि । कत्तिले जिउँदो शहीद हुनुपरेको छ । तर खोइ त यहाँ शहीदको सपना साकार भएको ? खोइ त नेपालआमाको पुछिएको सिन्दुर हराभरा भएको अनि खोसिएको काखमा शान्तिको दियो बलेको ? सबजना आफूआफू माथि जान मात्र खोज्छन् । अर्काको टाउको चढेरै भएपनि खुट्टा तानेरै भएपनि आफू ठूलो हुन मात्र खोज्छन् भन्दै खुइय्य लामो सास तान्छिन् ।

म पनि उनको कुरो सुनेर यो देशका नेता भनाउँदाप्रति आक्रोशित हुनपुग्छु । किन आज यी नेताहरुले जातीय र भौगोलिक विद्वेसका कारण देशलाई फोहोरी खाडलमा धकेलिरहेका छन् । किन नेपालआमाका सन्तानको सपना साकार पार्न एकजुट हुँदैनन् ? हे ! र्सवशक्ति सम्पन्न नेताहरु हो तिमीहरुको देश र जनताप्रतिको हितलाई मात्र अर्जुनदृष्टि कहिले हुन्छ ? व्यक्तिगत स्वार्थ्यमा नभुल नत्र शहीदहरुको अमर आत्माले धिक्कार्नेछ तिमीहरुलाई ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.