१६ , १७ वर्षो कलकलाउँदो उमेर गाउँमा जसोतसो १० कक्षामा पढ्दै गरेको किशोर शहर पस्न वाध्य हुन्छ । उसलाई पनि आफ्ना साथीभाई जस्तै राम्रो शिक्षा लिएर असल नागरिकको परिचय दिने रहर त नभएको कहाँ हो र ! भाग्यको खेल भनौं या नियतिको ! उसको बाबुको ५ वर्षभयो आजसम्म अत्तोपत्तो छैन । हुनत बाबु घरमै हुँदा पनि उसले चाल पाउँदादेखिनै दिनरात आमासँगको झगडा उसले देखेको थियो । नहुनु भन्दा कानो मामानै बेस भनेझैं जँड्याहानै भएपनि उसलाई आफ्नो बाबुको ठूलो भरोसा थियो । घरमा खानलाई भनेर उसकी आमाले जोहो गरेर राखेको अन्नपात बेचेरै भएपनि किशोरलाई उसको बाबुले फिल्म हेराउन लगेको अनि मीठाइ पसलमा लगेर मीठाइ किनीदिएर घर पठाएको याद अझै उसँग ताजै छ ।
बेलुकी खुट्टा लर्वराउँदै आएर आमालाई लात हान्न कस्सिएको बुबाको कमिज तान्दै हात जोडेर त्यसो नगर्न अनुनय गरेको पनि कहाँ बिर्सेको छ र किशोरले । हुनत हजुरबुबाले अंश दिएर छुट्टाउँदा उनीहरुको भागमा ३-४ बिघा तराइको राम्रो उब्जनी हुने जमिन परेको थियो तर कुलतमा फसेको व्यभिचारी बाबुको दिनरातको जुवातास खेल्नुपर्ने , बेलाबेलामा केटीहरुलाई घुमाउनु लानुपर्ने भएकोले गर्दा सबै घरको रेखदेख वालबच्चा हुर्काउनु सबै जिम्मा किशोरकी आमाको काँधमा थियो । त्यत्ति मात्र नभएर लोग्नेको भकुराइ पनि बेलाबेलामा खानुपर्ने । यी सबै बाबुको चर्तिकला टोलाएर हेर्नु सिवाय किशोर केहीगर्न सक्दैनथ्यो । यस्तो पारिवारीक वातावरणमा १० कक्षासम्म जसोतसो पुग्न मात्र पुगेको थियो । उसको बाबुले बन्धक राखेको डेढ बिघा जमिन पनि साहूले खोसेपछि उसको परिवार सुकुम्वासीनै भयो । उसकी आमाले साहूसँग १० कठ्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती गरी वालबच्चा हुर्काउने निधो गरी वर्षको ५० हजार तिर्ने शर्तमा लिन्छे । हुनु हार दैव नटार भनेझैं उसको तरकारी खेती चैतको असिनाले स्वाहा भयो । उसकी आमा पनि अनेकौं तनावले ग्रस्त छे । बेलाबेला मुर्छित भई बर्बराउँछे । उसको यो अवस्था दिनप्रतिदिन बढ्दै छ । यहाँसम्म कि ऊ धेरैजसो कुरा अचेतभै बोलिरहेकी हुन्छे । डक्टरकोमा देखाउन लाने हविगतनै छैन उनीहरुको । ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ भनेझैं पहिला घरव्यवहार राम्रो हुँदा सम्मानजनक व्यबहार गर्ने आफन्तहरु आमाको उपचार गर्नुपर्यो भनी ऋण माग्न जाँदा उल्टै तथानाम गाली गरेर फर्काउँछन् । आफन्त र इष्टमित्रको व्यवहारबाट आजित भएपछि किशोरको मनमा ठूलो परिवर्तन आउँछ । उसले अब आफ्नो पढाइलाई यहीँ बिट मार्नुपर्ने देख्छ । अहिले उसको काँधमा सम्पूर्ण जिम्मेवारी आएको छ ।
अब उसको कलिलो दिमागले संसारमा सबैभन्दा ठूलो पैसा रहेछ भन्ने ठान्छ । पैसा भयो भने इष्टमित्र आफन्त सब नजिक हुने रहेछन् भन्नेकुरो पनि महसूस गर्छ । त्यसैले ऊ पैसा कसरी कमाउने र आफ्नी आमाको उपचार गर्ने भन्नेतर्फमात्र सोचिरहन्छ । ऊ आमालाई उपचार गराउन नसकी मृत्युवरण गरेको हेर्न चाहँदैन । ऊ चिच्याउँछ मेरी आमा……………आमा तिमी धन्दा नमान म तिम्रो लागि जे गर्न पनि तयार छु । भाई-बहिनीलाई असल शिक्षा दिने अनि त्यो दयानन्द साहूको ऋण तिर्ने पैसा म कमाउँछु । आमा तिम्रो तनावले चहराइरहेको घाउमा मलम लगाउने काम मेरो भयो आमा भन्दै मस्त निन्द्रामा सुतिरहेकी आमाको दुबै पाउ समाएर घोप्टो परेर केहीबेर रुन्छ । सबैजना एउटै कोठाको भुइँमा लम्पसार परेर सुतिरहेका हुन्छन् । तर किशोरलाई भने निन्द्रा पटक्कै लाग्दैन । रातको ३ बजेको हुन्छ । उसलाई के गरौं कसो गरौं हुन्छ । बाहिर निस्कन्छ , भित्र पस्छ । अनि उसकी आमाले पूजागर्ने ठाउँमा जान्छ र दुबै हात जोडेर आँखा चिम्लिएर भन्छ ” हे इश्वर ! , मेरी आमा र मेरा भाईबहिनीहरु हजुरको जिम्मा लगाएर म पैसा कमाउन जाँदैछु । मेरो परिवारको रक्षा गर प्रभु ! म फर्केर नआउन्जेल सब हजुरकै जिम्मा ” भन्दै एकपटक शिर झुकाएर ढोक्छ । उसलाई केही बोझ बिसाएझैं मन हलुङ्गो हुन्छ ताकी उसको पुकार सुनेर इश्वरले हुन्छ भनी टाउको हल्लाए । एउटा कपडाको झोलामा उसले आफ्नो किताब बेचेर राखेको ५०० रुपियाँ हुन्छ । त्यसलाई रुमालले बेरेर झोलामा लुकाउँछ । उक्त पैसाले शहरमा काम नपाउञ्जेल आधापेट भएपनि खानुपर्ने हुन्छ । एकदुइ जोर लुगा पनि त्यही झोलामा राख्छ । अनि बिहानको ४ बजेको हुँदो हो घरबाट निस्कन्छ । टहटह जून लागेको हुन्छ । बाटोमा रहेका वयरका पोथ्रापोथ्री बिरुवाहरुले उसलाई गाउँ नछोड भनेर बाटो छेकेझैं लाग्छ । आँप-कटहर लटरम्म फुलेका छन् जसलेगर्दा सुगन्धित वास्ना छरिरहेका हुन्छन् । त्यो मीठो वास्नाले पनि उसलाई आफूतिर आकषिर्त पारी गाउँमै बस्न भनेझैं लाग्छ । पाइला रोकाउँछ , एकपटक पछाडि फर्केर हेर्छ । केराको पातले उसलाई हात हल्लाएर बिदा दिएको अनुभूति हुन्छ । अनि आफ्नो पैसा कमाउने उद्देश्यलाई मीठो कल्पनाको तानाबुनाले बुन्दै बाटो लाग्छ फटाफट । बसबाट जाने पैसा हुँदैन । त्यसैले ऊ हिँडेरै दुइदिन पछि शहर पुग्छ । शहरको निस्सासिने वातावरणमा त्यो स्वच्छ सफा गाउँमा हुर्केबढेको ठिटो उकुसमुकुस हुन्छ । अब कहाँ जाने काम कसले देला ? कहाँ बस्ने होला ? भन्ने चिन्ताले ऊ त्यसै-त्यसै डराउँछ । घरबाट हिँड्दा उसलाई शहरमा के के न पाइएला भन्ने लागेको थियो । तर शहर पुगेपछि भने उसलाई शहरको वातावरणलेनै अत्यास बनाउँछ । ऊ कामको खोजीमा होटल-होटल चाहार्छ । भाँडा माझ्ने काममा पनि उसलाई कसैले पत्याउँदैन किनकी ऊ हेर्दा भाँडा माझ्ने खालको जस्तो देखिँदैन । ठूलै परिवारको मान्छेजस्तो लाग्छ । उसले कुनै काम जानेको पनि हुँदैन । पढ्न पनि एस.एल.सी. पनि गरेको छैन । त्यसैले काम पाउन पनि सक्दैन । शहर पसेको पनि १५ दिन भैसकेछ । तर उसलाई आजसम्म कसैले कुनै काममा लिँदैनन् । ऊ छटपटिन्छ । अब के गरुँ ? कसरी हातमुख जोड्ने ? सुत्न त एउटा मन्दिरको पेटी भेट्टाएको छ । उसले त्यहीँ रात बिताउँछ । शहरको दुर्गन्धित वातावरण , खानु न पिउनु ? पिउने पानी पनि पाउँदैन । उसको खल्ती रित्तो छ । एक मनले घर फर्किउँकि जस्तो लाग्छ । फेरि उसका आँखा अगाडि बेहोस आमा बर्बराउँदै पल्टिरहेको दृष्य नाच्न थाल्छ अनि ५० हजार तिर्नुपर्ने ऋण कसरी चुक्ता गर्ने ? भाईबहिनीलाई आफूले पढ्न नपाएपनि सरकारी विद्यालयबाटनै भएपनि पढाउने उसको अठोट खोइ कसरी पूरा गर्ने त ? यस्ता-यस्ता तर्कनाहरुले उसको दिमाग नाचिरहेको हुन्छ । अहँ म कुनै हालतमा पनि पैसा नकमाइ घर र्फकनु हुन्न । मैले मेरी आमाको उपचार जसरी पनि गर्नुपर्छ , नत्र मेरो जीवनलाई धिक्कार छ भन्ने सोचेर ऊ फेरि दैनिकीझैं काम खोज्न निस्कन्छ । दुर्भाग्यनै भनौं आज पनि उसले कहीँ काम पाउँदैन । बाटोमा खान नपाउनेहरु पेट मिचिमिची आँखाभरी च्रि्रा लिएर भीख मागिरहेछन् । कोही भने झिङ्गा चिप्लिने कारमा भुवादार कुकुर च्यापेर दौडीरहेछन् । उसले सोच्छ मान्छे भन्दा त बरु कुकुरले इज्जत पाउँदो रहेछ , यो शहरमा त । खोइ मान्छेलाई खान पाउने अधिकार – किन भगवानले पनि मान्छे पनि धनी र गरिब बनाएको होला ? सबै समान किन नबनाएको होला ? भन्दै ऊ अघि बढ्छ ।
उसको मनमा धनीप्रति नकारात्मक बिचार पलाएर आउँछ । अनि यस्ता मान्छेको त पैसा लुट्दा पनि पाप लाग्दैन किनकी त्यो पैसालाई सही सदुपयोग गरेको खण्डमा त भगवान पनि खुशि होलान् नि भन्ने सोचेर पाकेट मार्न तर्फउसको अचेतन मन तम्सन्छ अनि त्यो दिन उसले कुन बाटोमा बस्दा अनुकुल होला भनेर मात्र सोचेर बिताउँछ । उसको चेतन मनले त्यसो नगर भन्छ तर आफ्नो अगाडि आइपरेका चुनौतीहरुले उसको चेतनमनलाई जितेर अचेतन मनले ठाउँ ओगट्छ । ऊ पाकेटमार बन्ने निधो गर्छ । तर पहिलो प्रयासमानै ऊ समातिन्छ । उसलाई मान्छेहरुले पिट्छन् , थुक्छन् , तथानाम गाली गर्छन् । ऊ भने केही बोल्दैन । मान्छेको भीड थपिँदै जान्छ । कसैकसैले छोडिदेऊ बदमासलाई पनि भन्छन् । ऊ भने मरेको बिरालो जस्तै लत्र्याकलुत्रुक हुन्छ । हजुर अबदेखि यस्तो काम गर्दिन , मलाई माफ गरिदिनुस् भन्छ । मैले रहरले यस्तो काम गरेको होइन हजुर मेरी आमा. . . . .भन्दै भक्कानिन्छ । तर भीडबाटनै एउटाले उसकी आमालाई अस्लिल शब्द प्रयोग गरेर गाली गर्छ । उस्को त्यो गालीले किशोरलाई यत्ति कठोर बनाउँछ कि ऊ अब मान्छेनै होइन कुनै हिँस्रक जनावर हो । उसले त्यहाँ भीडमा जम्मा भएका सब मान्छेलाई पन्छाउँछ अनि उसकी आमालाई अपशब्द प्रयोग गर्नेतर्फ जाइलाग्छ । तेरो मेरीआमाले के बिगार गरेकी छन् र त्यस्तो फोहोरी कुरामा गाली गर्छस् भन्दै च्याप्प घाँटीमा अठ्याउँछ । उसको हात चारजनाले पनि छुटाउन सक्दैनन् । अन्त्यमा त्यो मान्छे खत्तम हुन्छ । यत्तिक्कैमा प्रहरीको भ्यान आइपुग्छ उसलाई हत्कडी लगाउँछन् र भ्यानमा राखेर लैजान्छन् ।