कथा : बुद्ध हुन नसकेको वृद्ध

~हरिकृष्ण डंगोल~

टिनीनीनी….टिनीनीनी…..।

टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ तल ओर्लियो ।

आशामरुले घरकोे संघारमा पाइला टेक्दा बिहानको साँढे पाँच बजेको थियो । यो कुरा ऊ घडी नहेरिकन नै भन्न सक्थ्यो । यो कुरामा उसलाई पुरापुर विश्वास छ । तर पनि एकपटक नाडी घडीमा आँखा नपु¥याई उ बस्न सकेन । उसले नाडी घडीमा आँखा पु¥यायो । घडीमा घण्टाको सुइ पाँचमा र मिनेटको सुइ छबाट अलिकति माथि पुगिसकेको थियो । आ…..! ब्याट्रीले चल्ने घडी न हो ! अलि अलि त फरक भइहाल्छ नि ! आफुलाई सान्त्वना दिन खोज्दै उसले मनमनै भन्यो ।

चालीस वर्ष अघिसम्म पनि आशामरुलाई घडीको आवश्यकता थिएन । भालेवासेपछि नै उसलाई विछ्यौनाबाट उठ्नु पर्ने वोध भइसकेको हुन्थ्यो । तापनि कहिलेकाहीं उ कसैको तात्तातो स्पर्शमा आफुलाई भुल्दै बिछ्यौनामा अल्मलिरहन्थ्यो । तर केहीबेरपछि नै जब घण्टाघरले पनि टाङ्ग…टिङ्ग…टुङ्ग..टाङ्ग..​.र टाङ्ग….टाङ्ग..को आवाज दिन थाल्थ्यो तब झस्किंदै उ हड्बडाएर ओछ्यानबाट बाहिर आउँथ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक मस्त निदाइरहेकी आफ्नी श्रीमतिलाई हेथ्र्यो । र त्यसपछि उ आफ्नो नित्यकर्म तर्फ लाग्थ्यो ।

चालीस वर्ष अघिदेखि आशामरुमा यो बानि थियो । अझै पनि यो कायमै छ । यत्ति हो, अलमलिने बहानाको लागि अब बिछ्यौनामा तात्तातो स्पर्श बांकी थिएन । राम नाम सत्य हो भन्दै उसकी श्रीमती राममायाले उसलाई दशवर्ष अघि नै छोडेर गइसकेकी थिई । तर जे जस्तै भएपनि अहिलेसम्म पनि उ विउँझे पछिको केही समय विछ्यौनामा नै बिताउने गथ्र्यो । शवासन, आनापानी जे भने पनि बिछ्यौनामा पल्टिरहने बहाना अझै उसमा बाँकी थियो ।

आश्विन महिनाको उतरार्धको समय हो यो । बाहिर झिसमिसे उज्यालो थियो । बीस, पचीस पाइलाको फरकमा विद्युतका पोलहरुमा सडक बत्ती बलिरहेका थिए । सडक प्रष्टै देखिन्थ्यो । अब केही बेरमा नै सूर्य पनि उदाउनेछ – उसले बिचार ग¥यो । र उसले आफ्नो घर अगाडिको पोलमा बलिरहेको एक हजार वाटको बिजुलीको स्वीच अफ गरिदियो ।

स्वीच आशामरु कै घरमा राखिएकोले स्वीच अफ गर्न उसलाई धेरै सजिलो थियो । हुनत यो स्वीच पनि आशामरु आफैले भनेर राख्न लगाएको थियो ।

उसलाई अझै सम्झना छः, त्यो दुई हजार चवन्न सालतिरको कुरो थियो । त्यतिखेर तिहारको रमझम आउनै लागेको थियो । र टोलका युवाहरु यसपालिको तिहारमा झिलिमिलि बत्ति बालेर रमाइलो गर्नु पर्छ भन्दै हौंसिएका थिए । युवाहरुको होस्टेमा उसले पनि हैंस्टे गरेका थिए । र यसै क्रममा उसले त्यो पोलको बत्तिको एउटा स्वीच आफ्नो घरमा पनि राख्न लगाएको थियो । त्यतिखेरको उसको चाहना भनेको बेलुकि समयमै बत्ति बाल्न पाइयोस् भन्ने मात्र थियो । किनभने कहिलेकाहीं अँध्यारो भइसक्दा पनि सडकका बत्तिहरु बलेका हुँदैनथे । घर, घरबाट आउने मद्धिम प्रकाशले टोलको सडकमा पर्याप्त उज्यालो फैलिंदैनथे । र भित्र पट्टिको यो खाल्डाखुल्डी सडकमा कहिले को, कहिले को जोल्टिएर लड्न पुग्थे ।

स्वीच राखे पछि आशामरु आफैले बत्ति बाल्ने गर्दथ्यो । घर अगाडिको पोलको बत्ति बलेपछि अरुतिरका बत्तिहरु पनि बल्दै जान्थे । र सडक बत्तिले टोल उज्यालो हुन पुग्थ्यो । यसपछाडि यहाँ एकाधपटक जँड्याहा, रोगी बाहेक अरु कसैले अँध्यारोमा जोल्टेर लड्नु परेको थिएन ।

चोकमा पुगेपछि आशामरुले एकचोटि नवनिर्मित कलात्मक पाटीमा हे¥यो । दायाँ बायाँ सटरसहितको त्यो एकतल्ले भवनको वीचमा नृत्यनाथको मन्दिर थियो । जो अब पाटी कम व्यापारिक भवन बढी देखिन्थ्यो । बायाँ साइडतिरको पसल कवलमा उहिले बेलुकितिर भजन गर्ने गथ्र्यो भने दायां साइडकोमा नेपाल मैत्री अध्ययन मण्डल नामक पुस्तकालय थियो । बीचमा नृत्यनाथको मन्दिर जस्ताको तस्तै थियो । स्थानीय नेवार समुदायका व्यतिmहरुको लागि त्यो नृत्यनाथ मन्दिर निक्कै महत्वको थियो । चाडवाड र बाजा सिकाउँदा त्यो नृत्यनाथ मन्दिरमा उनीहरुले पुजा अर्चना गर्थेे । त्यहाँका स्थानीय वासिन्दाको संस्कृतिप्रति अगाध आस्था भएकोले त्यो मन्दिर पहिले भन्दा पनि अहिले बढी सजिएको थियो । त्यसकै अगाडि खुल्ला ठाउँमा एउटा दूध पसल पनि थियो । दूध पसल नजिक पुगेपछि आशामरुले सदाझैं आजपनि दूध माग्यो – डि.डि.सी. दुई पोका दिनुस् ।

– डि.डि.सी. सक्यो, अरु भए लानुस् ।

डि.डि.सि.को दुध बाहेक अरु दुध उसलाई मन पर्दैनथ्यो । फेरि अरु कम्पनिको दुध लिन उसलाई यहाँसम्म आइरहनु पनि आवश्यक थिएन । उसलाई एक्कासी झोंक चल्यो र भन्यो ।

– जत्तिखेर आए नि सक्यो भन्ने पनि हुन्छ ?

– मैले खाएकी होइन, रिसाएर पाइने होइन । साउनी पनि कमकी थिइन र च्याठिंदै बोली ।

बिहान देखि कसैसंग रिसाएर दिनभरी भारी मन लिएर बस्ने आशामरुको इच्छा थिएन । यसैले केही नबोली उ फर्किनै लागेको थियो ? साउनीले फेरि आशामरुलाई जिस्काउन खोजे झैं भनी – डि.डि.सी. नै चाहिने भए उ…त्यो पसल, उ…त्यो पसलमा छ ?

अब भने आशामरुको दिमागले काम गर्न छोड्यो र रन्थनिंदै बोल्न पुग्यो – तैंले देखाउनु पर्छ यहाँ यहाँ छ भनेर… । यहाँ जत्ति पनि कोल्ड स्टोर, किराना, चिया पसल छन् ती सबैमा दुध पाइन्छन् । जुन तैंले नै दिएका हुन् ।

किराना पसलमा लिनु भनेको एक रुपियाँ बढी तिर्नु थियो । जुन आशामरुलाई कदापि सह्य थिएन ।

– हो… हो… रिसाएर पाइंदैन, चिढिएर पाइँंदैन । दुध डिपोकी साउनीले लयात्मक पाराले जिस्काइरहेको आशामरुलाई पटक्कै मन परेको थिएन । आशामरु दुध साहुनी भन्दा जेठो थियो । अझ दुध साहुनी आशामरु भन्दा निक्कै कम उमेरकी थिई ।

तरुनी साहुनीको जिस्काइले आशामरुको मन रोयो । के कस्ता दिनहरु देख्न परिरहेका ? आशामरुले मनमनै कुरा खेलायो । जिन्दगीमा यस्ता दिनहरु पनि देख्नु पर्ला भनेर साठी वर्षे आशामरुले कहिले सोचेका थिएनन् । सोच्नु पर्ने जरुरत पनि उसलाई थिएन । उहिले बोटलको दुध घरघरसम्म पु¥याइदिन्थ्यो । वृद्धवृद्धालाई आदर र श्रद्धा गर्थे । तर अहिले मानिसमा श्रद्धा, माया, आदर भन्ने कुरा केही बांकी थिएन । आफै खाउँ, आफै लाउँ र आफै मोजमस्ती सयल गरुँ भन्ने चाहनामा मानिस अब हिंसक पशुमा रुपान्तरित हुँदै गएको दृष्य आशामरुले पटक पटक देखिसकेका थिए । भोगिसकेका थिएन । र यसरी ढल्दो उमेरसंगै देखिंदै गएका र देख्न परेका यी र यस्ता घटनाहरुले बूढो आशामरुलाई आफ्ना जिन्दगी देखि कहिलेकाहीं बिरक्त लाग्ने गथ्र्यो । यस्तोबेला आशामरु टाउको माथिको खुला क्षितिजलाई हेर्दै मनमनै कुरा खेलाउँथ्यो – म पनि राममाया कहाँ जान पाए हुन्थ्यो नि !

तर न त राममायाले आशामरुलाई लिन आउन सक्थी । न त आशामरु नै चाँडै बित्ला भन्ने कल्पना गर्न सकिन्थ्यो । उमेरले खाए पनि शरीरले अझैसम्म आशामरु तगडै थियो । सवेरै सवेरैको पदयात्रा तथा कामप्रतिको उसको निष्ठाले आशामरुलाई अझै कुनै रोगव्याधीले समाएको थिएन ।

आशामरु बिहान सखारै स्वयम्भू जान्थ्यो । त्यहाँबाट फर्केर नातीलाई स्कूलको बस स्टपसम्म पु¥याउंथ्यो । घरको सरसफाइ गर्थे । छोरा, बुहारी दुबै अफिस जाने भएकाले तिनीहरुलाई सक्दो घरधन्दाको काममा सघाउंथे । घरको साना–तिना काम सकेपछि उ आफ्ना पुराना मित्रहरुलाई भेट्न घर घर जान्थ्यो । र फेरि साँझको चार बजेतिर नातीलाई बस स्टपमा लिन जान्थ्यो । र नातीलाई चिया, पाउरोटी, बिस्कुट आदि आफै बनाएर ख्वाउँथे ।

– ऐ ! आशामरु दाई ! किन बाटोमा टोलाएर बसिरा’को ? स्वयम्भु जाने होइन ? जाउँ… ।

कसैको स्वर र स्पर्शले आशामरु कुनै दुस्वप्नबाट बिउँझे झैं झल्यास्स भयो । र अगाडिको मानिसलाई हे¥यो । उ कोही नभएर आशामरुकै स्वयम्भूसम्मको प्रभातकालिन यात्राका सहयात्री चिनीकाजी थियो ।

– हो… हो… जाउँ…। भन्दै उ चिनीकाजीसंग गफ गर्दै हिंड्न थाल्यो ।

क्षेत्रपाटी चोकमा पुगेपछि चिनीकाजीले फेरि उसलाई ठहिंटीमा किन टोलाउँदै बसिरहेको भन्ने प्रश्न ग¥यो । प्रश्न के सुनेको थियो ? आशामरु रुखबाट खसे झैं झल्यास्स भयो ।

ऐ । म त दूध लिन आएको मान्छे ! तिमीसंगै पो आउन थालेछु – भन्दै आतिंदै आशामरु फेरि फर्कन खोज्यो ।

ल…ल.. किन यसरी आंतिएको ? किन फर्किन लाग्या’ ?

दुध लिएर घरसम्म नि पु¥याएर आउँछु । नत्र तिनिहरुले उठ्नासाथ चिया पिउन पाउने छैन ।

भयो नि, आज एकदिन तिनिहरु आफैले दूध ल्याएर खान्छन् नि त ।

होइन, फेरि तिनीहरु रिसाउने पो हुन कि ?

हँ…। के भनेको ? दुध एकचोटी लिन जानु पर्दा पनि तिनिहरु रिसाउँछन् र ?

आशामरुले जवाफमा केही भनेन । चिनीकाजीसंग लुरुलुरु हिंड्न थाल्यो । र पनि भित्र कता कता एउटा अदृष्य डरले आशामरुलाई झस्काइरहेको थियो ।

स्वयम्भूबाट तिनीहरु फर्कंदा बिहानको सात बजिसकेको थियो । फर्कंदा जहिले पनि तिनिहरुको पाँच जनाको समूह हुन्थे । चार, पाँच वर्षले मात्र फरक तिनिहरु मध्ये दुईजना रिटायर्ड कर्मचारी थिए भने तीनजना ब्यापारी थिए । यद्यपि तिनिहरु एक आपसमा औधी मिल्थे । इन्द्रचोकसम्म तिनीहरु साथै हुन्थे । किलागल वा केलटोलतिर तरकारी किनेपछि मात्र तिनीहरु एक अर्कासंग छुटिने गर्थे ।

इन्द्रचोकबाट छुटेर आएपछि आशामरुले आफूलाई कता कता एक्लो महसूस गर्न थाल्यो । किन ? उसले आफैसंग प्रश्न ग¥यो । तर यसको उत्तर उसंग थिएन । यस्तो नितान्त एक्लो महसूस उसले कहिले गरेको थिएन । ऊ भित्रभित्रै त्रसित पनि थियो ।
बाँगेमुढामा पुगेपछि उसले संधै झैं पत्रिका लिने ठाउँबाटे केही दैनिक र साप्ताहिक पत्रिका लिए । र एउटा हातले तरकारीको झोला र अर्को हातले पत्रिका बोक्दै ऊसले घरतिर पाइला बढायो ।

घरमा पुगेपछि बजारबाट ल्याएको सामान डाइनिङ्ग टेबुलमा बिसाउँदै आशामरुले थकित मुद्रामा एकचोटी हाइ काढ्यो । घरमा कसैको चालचुल थिएन । अहिलेसम्म कोही उठेको छैन कि क्या हो ? वा सबैजना बाहिर निस्किसके ? मनमा आएको पछिल्लो विचारले आशामरुलाई फेरि एकपटक नराम्ररी झस्कायो ।

उमेश ! ऐ उमेश !! आशामरुले छोरोलाई आवाज दियो ।

हजुर बुबा ! किन ? माथिबाट आवाज आएपछि आशामरु ढुक्क भयो ।

त्यत्तिकै….। अँ मीना खै नि ?

मिना पनि यहीं छे ।

बबुल खै नि ?

बबुल पनि यहीं छ । किन बुबा ?

केही होइन, त्यत्तिकै ? तिमीहरुले चिया खायौ ?

कहाँको खानु ? आज बुबाले दूधै ल्याउनु भएनछ ।

ऐ…विर्सेको थिएँ । तिमीहरुले ल्याएनौ ?

अहँ ….. ।

आशामरुलाई भित्र कतै दुखेझैं लाग्यो । उसलाई चियाको निकै तलतल लागेको थियो । घरमा पुग्नासाथ एककप तात्तातो चिया खाने उसको सुर थियो । कालो चिया उसलाई मन पर्दैनथ्यो । दुध लिने जाँगर उसमा थिएन । स्वर सुनेर पनि छोरा, बुहारी कोही तल नआएपछि आशामरुलाई भान्छामा पनि बसिरहन मन लागेन । उ भान्छासंगैको आफ्नो कोठामा गयो । बिछ्यौनामा पल्टँदै आँखा चिम्म पारे ।

बुबा ! जान्छु है ! उमेशको स्वरले आशामरु झस्क्यो ।

किन कहाँ जान लागेको ?

कतै होइन । साथीकोमा जान लागेको ।

अनि खाना कतिबेला खान्छौ त ?

हामी उतै खान्छौं ।

किन सबै जान लागेको ?

हो ।

बबुललाई स्कूलमा पु¥याउनु पर्दैन ।

हामी उतैबाट पु¥याउँछौं ।

अनि……..।

त्यसपछि आशामरुले केही भनेन ।

बबुल आएर – बाइ ग्राण्ड पा ! भन्दै गयो ।

मिना आई – जान्छु बुबा ! भन्दै गई ।

उनीहरु गएको आशामरुले हेरिरह्यो । उनीहरु ओझेल नभएसम्म उसले हेरिरह्यो । आशामरुले तिनीहरुलाई न त नजाउ भन्न सक्यो । न त रोक्न नै सक्यो । छोरा, बुहारी र नाती गएको हेरिरहेका आशामरुका आँखा ढलपल भए । र उसले रोक्न खोज्दा खोज्दै पनि आशामरुका आँखाबाट आँसु बग्न थाले । जीवनमा सायद उ कहिल्यै रोएको थिएन । तर आज उ रोयो । आशामरु रोयो । बग्दै गरेको आँसुलाई थाम्न नसकेर ऊ फेरि बिछ्यौनामा पल्टँदै सुँकसुँकाउन थाल्यो । र सुँकसुँकाउँदै आशामरुले आफ्ना हातहरु यताउता पसार्दै रित्ता बिछ्यौनामा राममायालाई खोजिरह्यो ! खोजिरह्यो !

०००००००

सम्पर्क :
३५९ ख, ज्याठा मार्ग, ज्याठा (ठहिंटी),
काठमाडौं, नेपाल ।
फोन : ९७७–१–४२५०९६९, मोबाइल : ९८४१३६३७४९

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.