लघुकथा : सम्झौताको फूल फुल्छ जहाँ

~कमला आँसु~

कविता लखतरान भएर कालेजबाट घरको छेउ आइपुग्छे. घरको सिँडी चढ्दा चढ्दै उसले नानी रोएको आवाज सुनिपठाउँछे। ऊ हतारसाथ सिंडी उक्लन्छे। घरको ढोका खुल्लै हुन्छ। ऊ आफ्नो पदचापलाई नियन्त्रण गरेर सुत्ने कोठामा बिस्तारै चाल मारेर चिहाउँछे। उफ भित्र कस्तो दृश्य। नानी हेर्ने नोकरनीले नानीलाई रूँदै गरेको लाचारी अवस्थामा काधमा एक हातले अडाएर आफू चाहिँ हतार हतार दूध र विस्कुट खाइरहेकी हुन्छ। कविताको मन-मस्तिष्कमा एकैसाथ विचारका असंख्य ज्वारभाटाका लहरहरू उर्लेर आउँछन्। नोकरनी मेरीको काँधबाट स्वात्तै नानी खोसेर कविताले नोकरनीको मुखभरि थुकेर गाली बक्दै

त्यतिबेला नै नोकरनीलाई घरबाट निकालिदिने आक्रोस जाग्छ। कविता विवश बन्छे, ऊमाथि एउटा ठूलो प्रश्न झ्वाम्मै आइपर्छ, यदि मैले यसो गरे फेरि बोलिदेखि काममा जाँदा नानी कसले हेरिदिन्छ, बल्ल तल्ल मुशकिलले पाएको नानी हेर्ने नोकरनी। ऊ मौन बन्छे आफूले देखेको सबै दृश्यलाई नदेखेको भान गर्न ऊ विवश छे। ओछ्यानमा व्याग फ्यात्त फ्याँकेर चुपचाप लुगाफाटा फेर्छे।

आजभन्दा ठीक तीन महिना अघि जब नानी दुइ महिनाको भइसकेको थियो, ऊ अफिस जाने समय भइसकेको थियो. त्यस बखत् नानी हेरिदिने नोकरनीको लागि कस्तो ठूलो समस्या भएको थियो। समस्याको हल हुनु नसक्दा कविताले अफिसमा थप मेडिकल लिभ् लेखिपठाउनु परेको थियो। पति-पत्नीको दुवै घरबाट मान्छे बोलाइपठाउँदा पनि उनीहरू सबै नै आ-आफ्नो काम धन्धामा लागिसकेका थिए। त्यसपछि नानी हेरिदिने गोठालाको खोजमा धेरै ठाउँ कविता र उसको लोग्ने नगेन्द्र भौंतारिनु परेको थियो।यस्तो विकट स्थितिमा नोकर्नी पाउनु साह्रै ठूलो समस्या थियो। चारैतिर स्रोत लगाए पनि भनेको जसो र जस्तै भए पनि झट्टै नोकरनी पाउनु हम्मेहम्मे परिरहेको थियो।

त्यस्तो अवस्थामा मिरमिरे साँझमा प्राय-तीस वर्ष काटिसकेकी एक युवती उनीहरूको घरमा आइपुगी। घरको काम धन्धा, लुगाफाटा धुनु, घर सफा गर्नु, नानीको हेरचाह गर्नु सबै जान्दछु भनेर उसले वर्णन गरी अनि आफ्नो नाम मेरी भनेर बताई। यति कुराहरू भनिसकेपछि नानीलाई मायालु नजरले नियाल्न थाली अनि भन्न थाली-मलाई सानो नानीहरू खेलाउनु, हेर्नु साह्रै मन पर्छ। त्यसपछि ऊ धेरै बोल्न सकिन। फाटेको मजेत्रो आँखा पुछेको जस्तो गरी। कविता र नगेन्द्रलाई ढुंगा खोज्दा देउता पाएको जस्तो लाग्यो। उऩीहरू यसरी कति कोज्दा पनि नपाइएको नोकरनी घरैमा आइदिँदा छक्कै पनि परे। त्यसपछि स्थिति सामान्य भयो, कुराकानी भयो।

भोलिपल्टदेखि नै मेरीले काम गर्न थाली, ऊ ठीक समयमा आउन थाली। सम्झेको भन्धा अझ राम्रो तरिकाले नानीलाी हेर्न, साथमा घरको कामकाज गर्न थाली। केही सप्ताह यसरी सुचारूरूपले चल्न थाल्यो।

एक साँझ मेरिप्रति उनीहरूको शंका उपशंका एकाएक गरेर जाग्न थाल्यो। कविता कालेजबाट अलिक छिटो गरेर घर आई अऩि उसको श्रीमान पनि केही अघि अफिसबाट छिट्टै घर आइपुगेको थियो। उसको अनुहारमा खिन्नताले छाएको स्पष्ट देखिन्थ्यो।

कविताले सोधी- होर्नोस् नानी के भयो जस्तो छ,

उसको लेग्नेले भन्यो-नानी बिसञ्चो जस्तो छ, मलाई यस्तो लाग्दैछ, मेरीले नानीलाई ठीकसँग हेरचाह गर्दिन।

किन, सशंकित भई सोधेकी थिई कविताले।

जब म अफिसबाट घर आइपुगेको थिएँ, तब नानी रोइरहेको थियो। के भयो नानीलाई,

नानी निंद्रामा थियो, नानीलाइ देखेर कवितालाई यस्तो लाग्यो-नानी साँच्चै अस्वस्थ्य छ। नानीको टाउको छामी उसले।वास्तवमा नानीको शरीरमा आवश्यकभन्दा बेसी तातो थियो।त्यसपछि केही हप्तासम्म उनीहरूलाइ नोकरनी मेरी शंकाको विषय भइरह्रयो। विवशता र बाध्यताले घेरेकोले जसोतसो त्यसरी नै दिनहरू बित्दै त्यो क्रम चलिरह्यो। एकदिन कविता आफै आधादिनको विदा लिएर चाँडै घर फर्की। विस्तारै चाल मारेर भित्र पसेर हेर्दा मेरी ओछ्यानमा पल्टिएर नानीलाई स्तनपान गराईरहेकी थिइ। सो अद्भुद्ध दृश्य देखेर कविता तीन छक्क परी। आक्रोस रोक्दा रोक्दै पनि आक्रोस विष्फोट भएर कविता अनायसै बोलिपठाई जोरले –मेरो तिमीले यो के गरेको,तिमीलाई तनखा दिएर नानी हेर्न राखेको त, आफ्नै दूध पो सुसाउन मेरीले टाउको झुकाएर बिस्तारै भनी-नानीको खाना सबै मैले खाएँ नि त गुरूमा।

कविता अब झन् तीन छक पर्दै कराउँछे- सबैले भन्थे सानो केटी वा केटाले नानी राम्रो हेर्दैन भनेर नानीको आमाले नै नानी राम्रो हेर्छिन् भनेर।तर तिमी नानीकै आमा भएर सानो नानीको खाजा खाइदिनु तिमीलाई लाज लाग्दैन, तिमीले हाम्रो विवश्ताको साह्रै ठूलो फाइदा उठायौ।

नोकरनी मेरीले भनी अब भोकलागेपछि के गर्नु गुरूमा, नानीको खाना मैले खाँए, त्यसको साटोमा नानीलाई दूध चुसाएँ।

उसो भए के तिमी घरबाट चाहिँ खाना नखाई यहाँ काममा आउँछौं त,कविताले सोधी।

त्यस्तै हालतमा छ गुरूमा महिनाको अन्ततिर मेरो घरको।

मालिकनी र नोकरनीको कुरा भइरहेकै क्षणमा एक समाज सेविका खिरोदा घरभित्र स्वट्टै पसी र भनी हन के भयो, किन यस्तो होहल्ला र कोलाहल यहाँ।

कविता रूँदै भन्न थाली हेर्नुहोस् खिरोदा दिदी, मेरो घरमा अचम्भको घटना घटिरहेको छ। अस्ति यो मेरीले एकपल्ट नानीको धूध र विस्कुट खाँदै गरेको प्रत्क्षरूपमा देखें, तरै पनि सहेर चुपचाप बसें। तर आज आधा दिनको छुट्टी लिएर आएकी त मेरीले नानीलाई गाईको दूध चाहिँ आफै पिएर आफ्नै स्तनको दूधको पो नानीलाई चुसाएर ठाँटसित सुतिरहेकी रहिछ।कस्तो अचम्भ नोकरनी भएर मालिक्नीको नानीलाई आफ्नो दूध चुसाउन यसले कसरी आँट गरी, किन यसो गेरकी भनेर सोद्धा भोक लाग्यो अरे भन्छे। कस्तो उदेक।

खिरोदाले बिस्तारै भन्न थाली- हेर कविता बहिनी यो त अति सुन्दर विषय रहेछ, एउटी नोकरनी आमाको समर्पण,. आखिर आमाको दूध दूधै हो। पशुको दूध त पवित्र मानेर मान्छेले आनन्दले पिउँछन् भने आमाको दूध पनि कुनै धर्म र भेद नभएर झन् पवित्र हुनु पर्ने हो, होिन, सबै आमाको दूध एउटै हो, गंगाको पानी जस्तो पवित्र, यसमा तिमी रूने काम छैन। यो त सोचाइको वेदना र फऱक मात्र हो। कुल्ली आमाको दूध पनि दूधै हो, रानी आमाको पनि दूधै हो र नोकरनी आमाको दूध पनि दूधै हो। रानी आमाको दूध र नोकरनी आमाको दूध सेतै हुन्छ। यसमा मानिसहरूको सोचाइ मात्र अलग हुन्छ। तिमीले अब यसो गर्नु कविता बहिनी, आफ्नो नानीको लागि मात्र होइन् मेरीको लागि पनि दिनभरीका खाजा बनॉदोबस्त गरिदिनु। समस्याको समाधान भइहाल्छ। तर नोकरनीले मेरो नानीलाई दूध ख्वायो भनेर मन नदुखाऊ। अनाथ, टुहुरा नानीहरूलाई त झन् यति पनि सौभाग्य कहाँ होला र। यो नानीको लागि त तिमीहरू दुइजना पो आमा भइदिएर दूध खुवाइरहेकी छौ। यसमा अचमभ मान्ने होइन, खुशी हुने कुरा छ। हेर कविता बहिनी, यति उच्च शिक्षा हासिल गरेर नोकरी पाएकी छौ, अहिले तिमीलाई मेरी जस्ती नोकरनीको अति नै आवश्यक छ। यसैले तिमीले पनि सम्झौता गर्न सिक्नुपर्छ। हरेक आमाले नानीहरूको निम्ति थुप्रै सम्झौताहरू गर्नुपर्छ । आज त तिमीले राम्रो दृष्टान्त प्राप्त गर्न सक्यौ, तर म त पचहत्तर बसन्तको संघारमा पुगिसकें, छोरा छोरीहहरूका नम्ति अनगिन्ती सम्झौताहरू पनि गरिसकें। भनौ आमाको कर्तव्य सम्झौता नै हो, फगत समझौता। यसैले म त भन्छु कविता बहिनी, तिमीले यसमा समझौता गर। यहीं नै आमाहरूको महानता हो। यसरी बृद्धा समाजसेविका खिरोदा बोलेर ती दुवै मौन र शान्त रहे।

दिनहरू यसरी नै बित्दै गए। समाजसेविका खिरोदाको त्यो अमूल्य अर्तिको प्रभावले अचेल त्यो घरमा फेरि कुनै समस्या छैन। सबै कुरो ठीक-ठीकसँघ चलिरहेको छ। नानी पनि अहिले त निक्कै बलियो अनि हँसिलो भएर कोक्रोमा हात राखेर उभिनु थालेको छ। गाउँकाहरू सबैले के राम्रो नानी भनेर काखमा लिनु थुप्रिन्छन्। मानौ त्यहाँ अब सम्झौताको एउटा सुन्दर फूल ढकमक्क फुलिरहेको छ सारा गाउँ र विश्वलाई नै सुन्दरता र सुवसना छर्न भनी।

(स्रोत : Snowlinenews.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.