जी–मेलको इनबक्सको एउटा इमेलमा घन बहादुरको आँखा झट्ट पर्यो। आँखा अडिए र फेसबुकमा स्कूल पढ्दाको एउटा साथीको अनुरोधले शरीरमा एउटा तरङ्ग जन्मायो ।
दिमागमा स्कूल जीवनका क्षणहरू नाँच्न थाले । दायाँ हातको चोरऔँलाले माउस क्लिक गरेर फेसबुकमा लैजाने प्रयास गर्यो। करिब १७ बर्ष अघि एसएलसी परीक्षा सकिएदेखि छुट्टिएको साथीको नाम देखेर हेमन्तलाई पहिला त त्यही हेमन्त हो कि होइन ? त्यही नाम गरेको अर्कै ब्यक्ति पो पर्यो कि ! भनेर खुल्दुली हुँदैगयो । खुल्दुली कै बीच भित्रि मनले त्यही टाटे–हेमन्त नै भैदिए त हुन्थ्यो नि भन्ने प्यास जगायो ।
इमेलमा क्लिक गरेदेखि त्यो फेसबुकमा हेमन्तको फोटो नदेखिउन्जेलको त्यो समय उनलाई बर्षौ जस्तो लाग्यो । त्यो फेसबुकको फेटो सहितको वेबपेज खुल्न लागेको केही सेकेण्डको समय पर्खन घन बहादुलाई सारै लामो समय काट्न परेको जस्तो लाग्यो । त्यही टाटे–हेमन्त होला कि ? होइन होला ! भन्ने प्रश्नले उसको गिदीमा घोँचेको घोँचै गर्यो । आखिर गालामा भएको टाटो सहितको हेमन्तको फोटो देखेपछि घनबहादुरले लामो स्वास फेरे । लामो स्वास फेर्दा बल्ल उनले त्यत्तिनजेल आफ्नो स्वासै रोकेर वेबपेजको फोटोमा हेमन्तको अनुहार हेर्न पर्खिएको चाल पाए । हुन त पर्खाइको समय तेसै पनि सारै लामो हुन्छ । तर, त्यो पेज खुल्न लागेको केही सेकेण्ड उनका लागि १७ वर्षभन्दा लामो लाग्यो । १७ बर्ष पहिला हेमन्तसँग बिछोड भएको त्यो पुरानो समय सम्झिएर उनलाई त्यो समयले पट्याट लगाएको थिएन । उनलाई त त्यो फेसबुकमा निम्तो पठाउने ब्यक्ति त्यही हेमन्त हो कि होइन भन्ने खुल्दुलीले त्यो सत्रसेकेण्ड पनि १७ बर्षजस्तो भएको थियो ।
एसएलसी परीक्षा सकिएपछि हेमन्त झिटीगुन्टा बोकेर आफ्नो गाउँको घर गएका थिए। त्यहाँदेखि घन बहादुरसँग हेमन्तको कहिल्यै भेट पनि भएको थिएन । तर स्कूल जीवनको समय र हेमन्तसँग विछोड भएका ती क्षण उनको दिमागमा सधैँ ताजै रहँदारहँदै पनि ती दुईबीचमा कुनै सम्पर्क हुन सकेको थिएन । हेमन्तले एसएलसी परीक्षा दिन भरेको फारममा जुन फोटो टाँसेका थिए फेसबुकमा पनि त्यही फोटो स्क्यान गरेर राखेका रहेछन्। सत्रवर्षको अन्तरालमा हेमन्तको अनुहार फेरिएको भए पनि उही फोटो र अझँ त्यो गालाको टाटोले गर्दा घन बहादुरले त्यही हेमन्त रहेछ भन्ने ठम्याइहाले । उनलाई त्यही टाटे–हेमन्त हो कि होइन भन्ने छुट्याउन कुनै धामा गर्नै परेन ।
हेमन्त एसएलसीमा फस्ट डिभिजनमा पास भएपछि बनारसमा साइन्स पढ्न गएका थिए । त्यसपछि रुड्की प्लान पाएर इन्जिनियर भएको त घन बहादुरले अरू साथीहरूबाट थाहा पाएका थिए । तर, स्कूलपछि हेमन्त र घन बहादुरको सम्पर्क हुने कुनै परिस्थिति जुटेकै थिएन । हेमन्त जेहेन्दार बिद्यार्थी थिए । उनी स्कूलमा सधै फस्ट हुन्थे। नौ कक्षामा पढ्दा एक पटक केशवले उसको भन्दा बढी नम्बर ल्याएको थियो नत्र उनलाई कक्षामा अरू कसैले कहिल्यै जित्न सकेन । त्यो स्कूलबाट एसएलसीमा फस्ट डिभिजन ल्याउने पनि उनी नै पहिलो बिद्यार्थी हुन । उनले स्कूलको रेकर्ड नै तोडेर पहिलो पटक फस्ट डिभिजनमा पास गरेका थिए । उनले भन्दा पहिला त्यो स्कूलबाट कसैले फस्ट डिभिजन ल्याएकै थिएनन् । त्यस बर्ष उनले फस्ट डिभिजनको खाता खोले । त्यस बर्षपछि भने त्यो स्कूलबाट हरेक बर्ष लगातार फस्ट डिभिजनमा विद्यार्थीहरू पास हुन थाले । उनीहरूपछिको ब्याचमा तीनजनाले फस्ट डिभिजन ल्याएछन्। धेरै वर्षसम्म पनि लगातार नै फस्ट डिभिजनमा त्यो स्कूलमा एसएलसी पास गर्ने विद्यार्थी भएको घन बहादुर र हेमन्त दुबैले थाहा पाए । तर, अलि बर्षपछि भने दुबैजना जागिरे जीवनमा मस्त भए, पारिवारिक जीवन जोडियो र क्यारियर विकासमा सधैँ ब्यस्त हुन थाले । त्यसैले गर्दा स्कूलको रिजल्टबारे उनीहरूले ध्यान पुर्याउन भ्याएका पनि थिएनन् । थाहा पाउन पनि छाडे ।
घन बहादुरले एसएलसीमा सेकेण्ड डिभिजन ल्याएर काठमाडौं आएर ल–क्याम्पसमा पढ्न थाले । पढाई सकेर वकालत गर्ने क्रममा हण्डर खाँदाखाँदा सहरको नामुद वकिल भैसकेका थिए । देशमा माओवादीले यूद्ध सुरु गरेपछिको अवस्थामा उनी मानवअधिकारबादी वकिल भनेर पनि चिनिन थाले । माओवादी यूद्ध चर्कँदै गएपछि सरकार, पुलीस र सेनाले उनको मानवअधिकारका पक्षमा हुने कृयाकलापबाट माओवादीलाई समर्थन गरेको देख्न थाल्यो । माओबादीले भने सामन्तवादका दलालका रूपमा उनलाई देख्ने तर तुलनात्मक रूपमा प्रगतिवादी भन्दै उनैलाई सामन्तबादका विरुद्ध उपयोग गर्ने गर्न थाले । माओवादीले पनि दुस्मनका विरुद्ध उपयोग गर्न सकिने दुस्मनका रूपमा उपयोग गर्ने र सरकारले माओवादी समर्थक देख्ने गर्दा उनी दुई ढुँगाबीचको तरुल जस्तो परिस्थितिमा पर्न गए । दोहोरो चापमा परेपछि परिस्थितिलाई अनुकुल बनाउने प्रयास गर्दागर्दै उनले अध्ययन गर्न बेलायत जाने विचार गरे । घरको र साथीभाइहरूको सुझाव र दवाबले गर्दा पनि उनले बेलायत जाने भिसा एप्लाई गरे । संयोग अनुसार उनलाई आफैलाई आश नहुँदा नहुँदै पनि भिसा पाए र अध्ययन भिसामा बेलायत छिरे । अध्ययन सकेपछि पनि नेपालमा यूद्ध चर्कंदै गएकाले फर्कन सकेनन् र बेलायतमै घरजम गरेर बस्न थाले ।
बेलायतको ब्यस्ततै ब्यस्तताको भीडमा स्कूलको साथी यसरी सम्पर्कमा आउला भन्ने त घन बहादुरलाई कल्पना पनि थिएन । अनायासै प्राप्त सन्देशले गर्दा उनी मुटुकभित्रबाटै खुसी भए।
हेमन्तले एसएलसीमा फस्ट डिभिजन ल्याए पनि कलेज पढाउन उनका बुवासंग धन थिएन । तर गाउँका जिम्मालले हेमन्तले फस्ट डिभिजन पास गरेको थाहा पाएपछि उनका बुवालाई बोलाउन पठाएर पढाउन आफुले ऋण हालिदिने बताएर कलेज पढ्न पठाउन अर्तिबुद्धि दिए। छोरोले पढोस ज्ञानी बनोस भन्ने त उनले पनि नचाहने त कुरै भएन । बाधा थियो त त्यही धनको । त्यो पनि जुट्ने भएपछि छोरो पढ्न पठाए । बाबुचाहिँले भने आफुले जानेबुझेका पण्डितहरूले पढ्ने गरेको बनारसमा पढ्न पठाए । काठमाडौं भन्दा बनारस पठाउँदा पढाइ खर्च कम पर्छ भनेर पनि उनले बनारस पठाएका हुन् । सस्तो ठाउँ खोज्नु उनको आर्थिक अवस्थाले सिर्जना गरेको बाध्यता थियो । हेमन्तले बनारसमा पनि आइएससीमा फस्ट डिभिजनमा पास गरे । बनारसबाट पढाइ सकेर काठमाडौं गएपछि उनका साथीहरूले पनि सहयोग गरे र उनले पनि रुड्कीको छात्रबृत्तिका लागि आवेदन भरे । राम्रो डिभिजन छँदै थियो । छात्रबृत्ति पनि पाए र इन्जिनियर भएर आए । केही बर्ष नेपालमै जागिर खाएपछि हाइली-स्किल माइग्रेशन प्रोग्राम अन्तर्गत बेलायत छिरेर पनि उनको राम्रो ज्ञानले गर्दा राम्रै काम पाएका छन् ।
फेसबुकमा साथी स्वीकार गर्न आएको अनुरोध आफ्नो पुरानो साथी हेमन्तकै रहेछ भन्ने पक्का भयो घन बहादुरलाई । आफ्नो साथीको अनुरोध भन्ने थाहा हुनासाथ उनले निम्तो स्वीकार पनि गरे । संयोग पनि कस्तो पर्यो भने, निम्तो स्वीकार गर्नासाथ हेमन्त पनि अनलाईन मै देखिए । दुबै साथी बीच फेसबुकमै च्याट (गफ) सुरु भयो । आखिर दुवैको कुराकानीबाट दुबैजना लण्डनमै रहेको कुरा एकअर्कालाई थाहा भयो । त्यो दिन आइतबार परेकोले भोलिपल्टदेखि काममा ब्यस्त हुने हुनाले दुवैजनालाई फुरसद निकाल्न गाहारो हुने अवस्था रह्यो । त्यसैले दुई घण्टामै दुवैजना लण्डनब्रिज पुग्ने र त्यहीँ भेट हुने सल्लाहा भयो। लण्डनब्रिजमा रहेको बिएफआईको रेस्टुरेन्टमा भेटहुने स्थान तोकियो । त्यसपछि अनलाईनबाट दुवैजना लगआउट भए ।
विएफआइ पुगेर हेमन्त र घनबहादुर भेट हुँदा दुवैजनालाई एक अनौठो खालको अनुभूति भयो । आखिर धेरै बर्षपछि दुवैसाथी भेट भए । उनीहरू दुवैजनाले लामो समयसम्मको विछोडको अनुभव आदानप्रदान गरे । त्यो विछोडपछि उनीहरूकाबीचमा फेरि भेट होला भन्ने दुबैले आशा नै गरेका थिएनन् ।
विएफआइको रेस्टुरेन्टमा तातो तातो कफी लिएर दुवै जना कुना तिरको एउटा टेबुलमा गएर बसे । अरुलाई मर्का पर्ला कि भन्ने सोँच्दै मधुर स्वरमा आफ्ना विगत र वर्तमानका गफ गर्दै गए । मधुर स्वरमा हैन चिच्याई–चिच्याई बचपनदेखिका गफ गरेर आनन्द लिन चाहन्थे उनीहरू । तर, बातावरण त्यो अनुकुल थिएन् । स्कुलको साथीसँगको मिलनमा विगतका पीडाजति सबै विर्सन मन लागिरहेको थियो । उनीहरूले आफ्नो पारिवारिक जीवनको छोटो प्रसँगपछि स्कूलका साथीको प्रसँग सुरु गरे । उनीहरूका कक्षामा जम्मा चारवटी केटीहरू थिए । उनीहरूको स्कूलको त्यस समयको जीवन अहिलेको नेपालको सामाजिक परिवेश भन्दा भिन्दै थियो । अहिले भन्दा धेरै संकुचित थियो । केटा र केटी त बोल्न पनि सजिलो थिएन । केटा र केटीहरू बोल्न त समाजले अघोषित रूपमा प्रतिबन्ध नै लगाएको थियो । स्कूले साथीहरूबीच माया पिरति प्रतिबन्धित थियो । तर पनि शिक्षकले विद्यार्थी केटी भगाएका जस्ता घटना पनि नभएका भने होइनन् ।
प्रसँग मोडिएपछि हेमन्तले उनीहरूको स्कूलको म्याथ र अङ्ग्रेजी पढाउने सरले वसुधालाई भगाएको कुरा उठायो । मास्टरले नभगाउँदासम्म घन बहादुरले वसुधालाई खुब मन पराउँये । तर, उनले वसुधासँग मनको कुरा कहिल्यै पनि खोल्न सकेनन् । त्यो कुरा हेमन्तलाई थाहा थियो । हेमन्तलाई त्यो वसुधालाई भगाएर लगेको सर पनि बेलायतमै बस्ने गरेको थाहा रहेछ । त्यो सरमात्र होइन वसुधा पनि सँगै बेलायतमै भएको कुरा हेमन्तले खोलेपछि दुबैजना खुब हासे। खित्का छाडेर हाँस्दा आवाज ठूलो निस्किएपछि पल्लो टेबुलमा बसेका केटीले पनि उनीहरूतिर फर्केर हेरे । त्यसपछि भने बल्लबल्ल उनीहरूले हाँसो खटाए ।
हेमन्तले त्यो सरसँग त एकपटक आफ्नो भेट भएको कुरा बताए। हेमन्तले त्यसैबेला त्यो सरको मोबाइल नम्बर पनि आफ्नो मोबाइलमा सेभ गरेका रहेछन् । तर फोनमा कुरा भने कहिल्यै हुन सकेको रहेनछ । ‘उतिखेर मनको कुरा वसुधालाई भन्न सकेनस क्यारे ला–अहिले बताइदे ….’ भन्ने हेमन्तको कुरा सुनेर घन बहादुरको मन भने अलि खल्लो भयो । तर पनि उनले अनुहारमा त्यो भाव भने आउन दिएनन् । त्यो सरको नम्बर भने उनले पनि अफ्नो मोबाइलमा सेभ गरे ।
हेमन्तले त्यो शिक्षकसँगको प्रसँग खोल्दै गए। एक दिन काम विशेषले क्यानरीवाफको बैङ्कमा पुगेको बेला त्यहाँको सेक्यूरिटी गार्डले नेपालीमा कुरा गरेको सुनेर हेर्दा हेमन्तले त्यही सरलाई फेला पारेका रहेछन् । सोच्दै नसोचेको कुरा ! उनले आफ्नै स्कूलको सरलाई सेक्यूरिटी गार्ड गरेर उभिएको देख्दा अचम्म लागेको थियो । सरसँग पहिला त नेपाली भन्ने नाताले कुराकानी सुरु भयो तर एकै छिनमा हेमन्तले वसुधालाई भगाउने मास्टर यही हो भन्ने चिने । हेमन्तले आफूहरू गुरु–चेला भएको पुरानो सम्बन्ध बताएपछि ती सरले पनि पुराना दिन सम्झे ।
तर, सर सारै बाठा र चतुर परे । आफ्नो विद्यार्थी भगाएको पोल खुल्छ कि, अरुले थाहा पाउँछन् कि भन्ने डरले हेमन्तसँग सम्पर्क नै बढाउन चाहेनन् । पुरानो मास्टर विद्यार्थीको सम्बन्ध थाहा नहुँदै हेमन्तले त्यो सरको नम्बर नलिएको भए उनले फोन नम्बर पनि हेमन्तलाई दिने थिएनन् । त्यस दिन एक्कासी भेट भएपछि फेरि भेट गर्न हेमन्तले आफ्नो पुरानो सर भनेर कत्ति पटक फोन गर्ने प्रयास गरे । तर सरले फोन त उठाउँदै उठाएनन् ।
घन बहादुरले पनि बेलायत आउनु भन्दा पनि धेरै पहिला एक पटक काठमाडौंमा त्यो सरसँग रत्नपार्कमा एक पटक जम्काभेट भएको कुरा खोले । तर, विद्यार्थी भगाएको भन्ने लाजले त होला सरले घन बहादुरसँग हतार भएको बहाना गरेर हिँडिहाले । वसुधा पनि क्षेत्री जातकी भएकीले पनि आफ्नो जातसमेत मिल्ने सोचेर नमिल्दो केही छैन भन्ने ठानेर घन बहादुरले वसुधालाई खुब मन पराउथे । तर आफूले मन पराएको मनको कुरा खोल्न नपाउँदै म्याथ सरले भगाएर काठमाडौंतिर लगिदिए। त्यस बेलासम्म पनि जातपातको सारै मान्यता थियो नेपाली समाजमा । तर पनि त्यो बाहुन मास्टरले घन बहादुरले मन पराएकी क्षेत्री केटी भगाएर लागिदियो । जातसमेत नमिल्ने आफ्नै विद्यार्थी भगाएपछि गाउँमा मुख देखाउन नसकेर ती मास्टर काठमाडौं तिरै जागिर खोज्न गए। काठमाडौं पुगेर उनले ब्याङ्कमा जागिर खान थालेको कुरा त घन बहादुरलाई पनि थाहा रहेछ । तर बेलायत पुगेको भन्ने चाहिँ उनलाई थाहा थिएन् ।
त्यो म्याथ सरले वसुधालाई भगाएर लगेपछि स्कूलमा र गाउँघरमा खुब चर्चा चलेको थियो। होमवर्क जाँच्न सरले विद्यार्थीहरूको कापी लैजाने र फिर्ता दिने गर्दा वसुधा र सरका चिी (प्रेमपत्र) ओहोरदोहोर हुने गर्दारहेछन् । पछि त्यो कुराको पनि खुब हल्ला भयो। अरू केटीले त आफ्नो लभको कुरा आफ्ना मिल्ने साथीलाई भन्छन् तर वसुधाले भने कसैलाई पनि भनेकी थिइनन् । एकदम गोप्य रूपमा वसुधा र सरको लभ चलेको थियो । हुन पनि एसएलसी परीक्षा सकिँदा कै दिन सर र वसुधा भागेर काठमाडौं गएका थिए।
उनीहरू भागेपछि गाँउमा मास्टरले केटी भगायो भनेर खुब चर्चा चल्यो। बाहुनले क्षेत्रीनी भगायो भनेर पनि खुब चर्चा चल्यो । घन बहादुरले वसुधालाई आफ्नो कुरा खोल्दै नखोलेको भए पनि वसुधाले आफुलाई धोका दिई भन्ने ठानेका थिए। वसुधालाई एक पटक त जसरी पनि भेट्छु भन्ने सोचेर घन बहादुरले हेमन्तसँग त्यो सरको नम्बर लिएपछि त्यहाँबाट उनीहरू हिँडे । दुवै जनाले अब ‘किप इन टच’मा रहने भन्ने बाचा बाँधेर विदा भएर हिँडे ।
हेमन्तसँग छुट्टिएर हिँडेपछि पनि घन बहादुरका मनमा मास्टरले विद्यार्थी भगाएको कुरा नाचीरह्यो । अहिले त जातपातको कुरा धेरै कम भैसक्यो भन्ने लाग्यो उसलाई । क्षेत्रीनी केटी बाहुन मास्टरले उडाएको भनेर सारै घृडा गरेर बजारमा हल्ला चलेको कुरा उसलाई ताजै जस्तो लाग्यो। अझै पनि नेपाली समाजमा भएको सङ्कीर्णता उनको मनमा विझायो। आफैले प्रेम विवाहको दाम्पत्य जीवन विताइरहेकाहरूले नै कुनै केटीले स्वइच्छाले विवाह गर्दा पौइल गएको भन्नपछि पर्दैनन् भन्ने सोच्न थाले । पानी चल्ने जातकाबीचमा त अब विवाह गर्नु सामान्य जस्तो भएको छ । तर पानी चल्ने र नचल्ने जातका बीचको विवाहलाई नेपाली समाजले अझै पनि सहज रूपमा लिन सकिरहेको छैन् । जातीय विभेद र हिन्दू संस्कृतिले सिर्जना गरेको सङ्कुचित सामाजिक परिवेश परिवर्तन हुन अझै कति समय लाग्ला भन्ने हिसाब गर्दै उनी बाटो लागे । उनले अहिलेको सामाजिक परिवेशलाई उनै म्याथ सरको परिवेशमा गुणन गर्दै गए।
(स्रोत : Nepalisandesh.com)