कथा : भविष्य – अतीत

~गोविन्द बेल्वासे~Gobinda Belbase

भविष्य

(भाग-एक)

चिन्तमणि एयरपोर्टबाट घरमा आएर तातो कफीको कप लिएर सोफामा बस्नासाथ रिमोर्टको वचन थिचे। टिभीमा समाचार आउन थाल्यो । समाचारमा ब्रेकिङ न्यूजका रुपमा अन्तरिक्षमा एउटा ग्रह पृथ्वीतिर आउँदै गरेको समाचार थियो । समाचारमा नासालाई उद्धृत गर्दै त्यस ग्रहको गतिअनुसार सोह्र दिनमा पृथ्वीसम्म आइपुग्ने र ठोक्किने बताइँदै थियो। समाचारले उनको दिमाग नै एकाग्र रुपमा तान्यो । टेबुलको कफी समेत खान बिर्सिएर समाचारमा आँखा लगाइरहे । उनको दिमागले विविध कुरा सोच्न थाल्यो। अर्को ग्रह

आएर पृथ्वीमा ठोक्किएर सबै खत्तम हुने विनाश हुन सक्ने कल्पनाले उनी चिन्तित पनि भए। 

त्यत्तिकैमा उनले सुप्रियालाई सम्झिए । घडी हेरे, दिउँसोको ११ बजेर सत्र मिनेट गएको रहेछ । सुप्रियाको प्लेन ल्याण्ड भैसके होला भन्ने सोचेर मोवाइल थिचे। अर्को ध्यान भने टिभीमा आइरहेको समाचारतिर थियो ।

सुप्रियाले मोवाइलमा ‘तिम्रो फ्लाइट त भोलि आइपुग्ने भनेको आजै आइसकेको हो र?’ भनेर सोधिन् । चिन्तामणिले आफ्नो साथीले अलि सञ्चो नभएको बताएर ‘मेरो प्लाइट उसले ल्याउने भनेकोले उसको फ्लाइट मैले ल्याएकोले एकछिनअघि म घरमा आइपुगेको हुँ’ –भने । ‘सिड्नीबाट उड्ने बेला हत्तपत्त भएकोले तिमीलाई पहिले खवर गर्न पाइँन भन्दै ‘छिटो घर आऊ’ भनेर फोन सहमतिमा दुबैले काटे। सुप्रियाले पनि आफ्नो अर्को फ्लाइटको रोटामा सही धस्क्याएर सीधै घर हुत्तिइन् ।

टिभीले त्यही ग्रहको विषयमा समाचार केन्द्रित गर्दै विभिन्न विद्वान, समाजशास्त्री र खगोलशास्त्रीहरुको अन्तरवार्ता दिन थाल्यो । चिन्तामणि भने ब्रेकफास्ट खान समेत बिर्सेर समाचार हेर्दै गरे । वैज्ञानिकहरु र खगोलशास्त्रीहरुले पृथ्वीको र मानव समाजको आयू १६ दिन मात्र बचेको र त्यो ग्रह पृथ्वीमा ठोक्किएर सबै ध्वस्त हुने तर्क बताउँदै थिए। राजनीतिज्ञहरु पृथ्वीलाई बचाउँने विकल्प अपनाउन विभिन्न प्रयास गर्न मिटिङ हुँदैगरेको र वैज्ञानिकहरुले ग्रहलाई पृथ्वीमा ठोक्किन नदिने वाचा गर्दै जनतालाई धैर्य हुन आग्रह गर्दै सान्त्वना दिँदै थिए। तर उनीहरुका अनुहारले १६ दिन मात्र आयू रहेको थाहा पाएर उनीहरु आफै पनि अत्ताल्लिएको देखाइरहेको थियो ।


त्यत्तिकैमा मोवाइलको घण्टी बज्यो। स्कि्रनमा सुप्रियाको फोटो देखियो र फोन उठाउँदै ‘अँ …..भन डार्लिङ’ भन्दै चिन्तामणिले कुरा सुरु गरे । उताबाट सुप्रियाले आफूले पनि ब्रेकफास्ट नखाएकोले चिन्ताले पनि खाने भए बाटोमा कतैबाट लिएर आउने बताएपछि बल्ल चिन्ताले आफ्नो भोक अनुभव गर्दै हुन्छ भन्ने सहमतिमा सुप्रियालाई कतैबाट ब्रेकफास्ट लिएर घर आउन आग्रह गरे । उनको मनमा त्यो सन्सनीपूर्ण समाचार सुप्रियालाई बताउँजस्तो लाग्यो । तर सुप्रिया बेकारमा आत्तिन्छिन् भनेर तत्काल नभन्ने विचारले केही भनेनन् । घरमा आएपछि बताउने सोचेर फोन काटे ।

समाचारमा विश्लेषण गर्न स्टुडियो ल्याइएका कतिपय ब्यक्तिले भने पृथ्वी ध्वस्त हुने कुरा वाहियात भएको र अमेरिका र यूरोपतिरको आर्थिक संकटलाई नयाँ मोड दिन यो हल्ला सुनियोजित रहेको तर्क गर्दै थिए । अर्काथरिले कन्स्पिरेसी थ्योरीमा रनभुल्ल पर्ने होइन वैज्ञानिकहरुले अन्तरिक्षमै बम हानेर त्यो ग्रहको मार्ग परिवर्तन गर्नुपर्ने बताउँदै थिए । अर्काथरि विशेषज्ञले वैज्ञानिकहरुले केही उपाय लगाएर आकासमै ध्वस्त पार्न सक्ने वा बाटो अन्तै मोडेर पृथ्वीमा ठोक्किन नदिने उपाय अपनाउन सक्ने स्थिति भएको भए जनताहरु आत्तिने त्यस्तो समाचार नासाले दिने नै थिएन भनेर तर्क प्रस्तुत गरे । पृथ्वी र मानिसको आयू अब १६ दिन मात्र भएको बताउँदैगर्दा ढोका घरक्क गरेको आवाजले चिन्तामणि झस्किए। झस्किँदै ढोकातिर हेर्दा सुप्रिया रहिछन्। चिन्ता झस्किएको देखेर सुप्रिया पनि अचम्म पर्दै ‘तिमीलाई के भयो? किन यसरी झस्केको?’ भनेर सोधिन्। 

‘हेर न …. समाचारमा सेन्टिमेन्ट भएको रहेछु, तिमीले ढोका खोल्दा झस्किएँ’ उनले भने। ‘के त्यस्तो समाचार छ र ? तिमी त्यस्तो सेन्टिमेन्ट भएको?’ सुप्रियाले सोधिन्। 

‘टिभीतिर इसारा गर्दै एउटा प्लानेट पृथ्वीमा ठोक्किन आउँदै छ भनेर नासाले भनेको छ, अब १६ दिनमा ठोकिन्छ रे’ चिन्ताले भने । सुप्रियाले प्रतिक्रिया दिइन् ‘त्यसो भए सोह्र दिनसम्म खाने पिउने मस्ती गर्ने, प्लेन उडाउन पनि नजाने क्या मस्ती !’

चिन्तालाई सुप्रियाको ठट्यौली कुरा चित्त बुझेन। उनले भने- ‘ठट्टा होइन साँच्चै हो, अब १६ दिनमा सबै खत्तम ।’

आठ महिनाअघि मात्र चिन्तामणिसँग विवाह गरेकी पाइलट सुप्रियाले आफ्नो पाइलट श्रीमान साँच्चै चिन्तित भएको देखेर सिरियस भइन्। ब्रेकफास्टको ‘टेक–अवे’ कफी टेबुलमा राख्दै चिन्ताको काखमा बसेर चिन्तामणिको चिन्ता भगाउन थालिन् । एकछिन दुवै जना लडीबुडी गरे त्यहीँ सोफामा । अलि चिसो भएको चिन्तामणिको कफी देखेर सुप्रियाले चिन्तालाई जिस्काउँदै ब्रेकफास्ट प्लेटमा खन्याएपछि दुबैले खाए। ब्रेकफास्ट खाँदै बीच–बीचमा कीस खाँदै पृथ्वी ध्वस्त हुन लागेको चिन्ता बिर्सने असफल प्रयासमा दुवैजना लागे । टिभीमा समाचार आइरह्यो । सबै विषय त्यही ग्रहको वरिपरि नै घेरिएको थियो । १६ दिनमा सबै खत्तम हुन्छ भनेर चिन्तित भएर झोक्रिएका थिए कतिपय मान्छेहरु । त्यही झोक्रिएका मान्छेलाई पनि टिभीले देखाइरहेको थियो । कतिपय भने अब १६ दिन त छ नि भन्दै रमाइलो गर्न पार्टी गर्ने, नाच्ने गर्दैगरेको दृष्य टिभीमा देखाइँदै थियो ।

बीचबीचमा पत्रकारहरुले आम नागरिक बाटोमा हिँड्दै गरेका बटुवाहरु, ट्राफिक जाममा रोकिएका ड्राइभरहरुसँग १६ दिनमा पृथ्वी ध्वस्त हुने समाचारका विषयमा प्रतिक्रिया लिँदै थिए ।

यत्तिकैमा ल्याण्डलाइन फोनको घन्टी बज्यो। चिन्तामणिले फोन उठाउँदा कामबाट रोटा मिलाउने म्यानेजरको फोन रहेछ। म्यानेजरले अचानक प्लेनको सबै टिकट बुक भएकोले भोलिपल्टको एक्स्ट्रा फ्लाइट चिन्तामणिले उडाउन आग्रह गर्दै रोटा मिलाउन अनुमति माग्यो । तर चिन्तामणिले उसको आग्रह ठाडै अस्वीकार गरिदिए। उसलाई उत्तर दिँदा उनले झर्केर उत्तर दिएको पनि उनलाई होस भएन। ‘संसार ध्वस्त हुन लाग्यो भनेर अरुलाई घर फर्कन हतार भएको छ त मलाई पनि बाँकी दिन मेरी प्यारी श्रीमतीसँग बस्ने मन छ, प्लेन उडाउने त्यो पनि एक्स्ट्रा–फ्लाइट उडाउन…, दोहोर्‍याएर फोन नगर्नु’ भन्दै उनले फोन काटिदिए। 

सुप्रियालाई पनि त्यो समाचारले अत्याएको त थियो तर चिन्तामणिलाई कसरी सम्हाल्ने भन्नेमा उनको मन केन्द्रित भयो। उनले अनेक ठट्टा गर्दै उनलाई भुलाउने प्रयास गरिन् । आखिर सोह्र दिन त बाँकी छ नि भन्दै समुन्द्र किनारामा घुम्न जान चिन्तालाई मनाएपछि दुबै जना निस्किए । पहिला त फ्लाइट उडाएर आजै आएको भन्दै टालटुल पार्न प्रयास गरे चिन्ताले । तर सुप्रियाले धेरै कर गरेपछि आफूलाई पनि मन भुलाउन बाहिर निस्के ठीक होला भन्दै बाहिर निस्कन तयार भए । ग्यारेजबाट सेतो विएमडब्लु–कार निकालेर सुप्रियाले नै ड्राइभ गर्न थालिन् । समुन्द्र किनारको एउटा रेष्टुरेन्टमा पसेर दुबैले ड्रिङ्क्स खान थाले । जताततै चर्चा त्यही बाँकी सोह्र दिनको थियो । रेष्टुरेन्टमा काम गर्ने सेफ र वेटर लगायतका मान्छेहरु पैसा अब किन कमाउनु पर्‍यो भन्दै मस्तीमा डुब्न थालेकोले मालिक आफै भ्याईनभ्याई ब्यापारमा मस्त भएर ग्राहकको सेवा गर्दै थिए । चिन्ता र सुप्रियाका छेवैका टेबुलमा बसेका जोडीले यी मालिकहरुलाई १६ दिन बाँकी हुँदा पनि पैसा थुपार्न हतार छ भन्दै ब्यङग्य गर्दै थिए। अर्काथरिले चाहिँ १६ दिनमा पैसा कमाएर बैंकको ऋण तिर्न रेष्टुरेन्ट मालिक कस्सिएको भन्दै खिसी गर्दै थिए । तर रेष्टुरेन्ट खचाखच भरिएको थियो । काम गर्ने वेटरको कमीले गर्दा पनि ग्राहकहरु आफ्नो पालो पर्खेर बसिरहेका छन् ।

अर्को दिन बिहान पनि समाचार १५ दिन बाँकी भन्दै त्यही विषयमा केन्द्रित थियो । संसार ध्वस्त हुन्छ भनेर सबैजना या त मस्ती गर्नमा या त चिन्तित भएर आ–आफ्ना काममा ध्यान नदिएकोले शहरको फोहोर पनि उठेन । जतततै फोहर थुप्रिन थाल्यो । रेष्टुरेन्टहरु लथालिङ्ग हुन थाले । दुकानहरु बन्द रहेकाले उपभोक्ताहरुलाई अप्ठेरो हुन थालेकोमा काममा फर्कन नागरिकहरुलाई सरकारले आग्रह गर्दै सूचना टिभीमा दिन थाले । पत्रिकाहरुका सबै समाचार र लेखहरु बाँकी १५ दिनमै केन्द्रित थिए । 

क्रमशः १४–१३–१२–११ हुँदै दिनहरु कम हुँदै गए। आ–आफ्ना घर फर्कन चाहनेहरुले गर्दा एयरपोर्टहरु खचाखच भए । पेट्रोल पम्पहरुमा पेट्रोल सकिँदै गयो । सप्लाई रोकिँदै गयो । त्यो ग्रह पृथ्वीमा ठोकिनुभन्दा पहिला नै शहरहरु लथालिङ्ग हुन थाले । दुकानका कामदारहरु नआएपछि भोका ग्राहकहरुले दुकान फोरेरै आ–आफूलाई आवश्यक सामान लिएर जान थाले । कसैले सामानमा लेखेको मुल्य टिलमा छाडेर जान्थे, कसैले पैसा नै नतिरी त्यसै सामान बोकेर जान थाले ।

दुकानहरुका ढोकाका साइरनहरु बजिरहँदा कसैलाई केही मतलव थिएन । कसैले सामान लगेपछि दुकानका ढोका त्यसै छोडिदिन थाले । कसैले भने लगाएर छाड्थे ।

अब चार दिन बाँकी छ भन्ने हुँदा ब्यांकका क्यास मेसीनहरु पनि रित्ता भैसकेका थिए । पाउरोटी र खाने सामानहरुको हाहाकार मच्चिन थाल्यो । खाना पकाउन जान्नेहरुले त पकाउने खाने गरे । तर धनाढ्यहरुका र ऐयासी र सेलीब्रीटीहरुका नोकरहरु आ–आफ्नै मस्तीमा हिँडेकोले उनीहरुलाई निकै समस्या पर्न थाल्यो । न पकाउने ढंग छ न त विन र फोहोर कहाँ फाल्नु उनलाई थाहा छ । न त कतै रेष्टुरेन्ट गएर खाने अवस्था छ। 

हुँदा हुँदा टिभीमा काम गर्ने मान्छेहरुको पनि कमी हुँदै गयो । यता चिन्ता र सुप्रिया दुबैजना पाइलट भएकाले उनीहरुले आफ्नो छुट्टै योजना बनाए । नासाले ग्रह ठोक्किने भनेर तोकेको समयभन्दा साढे दुई घण्टा अगाडि एयरपोर्ट गएर ठूलो जेट प्लेनमा पुरै तेल भरे। सेक्युरिटीको त कुनै चिन्ता हुने कुरै भएन । घर जान नपाएर एयरपोर्टमा आएर रक्सी खाएर मस्त भएका मान्छेहरु फाट्टफुट्ट थिए त्यहाँ । 

तेलले ट्याङ्की भरिएको प्लेनको पाइलट सिटमा चिन्ता र सुप्रिया चढेर प्लेन उडाए । ग्रह पृथ्वीमा ठोक्किने भनेको ठीक समयमा उनीहरुको प्लेन पृथ्वीबाट ३६ हजार फिट माथिको आकासमा उड्न थाल्यो । हेर्दा हेर्दै आकासमा चन्द्रमा जत्रो डल्लो उछिट्टिएको देखे दुबै जनाले । चिन्तामणिले पृथ्वीमा ग्रह ठोक्किएर चोइटा उडेको होला भन्न नपाउँदै ठूलो आवाजको तरङ्ग प्लेनको एउटा स्कृनमा देखियो । प्लेनमा जोडिएका पृथ्वीको सम्पर्कका सबै यन्त्रहरु चल्न छाडे । अब केवल ती दुई जना मात्र आपसमा कुरा गर्न सक्छन् । बाँकी दुनियाँ के भयो उनीहरुलाई पनि थाहा थिएन । त्यत्तिकैमा पानी आएर प्लेनमा ठोक्कियो । सुप्रियाले समुन्द्रको पानी उछिट्टिएर आएर आफ्नो प्लेनमा ठोकिएको तर्क गरिन् । चिन्तामणिले पनि त्यो तर्कमा सहमति जनाए । एकैछिनपछि पानी पृथ्वीतिरै तल झर्दै गयो। पानी आएर प्लेनमा ठोकिनुभन्दा एकै छिन पहिले बुङ्गबुङ्गती उडेको प्लेनदेखि तलको धुलो पनि पानीले भिजाएर तल लग्यो। उनीहरुले प्लेन लगातार उडाइरहे । दश घण्टापछि दुबै जनाले अब के गर्ने विस्तारै प्लेनको तेल पनि सकिन्छ । पृथ्वीमा त कोही पनि जिउँदा छैनन् होला । ल्याण्ड गर्न एयरपोर्ट पनि छैन होला । अन्तरिक्षमा गएका केही मान्छे मात्र बाँकी होलान् तर उनीहरु पनि त पृथ्वीमा ओर्लने उपाय छैन होला भन्ने तर्क वितर्क गर्न थाले । त्यो अवस्थामा पनि उनीहरुलाई भने त्यही प्लेनमा पनि किस खाने र जिस्कने गर्नुपर्ने कस्तो अचम्मको मान्छेको स्वभाव ।

समय आकासमा वित्दै गयो । प्लेनको मिटरले ट्याङ्कीमा भएको तेलले चार घण्टा मात्र उडान गर्न सकिने बताएपछि उनीहरुले प्लेनलाई विस्तारै पृथ्वीतिर ओराल्दै स्थिति बुझ्न थाले ।

पृथ्वीभन्दा पन्ध्र सय फिट जति माथि उड्दै गरेको प्लेनबाट उनीहरुले धेरैजसो ठाउँमा पानी र कतै कतै आगो बलेको देख्न थाले। आगो बलेका ठाउँहरु पहिलेका शहर हुन सक्ने अनुमान गरे । प्लेन उडाउँदै उनीहरुले अब पानी नभएको र आगो पनि नबलेको ठाउँमा प्यारासुटबाट हाम फाल्ने सल्लाह गरे । दुबै जनाले पहिला नै प्यारासुटबाट झर्न सामान्य तालिम लिएका थिए ।

प्यारासुटबाट हाम फालेपछि फरक फरक ठाउँमा पुगिन्छ होला अनि कसरी भेट गर्ने ? न मोवाइलले काम गर्छ भन्दै सुप्रियाले चिन्ता व्यक्त गरिन् । चिन्तामणिले ‘धेरै टाढा भइँदैन त्यसैले जहाँ पुगिन्छ त्यहाँ तिमीले राखेको लाइटरले आगो सल्काउनु । म त्यही आगो हेरेर तिमीसँग आउँछु’ भने । त्यत्तिकैमा प्लेनबाट एउटा ठूलो नदी बगेको देखियो । कुन देश, कुन शहर भन्ने कतै कुनै नाम निसान थिएन । सबै ध्वस्त भएको थियो । अन्तमा प्लेनमा तेल सकिनै लागेपछि दुबैले प्लेन त्यही नदीमा ल्याण्ड गराए । ल्याण्ड गराउनुभन्दा पहिला नै दुबैले प्लेनबाट झरेर लेफ्ट (बायाँ)तिरको भूमिमा पौडेर निस्कने सल्लाह गरे । ल्याण्ड गर्नुभन्दा पहिले पानीमा हाम फाल्ने पहिरन तथा सामान पहिरिएर आपतकालीन ल्याण्ड गरेकोले उनीहरू योजनाअनुसार जमिनमा पुगे । 

तर न त कतै हरियाली देखिन्थ्यो न कतै सडक थिए । न त कतै घर थिए । अन्योलमा दुबै जना थचक्क भुइामा बसेर सन्तान जन्माउने र पृथ्वीमा मानव बस्ती विकास गर्ने योजना बनाउन थाले । तर चिन्ता थियो त– आफ्ना सन्तानलाई आफूले देखे भोगेको विज्ञान उन्नति र आधुनिक समाज बारेको ज्ञान कसरी हस्तान्तरण गर्ने ? कसरी सिकाउने? 

खोलाका माछा मार्ने, खाने नै उनीहरुको दैनिकी बन्यो । उनीहरुले अव पृथ्वीमा मानव समाजको फेरिबाट विकास गर्नु पर्ने थियो । त्यो सवै कुरा चिन्तामणि र सुप्रियाको जिम्मामा पर्‍यो ।

—————————————0—————————————

अतीत 

(भविष्य भाग-2)

धेरै वर्षअगाडिको कुरा हो । डिजिटल प्रविधि र आणविक शक्तिबाट मानिसहरु सुविधासम्पन्न भएका थिए । तर एक पटक अन्तरिक्षबाट एउटा ग्रह आएर पृथ्वीमा ठोक्कियो र सबै भताभुङ्ग भयो । सबै प्रविधिबाट उपलव्धिहरु हराए । तर त्यो ग्रह पृथ्वीमा ठोक्किने समयमा एउटा प्लेन पृथ्वीबाट ३६ हजार फीटमाथि उड्दै गरेको थियो । त्यसैमा उड्दै गरेका चिन्तामणि र सुप्रियाले प्लेन पृथ्वीमा ल्याण्ड गराउँदा पृथ्वीमा हरियाली पनि थिएन । त्यो प्लेनमा उनीहरुमात्र थिए । शहर–बस्ती बाटो र सबै सुविधा नष्ट भएको थियो । 

प्लेनबाट निस्केर पानीमा पौड्दै सुप्रिया नदीको डिलमा आइपुग्दा चिन्तामणि डिलमा पहिले नै पुगिसकेका थिए । चिन्तामणिले आफ्नो हातअगाडि बढाए । सुप्रियाले उनको हात समातिन् र त्यही हातको सहाराले उनलाई नदीको पानीबाट जमिनमा उक्लन सजिलो भयो । दुवै जनाको शरीरबाट पानी झर्दै गयो । उनीहरु ठिङ्ग उभिएर प्लेनतिर हेरे । पानीमा सत्रङ्ग परेको प्लेनमा पानीका छालहरु ठोकिँदै थिए ।

उनीहरु उभिएको जमिन पनि भिजेको थियो । सुप्रियाले भनिन् ‘पृथ्वीमा सबै ध्वस्त भएछ, हामी दुई जना मात्रै बाँचेका छौँ जस्तो छ ।’ चिन्तामणिले उनको कुरामा सहमति त जनाए तर अरु कुनै कुनामा अरु कोही पनि आफूहरुजस्तै बाँच्न सफल भएको हुन सक्छ भन्ने तर्क गरे ।

तर कहिँ कतै अन्यन्त्र कोही जीवित भए पनि सम्पर्क गर्न कुनै साधन थिए । न त मोवाइल फोन थिए, न त इन्टरनेटका च्याटरुम । उनीहरु दुवै जनाले पनि मोवाइलफोन प्लेनमै छाडेर पानीमा हाम फालेका थिए । तर साथमा भए पनि के गर्नु र ! नेटवर्क चल्ने सबै प्रविधि ध्वस्त भैसकेकोले हिजोसम्म दैनिक जीवनको अभिन्न अङ्ग बनेको मोवाइल पनि केटाकेटीको खेलौनासरह भैसकेको छ । न त त्यो मोवाइललाई चार्ज गर्न कुनै विद्युतको सुविधा नै छ ।

घाम लागेको छ । आकाश खुला छ । नीलो आकाश प्रफुल्ल भएर फैलिएको छ । मानौँ त्यो बिनासले उसलाई केही फरक परेको छैन । सुप्रिया भने चिसो भूमिमा उभिएर भताभूङ्ग भएको दुनियाँ देखेर पनि विश्वास गर्न सकिरहेकी छैनन् । उनीहरुले देखे भोगेका सुविधा र प्रविधिमध्ये हातमा बाँधेको घडी छ र प्लेन अगाडिपट्टि पानीमा पौडी खेलिरहेको छ । त्यत्तिकैमा सुप्रिया रुन थालिन् । उनको भक्कानो भरिएर आयो । उनले आफन्त, परिवार साथीभाइलाई सम्झिन् । सबै मारिए, सकिए अब उनको सम्झनामा मात्र उनीहरुको अस्तित्व थियो ।

चिन्तामणिले ‘किन रोएको डार्लिङ? चिन्ता नगर’ भन्दै आफ्नो चिसो कपडासँगै सुप्रियालाई छातीमा कँसे । एउटा हातले पिठ्यूपछाडि विस्तारै मसार्दै सुप्रियालाई मसार्न थाले । अर्को हात सुप्रियाको कम्मरमा थियो । सुप्रियाका दुवै हात चिन्तामणिका दुवै काँधको सहारामा अडिएका थिए । सुप्रियाको भिजेका कपडा र भिजेको कपालबाट तपतप पानी चुहिँदै थियो । दुबैका ओँठ एकआपसमा जोडिए । तातो श्वास घुलमिल हुँदै गयो । एकैछिनपछि चिन्तामणिले भने ‘यो चिसोले हामी बिरामी हुन सक्छौँ, कपडा खोलौँ र कपडालाई ऊ त्यो परको ढुङ्गामा सुकाऔँ ।’ सुप्रियाले ‘के लगाएर यो कपडा खोल्ने? नाई मलाई लाज लाग्छ’ भनिन् ।

>’यो कुनै मान्छे वा पशु कोही नभएको ठाउँमा तिमीलाई अब के को लाज? संसार पुरै अब हाम्रो बेडरुमजस्तै भएको छ। अब कसैको लाज मान्नुपर्दैन। बरु हिँड ऊ त्यो परको ठूलो ढुङ्गोनगिच जाऔँ र कपडा सुकाऔँ’ चिन्तामणिले भने।

दुवैले अंगालो बाँधेर हिँड्दै ढुङ्गानगिच पुगे । कपडा खोल्दै ढुङ्गामा सुकाउँदै गरे । उनीहरुलाई त्यहाँ अरु कोही छैन भन्ने थाहा थियो । तर पनि कपडा खोलेर नाङ्गै हुँदा कता कता लाज भने लाग्यो । तर त्यो लाज सजिलै पचाउँदै गए । त्यो खुला संसार पनि उनीहरुको बलेको बल्बमा उज्यालो कोठाभित्रका श्रीमान श्रीमतीजस्तै महसूस गर्न थाले । त्यत्तिकैमा सुप्रियाको मलिन अनुहार देखेर चिन्तामणिले सुप्रियालाई नजिक तानेर आफ्नो छातीमा टाँसे । सुप्रियाले भनिन् ‘बाबा र आमाको याद आयो ।’ चिन्तामणिले सुप्रियाको निधारमा चुम्बन गरेर आँखाको आँशु पुछिदिए। फेरि सुप्रिया मुस्कुराउँदै फेरि चिन्तामणिको छातीमा आफ्नो गाला टाँसेर अडिइन् ।

दुबै जना निकै थाकेका थिए । भिजेका जुत्तामोजा खोलेर सुकाएकोले खुट्टामा माटो टाँसिएको थियो । त्यो माटो धुन खोलासम्म गएर धोए पनि त्यहाँ आउँदासम्म फेरि झन् धेरै हिलो लाग्ने थियो । कुनै भाँडोमा पानी ल्याएर खुट्टा धोएर आराम गर्न पनि केही भाँडो नै थिएन । त्यसैले हिलो लागेको खुट्टासँगै त्यो ढुङ्गामा उक्लिए र चिन्तामणि बसे । सुप्रिया पनि चिन्तामणिको हातको सहारा लिएर माथि उक्लिइन् र चिन्तामणिको नाङ्गो साप्रामा गाला टाँसिने गरी टाउको अडाएर शरीर सत्रङ्ग पारेर आराम गर्न थालिन् । चिन्तामणिले टाढा टाढासम्म हेरे । आँखाले देख्दै गरेको क्षीतिजभन्दा पारिसम्म पनि हेर्ने प्रयास गरे । तर सबैतिर सुनसान छ । न त कतै चराचुरुङ्गी छन् न कतै रुखबिरुवा । पानीभित्रका जीव जन्तु बाहेक जमिनमा उनीहरु दुईजना बाहेक अरु कोही पनि छैन भन्ने कुरामा चिन्तामणि निश्चित भए । एकछिन दुवैजना आ–आफ्नै चिन्तामा मग्न भए । आफ्नो काखमै सुप्रिया निदाएको देखेर चिन्तामणिले विस्तारै सुप्रियाको कपाल सुम्सुमाउँदै कपालको पानी सुकाउने प्रयास गर्दै सुप्रियालाई निदाउन दिए । तर चिन्तामणिको मस्तिष्कमा भने झन पछि झन् चिन्ता थपिँदै गयो । विस्तारै थकाई पनि कम भयो र भोक लाग्न थाल्यो । सोचे ‘सुप्रियालाई अब जाग्दाखेरि भोक लाग्छ। के खाने ? कहीँ कतै केही छैन ।’ कतै घासपात भएको भए पनि त्यही चपाउनु हुन्थ्यो जस्तो लाग्यो उनलाई । ढुङ्गा र माटो छ जताततै त्यो खान सकिँदैन । आफूले के खाने भन्ने भन्दा पनि सुप्रियाले भोक लाग्यो भन्दा के खुवाउने भने चिन्ता लाग्यो उनलाई ।

त्यत्तिकैमा उनको दिमागमा पानीमा सत्रङ्ग परेर र्सूयको प्रकाशमा टल्किरहेको प्लेनभित्रको बिस्कुट याद आयो । उनले सुप्रियालाई अहिले नचलाई आराम गर्न दिने, सुत्न दिने अनि उठेपछि पौडिएर प्लेनमा जाने र भित्रैका बिस्कुट–सिस्कुट खानेकुरा ल्याउने र एक दुई छाक टार्ने जुक्ति सोचे । एकछिनपछि सुप्रियाको टाउको अडिएको उनको खुट्टा पाटियो । विस्तारै चलाउन मन लाग्यो । तर सुप्रियाको निद बिग्रन्छ, आराम गर्न पाउँदिनन् भन्ने सोचेर अप्ठेरो लागे पनि खटाउन सक्दासम्म उनले आफ्नो खुट्टा चलाएनन् । सुप्रियाको कपाल सुम्सुमाउँदै खुट्टा नचलाई विस्तारै आफू पनि हातको आड लिएर आराम गर्न थाले । आड लिएको हात पनि पाटिँदै गएपछि खुट्टा नचलाई विस्तारै पिठ्यूँको आडमा शरीरलाई पछाडि लगेर उत्तानो परेर आराम गर्न थाले । निकै थाकेको शरीर भएका कारण उनी पनि भुसुक्क निदाए । 

सुप्रियाको आँखा खुल्दा चिन्तामणि उत्तानो परेर निदाई रहेको देखिन् । आफ्नो निन्द्रा बिग्रन्छ कि भनेर खुट्टालाई नचलाई आराम गर्दा चिन्तामणि निदाएको अवस्था बुझेपछि आफ्ना श्रीमानप्रति निकै माया लाग्यो उनलाई । चिन्तामणिको ओंठमा आफ्नो ओंठ जोड्ने र चुम्मा खान मन लाग्यो। तर चिन्तामणिको निन्द्रा बिग्रन्छ भन्ने सोचेर आफ्नो इच्छालाई भित्रभित्रै दबाइन् उनले । विस्तारै टाउको उठाइन् । कपाल पनि सुकिसकेको रहेछ । शरीर पनि सुकिसकेको रहेछ । थकाई पनि कम भएर शरीरमा थोरै भए पनि फूर्ति महसूस गरिन् । सुकाएका कपडालाई मन्दमन्द हावाले फुरफुर पार्दै थियो । कपडा पनि सुकिसकेछन् भन्ने उनलाई लाग्यो । कपडा छामिन, सुकिसकेका थिए । चिन्तामणिको गन्जी उडेर ढुङ्गाबाट तल माटोमा पुगेको रहेछ । पहिला गएर त्यो गन्जीमा माटो नलागोस् भन्ने सतर्कतासहित उठाइन् । जमिनको माटो पनि अलि सुकिसकेको रहेछ । त्यो गन्जी पट्याएर ढुङ्गाको अर्को छेउमा राखिन् । चिन्तामणि निदैनिदमा हर फेरेर हातको सिरानी पारेर सुत्न थाले ।

सुप्रियाले कपडा उठाइन् । आफ्नो कपडा लगाइन् । आफ्नो ड्रअरमा भएका कपडा सम्भि्कन्, सबै भताभुङ्ग भैसकेका थिए । उनीसँग अब बाँकी केही थिएन । त्यही भएका कपडाबाट समय काट्नु थियो । आफ्नो कपाल हातले सम्हाल्दै पछाडि लगेर जगुल्टो पारिन् । न धेरै लामो न छोटो कपाल भएकोले सानो चुल्ठो पर्‍यो । चिन्तामणिका सबै कपडा पट्याउँदै ढुङ्गामा राख्दै चिन्तामणिको सत्रङ्ग परेर सुतेको शरीर हेर्दै गइन् । मन्द हावाले चिन्तामणिको शरीरका रौंहरु सुकेर विस्तारै हल्लिँदै थिए । उनको नाङ्गो शरीरलाई च्यादरले ढाकिदिएर उनलाई आनन्दको आराम गराउने इच्छा जाग्यो सुप्रियालाई । तर न त त्यहाँ च्यादर थियो न सिरक नै । त्यत्तिकैमा अबका दिन र रात कसरी कटाउने सुविधाविहीन संसारमा भन्ने सोचले उनको मन खिन्न भयो । 

चिन्तामणिका कपडा पट्याएर राखिसकेपछि प्लेन आपतकालीन ल्याण्ड गराएर पानीमा हाम फाल्दा लगाएका ती आपतकालीन लुगा पनि पट्याएर पोको पारिन् । पहिले पाइलटको ट्रेनिङ गर्दा ती लुगा उनले ट्राइ गरेकी थिइन् । त्यसपछि उनले कहिल्यै ती लुगा प्रयोग गरेकी थिइनन् । झल्यास्स उनको मस्तिष्क ती ट्रेनिङका दिनमा रुमलिन थाल्यो । ती दिनका वरिपरि मडारिन थाल्यो । ती दिनहरु सबै सपनाजस्तो लाग्यो । त्यो सबै प्रविधि र सुविधासम्पन्न दुनियाँको सपनाबाट झ्वाट्ट जागेर अहिले बल्ल विपनाको दुनियाँमा पुगेजस्तो भान भयो । यो विपनाको दुनियाँमा उनको बिजुलीबत्ति, गाडी, दुनियाँ ग्याँस चुल्हो, माइक्रोवेभ केही थिएन । पानीमा अलपत्र परेको प्लेनले भने त्यो दुनियाँ पनि तेरो विपना नै थियो भनेर सन्देश दिइरहेको थियो । तर उनको भावना सपना र विपना छुट्याउने अल्मलमा अल्भि्करह्यो । 

मन्द–मन्द चलिरहेको हावाको रमाइलो छंडमा एउटा अलि बढि हावाको झोका आयो। सुप्रियाले पट्याएर राखेको चिन्तामणिका कपडा फरर गर्न थाल्यो । उनले सबैभन्दा तल आपतकालीन अवतरणका समय लगाउने ती कपडा राखेकी थिइन् । त्यसमाथि चिन्तामणिको जिन्स । त्यसमाथि चिन्तामणिका कट्टु, त्यसमाथि गन्जी र सबैभन्दा माथि सर्ट राखेकी थिइन् । हावाले त्यो सबैभन्दा माथि राखेको सर्टको बाउला उडाएर चिन्तामणिको हातमाथि पुर्‍यायो । त्यो सर्टको बाउलाको स्पर्शले चिन्तामणिको निद पनि खुल्यो । चिन्तामणि उठे । अनि कपडा पहिरिए । मन्दमन्द हावाले चिसो चिसो पनि लागेको थियो । कपडा लगाउँदा आनन्द आयो। हातका औंलाले कपाल माथि फर्काए । ‘अब त कपाल काट्ने सैलुन पनि छैन केही दिनमा तिम्रोजत्रै हुन्छ मेरो कपाल पनि’ चिन्तामणिले भने। ‘कपालकै चिन्ता छ, यहाँ आफूलाई भोक लाग्न थाल्यो। के खाने, केही खाने कुरा छैन?’ सुप्रियाले भनिन् । 

‘ल अब पौडिएर म प्लेनमा जान्छु त्यहाँ बिस्कुट र अरु ड्राइ फूड छ नि, त्यो लिएर आउँछु अनि खाउँला’ चिन्तामणिले भने । 

‘अँ त नि मलाई त त्यो होसै थिएन, ल हुन्छ’ भन्दै खुसी मानिन् सुप्रियाले र आफ्ना दुबै हात चिन्तामणिको घाँटीको वारिपारिबाट पछाडि लागेर ओंठचाहिँ चिन्तामणिको ओंठसँग जोडिन् । 

23 September 2011

(स्रोत : Nepalisandesh.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.