रात-साँझ
पिठ्यूँ भाँच्चिने गह्रुँगो भारीले थिचिएर
पहाडबीच ढुंगाको कापबाट
उम्केर आएका छन् केही उज्याला आँखा
के बोकेर ओरालो लाग्दै होलान्
ती लड्खडाइरहेका पिँडुलाहरू ?
हेरिरहेछु चिसो हावाले फुटाएका हातका हूल
बाटोका छेउछाउ
भोज्र्याङभन्दा धेरै माथि
भोकले सेपि्रएका पेटमा पटुकी कसेर
माथि-माथि हेरिरहेछन्
पहाडबाट तल-तल झरिरहेका पिँडुलाहरू ।
निर्जन पहाडबीचबाट यौवनमै बूढा भएका
दमले ख्याउटे भएका वृद्ध लास लिएर
किन ओह्रालो झर्दैछन् पिँडुलाहरू ?
भोज्र्याङ तल नदीको मूर्दाघाटका लागि
यी पिँडुलाहरू पाहुना हुन्
यी पिँडुलाहरूलाई सधैँ मूर्दाघाट आउने रहर किन ?
सधैँ यिनीहरू आधा रातमा घर पुग्छन्
दमले ख्याउटे भएको लास ढिलो जलेको गुनासो गर्छन् ।
भोज्र्याङभन्दा धेरै माथि भीरमा टाँस्सिएका घरहरू
त्रासदीमा बाँचेजस्ता किन मौन छन् सधैंँ ?
स्वप्नहीन आँखाहरू
नानीहरू जम्मा गरेर सुनाउँछन् सधैँ
ख्याउटे लास ढिलो जलेका कथाहरू ।
सिरेटोले चिरा परेका पाइताला घिसार्दै
राती भोज्र्याङका बाटामा
मलामीझैँ एक हूल राँके भूत कता गइरहेछन्
भोज्र्याङभन्दा अझै माथि ?
ती ख्याउटे राँके भूतहरू
चुपचाप मध्यरातमा घर पसे
र, आज पनि गुनासो गरे ः
‘ख्याउटे लास ढिलो जल्यो’ ।
सधैँझैँ रातको अन्धकार चिर्दै
आमा भन्छिन्, ‘कोही मान्छे अभागी हुन्छन्
बाबै ! तिनको लास ढिलो जल्छ’
अभागी लासका कहानीहरू आज पनि सुनेँ मैले ।
(स्रोत : नेपाल साप्ताहित अंक: ४६०)