म त मान्छे परेँ
भूतसँग डर लाग्दोरहेछ
नडराऊँ भन्दा पनि
भूतले देख्दैन-
राम्रो के ?
नराम्रो के ?
म कसरी ढुक्क बसँू ?
नराम्रो गरेको छैन भनी
भूतसँग डराउन नराम्रो गर्नैपर्ने रहेनछ !
भूतसँग नडराउन राम्रो गर्नु पनि काफी रहेनछ !
म त मान्छे परेँ
भूतसँग डर लाग्दोरहेछ
नडराऊँ भन्दा पनि !
भूत त भूतै थियो
भए पनि
सँगै खेल्थ्यौँ-
म र भूतको सिपाही
भूतको सिपाही भूतजस्तो लाग्थेन
मान्छेजस्तै लाग्यो ऊ
म गलत रहँेछु
भूतको सिपाही भूतभन्दा डरलाग्दोरहेछ
भूत-
हेर्दा पनि भूत थियो
चिनिन्थ्यो टाढैबाट
बेलैमा डराए पुग्थ्यो
भूतको सिपाही-
हेर्दा मान्छेजस्तो
नजिकिन मन लाग्ने
बाहिर एक
भित्र अनेक चरित्रको
खतरनाक जीव !
हिजोभन्दा आज ज्यादा
बलिया भएका छन्
भूतहरू !
सायद त्यसैले
हिजोभन्दा आज अलि
कमजोर भएको छु,
म मानव !
आजभन्दा भोलि अलि
बलियो भइदिए
म मानव !
सम्भवतः
आजभन्दा भोलि ज्यादा
कमजोर हुनेछन्
भूतहरू !
(स्रोत: मधुपर्क २०६७ फागुन, गोविन्द गोठाले विशेष )