शेखर श्रीकान्त बिहानको चिसो चिसो हावामा रमाउँदै हिड्दै दुध किन्नका लागि पसल खोज्न हिंडे । अघिल्लो दिनमै छोरासँग गएको पसल खोज्दै जाँदा पसल पनि भेटियो तर पसल त बन्द रहेछ । बाटोमा गाडी पनि एउटा दुईटा मात्र हिंडेका । बाटो सुनसान । आकाश खुला छ । घाम लागेको छ । तर सुनसान भने मध्य रात जस्तो छ । छोरी ज्वाई जापानबाट आउँदा ल्याइदिएको नाडीघडीमा समय हेरे विहानको दश बज्न ७ मिनेट मात्र बाँकी रहेछ । तर बुढाले दुध किन्न पाएनन् । पसल खुलेकै रहेनछन् । यता उता हेर्दा र परै सम्म पुग्दा पनि सुनसान छ । दुध किन्न कुनै पसल पनि खुलेको फेला परेन् ।
शेखर श्रीकान्त हिजो मात्रै लण्डन आएका हुन् । नेपालमा सरकारी जागिर खाएरै छोरो पढाए लेखाए र बेलायत पठाएका थिए उनले । त्यही छोरोले हिजो बिहानै आफ्नो बुवालाई हिथ्रो एयरपोर्टबाट आफ्नै गाडीमा लण्डनको घरमा ल्याएका हुन् । शेखरलाई पनि बेलायतको रमझममा रमाउने खुब रहर थियो । त्यसैले आउँदाकै दिन छोराबुहारीसँग उनीहरुको किनमेल गर्ने दुकानहरु, ग्रोसरी पसल घुमिसकेका थिए । घर नम्बर र गल्लीको नाम कण्ठ पारेका छन् । यती भए पछि त यताउता हराए पनि छोराको घर पत्ता लाउन सकिने आँट पनि छ, उनमा ।
>हुन पनि सरकारी जागिर खाएर कस्ता कस्ता हाकिम समेत रिझाएर खली परेका बुढा ! आफनो जमानाका चल्ता पूर्जा र टाठाबाठा सुब्बा न ठहरिए । आउँदाकै दिन लामो हवाई यात्राको थकाईलाई पनि वास्ता नगरेर घुमफिरमा गएकाले पनि झन थाकेका हुनाले घाम छंदै उनलाई हाई हाई आएको देखेपछि उनलाई छोरा बुहारीले कर गरेर सुत्न पठाएका थिए ।
>शेखर जाग्दा उज्यालो भै सकेको थियो । तर घरमा अरु कोही उठेका रहेनछन् । सुनसान थियो । श्रीमती बितेको पनि पाँचबर्ष भैसक्यो । त्यसैले बिहानमा आफै चिया बनाएर खाने बानी परेको छ उनलाई । श्रीमती छँदा सम्म त उनैले वेडटी खान दिन्थिन् । विहानै चियाको तलतल लाग्ने बानी पारिदिएकी छन् । बिहानको वेडटीको समय सँगै श्रीमतीको संझना बोकेर विस्तरा छाड्ने बानी परेको छ । श्रीमतीकै सम्झना लिएर चिया पकाउने र खाने उनको दैनिकी नै बनेको छ ।
उठेर सिरक पट्याए तन्ना तानतुन पारे खुचमुचिएको सिरानीलाई सपारे । अनि बाथरुममा गएर नुहाईधुवाई गरे । तातो पानी र चिसो पानी मिलाएर मनतातो पारेको पानीले सावरको फोहरामा रमाई-रमाई नुहाए पछि उनी भान्सामा पसे । चिया पकाउने मेसो मिलाउन दुध झिक्न फ्रिज खोल्दा दुध त रहेनछ । हुन त एयरपोर्टबाट आएपछि ग्रोसरी गएर छोरा बुहारीले हिजो दुध पनि ल्याएका थिए । तर बुहारीले ससुरालाई खिर खुब मन पर्छ भनेर खिर पकाउँदा दुध सकिएको रहेछ । शंखरलाई दुध हालेकै चिया खानुपर्ने । उनलाई दुध नहालेको रातो चिया त मनै नपर्ने । फेरि, मिठो चियाका सौकिन सरकारी कर्मचारी परे उनी ।
>बाहिरबाट चराको चिरबिरको आवाज आइरहेको थियो । चियाको तलतलले अलि अत्याए जस्तो पनि भए बुढा । अनि दुध किन्न जाने विचार गरे । उनले बाटोमा चाहिएला भनेर नेपालबाटै ल्याएको दश दश पाउण्डका दुइवटा र एउटा पाँच पाउण्डको नोट उनीसँग जस्ताको तस्तै थियो । हुन पनि प्लेनमा चढेपछि खाना एयरवेजले नै दिई हाल्यो । एयरपोर्टबाट बाहिर निस्कनासाथ छोराले कारमा बसालिहाल्यो, त्यो पैसा खर्च नै भएको थिएन । अब गएर त्यही पैसाले दुध किनेर ल्याउने विचार जाग्यो उनमा । हिजो घरमा आए पछि घरमा ढोका लाउने र साँचो लिएर हिड्ने गर्न सिकाउँदै एउटा साँचो पनि दिएका छन्, छोराले । साँचो, खल्तीमा हालेर विस्तारै ढोका खोलेर बाहिर निस्केर बाहिरबाट ढोका तान्ना साथ ढोका आफै लक भै हाल्यो ।
>अघिल्ला दिन छोरासँग गएको ग्रोसरीमा पुग्दा त दुध पक्कै पाइएला र घरमा गएर चिया पकाएर खाउँला भन्ने खुव आँशा थियो । तर, त्यो पसल पनि खुलेको रहेनछ । यस्तो अवेला सम्म पनि दुध किन्न दुकान नखुल्ने बेलायती चलन देखेर वाक्क लाग्यो उनलाई । चिया खाने दुध किन्न नपाए पछि परलोक भएकी श्रीमतीको खुब याद आयो । यस्तो घाम झक्झकी लाग्दा सम्म पनि दोकान नखोल्ने र सुति राख्ने बेलायतको चलन देखेर उनलाई रिस पनि उठ्यो । दुध किन्न नपाएर वेड टी खुवाउने श्रीमतीको यादले सताउन थाल्यो । हुन पनि श्रीमती बाँच्दा सम्म बिहान सधै मिठो चिया खुवाउँथिन उनले । कहिले काही माइत गए पनि घरमा काम गर्ने केटीलाई राम्ररी अह्राई पर्राई गरेर जान्थिन । कुनै दिन पनि उनलाई चिया नखाई विस्तरा छाड्न परेको थिएन् । तर बेलायत आएको भोलि पल्टै उनको दैनिकी बिग्रियो । अंग्रेजहरुले बिहानीले दिन दर्सउँछ भन्थे, खै बेलायतको बर्साई राम्रो होला जस्तै छैन, भन्ने पनि लाग्यो उनलाई । बिहानमा चिया खाने दुध किन्न त नपाइने बेलायतमा कसरी विकास भएको होला भनेर अचम्म पनि लाग्यो उनलाई । दोप्पर हुँदासम्म र उनको घडीले दश बजाउँदा सम्म पनि सुनसान सडक र शुन्यता देखेर उनलाई अचम्म लाग्यो । उनले बिहानको टुँडिखेलको भिडभाड सम्झे । काठमाडौको मुटुमै पर्ने न्यूरोड निरै हुर्केका हुन उनी । टुँडिखेलमा बिहान कसरत गर्ने र दौड्ने अनि मन्दिर आउने र जानेको चहलपहल भुकभुकेबाटै सुरु हुन्छ तर यहाँ त यति बेर सम्म पनि मान्छे सुतेको सुतै छन् भनेर उनलाई दिक्क पनि लाग्यो । नेपाल त फूर्तिला मान्छेहरुको देश जस्तो लाग्यो । तर, आफ्नो देशको दुर्गती र आफु आइपुगेको दोप्पर सम्म सुत्ने अल्छीहरुको देशको विकास देख्दा मेहनत र इमान्दारिताबाट देश बन्ने होइन रहेछ की भन्ने शंका पनि जाग्यो उनमा ।
>त्यत्तिकैमा उताबाट एउटा मान्छे फूटपाथमा हिंड्दै गरेको देखेर अब त्यससँग दुध कहाँ किन्न पाइएला भनेर सोध्ने विचार गरे उनले । त्यो मान्छे कतिखेर आफनो नगिच आइपुग्ला र आफ्नो कुरो सोधौंला भनेर उनले बाटो कुरे । नेपालीमा सोधेर त भएन त्यसैले अंग्रेजीमा के भनेर सोध्ने भनेर उनले वाक्य गठन गर्न मनमनै सोच्न थाले । दुधलाई मिल्क, कहाँ भन्न ‘हृवेर’ किन्ने भन्न ‘वाई’ भन्ने शब्दहरुको गठन गर्न उनको विचार मन्थन गर्दा गर्दै त्यो बटुवा पनि नगिचै आइपुग्यो । उनले त्यो मान्छेको ध्यान आफू तिर ताने । उसले पनि मैले तपाईलाई के सहयोग गर्न सक्छु भन्दै अंग्रेजीमा बडो नरम पाराले सोध्यो । उसका कुरा उनले बुझदै बुझेनन् । उसले भनेका शब्दलाई उनले फोर्न सकेनन् । तर बुढाले पनि जागिरका दौरानमा अनेक चतुर्राई सिकेकै थिए । उसको अनुहार र शारीरिक भावबाट यसले पक्कै मेरो प्रस्नलाई सकारात्मक रुपमा लिन्छ भन्ने उनले बुझिहाले । त्यसपछि उनले आफूले दुध किन्न खोजेको र पसल नखुलेकोले कहाँ किन्ने भनेर सोध्न खोजे । तर अर्को मान्छेले उनका शब्दहरु बुझदै बुझेन् । हुन त शेखरले पनि अंग्रेजीमै ग्रामर मिलाएर सोधेका थिए तर उच्चारण बुझन् नसकेर ती दुवै जनाले एउटाले भनेको कुरा अर्काले बुझन सकेनन् । तर ‘मिल्क’ भन्ने शब्द चाँही बुझे छ क्यारे त्यो बटुवाले र अन्दाज लगाए होला ! यो मान्छे कुनै अन्य देशबाट हालसालै आएको होला र दुध किन्न खोजे होला भनेर । त्यसैले उसले अलि ढिलो ढिलो गरी बोलेर शेखरलाई दुकानहरु एकछिन पछि खुल्छन् पर्खनु कि त २४ सै घण्टा खुल्ने अफलाइसन्स त्यो गल्लीको अन्तिमबाट दायाँ मोडिए पछि भेटिन्छ त्यहाँ किन्नु भन्यो । तर, शेखरका लागि भने त्यो ब्यक्ति सारै छिटो बोले जस्तो लाग्यो र केही बुझनै सकेनन् तर पनि उनले ओके ओके भने पछि त्यो बटुवा पनि ट्रेन स्टेसन तिर लाग्यो । त्यतिनजेलमा फाट्ट फूट्ट एक दुई जना बाटामा हिड्ने मान्छे देखिन थालेका थिए । त्यत्तिकैमा परबाट अलि छिटो छिटो हिड्दै एउटा २८-२९ बर्षो लिखुरे पातलो मान्छे उनी भए तिर आयो । उनलाई यसलाई सोधुँ कि नसोधुं भन्दै अलमल हुँदै थियो । त्यही लिखुरे उनी नजिक आएर चिल्लर लेन भनेर भाग्न थाल्यो । शेखरले कुरो बुझेनन् भन्ने थाहा पाएर उसले क्वाइन माग्यो । त्यसपछि उसले विस्तारै आफूलाई फोन गर्न क्वाइन चाहिएकोले पैसा मागेको भन्ने कुरा बतायो । बेलायतमा आएका नयाँ मान्छेलाई कसरी भन्दा कुरा बुझ्छन् भन्ने उसलाई थाहा रहेछ त्यसैले शेखरले बुझ्ने गरी मुखको भाव, शरीरको सञ्चालन र शब्द उच्चारण गरेको थियो । शेखर उसका कुराबाट अलमल्लमा परे, तर यसो विचार गरे । यो झुत्रा मैला कपडा लगाएको भुत्लुङ्ग परेको यसलाई कुनै दुःख परेर जरुरी फोन गर्न परेछ क्यारे भन्ने सोँचेर आफुसंग रहेको पाँच पाउण्डको नोट उसलाई दिए । त्यो खोतले त्यो पैसा पाए पछि छिटो छिटो हिड्दै त्यो गल्लीको पल्लो टुप्पामा पुगेर दाँया मोडियो । थ्याङ्क यू, भन्ने शब्द दोहर्याउँदै उ गयो ।
>शेखर भने अलमल्लमा पर्दै यता उता टोल्याउन थाले यस्तो घाम टन्टलापुर हुँदा सम्म पनि दुकान नखुलेर दुध किन्न नपाएकोमा आफै अचम्ममा परे । त्यो पाँच पाउण्ड लिएर गएको गोरे केटो फेरि गल्लीको पल्लो टुप्पामा देखा पर्यो । अलि नगिच आउँदै गयो । उसको दाँया हातमा खोलेको वियरको क्यान थियो । अर्को हातमा प्लाष्टिकले अल्झाइएका दुईटा वियरका क्यान थिए । झन् झन् नजिक आउँदै गर्दा उनी नजिक आएपछि क्याङ्क यू, भन्दै टे्रन स्टेसनको कुना तिर लाग्यो । उसले वियर किनेर ल्याएको देखेर उनले यस्सो विचार गरे । त्यो गल्लीको अन्तिमबाट दायाँ मोडिए पछि खुलेको दुकान भेटिन्छ होला भन्ने अर्थ लगाए, र त्यतै लागे । नभन्दै त्यहाँ अफलाइसन्स पसल खुला भेटियो । एउटा दुधको ग्यालन बोकेर काउन्टरमा पुगे । पैसा बुझाए । त्यसपछि घरमा पुगेर चिया पकाएर खाँदै गर्दा छोरो पनि उठ्यो । अनि छोरालाई चिया पकाउन दुध फेला नपरेर दुध किन्न गएको कुरा सुनाए । बिहान दश एघार बजे सम्म पनि दुकान नखुल्ने र दोप्पहर सम्म घाम माथि आउनजेल सुत्ने अल्छी बेलायतीलाई गाली गरे । छोराले भने अबेलासम्म सुतेकोमा बाबु रिसाएको अनुभूति गर्यो । त्यस पछि शेखरले अफलाइसन्स सम्म पुगेर दुध किनेर ल्याउन आफू सफल भएको फूर्ति लगाए । तर, खातेले पाँच पाउण्ड ठगेर लगेको गुनासो भने उनले पोखेनन् । आफू ठगिएको र कसैको दुःखमा सहयोग गर्छु भन्दा रक्सीको अम्मलीलाई रक्सी खान पैसा दिएको कुरा उनले भनेनन् ।
>त्यस पछि छोरा चाँहिले बल्ल बिहानको साढे पाँच बज्दै गरेको र शेखरको घडीमा नेपालकै समय रहेको कुरा मिठो गरी शेखरलाई सम्झाए । बेलायतमा जाडो समयमा बिहान ८ बजे सम्म पनि अन्धकार रहने र ४ बजे नै रात पर्ने देखि लिएर गर्मी समयमा बिहान चारै बजे घाम लागिसक्ने समय चक्रका बारेमा छोराले शेखरलाई बेलिबिस्तार लगाए । बर्षको दुई पटक घडीको र्सुई एक-एक घण्टा घुमाएर समय मिलाउनु पर्ने बेलायती समय तालिकाका बारेमा पनि उनले प्रष्ट पारे । यो घडी घुमाउने समस्या बेलायतमा मात्र होइन युरोपका अन्य मुलुकमा पनि छ । भन्ने पनि बताए । युद्धका लागि उज्यालो र अध्यारो समय तालिका सहितका युद्ध नीति बनाउने क्रममा बर्षो दुई पटक घडी घुमाउने नियम लागु भएको पनि उनले प्रष्ट पारे । छोराले शेखरको घडीमा रहेको नेपालको समयबाट र्सुइ घुमाएर घडीको र्सुइमा बेलायती समय मिलाइ दिदाँ त भरखर साढे पाँच बजेको रहेछ । त्यसपछि शेखरले साँझे नपरे पनि अपरान्ह ६ बजे पछि बेलायतीहरुले घाम र्छर्दै गुड इभनिङ किन भनेका रहेछन भन्ने पनि बुझे । दुध बेच्ने दुकान टन्टलापुर घाम लाग्दासम्म पनि किन नखुलेका रहेछन् भन्ने पनि कुरा बुझे ।
(स्रोत : Nepalisandesh.com)