प्रिय सम्बोधन !
मान्छे नै यस्तो अजीव प्राणी हो, जो सीमान्त दुर्लभ क्षणबाट पनि साच्चै नै माथि उठ्न सक्दछ; जतिखेर सायद देवताहरू पनि ईष्र्यामा हुन्छन् । यसैले लाग्छ, स्वर्गका देवताहरू पनि ऊभित्रको ईश्वरभन्दा अलग छ; जो कहिल्यै तल गिर्ने जोखिम उठाउदैनन्; जसरी पशुहरू पनि कहिल्यै माथि उठ्ने सपना सोच्दैनन् । यसरी मान्छेको आफ्नो मौलिक पहिचान छैन । ऊ देवताभन्दा माथि उठ्न पनि सक्छ, पशुभन्दा तल गिर्न पनि सक्छ । यसर्थ मानववाद मनुष्यको सबैभन्दा ठूलो भ्रम हो । यसमा मेरा प्रिय लेखक निर्मल वर्माप्रति म पूर्णत: सहमत छु ।
सायद यसैले मनुष्यत्वको घनघोर अनिश्चिततामा मान्छे युगौंदेखि भौंतारिरहेछ……!!
जव म दु:खविना रहन्छु; मसाग सुख होइन, सुखको भ्रममात्र बाकी रहादो रहेछ । फेरि नया दु:ख खोज्न कतै टाढा जानु पर्दैन; मनको रित्तोपन भर्न दु:ख उहिल्यै साघारमा शरणागत हुदो रहेछ ।
यिनै अनिश्चितताको घना सङ्क्रमणमा अन्तस्करणबाट स्वीकृत तर मान्छेको अदालतबाट अस्वीकृत एक आउटसाइडर म, आज ईश्वरको सर्वोच्च अदालतबाट मेरो पक्षमा फैसला भएको छ । म विजयी भएकी छु । सर्वोच्च न्यायदातालाई मेरो सहस्र सलाम !
मेरो प्रिय साथ !
पाँच वर्षअघि आउटसाइडरको आफ्नै स्वीकृत पृष्ठभूमिसहित ईश्वरको अदालतमा उभिएकी थिएँ । पितृसत्ताको सामाजिक नजरमा छोरीमान्छे भएर जिन्दगीलाई गजवसित, मस्तसित हाासेरै उत्सवमय बनाई बाँचेकोमा सारा नीतिशास्त्रभन्दा बाहिर रही जिन्दगीप्रति गम्भीर नरहेको आरोपसहित मलाई अपराधीका रूपमा अदालतको कठघरामा उभ्याइएको थियो । पागल नै भने पनि मेरा गजबका रोचक अपराधहरू सहर्ष स्वीकार गरेकी थिएँ । आफन्तहीन नै अपरिचित संसारको अपरिचित बाटोमा एक्लै मस्त हिँड्थेँ, ठोक्किन्थेँ, लड्थेँ र फेरि उठेर गन्तव्य भेटे या नभेटे पनि अघि बढ्नुसागै छुटेका पाइलाहरू, बाटाहरू, दृश्यहरूको स्मृतिसुखमा रोमाञ्चित हुन्थो । कुनै नैतिक–अनैतिक, वैध–अवैध दाबी गरेर मर्यादाका नाममा नितान्त वैयत्तिmक अनुभूतिहरूलाई कुल्चादै निकम्मा र झूट साबित गर्नुभन्दा हरअनुभव एकल, अद्वितीय र मौलिक रहन्छ भन्ने विलक्षण अनुभूतिहरूमा विभत्तm भएर बाँचेको थिएँ, तर मलाई परम्परागत आदर्श र मर्यादा विपरीत आफूखुसी गजबसित, मस्तसित एकल पारा र शैलीले जीवनलाई तान्त्रिक रूपमा भोगचलन गरेको आरोप लगाइएको थियो । मेरो बाँच्नुको त्यही अराजकता नै मेरो अपराध बनेको थियो ।
यसरी अव्यवहारिक, अस्वाभाविक, अनौपचारिक एवम् अपरम्परागत म सारा नीतिशास्त्रभन्दा बाहिर एक आउटसाइडर बनेकी थिएा र आफूलाई आउटसाइडर पीडाका वादशाह नै ठान्थो तर काव्यिक अपराधीका रूपमा गर्वबोध पनि गर्थेँ ।
त्यतिखेर, म आफूभित्रका सारा वजनहरूलाई आफ्ना लेखनीहरूमा रित्याएर रित्तिएको देह मृत्युलाई सहर्ष अर्पण गर्न चाहन्थो । मृत्युको अफसोसलाई सहज वरण गर्न चाहन्थो । ता कि रित्तिएको देह चिता जल्नुमा मबाट कुनै प्रतिवाद नहोस् र जलाउनका लागि कुनै बोझ चितालाई बाँकी नरहोस् भनी हो, म केवल रित्तिरहन्थो । यद्यपि मैले कोर्टमा कविता गुनगुनाउँदा मेरो खिल्ली उडाइएको थियो । एक आउटसाइडरका रूपमा मेरो चरित्रबारे चर्का बहसहरू भएका थिए । अन्तमा मेरो असामाजिक व्यवहारद्वारा समाजलाई धमिल्याउने कुचेष्टा गरिएको प्रमाणित अपराधका लागि सजाय सुनाउनै लाग्दा कोर्टमा मजस्तै एक हूल आउटसाइडरहरूको प्रवेश भएको थियो । तिनीहरूले आफै साक्षी बसेर म अपराधी नरहेको प्रमाण पेस गरेका थिए । बरु, समाजको बाहिरी आाखाले देख्न र बुझ्न नसकेको पीडाद्वारा पीडित सबै आउटसाइडरहरूप्रति उचित न्याय हुनुपर्यो भन्दै मेरो सइज्जत रिहाका लागि अनुरोध गरिएकोमा ठीक ५० वर्षपछि अर्को सुनुवाइ हुने निर्णयका साथ बहस टुङ्गिएको थियो ।
आज मेरा खुसी र हर्षका सीमाहरू तोडिएका छन् । खुसीले झरेका यी आासुका बछिटाहरू तिमीसम्म आइपुगेकै हुनुपर्दछ । यथार्थत: मैले ५ वर्ष पनि पूरा कुर्नु परेन । हुन सक्छ ईश्वरको अदालतमा शून्य (‘०’)को कुनै अर्थ छैन र ५० बाट शून्य (‘०’) झिकेर ५ वर्षमै फैसला मेरो पक्षमा गरिएको हुनुपर्छ । मैले स्वर्गको ग्रीनकार्ड पाएकी छु । अबउप्रान्त मैले यस धर्तीमा आउटसाइडर पीडा झेल्नुपर्ने छैन । स्वर्गमै रहन आदेश मिलेको छ ।
मैले बाँचेको धर्तीका असङ्गति–विसङ्तिहरू, शून्यताहरू, बन्धनहरू, आध्याराहरू एवम् पीडाहरूविरुद्ध आउटसाइडरका रूपमा मौन लड्दै मुक्ति प्राप्तिका लागि तपस्यारत म, आज अचानक मैले आफूलाई देवताहरूवीच स्वर्गको सौन्दर्यमा पाएकी छु । सायद प्रेम, सुख र आनन्दको गन्तव्य भन्नु नै स्वर्ग हो क्यारे ! यही स्वर्गमा देवकोटा, पारिजात, हरिभक्त, वाशु शशी, शङ्कर, भूपि, माक्र्स, माओ, चेखोव, तोल्सतोय, सुकरात, जिब्रान, साल्भाडर, भ्यानगग, मोजार्ट, कितारो, निर्मल वर्मा, अमृता प्रीतम, रजनीश, डायना, मेरा केही भावकहरू र साथमा एमएफ हुसैन पनि फूलमाला लिएर स्वागतका लागि अघिदेखि तैनाथ रहेछन् । म फूलमालाले पुरिन्छु । आफूलाई सर्वश्री विश्वविजयी ठान्दै तेस्रो आँखाले स्वर्गलाई नियाल्छु । यहाँ सबै–सबै जवान देखिन्छन् । सुविधाका लागि सारा स्वर्गीय सम्पदा र सम्पन्नताहरू मलाई प्रदान गरिएका छन् । सारा कुराहरू प्राप्य छन्; सम्पूर्ण छन् । सायद कुनै शब्दको नकारात्मक विपरीतार्थ यहाँ छैन । मात्र हाासो, खुसी, हिरा, जुहारत, अप्सरा, मदिरा, सङ्गीत, नृत्य ! केवल तृप्ति नै तृप्ति !! केवल आनन्दै आनन्द !!!
आहा ! यहाँ कोही पनि वृद्ध हुदैनन् ! यहाँ कोही पनि मर्दैनन् !!
फेरि पनि उल्लासित मेरो मनले स्वर्गको भव्य र शालीन सौन्दर्यमा कुन्नि कस्तो खुसी र आनन्द खोजिरहेछु !……!!
यस्तो लाग्छ, स्वर्गको सुखद र सुन्दर आवरणभित्र मैले केही कुरा गुमाइरहेकी छु । स्वर्गका सारा दिव्य उपहारहरू उराठ लाग्दै छन् । यतिसम्म कि यहाँका अलौकिक लेखनीहरूले पनि मलाई आनन्द दिन सकिरहेका छैनन् । लाग्छ, यहाँ ‘दु:ख’ कुन चराको नाम हो, कसैलाई थाहा छैन । सोचो, हाम्रा अनौठा पात्रहरू— मनुजबाबु, सञ्जीव उप्रेती, कुमार नगरकोटी त यहाँ एक निमेष पनि टिक्न सक्नेछैनन् ।
यहाँ विपनामा बदल्नुपर्ने स्वर्गभन्दा प…र कुनै सपनाहरू छैनन्; पूरा गर्न अधुरा आकाङ्क्षाहरू छैनन् । यहाँ फूलपातहरू झर्दैनन् र आासु झार्न झर्दै गरेका फूलपातका दर्दभरी कहानी छैनन्; यहाँ वियोग छैन र वियोगपछि मिलनको दिव्य आनन्द पनि छैन । स्वर्ग आफैमा एक भयानक नरकजस्तो लागिरहेछ ।
यहाँ आँसु पिएर खुसी मुस्कुराउने काव्यात्मक अवसरहरू छैनन् । जीवनजगत्का सारा विसङ्गतिहरूलाई बाहिर मानिसको भीडमा छाडेर कोठाको एक्लो एकान्तमा रुनुको मजा छैन । स्वर्ग आफैमा विसङ्गतिहीन एउटा महा विसङ्गतिजस्तो लागिरहेछ; स्वर्ग आफैमा प्लास्टिकका सुन्दर फूलहरूको झुप्पाजस्तो लागिरहेछ ।
सायद, तिमीलाई पनि यो स्वर्ग साह्रै पट्यारलाग्दो लाग्नेछ ।
हुन पनि यहाँ सुखको एकरस विस्तारमा कुनै अल्पविराम, अर्धविराम र पूर्णविरामजस्ता अडेसाहरू छैनन् । विष्मय र प्रश्नका उक्लनुपर्ने कुनै पहाडहरू छैनन् । थपघट र बाँकी कुनै निर्देशनहरू छैनन् । मुर्दा शान्तिजस्तो, प्रतिस्पर्धाहीन जितजस्तो सास फेरेर सास लिनै बिर्सिादाको निस्सासिँदो उकुसमुकुससिबाय यहाँ कुनै रोमाञ्चक अनुभूतिहरू छैनन् । जीवनको कुनै आतुरता छैन, रौनकता छैन, जिज्ञासु गति छैन, तरङ्ग छैन । यथार्थत: दुखका साथ भन्नुपर्दा म गन्तव्यहीन गन्तव्यमा आएछु ।
यहाँ, अप्सराहरूको भावभङ्गिमा निकै हेर्नलायक हुन्छ । मातृत्वको सुखद संसारबाट अनभिज्ञ यिनीहरू मात्र यौवनका दास हुन् । मात्र यौनजन्य यन्त्र हुन् । यिनीहरू शरीरसित सम्भोग गर्छन्, तर आत्मासित होइन । यिनीहरूका लागि सम्भोग यान्त्रिक क्रियाबाहेक अरू केही होइन । यथार्थत: जबसम्म कोहीकसैले पनि लुगाको आवरणसागै खोक्रा आदर्शहरू, बोक्रे आडम्बरहरू, बौद्धिक कुटिलताहरू फाल्दैनन्; तबसम्म ऊ अहङ्कारहीन प्रेमपूर्ण सम्भोगमा समर्पित हुन सक्दैन ।
यथार्थत: यहाँ हिउदको प्रथम बर्सात्पछिको माटोको प्रेमिल सुगन्ध छैन । सपना टुटेका घायल विपनाहरू छैनन् । टन्टलापुर घामपछि साँझको मन्द हावाको शीतलता छैन । अज्ञानतापछि वेदान्तिक सुखको कुनै गुन्जायस छैन । सेवाका लागि दु:खीहरू छैनन् । दयाका लागि भिखारीहरू छैनन् । जम्मामा प्रेमका लागि कोही प्रेमका प्यासीहरू पनि छैनन् ।
फेरि विशेषमा सनसनीपूर्ण अफसाइड प्रश्नहरू नै छैनन् । रात छैन । हुरी छैन । पतझड छैन । न लोभ, न शोक, न भोक, न प्रकोप, न गरिबी, न अभाव, न तनाव, न लोडसेडिङ्, न हडताल, न बन्द, न दुर्गन्ध, न महङ्गी, म भागदौड, न युद्ध, न ईष्र्या, न घृणा, न बदनामी, न प्रतिस्पर्धा न बहाना, न दुर्घटना, न आत्महत्या, न मृत्यु !…..!!……!!! लाग्छ, धर्तीका यस्ता दु:ख र पीडाहरूबाट बेखबर देवताहरू स्वर्गको सौन्दर्यका तानाशाही उपासक हुन्; जो एकदिन आफ्नै मनबाट परित्यक्त हुनेछन् र महा नरकको आध्यारोमा निर्वासित हुनेछन् ।
समय बित्दो छ, तर म वृद्धोन्मुख छैन । यद्यपि उजाड, उराठ र उदास छु; दु:खी छु । मलाई थाहा छ, स्वर्गको स्वीकृति अस्वीकृतिविनाको आनन्दहीन सपाट सौन्दर्यबाट म पलायन हुँदै गइरहेछु । हो, म कुरूप संसार नै चाहन्छु । दु:ख, पीडा, चिन्ता, विसङ्ति नै मलाई प्रिय छन् । फूलको बिच्छ्यौनामा निदाएर जिन्दगीलाई भुल्न होइन, काँडामा जिन्दगीलाई बुझ्न चाहन्छु; अस्थायी अतिथिजस्तो जीवनको क्षणभङ्गुरता बुझेर म जिन्दगीलाई अधिकतम अर्थ दिन चाहन्छु । यतिखेर म धर्तीको समुद्रवीच आँधीग्रस्त निर्जन टापुको भयानक यादमा छु ।
यसरी ईश्वरको ध्यानाकर्षण गर्न क्रमश: म स्वर्गको मर्यादा विपरीत कुरूपताहरू लेख्दै जान्छु । ध्वंसतर्फ उन्मुख हुँदै जान्छु; आक्रामक बन्दै जान्छु; खतर्नाक बन्दै जान्छु । अन्तत: स्वर्ग अनि देवताको सम्पूर्णतामाथि नै प्रश्न गर्न थाल्छु; प्रहार गर्न थाल्छु ।
यस्तो लाग्छ, स्वर्ग वास्तवमै निरस छ; सपाट छ; एकाङ्गी छ । कि त स्वर्ग आध्यात्मिक कवचभित्र लीन छ; कि त भौतिक कवचभित्र मस्त छ । यसैले यहाँ कुनै सिर्जनशीलताहरू छैनन्; सिर्जनशीलताका रसरङ्गहरू छैनन्; जीवनका मादकताहरू छैनन् ।
मेरो निरन्तरको आक्रमणपश्चात् एक समय मेरो क्रियाकलापबाट आश्चर्यचकित ईश्वर स्वर्गमा दु:खी देखिएको, स्वर्गको मर्यादा विपरीत कर्म गरिरहेको अद्भुत पात्रका रूपमा मलाई बोलाउाछन् र सोध्छन्—
—यहाँ तिमी स्वर्गको आदर्श, प्रतिष्ठा र मर्यादा विपरीत किन मूर्खतापूर्ण कार्य गरिरहेका छौ ?
—यो जीवनको रोचक अनिवार्यता हो ।
—तर तिमी त स्वर्गमा छौ ! यहाँ त तिमीले स्वर्गकै मर्यादामा रहनुपर्छ ।
—त्यसो हो भने म यो गलत संसारमा आइपुगेछु । यदि अघि नै मलाई यो सब थाहा हुादो हो त! स्वर्ग भनेको यस्तै मूर्खहरूको जमघट हो भन्ने बुझेको भए बरु नरक नै रोज्थो !
—ठीक छ, तिमीलाई यहाँबाट यही क्षण नरकमै निर्वासित गरिएको छ ।
यसरी म विद्रोहीहरूको आँखाले आफूलाई हेर्न नजान्ने भगवान् भनाउादाहरूको आतङ्की, तानाशाही र सपाट संसारबाट कुरूप र सुन्दरता अनि उच्छ्वासले भरिपूर्ण मेरै प्रिय संसारमा आइपुगेकी छु । बन्धन र मुक्तिको प्रियतामा आइपुगकी छु । सत्यमा यो धर्ती ब्रह्माण्डकै अति सुन्दर नरक हो ।
यतिखेर म स्वर्गको सुन्दर भ्रम तोडेर यही नरककै जीवनमा अचानकको खुसीसागै उत्सवमय छु । भलै मेरो पुनर्आगमनमा स्वागत गर्नेहरू मलाई छाडेर गइसकेछन् । हो, म शून्यमा छु । फेरि पनि दु:खी छैन । किनकि सारा ब्रह्माण्डको सौन्दर्य–सम्भावना यही शून्यमा अटाएको छ ।
प्रिय भावक !
मेरो शून्यको प्रारम्भिक सम्भावना तिमी, आऊ ! असीमित जोखिमहरूसागै प्रेममग्न होऔा, सङ्गीतमग्न होऔा, नृत्यमग्न होऔं, जीवन र मृत्युसाग एकाकार होऔं !!
प्रिय मान्छे !
वस्तुत: यस धर्तीमा जन्म लिनु नै हाम्रो सबैभन्दा ठूलो रोमाञ्चकारी संयोग र सौभाग्य हो । यसर्थ बाँकी भाग्यका सारा प्रकरणहरू तपसिलका सारांशित बुँदाहरू मात्र हुन् ।
यतिखेर म धर्तीको एक सुदूर निर्जन उपत्यकामा ईश्वरको सानिध्यजस्तो सौन्दर्यमा अनुभवरत छु । टन्टलापुर घामको आडमा बादलहरू आकाशमा र बादलका छायाँहरू धर्तीमा नृत्यरत छन् । साथमा वृक्षहरू, फूलहरू, पुतलीहरू उत्सवमय देखिन्छन् । विस्तारै घामपानीको रिमझिम बर्सात्, एउटा अतरिचित वृक्षमुनि अडेसा लागेको म र मेरा इन्द्रेणी सपनाहरू ! त्यो अपरिचित वृक्षले मलाई प्रेमले आगालिरहेजस्तो महसुसमै मेरो चेतनामा कुनै शाश्वत आवाज ध्वनित हुन्छ—स्वर्गजस्तो प्रेमको सौन्दर्यले पनि किन नरकजस्तो पीडा दिन्छ !….यदि तिमी पनि मेरो नोस्ताल्जिक निमन्त्रणामा सहभागी छौ भने तिम्रो चेतनामा पनि यतिखेर सायद त्यही सत्य ध्वनित भइरहेको हुनुपर्छ । हुन सक्छ, यस्तै विपर्यासमय टकरावबाट नै यस धर्तीमा सङ्गीतको प्रारम्भ भयो र जिन्दगीको एक विशिष्ट हिस्सा बन्यो । यी र यस्तै धर्तीका अनेकन सङ्गीतमय जिन्दगीलाई मेरो कवितामय सलाम ! र तिनै सङ्गीतमय जिन्दगीको सर्वोत्कृष्ट सङ्गीतलाई अझ युग र सभ्यताकै स्वर्णिम सलाम !!
ओहो ! जिन्दगीसागको गुनासामा पनि कति सम्भावित प्रियताहरू छन् ! घृणा अनि प्रेम, युद्ध अनि शान्ति, शिशिर अनि वसन्त, रात अनि दिन, आध्यारा अनि उज्याला, वञ्जर मरुभूमि अनि हरियो फााट, कालरात्रि अनि श्वेतरात्रि–जूनरात्रि, कालो समुद्र अनि नीलो समुद्र, कतै मृत्युउत्सव अनि कतै जन्मउत्सव, कतै वियोग अनि कतै संयोग ! सबै–सबै जिन्दगीको महसुसमा !!
जब चैतको हावाले सोत्तर बढारेर लान्छ मेरा मनका धुलाम्य आकाङ्क्षा र सपनाहरू; आहा हृदयको शून्यमा मस्तिष्कीय जञ्जालबाट उन्मुक्त नयाँ फूलपालुवा र आगत सौन्दर्यात्मक कल्पनाको उच्छलनले कस्तरी पागल पागल हुन्छु र आनन्दित हुन्छु ! छचल्किन्छु !! शिरीषका, गुराासका, गुलाफका पदचापहरू सुन्छु र तरङ्गित हुन्छु !!! आहा ! कति सुन्दर छन् ! झर्दै गरेका पुष्पदलहरूको दर्दभरीको कहानी; जो मात्र मेरो हृदयले महसुस गर्छ र मस्तिष्कीय निर्देशनविना नै महसुसमै अन्तिम सत्य मृत्युको रिहर्सल गरिरहन्छ । यो धर्ती, आहा ! कति सुन्दर विश्वविद्यालय !
निश्चय नै घनघोर कुरूपताहरूपश्चात् यस धर्तीका सुन्दरताहरू— चुम्बनको आनन्द, प्रेमको आनन्द, समर्पण र एकाकारको आनन्द, कल्पनाको आनन्द, सपना र जपनाको आनन्द सारा सारा आँखाको पर्दाभित्रै शब्दहीन मौन हुन्छन् । अझ अपमान र पीडाको चरमोत्कर्षमा पनि हाम्रो आँखाको पर्दा एकाएक झरिदिन्छ । ता कि पीडाको परम सौन्दर्य पनि मनको घेरा तोडेर आँखाको पर्दाबाहिर नफर्किने गरी नजाऊन् । लागिरहेछ, प्रकृतिको यो सरल भाषाभन्दा प…र मलाई अरू केही बुझ्नु छैन ।
आहा ! जिन्दगीसाग गुनगुनाउनु कति सुखद् छ ! तर भन्न नसकिने जिन्दगीहीन स्वर्गको एकरस सपाट अहमी सौन्दर्य सम्झिनु मात्र पनि कति पट्यारलाग्दो छ; जुन सौन्दर्यले मलाई रत्तिभर पनि आकर्षित गर्न सकेन ।
यस धर्तीमा प्राकृतिक बग्नुको अर्थ ओह्रालो झर्नु हो । यसैले भनिन्छ, जिन्दगी खोला जस्तै बगिरहेछ…!…..!! तर कति सुरुचिपूर्ण छ बग्नु ! बगरहरू, फाँटहरू, मोडहरू र शृङ्खलाहीन आफ्नै पदछापहरू; जहाँ युगल बहाव छैनन्, युगल गति छैनन्, युगल डोबहरू छैनन् ! फेरि पनि जिउनुका नाममा तमाम विपरीत परिस्थितिहरूमाझ आ–आफ्नै अनुकूल सन्दर्भहरूको खोजी तिमी, म या हामी गरिरहन्छौं र हात लाग्छन् विल्कुल एकल अनुभूतिहरू ! र मध्यान्तरमा एकसाथ फिंजाइएका आ–आफ्नै शैली र ढाँचाका तमाम बहुरङ्गी अनुभूतिहरूको बजार एउटा उत्कृष्ट पेन्टिङजस्तो, अनुभूतिहरूसागै अभिव्यक्त अलग अलग ध्वनिहरूको एकमुष्ट गुञ्जन विश्वकै उत्कृष्ट सङ्गीतजस्तो र पराई खुसीसाग तिम्रो मेरो संलग्नता ब्रह्माण्डकै उत्कृष्ट कविताजस्तो ! हुन पनि पराई मनको तीतोपन मीठोपन मनले हृदयले नै महसुस गर्छ । यसैले त्यसको पीडा र आनन्द पनि अरू कसैले भोग गर्न सक्दैन, मात्र उही हृदयले नै गर्छ । यसर्थमा नै हृदयले नै हृदयको भाषा बुझ्दछ । सत्यमा कति कलामग्न छ प्रकृति र जीवन !
हो, यस धर्तीलोकमा जीवनको प्रथम स्वीकृति र अन्तिम सौन्दर्य मृत्यु पारदर्शी छ, तर पलपल अनुभवरत जीवन पारदर्शी छैन । कहिले त जन्म र मृत्युवीचको विशिष्ट क्रियाशीलता भनिएको जीवनका तिनै उत्कृष्ट पहेलीहरू— सङ्गीतकला, चित्रकला, साहित्यकला सारा सारा नै बेकम्मा बनिदिन्छन्; जतिबेला छातीभित्र मुटुको धुनहीन धड्कन उत्कृष्ट सङ्गीत, अबोध बालकको आँखामा विम्बित रङ्गहीन सौन्दर्य उत्कृष्ट चित्रकला, युवाको सम्यक विद्रोहपश्चात् धर्तीमा परेको सूर्यको प्रथम किरणसागै प्रथमपटक मुस्कुराएको शब्दहीन फूल उत्कृष्ट साहित्यकला बनिदिन्छन्; जतिखेर मान्छेको चेतना साह्रै कमजोर र निरीह साबित हुन्छ । जिन्दगीका यिनै काव्यिक जोखिमहरू मेरा लागि अधिक प्रिय छन् ।
जोखिमपूर्ण जिन्दगीसाग गुनगुनाउनु कति मधुरम छ !
यतिखेर एउटा विपरीत दिशामा म जिन्दगीसित छु । आर्यघाटको चितामा हृदयजस्तो उनको कोमल शरीर, बहुमूल्य कलाकृतिजस्तो उनको जीवन र जीवनसागै मस्तिष्कजस्तो उनको दृढ निश्चय एकतमासले जलिरहेछ र चिताको धुवाँसागै उनीसाग सम्बन्धित अन्य सारा भाववाची सत्यहरू पनि आकाशको विस्तारित शून्यतामा क्रमश: विलीन हुँदै गएजस्तो लागिरहेछ……
फेरि पनि,
विनासम्पादनको एक बसाइको कविताजस्तो जिन्दगी !
ठिक्क ठिक्क नमिलेर पनि सुन्दर लाग्ने,
ठोक्करै ठोक्करले सिर्जना गरेको सङ्गीतजस्तो जिन्दगी !
शब्दहीन भएर नि धेरै कुरा झङ्कृतजस्तो मीठो लाग्ने,
अन द स्पट बाँच्दै जाँदा
मात्र एकमुष्टमा अर्थ लाग्ने अमूर्त पेन्टिङजस्तो जिन्दिगी !
नबुझेर पनि बुझेजस्तो आनन्द लाग्ने…..
यस्तै–यस्तै मेरो आत्माको अन्तरतम तलमा जमेका संवेगहरूको एकान्त बस्तीमा जीवनप्रतिको प्रेमको उत्कृष्ट निशानी तिमीलाई नोस्ताल्जिक निमन्त्रण गरेकी हुँ । सायद, आज यस धर्तीकै उत्कृष्ट विसङ्गत भूमिबाट धर्तीलाई नै सर्वोत्कृष्ट सम्मानस्वरूपको यस निबन्धमा तिम्रो नोस्ताल्जिक पदार्पण त्यही निमन्त्रणको स्वीकृतिस्वरूप नै भएको हुनुपर्दछ । फरक फरक दु:खका लागि फरक फरक रोएर रित्तिए पनि आासु त उही हुन्छ; आँसु त उस्तै हुन्छ । यसैले अनेक दु:खको तत्क्षण मोक्ष आँसु भएजस्तै संयोग र वियोगको सीमाभन्दा पर तिम्रो मेरो यो सहयात्रा यसै धर्तीमा रित्तिनुसागै औधी सुरुचिपूर्ण मोक्षयात्रा भएको छ ।
आखिर चर्केको ऐनामा आफ्नो विम्ब जति नै टुक्रिए पनि आफू कहाा टुक्रिइन्छ र ! मस्तिष्कीय तर्कहरूले जति टुक्र्याए पनि जम्मामै रहन्छु म; सम्पूर्णमा म एकै रहन्छु । हुन पनि आाखा खोलेर उज्यालोले दिएको दृश्य र भूमिकाहरूमा विभक्त हुँदाको सत्यभन्दा आाखा चिम्लेर आध्यारोमा महसुस गरिएको सत्य कति उज्यालो, सग्लो र पूर्ण हुन्छ ! आध्यारोमै चिन्न सकिने प्रेम पो प्रेम ! आध्यारोमा महसुस गर्न सकिने अस्तित्व पो अस्तित्व !! यसर्थ मान्छे र देवता जरुर फरक छन्, तर भगवान् नै भए पनि ऊभित्रको ईश्वर र मभित्रको ईश्वर भने भिन्न नभएर एकै हुनुपर्छ भन्ने मेरो जिकिर छ ।
प्रिय सम्बोधन !
यस धर्तीमा बाँच्दा जति नै दु:खद प्रश्नहरू होऊन्, जिन्दगीसाग त्यति नै सुखद उत्तरहरू छन्— एउटा बालकले प्रथम पटक व्याकरणविना बोलेको ‘मा’ शब्दजस्तै सुखद ! जीवन त उत्तरविहीन छादै छैन, तर म उत्तरविहीन हुनु भनेको स्वयम् मेरो दृष्टि अन्तरदृष्टिको विपन्नता बाहेक अरू केही हुन सक्दैन ।
आहा ! कति रोमाञ्चक छ, जिन्दगीसाग गुनगुनाउनु !!
प्रिय जिन्दगी !
प्रिय प्रेम !
प्रिय मृत्यु !
चियर्स, सबैलाई यो आउटसाइडरको !……!! मेरो निर्वासित विजयउत्सवमा….!!! सायद, यही नै वास्तविक अस्तित्व हो क्यारे !….!!…..!!!……!!!!….
समाप्त
(स्रोत : Pustakalaya.org)