~विजय बान्तवा~
न तृष्णा छ, न भोक छ,
पानी नपिएर पनि तिर्खा मेटिएकै छ,
भोजन ग्रहण नगरेर पनि अघाएको छ।
शुद्ध भोजन पहिले ग्रहण गरिएकै हो,
शुद्ध भोजन गरिएको आभास यहॉं हराएको छ तर,
आफ्नो धर्म र सम्प्रदाय कसैले ऊँच हो भनी बताइदिएकै थियो,
तर यहॉं आएर सबै वस्तु समानान्तरमा रुपान्तरित भएको छ।
चीसो मौसममा हात ठिहिराउँछ, घाममा शरीर भत्भति पोल्दछ,
तर यहॉं अनुभूतिले नातिशीतोष्णरुप धारण गरिसकेको छ।
अभिमान नै हराएको छ, अहंकार नै मासिएको छ।
धन सम्पतिको राश आफूसित भएर पनि,
त्यो मेरो होइन भन्ने ज्ञान पलाएको छ।
आफूसित सबै भौतिक सम्पदा भएर पनि,
त्यो मेरो होइन भन्ने भाव पलाएको छ।
यहॉं कोही शत्रु हुँदैनन्, यहॉं कोही मित्र हुँदैनन्,
सबै एकै हुन्, भिन्नता केही होइनन्, फरक केही होइनन्,
यहॉं आइपुगेर वैंशको लालसा शेष भएको छ,
वैश र जवानी अझै रहे तापनि यहॉं कुनै अर्थ छैन।
यहॉं तमोगुणी भाव छैन, यहॉं रजो गुणी भाव छैन,
न ता सतो गुणी भाव पूर्ण भएर अहंकारले मात्तिएको फेरि छ।
यहॉं त जे जस्तो छ, त्यो प्रकृतिको स्वरुप नै त्यस्तै छ,
यहॉंको रीत र गतिशीलतामा आफ्नो रत्तिभर हस्तक्षेप छैन,
आफू नरहेर पनि यो संसार चलेर नै रहने छ भन्ने भाव छ।
आफू हुनुको अर्थमा सबैको हितैषी बनिदिनु भन्ने अर्थ
व्यापक र गहकिलो भएको छ।
यहॉं आइपुगेर अब –
भौतिक निर्माण र आध्यात्मिक निर्माणको सन्तुलन खोजिएको छ।
यहॉं आएर भुलहरूलाई स्वीकार गरेर,
सुधारहरू खोजिएका छन्,
यहॉं आइपुगेर अब –
आहारको शुद्धता र सतोगुणको चाहनालाई दर्शाइए पनि,
जीवनका सबै तीता मीठा
अनुभव र भावहरूलाई जितिएको छ,
इन्द्रियहरू अब बन्द छ विवेकको कारावासमा,
हात अब आफै चल्दैन, विवेकले चलाइन्छ,
खुट्टा अब आफै हिंड्दैन, विवेकले चल्दछ।
हात आफै चल्दा कस-कसलाई
व्यर्थमा स्पर्श गरिएको छ,
खुट्टा आफै हिंड्दा कता कता हिंड़िएको छ।
कानले जे सुक्कै सुनिएको छ,
आँखाले जे सुक्कै हेरिएको छ,
मुखले जे सुक्कै बोलिएको छ।
यहॉं आएर एकाएक यी सबै ठक्क अड़िएको छ,
विवेकको साङ्लोमा आफै आफ बन्द भएको छ।
अब जिब्रोले मिठास गर्दैन,
जे पनि भोजन गर्नुसक्छ,
बॉंचुलाई मात्र खानुपर्छ भन्ने जानेको छ,
अब जे सुक्कै कुरो सोचु हुँदैन भनेर,
मस्तिष्कले पनि राम्ररी जानेको छ,
त्यसले सत्य, धर्म र आध्यात्मिकता एवं परोपकार मात्र
सोचे भएको छ।
तीतो पिरो आहारको अब दास छैन यो शरीर,
नकारात्मक विचारधाराको नोकर छैन अब यो मस्तिष्क,
भोक विलासिताको संस्कार र आदत बॉंचेको छैन अब यो जिन्दगी,
यहॉं आइपुगेर अब आफू र मानव जगतको हितमा
लागिपरेको छ यो जिन्दगी।
रीस, राग, द्वेष र सन्तापको चापले
यो जिन्दगी अब छट्पटाउने छैन,
कुनै प्रतिस्पर्द्धा र कुनै भिड़न्तमा
यो जिन्दगी अब फँस्ने छैन,
यति बेला मान्छेले मान्छेको मूल्य गर्नुपर्छ,
यति बेला आफैले आफैलाई अन्वेषण गर्नुपर्छ,
सबै भौतिक गुणहरूलाई जितेर विजयेन्द्रिय बन्नुपर्छ,
जिउँदो शरीरमा नै देवत्वको आभास बॉंचुपर्छ।
(स्रोत : Snowlinenews.com – Sikkim)