पौराणिक कथा : दिव्य माछा

~बिजु सुवेदी ‘विजय’~

असन चोकमा एउटा दिव्य ढुङ्गाको माछा छ । त्यहाँ सबैले पूजा गर्छन्, जान्छन् । बच्चाहरू त्यहाँ खेलिरहेका थिए । नातिले सोध्यो :- यो ढुङ्गाको माछालाई किन पूजा गरेको ? त्यत्तिकैमा हजूरबुबाले भन्नुभयो -“हे भुराहरू तिमीहरूलाई के थाहा यो माछाको बारेमा ? यसको बारेमा मलाई यही ठाउँमा ल्याएर म बच्चा बेला मेरो हजूरबुबाले भन्नुभएको थियो । त्यस्तै मेरो हजूरबुबालाई पनि बच्चा बेला यही ठाउँमा ल्याएर उहाँको हजुरबुबाले उहाँलाई बच्चाबेला यही माछाको बारेमा भन्नुभएको थियो । त्यत्तिबेलादेखि पुस्तौं पुस्ता हस्तान्तरण हुँदै मसम्म यो माछाको बारे इतिहास जिउँदै छ ।

त्यसैले तिमीहरू पनि यही ठाउँमानै यो इतिहासबारे सुन ।”

धेरै पहिले काठमाण्डौं उपत्यकामा एकजना नामूद राजज्योतिष थियो । उसले ज्योतिषि हेरी भनेको कुरा कहिल्यै फरक पर्दैनथ्यो । एकदिन उक्त ज्योतिषको छोरो जन्म्यो । आफ्नो छोरो जन्मेको मिति, तिथि अनुसार उसले ज्योतिषि हेर्दा आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा देखेर ऊ अत्तालिन्छ । अनि के गरुँ कसो गरुँ भन्दै उसले आफ्नो नवजात शिशुलाई आफ्नो चाकरहरूलाई अह्राएर खोलामा बगाउन पठाउँछ । शिशुलाई एकजना दाउरेले भेट्टाउँछ । उसले आफ्नो गाउँमा लगेर हुर्काउँछ ।

राजज्योतिषको ज्योतिषि विज्ञानले तहल्का मच्चाउँदै जान्छ । हुँदा हुँदा बीस वर्ष वितिसकेको हुन्छ । एकदिन काठमाण्डौं उपत्यकामा अनिष्ट हुन लाग्यो भनेर हल्ला चल्छ । त्यो अनिष्ट के रहेछ भने एउटा ठूलो दिव्य माछा हुरी बतासले ल्याएको रहेछ त्यो काठमाण्डौं उपत्यकामा खस्न लागेको रहेछ । राजज्योतिषले ज्योतिषि हेरिसकेपछि त्यो माछालाई बचाउन सके पूरै विश्व अनिष्ट हुनबाट जोगिन्छ भन्ने ठहर गर्छ । राजज्योतिषले ग्रह, नक्षत्र सबै हेरेर राजालाई भनेर राजकोषको खर्चबाट हालको रानीपोखरी भएको पूरै क्षेत्र जुन पूरै सुख्खा क्षेत्र थियो त्यो पूरै क्षेत्रमा पोखरी बनाउन लगाउँछ र शनिवारको दिन बिहान उक्त पोखरीमा माछा खस्दछ भन्ने ठहर गर्दछ ।

उता दाउरेले हुर्काएका बीसवर्षो जवान युवक पनि आफ्नो पूर्खाको वंशाणुगत गुणको प्रभावले गाउँमै हुर्किए पनि सानैदेखि ज्योतिषिमा रुचि राखी लागिपरेकाले गर्दा २० वर्षो उमेरसम्ममा ज्योतिषिको हरेक कुरामा पारङ्गत भइसकेको हुन्छ । त्यत्तिबेला ऊ पनि काठमाण्डौं उपत्यका घुम्न आएको हुन्छ । राजज्योतिषले अनिष्ट हुनबाट जोगाउन बनाउन लगाएको पोखरी पनि हेर्दछ । उसले पनि आफ्नो ज्योतिष विज्ञानको सहायताले अनुसन्धान गर्दछ । उसले भने त्यत्रो ठूलो खर्च गर्नु नपर्ने २ हात चौडा र ४ हात लम्बाइको क्षेत्रभाग भए हुने भनेर अनुसन्धान गर्दछ । उसले भने रानीपोखरीभन्दा करीब ३०० मीटर परको असन चोकनिर २ हात चौडा र ४ हात लम्बाइको आयात आकारको चिन्ह लगाउँछ र माछा यहाँ खस्दछ भन्ने ठहर गर्दछ । अनि उसले त्यो सानो २ हात चौडा र ४ हात लम्बाइको अत्यन्तै सानो पोखरी बनाउँछ । त्यो चिन्ह लगाएको देखेर काठमाण्डौ उपत्यकाभरि हल्लीखल्ली हुन्छ । यो सानो पोखरी बनाएको कुरो दरवारमा पुग्छ । उक्त २० वर्षो जवान युवकलाई राजज्योतिषको अगाडि हाजिरी गराइन्छ ।

राज ज्योतिष :- मैले अहिलेसम्म ज्योतिष हेरिसकेँ त्यो कहिल्यै मिथ्या भएको छैन ।

जवान युवक :- अब मिथ्या हुनेवाला छ ।

राज ज्योतिष :- यदि तिमीले भनेको मिलेन भने तिमीलाई फाँसी दिइने छ, के यो तिमी मञ्जूर गर्छौ ?

जवान युवक :- गर्छु तर यदि हजूरले भनेको मिलेन भने हजूरलाई फाँसी दिइनुपर्छ नि ?

राजज्योतिषलाई आफ्नो ज्योतिषिमा ठूलो घमण्ड भैसकेको थियो । त्यसैले उसले दरवारमा यही प्रक्रियाको लागि तत्कालै कानूनी प्रकृया मिलाउन लगाउँछ ।

जवान युवक :- हजूरले सबै हेर्नुभएको मिल्छ । तर मैले भनेकै ठाउँमा माछा खस्छ किनकी हजूरले हुरीबतासको गतिको हिसाबै गर्नु भएको रहेनछ ।

राजज्योतिष :- म अरु कुरा सुन्न चाहन्न, तिमीले भनेको मिल्यो भने मलाई फाँसी । मैले भनेको मिल्यो भने तिमीलाई फाँसी ।

शनिवारको दिन ठूलो हुरी बतास आउँछ । माछा रानीपोखरीको ३०० मीटर परको असन चोकमा जवान युवकले २ हात चौडा ४ हात लम्बाइबो चिन्हो लगाएकै अत्यन्त सानो पोखरीमा खस्छ ।

राजज्योतिषलाई फाँसी दिइन्छ । जवान युवकलाई राजज्योतिष बनाइन्छ । जवान युवकले राजज्योतिषको घमण्ड तोड्छ । जवान राजज्योतिषले पुरानो राजज्योतिषको सम्पूर्ण कागजातहरू अध्ययन गर्न थाल्छ र उसले आफ्नो २० वर्षअगाडिको कुण्डली फेला पार्छ । त्यसबाट ज्योतिषि हेर्दा पुरानो राजज्योतिष जवान राजज्योतिषको बाउ भएको पत्ता लगाउँछ र कुण्डलीको योग अनुसार आफ्नै बुबाको टाउको खाने कारण बन्छ भन्ने नतिजा निस्कन्छ ।

नोट :- मेरो उद्देश्य इतिहासलाई वङ्ग्याउनु होइन । इतिहासका कुराहरू हामीले बच्चैबेलादेखि सुनिआएका कुरालाई जस्ताको तस्तै राखेर संरक्षण गर्ने एउटा सानो प्रयास मात्र गरेको हुँ । केही भएर भूलचूक हुन गएको छ भने यस सम्बन्धि जानिफकारहरूद्वारा यसबारेमा सल्लाह सुझावको अपेक्षा गरेको छु ।

बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौ
bijusubedi@hotmail.com

(स्रोत : Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, पौराणिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.