पौराणिक कथा : महाभारतका धृतराष्ट्रः नयाँ दृष्टि

~डा. अरुणा उप्रेती~Dr Aruna Upreti

आज मैले सुनेँ मेरा सम्पूर्ण सन्तानहरू मृत्युको मुखमा पुगे । सञ्जयले यो कुरा सुनाउँदै उनको स्वर काँपिरहेको थियो । शव्दहरू स्पष्ट थिएनन् तर, सत्य त बदल्न सकिदैनथ्ये । मैले यो कुरा सहे पनि गान्धारीले कसरी सहलिन् ? उनलाई मैले के भनुँला ? हस्तिनापुरकी महारानी आज सन्तानविहीन भएकी छन् । सायद उनको आँखामा आँसु पनि हुनेछैन । युद्धभरि प्रत्येक दिन कसै न कसैको प्रियजनको मृत्युले आँसु खसेकै छ । एउटा शरीरमा कति पो अाँसु होला र बग्ला ? यो युद्धको दोष कसको मेरो ? दुर्योधनको ? कृष्णको ? भीष्मको ?

कतै मेरो दुर्बल मन त यो युद्धको कारण होइन ? दुर्योधनको दुष्टता र क्रूरताको बारेमा मलाई सुनाउँदा पनि पुत्रमोहको कारणले चुप रहेँ । गान्धारीले पनि मलाई भनेकी थिइन-“दुर्योधनको कदममा रोक रोक लगाइएन भने पछि समस्या पर्नेछ ।” तर जब दुर्योधनलाई केही भन्न खोज्थे दुर्योधनको जन्मको घटनाले मलाई रोक लगाउँथ्यो ।

युधिष्ठिरको जन्मको खबर सुनेर, आफ्नो पुत्रको जन्म नभएको हुँदा गान्धारीले दुःखले आफ्नो गर्भमा हिर्काउँदा झण्डै गर्भपात हुन थालेको थियो । व्यासले आएर गान्धारी र उनको गर्भको सन्तानलाई बचाएका थिए । सायद यसैले होला दुर्योधनप्रति मेरो विशेष माया थियो । मेरा पिता व्यास थिए । मेरी विधवा माताले उनीसँग संसर्ग हुँदा आँखा बन्द गरिन् । म अन्धोको त्यसैले जन्म भयो रे ।

सायद उनको गर्भ भएकोले मेरी माताले मलाई जन्माउनै नचाहेर गर्भपतन गराउन चाहेकी थिइन की ? तर, त्यो चाहना कुनै पनि औषधी खाँदा सफल नभएर त्यौ औषधीले मेरो आँखामा असर पार्यो कि ?

दुर्योधन मेरो आँखाको ज्योति थियो । मेरो पुत्रको जन्ममा मलाई गर्व थियो । दुर्योधन मेरो सन्तान थियो । पाण्डुपुत्रजस्तो अरूबाट जन्मेको होइन ।

उफ् छोराहरूको मृत्युको खबर सुनेर म अन्धो धृतराष्ट्र आफ्नो जन्मेको कुरा किन सम्झिरहेछु ? म पिता भएर अब पुत्रहरूको श्राद्ध गर्न जानुपर्ने ? म जस्तो अभागी कोह िहोला ? एक सय पुत्रको पिता हुँ भनेर म कति गर्व गर्थेँ । ती सम्पूर्ण गर्व आज युद्धको मैदानमा हराए ।

मेरो आँखा नभए पनि म भीष्मको सहायताले राज्य चलाउन सक्षम हुनेछु र मेरो पुत्र दुर्योधन ठूलो भएपछि मेरो दायाँ हात हुनेछ भन्ने विश्वास थियो । मेरो त्यत्रो विश्वास कसरी नष्ट भयो ? पाण्डुको मृत्युपछि उनका छोराही हस्तिनापुरमा आए, तबदेखि नै मेरा पुत्रहरूसँग उनीहरूको वैरभाव सुरू भयो । मैले किन गैरभाव हटाउने प्रयास गरिनँ ? सायद कता कता मेरो मनमा पाण्डुपुत्र युधिष्ठिर जेठो भएकोले राज्य प्राप्त गर्नेछन् भन्ने ईष्र्या थियो कि ? उफ् म अन्धो धृतराष्ट्र, विवेकमा पनि अन्धो नै भएँ क्यारे, त्यसैले त्यो वैरभाव बढ्दै गयो ।

दुर्योधनका कुकर्म मेरो सन्मुख आउँदा र विशेष गरी पाण्डवपुत्रप्रति गरिने व्यवहारको खबर सुनाउँदा म चुप रहेँ । अर्थात् दुर्योधनका कुकर्ममा मेरो सहमत् रह्यो । मेरो विवेकहीनताको पराकाष्टा त्यो थियो जब पाण्डुपुत्रलाई जलाएर मार्ने षडयन्त्रको झिनो खबर पाउँदा म चुप रहेँ । केही थाहा नपाएजस्तो गरी सायद त्यही बेलामा मैले दुर्योधनलाई कुनै तबरले दण्ड दिएको भए महाभारत रोकिन्थ्यो कि !

पाण्डवको मृत्युको खबरले भीष्म आवेगमा आएर मेरो सन्मुख उभिएर मलाई कही भन्न खोज्दा मैले आँखाभरी आँसु लिएर आफुलाई केही थाहा नपाएको जस्तो गरेँ । तर, भित्र कता कता आनन्द भएको थियो । अब मेरा पुत्रका लागि हस्तिनापुरको राज्य निष्कंटक हुने भयो भनेर । तर, हस्तिनापुरको राज्यको सट्टा आज मेरा पुत्रहरू श्राद्धको प्रतीक्षामा छन् ।

संजयले महाभारतको दृश्य सुनाउँदा भनेका थिए-“अझै पनि समय छ, बाँकी बचेका सेना र कौरवपुत्रलाई बचाउन । पाण्डवहरूलाई उनीहरूको अधिकार दिउँ । यसो भएमा दुर्योधनको पनि अधिकारको रक्षा हुनेछ । नत्र भने युद्धमा कौरव पक्ष नष्ट हुनेछ ।” मैले संजयको कुरा नसुनेझैं गरेँ ।

मेरो बानी पहिलेदेखिकै हो नदेखेको, नसुनेको, नबुझेको जस्ता गर्नु । त्यही बानीले गर्दा पाण्डवहरूलाई धूर्तताा गरेर जुवा खेल्न बोलाउँदा म चुप रहेँ । पाण्डवले सम्पूर्ण राज्यसहित आफूलाई हार्दा म चुप रहेँ । द्रौपदीलाई जुवामा राख्दा पनि चुप रहेँ । त्यो बेलामा भीष्मले मलाई रोक्न खोजेका थिए, तर मैले सुनिनँ । सुन्न खोजिनँ ।

यति मात्र होइन रजस्वला भएकी द्रौपदीलाई अर्धनग्न पार्न खोज्नु दुःशासनको चेष्टालाई पनि रोक्न खोजिनँ । किन म त्यति विवेकहीन भए ? हस्तिनापुरको सभामा एउटी नारी, एउटी बुहारीको इज्जतसँग खेलवाड हुँदा मैले दुर्योधनलाई दण्ड दिन सकिनँ । किन द्रौपदीको ‘राजा भएर साजसभामा नारीको अपमान भएको थाहा पाउँदा पनि किन चुप लागेको ?’ भन्ने प्रश्नको उत्तर दिन सकिन वा चाहिँन । द्रौपदीको ठाउँमा मेरी पुत्रको वा गान्धारीको यस्तो अपमान भएको भए म चुप लाग्थेँ होला त ?

हुन त गान्धारीले भनेपछि मैले युधिष्ठिरलाई उनको सम्पूर्ण राज्य फिर्ता दिएर दासताबाट मुक्ति त दिलाएँ । तर दुर्योधनलाई यो कुकर्मको लागि कुनै सजय दिन सकिन । उफ् मेरो शक्ति कता गयो ? पुत्रमोहमा मेरो मस्तिष्क सायद बिरामी भएको थियो ।

त्यसैले जब अर्को जुवामा पाण्डवहरू तेह्र वर्षको लागि वनवास गए, म रक्सीको मदमा चूर भएको मान्छेजस्तै विवेकहीन भएँ । उनीहरूको वनवास खुसी भएँ । त्यो बेलामा मैले बुझ्न सकिनँ कि समयले फेरि अर्को फट्का लिनेछ ।

म आखिर अन्धो धृतराष्ट्र विवेकले पनि अन्धो भएँ । भीष्मपितामहको कुरा पनि सुनिन, विदुरको सल्लाह मानिन । यिनको सल्लाहमा मलाई दुर्योधनप्रतिको ईष्र्या मात्रै नजर आयो । उनीम्हरूका सल्लाह मलाई तीतो औषधिझैं लाग्यो । मलाई त्यो निल्न मन लागेन ।

त्यसैले झन् झन् बिरामी भएँ, मेरो मस्तिष्कको त्यही रोगको कारणले आज कौरव वंश नष्ट भयो । म श्राद्ध गर्न पर्खिरहेछु मेरा छोराहरूको । तर, त्यसको जिम्मेवारी भनेर मैले कृष्ण वा भीष्मलाई देखाउनु व्यर्थ छ । मैले आफ्नो अधिकारको प्रयोग गरेर अन्यायलाई रोकिनँ । नारीको अस्तित्वको रक्षा गर्न सकिनँ । त्यसैले आफ्नो जीवनको यो घडीमा गान्धारीसहित आँसुमा डुबेको छु ।

यस क्षणमा जब मेरा छोराहरूले मेरो शवलाई काँधमा राखेर लैजानुपर्थ्यो, म बाबु भएर युद्धमा अकाल गतिले मारिएको छोराहरूको शव खोजेर तिको सद्गति गरेर पिण्डदान दिनु पर्छ । योभन्दा ठुलो दुर्भाग्य एउटा बावुको लागि अरू के हुन सक्छ ? तर, कहाँ गल्ती भयो त भने सिंहावलोकन गर्दा लाग्छ गल्ती शुरूमा नै भयो ।

दुष्ट छोरालाई दण्ड नदिनु र पाण्डवहरूको अधिकार नदिनु । भीष्मले सम्झाउँदा मैले नसुनेको झैं गर्नु । भगवान ईश्वरले दुष्मनलाई पनि म जस्तो कुमति भएका बाबु नबनाओस् । उफ् मेरो छाती जलिरहेछ । मैले कसर िगान्धारीलाई धैर्य धारण गराउनु ?

गान्धारीको आँसु यो बुढो हातले कसरी पुछ्नु । म आँखाले अन्धो भएको हुनाले उनको त्यो पीडादायी अनुहार देख्न सक्दिनँ, तर उनको उच्छवास क्रन्दन सुन्न सक्छु । मजस्तो अन्यायी कमजोर हृदयको पिताको युद्धमा मारिएका छोराहरूको लागि क्रन्दन गान्धारी र उनीजस्ता हजारौं आमाले कहिलेसम्म गर्नुपर्ने हो ! १०० वर्ष सम्म ? १००० वर्ष सम्म कि ५००० वर्ष सम्म ।

(स्रोत : मझेरी)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, पौराणिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.