बाल-कथा : समयको सन्देश

~सुशीला प्रधानाङ्ग~

भीमबहादुरको परिवार विजयपुर गाउँमा बसोबास गथ्र्यो । उसको परिवारको पेशा कपडा सिलाउने हो । तीज, दशैं, तिहारजस्ता चार्डपर्वहरूमा उसको घरमा नयाँ कपडा सिलाउनेको भीड लाग्थ्यो । भीमे र उसको बाले कल चलाउने गर्थे । आमा, दिदी र दुई बहिनीले हातको काम गर्थे । यसरी उनीहरूको दिन राम्रैसँग चलिरहेको थियो । एक गाँस खान र एक जोर लगाउन उनीहरूलाई कुनै दुःख थिएन ।

भीमेका दुई बहिनी थिए । ती दुईको नाम सङ्गीता र रञ्जिता राखिएको थियो । घरमा भने उनीहरूलाई जेठी र कान्छी भनेर बोलाउने गरिन्थ्यो । एकदिन भीमेले गाउँका सानासाना नानीहरू झोला बोकेर स्कुल गइरहेको देखेर उसले पनि मनमनै सोच्यो- “मैले पढ्न नपाए पनि मेरी बहिनीहरूलाई पढाउनुपर्छ । आजको जमानामा नपढेको मान्छेलाई कसले पत्याउँछ र ! मेरी बहिनीहरू पनि राम्रोसँग पढेर देशको असल नागरिक बन्नुपर्छ । अब त हाम्रो काम पनि राम्रोसँग चलेको छ । यसबारे मैले बासँग कुरा गर्नुपर्छ ।” बिहानीपख गाउँमा भाले बास्यो- “कुखुरी… काँ, कुखुरी… काँ ।” भीमे ओछ्यानबाट उठ्यो । उसले झयाल खोलेर बाहिर हेर्यो । बाहिर उज्यालो हुन थालेको रहेछ । उसले आफ्नो नाडीमा बाँधेको घडी हेर्यो, भरखरै साढेचार बजेको रहेछ । उसले बत्ती बाल्यो । खातराङ-खुतरुङको स्वर सुनेर उसको बाले आँखा खोल्दै भने “के गर्न लागिस् बाबु -” भीमेले जवाफ दियो- “यो कपडा आज दिनुपर्ने होइन – त्यही सिलाउँ कि भनेको । हजुर सुतिराखे हुन्छ ।” छोराको कुरा सुनेर भीमेका बाले भने- “आ…मलाई पनि न्रि्राले छोडिसक्यो । म पनि उठिहाल्छु । तँ भान्छामा गएर तँलाई र मलाई चिया बनाएर लेरा । त्यसपछि हामी बाबुछोरा दुवै कलमा बसौंला ।” भीमे भान्छामा पस्यो । बाचाहिँ मुख धुन बाहिर निस्के । केही छिनपछि दुवै बाबुछोरा हातमा चियाको गिलास लिएर लुगा सिउन थाले । भीमेले बासँग कुरा गर्ने राम्रो मौका यही हो भन्ने ठान्यो । उसले कुरा झिकहाल्यो- “बा ! तपाईंसँग एउटा सल्लाह गर्नु थियो । “कस्तो सल्लाह -” बाले भने । भीमेले भन्यो- “बहिनीहरू जेठी र कान्छी”लाई स्कुल पढाउन पठाउँछु है -” बाले भन्नुभयो- “बाबु ! मैले के भन्ने – हामी साना जातकालाई स्कुलमा पढ्न देलान् र -” भीमेले जवाफ दियो- “अब तपाईंको जमाना छैन । नपढेको मान्छेहरूको यो समाजमा केही कदर हुँदैन । आँखा भएर पनि अन्धो जस्तै भएर बस्नुपर्दछ । छोराछोरी दुबैले बराबर शिक्षा हासिल गर्न पाउनुपर्छ । म आजै बहिनीहरूलाई स्कुलमा भर्ना गरेर आउँछु ।”

विजयपुरमा एउटा मात्रै प्राथमिक स्कुल थियो । भीमेले दुबै बहिनीहरूलाई स्कुलमा भर्ना गरिदियो । कापी, किताब र झोलाका साथै सबै आवश्यक सामानहरू पनि किनिदियो । सङ्गीता र रञ्जिता पनि स्कुल गएर पढ्न पाउँदा खुब रमाए । दुबै बहिनीहरू झोला बोकेर स्कुल गएको भीमेले हेरिरहन्थ्यो र आनन्दले लामो सास फेथ्र्यो । केही दिनपछि त्यो स्कुलमा गाउँको साहुको छोरा पनि पढ्न आउने भयो । साहु ज्ञानप्रसादले त्यहाँ भीमेका बहिनीहरूलाई देखेर आर्श्चर्य मान्दै भन्यो- “होइन सर ! के गजबको जमाना आयो । ठूला जातका मान्छेहरूका छोराछोरी पढ्ने स्कुलमा यी सानाजातका सन्तानहरू त्यो पनि छोरी ! राम…राम स्कुल नै अशुद्ध भयो । अब माता सरस्वती रिसाउने भइन् । भएन सर, यो त हुँदै भएन । तिनीहरूलाई आजै यहाँबाट धपाइहाल्नु पर्यो । यिनीहरू जस्ताले पढ्न थाले भने गाउँको लुगा सिउने, जुत्ता बनाउने, भाँडा बनाउने काम कल्ले गर्ला – फेरि को जातको को बेजातको कसरी थाहा पाउने – हामी भनेको हेर्नुस् सर ! ठूला जातका मान्छेहरू । यो त हामीमाथि सरासर अन्याय भयो -” प्रधानाध्यापकले साहु ज्ञानप्रसादको कुरा मुसुमुसु हाँस्दै टाउको हल्लाउँदै सुनिरहनु भएको थियो ।

साहुले आफ्नो कुरा टुङ्ग्याएपछि हेडसरले भन्नुभयो- “साहुजी ! तपाईंको कुरा सकिए म केही भनौं -” ज्ञानप्रसादले जुँगा बटार्दै भन्नुभयो- “अब यो गाउँको ठूलाबडा नै तपाईंहरू । भन्नुस् न के भन्नुहुन्छ” त्यसपछि हेडसरले भन्नुभयो- “हेर्नुस् साहुजी ! अब समय बदलिसक्यो । पढ्न पाउने अधिकार नेपालका सबै नेपालीहरूलाई समान छ । यो ज्ञानको मन्दिर हो । यहाँ को धनी, को गरीब, को ठूलो, को सानो, को जातको को बेजातको – सबैले बराबर ज्ञान हासिल गर्न पाउँछन् । तपाईं यो गाउँको साहु भएर त्यस्तो निम्न सोच राखेको सुहाउँदैन ।” यो कुरा सुरेश सरले ध्यान दिएर सुनिरहनु भएको थियो । उहाँले थप्नुभयो- “हो त नि, मान्छे मान्छे सबै एउटै हो । सबैको शरीरमा रातो रगत बगिरहेको छ । सबै यही देशको माटोमा हुर्केका हुन् । यो भेदभाव किन – यस्तो निम्न सोचाइ राखेर व्यवहार गर्नेहरूलाई नै वास्तवमा बेजातको भन्न पर्दछ । होइन र – सर !”
ती दुबै सरको कुरा सुनेर ज्ञानप्रसादको मुख रातो भयो । व्यर्थैमा मैले यस्तो कुरा गरेछु भन्ने पछुतो उनलाई लाग्यो । अनि सरहरूसँग माफी माग्दै उनी आफ्नो घरतिर लागे ।

(स्रोत :  मुना मासिकबाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.