~दीप हाँडिगाउँले~
आज तिन दिन भो क्यारे अस्पताल बाट घर आको — पन्डितले पुजा पाठ सके जस्तो छ — अभिषेकका छिटाहरु गाला र निधारमा अनुभव गरेँ तर आँखाहरु भने मेरा बन्दै रहे — परेलीहरुले घोप्टे अग्ल्याएक थिए तै पनि आँशु का केही थोपाहरु पोखिए—कोलाहाल भो — त्यो कोलाहाललाई चिरेर उठ्दो बिह्वल मेरी आमाको क्रन्दनलाइ मैले सजिलै चिनेँ — आँखा छिनमै खहरे बने। म बगेँ।
पशुपति लाने तयारी हुँदै छ – म तुलसिको मठ छेउ अचेत् झैँ छु — अलि अघि आँखा खोल्दा भीड देखे थेँ — पण्डीत पुजा पाठमा भुलेका –साथिहरु उदासीमा डुबेका –नातेदारहरु चिन्तामा देखेँ– अनि देखेँ बा असाहय अनि आमा म भन्दा पनि धेरै मरेकी — अग्ल्याएको थिएँ मैले मेरा परेलीहरुलाइ अनि — जुन जिन्दगीलाई मैले सबै भन्दा बढी माया गरेँ उसैले मलाई धोका दिंदो थियो।
पशुपति जाने त दिनचर्या नै थ्यो कुनै बेला — शनिबार आठ बज्दा नबज्दा साथिहरु सङ पशुपति पुगि सक्थेँ। आज तिनै साथीहरु सङै छन — तर मलाइ पशुपति जान मन छैन — आज मलाई घरमै बस्न मन छ —
मलाइ उठाएर सायद बाहनमा राख्न लागे क्यारे – रुवा बासीको आँधि चल्यो — “मेरो छोरालाई काहीँ नलैजाओ —“ आमाले रुँदै चिच्याएको सुनेँ “बाबु!”
कराएर भन्न मन लागेको थ्यो “म घरमै बस्छु आमा” तर शब्दले मेरो साथ छोडेको सायद आज दोस्रो दिन थ्यो।
भुतेस्वर वरी परी खेल्दै बर्षौँ बितेको थ्यो – तेही सम्झनामा होला “आज अन्तिम पटक भुतेस्वर घुमाएर लिएर जाँउ” साथिहरुले भनेको सुनेँ। आँखा खोलेर फेरी एक पटक सरसोतिथान हेर्न मन लाग्यो — सत्तेनारनथान जाने ओरालोमा को ओर्लिदै होला जस्तो लाग्यो — किस्नमन्दीर पछाडी पाँया खेल्न मन लाग्यो – ह्वाक्र्याङ भल्न मन लाग्यो — अन्तिम पटक भैरबलाई हेरुँ जस्तो लाग्यो तर आँखा मैले बन्दै राखेँ — पुराना सम्झना नै मीठो लाग्यो।
बाहन सायद् ढुङ्गे धार तिर ओर्लियो क्यारे — अब दाइने मोडिन्छ मनमा कुरा आयो — हजारौँ चोटी हिनेको बाटोको धेरै माया लाग्यो।
झुल च्यातेर असला माछा मारेका ती दिनहरु — सिङ्गेले हानेर हात सुन्याएको ती क्षणहरु — भत्क्या पुल मा साथिभाई सँग गफ गर्दै अनि फाँटहरुमा फुटबल खेल्दै बिताएका ति बेला — चुरोट र रक्सीमा उडाएका ति पलहरु सबैले रुँदै बिदा गरे झैँ लाग्यो – धोबीखोला आइपुगेछ क्यारे।
जिन्दगी र म घिस्रीदैं थिईम।
घन्टी बज्यो —चाबेल गणेश हुनु पर्छ — आज पनि त मङलबार हो – जे होस अन्तिम मङलबार पनि पुरानै रीत कायम भो – गणेशलाई आज चाँदी लगाई देको छ कि छैन होला मनमा लाग्यो।
बाहीर कती भीड होला – तेही भीडमा मैले आफुलाइ पनि राखेँ एक छिन – साँझ पर्न लाग्यो होला – घर फर्किने बेला भो – मेरो मन त घर फर्कियो तर म सायद जयबागेस्वोरी पुगेँ — जयबागेस्वोरी त म म हावाले नै चिन्छु — जिन्दगी जो सङ्ग बिताउँला भन्ने थ्यो उस्को टोलको माया के मार्न सक्थेँ? —
पशुपति छेउ पुग्दा मन एक तमासको भो — पुराना ति दिनहरु एक एक गरेर आँखा वरी परी आए —म छटपटीएँ। नारायण –नारायण — हे महादेव –शम्भो! गुन्जियो —बागमती सङ्गै बहेको सुन्थेँ — ब्रह्मनाल हुनु पर्छ—– म सङ्गै आउनेहरु अब सबै फर्किन्छन — मलाइ पनि घर जान मन लाग्यो —“नारायण भन्नुस्” भनेको सुनेँ — जिन्दगीको झन माया लागेर आयो — घरमा गएर आमाले पकएको मीठो भात खान मन लाग्यो — छोरोलाइ जाडो हुन्छ रे भनेर सिरकले छोपेर राख्देको ओछयानमा गुटुमुटु सुत्ने रहरमा म तडपिएँ— नारायण फेरि गुन्जियो — म बिरामी छु आमा — मैले आमाको अलौकिक हात मेरो निधारमा खोजेँ — अनि आँशुका अन्तिम केहि थोपाहरुलाइ बिदा गरेँ — नारायणका ध्वनीहरु पृस्ठभुमीमा कतै बिस्तारै हराउँदै गए —
**********
(स्रोत : Sajha.com)