~सुबेश घिमिरे~
कस्तो क्रूर अहो ! रहेछ नियती स्वप्ना सबै रल्लिए
स्याना यी मनमा भए जति सवै इच्छाहरू वैलिए ।
सुके पुष्प सबै बसन्त ऋतु मै रोगी हुँदा मौसम
कालो मात्र कठै देखिन्छ जग यो खोक्रो बिरानोपन ॥
॥१॥
पल्क्यो काल यहाँ भिरीकन हरे ! नाना बहानाहरु
गोलीको बमको सिकार जगमा निर्धा र सानाहरु ।
कालो बादल मृत्युको सब दिसा ढाकेर फैल्यो यहाँ
निल्यो शान्ति सबै ! अरिष्ट समयै; आतंक नाच्यो यहाँ ॥
॥२॥
प्रहन्ताहरु घुम्दछन् जगतमा सातो सबैको हरी
रोपी मृत्यु अनाहकै रगतको चौतर्फ वर्षा गरी ।
अट्टाहास बिभत्स ! मौन जगको बढाउँछ ढुक्ढुकी
गर्छन् राज यहाँ नपुङ्सक हरे काँम्छन् त्यसै थर्थरी ॥
॥३॥
सामन्ती जगका कहारहरु यी पाखण्डमा रम्दछन्
सत्ता निम्ति हरे ! जुनै किसिमको प्रपञ्च यी रच्दछन् ॥
ब्यर्थै न्याय नखोज हे स्वजन हो ! सुन्ने यहाँ को छ र ?
निर्धाको मनका व्यथाहरु कठै बुझ्ने यहाँ को छ र ?
॥४॥
जान्छौं पुष्पकमा चढी म अनिसा ! सन्ध्या ! नहेरी त्यता
आसा न्याय-निसाफको अब तेता ! ब्यर्थै छ यो मान्यता !
बिधाता यदि रैछ कोहि जगको ! सोध्छौं उनै सम्मुख
हाम्रो दोष थियो र के ? फगतमा आसा चुँडायौ सब ॥
॥५॥
यस्तै हो त्यस लोकमा बुझ तिमी मिल्दैन शान्ति सुख
मान्छे भो पशु तुल्य ! आह ! ममता रोयो कठै सुक्सुक ।
भाग्यो लौ करुणा ! कता तिर गयो सद्भावको मन्त्रण ?
सच्चा डोर सबै मतान्धहरुले लुछे, चुँडे बन्धन ॥
॥६॥
बाबा ! हे जननी ! कयौं रहर ती तिम्रा लिई साथमा
छाड्यौं यो धरती बिना कसुर नै मान्छे हुँदा राक्षस ।
मिल्दो रैछ पुनर्जन्म नै यदि भने तिम्रै भै सन्तती
गर्नैछौं सपना साकार सब ती तिम्रा ! नयाँ जन्म ली ॥
॥७॥
हाम्रो याद भए जति सब तिमी बिर्सेर फालीकन
साथी हो ! मनमा भए जति सबै तीता मिठा सम्झना ।
आ-आफ्नो रथमा सवार जगको फाली कुरीती सब
हिंसा-हीन समाजको जगतमा निर्माण निम्ति जुट ॥
॥८॥
अस्तु, धन्यवाद ॥
(२००७मा काठमाण्डौमा भएको श्रृंखलाबद्ध बमविष्फोट पछि त्यस घट्नामा परि अनाहकमा ज्यान गुमाउने स्कुले बैनीहरुमा समर्पित)