~सुबेश घिमिरे~
अनन्त फैलियो यहाँ फुटेर शूक्ष्म सैकत
पदार्थका कणा – कणा अनन्य शक्ति द्योतक
पदार्थ – शक्ति, सृष्टिका अगण्य द्वैत संगम
अनन्त्य कालको धुरी ! ब्रह्माण्ड घुम्छ फन्फन ॥१॥
अनन्त भौतिकी जगत् समस्त जीव, सृष्टिका
नक्षत्र, सूर्य, चन्द्रमा खगोलका निहारिका
नदी, समुन्द्र, हैमका चुली, पहाड, पर्वत
पदार्थ – शक्ति कै बडो बिराट रूप सार्थक ॥२॥
बिभिन्न सूत्रमा उनी प्रकृति सृष्टि गर्दछिन्
पदार्थ – शक्ति जोहदैं अनेक छद्म रच्दछिन् !
गरेर सृजना नयाँ, अपार सौम्य, कल्कल
निमोठ्न उद्यत स्वयम् गरेर नाश पल्पल ॥३॥
झरेर पात बृक्षमा नयाँ मुना पलाउँछन्
तिनै मुना वयस्क भै कठै पुन: हराउँछन् –
तथापि बृक्ष शाखमा जिजीविषा यथेष्ठ छ
अनेक बज्र कालको सहेर ज्युन पोख्त छ ॥४॥
हिजो जहाँ समुन्द्रका बिशाल छाल उर्लिए
सफेद टाकुरा बनी हिमाल आज अग्लिए !
बिशाल डाइनोसरै ! गरेर नाद, गर्जना
हिजो यहीं त घुम्दथे ! कठै विलुप्त आज ता ॥५॥
गुफा – गुफा चहार्नु नै हिजो त नित्य दैनिकी
उही मनुष्य आज भोग्छ लौ अपूर्व जिन्दगी ॥
देखिन्छ आज जो यहाँ हिजो थिएन किञ्चित
छ आज जो भविष्यमा रहन्न यो छ निश्चित ॥६॥
चलायमान कालको अमूर्त विन्दु – विन्दुमा
बिनाश-सृष्टि बिम्बिका ! प्रकृति धर्म -तन्त्रमा –
बिनाश मै छ सृष्टिको अथाह डिम्ब सेचन !
नियन्त्रणा ! प्रकृतिको अपार नाट्य मञ्चन ॥७॥