~दीप हाँडिगाउँले~
दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो कुबेर राख्देछन। मलाई देख्ने बित्तिकै कुबेरले माथ्लो तला तिर हेर्यो। बाङ्गे उस्कै कोठामा रे छ क्यारे। छ्यास्स मनमा बिरामि भएर पातकी ढलेछ क्यारे भन्ने लाग्यो। सिङ्ग मरमरको घुमाउरो भर्याङग चढनै के लाग्या थें बाङ्ग्या बा आईलागे हवात्तै। उनी सङ्ग मेरा गरह दशा तेती राम्रो मिल्दैनथे- बाझ्थे। हुन त नातेदार थिए उनी हाम्रा मामाघर तिरका तर मेरा भने दुश्मन।
“के हो?” म तिर हेरेर गर्जिए।
के के हो? परेबा पुर्ने एकादशी तेस्तो के हो भन्या भे पन्डीतलाई सोध्नु — बार के हो भन्या भे सनिबार — ब्यान दिउँसो के हो भन्या भे साँझ, मैना खोज्या भे माघ, गते १६, साल सम्म त याद होला नी? भन्दीम कि जस्तो नलाग्या त हैन तै पनि मधुरो स्वरमा भनें “केई न केई”।
बा गर्ज्या सुनेर होला बाङ्ग्या आमा आईन। ए बाबु, के छ तेरो हालखबर? आईज आईज — माथि नै जा न कोठामा भनीन। बाङ्ग्या बाउको जुँगा मात्रै ठुलो हो हैकम आमाकै चल्छ भन्ने जग जाहेर थ्यो। ओभर राईड भा बा तिर हेर्दा पनि नहेरी भर्याङग चढें।
कोठामा बाङ्गे लम्पसार परी रा रे छ।
बुढानिलकण्ठ पोजमा किन नी तँ? सोधें।
बोलेन बरु ढोका लाउने इसारा गर्यो। लाईदिएँ।
“मैले भाग्ने बिचार गरें” म तिर यस्सो हेरेर आँखा झ्याल बाहीर फ्याल्दै भन्यो।
म त एक छिन अलमलिएँ अनि सोधेँ “काँ?”
“यहीँ भनेर भन्न लाई त काईं जान ला हो र? भाग्ने भन्दैछु — जता जता हुन्छ तेतै अब” झर्केझैं गरी भन्यो।
“भागेर के गर्ने? तँ र म नी कुबेर हुने?” मलाई भाग्ने कुरो मन परेन।
भाग्या भागेई गर्ने हो त?
अनि के त?
पछी धुई धुई खोज्छन आइज बाबु आइज भन्छन अनि आउने नी — भाउ बढ्छ के — एइले त किच किच गरेरै मार्न लाईसके।
भाउ बढने कुरा चैं मलाई नी राम्रै लाग्यो। भाउ त घराँ दुई पैसाको थे न हाम्रो।
बाङ्गेले त पैसाको बन्दोबस्त गर्न सक्थ्यो तर मैले के गर्ने? भनेँ म सँग त गाँठ छैन अनि काँ भाग्ने नी?
“गाँठ साँठ छैन भने पस्पती तिर भाग — तीँ पस्चिम ढोका बाहीर दुई चार मैना बस कचौरा राखेर अनि पैसा उठेसी अन्त भाग्नु –” बाङ्गे रिसायो।
तेरो कोठामा नी गतिलो एउटा रेडियो त छ त — भागे पछी त्यो रेडियो तँलाई के काम? सोध्यो बाङ्गेले।
हो एउटा रेडियो त छ स्टेरियो — तर मेरो हैन त्यो स्टेरियो मात्रै के भन्या थें “सबै थोक आफ्नै भा भे के खानलाई भागी रनु पर्थ्यो?” झर्कियो फेरी।
सल्लाह भो। बाङ्गेले सक्दो हाईज्याक गर्नी अनि मैले नी स्टेरियो बोकेर हिन्नी। तेई सुन्धारामा बेच्ने स्टेरियो अनि चढ्नी बस जताको मन लाग्छ उतैको।
रातभरी निन्द्रा लागेन। सब भन्दा बढता मायाँ तेई स्टेरियो को लाग्न थाल्यो। जति हेर्यो उती प्यारो।
जाडो को छुट्टी चल्दैथ्यो।
ब्यानै देखी मन एक तमासको भो। भाग्न मन लाग्न छोड्यो तर बाङ्गेलाई भनी सक्या छ। मैना दिन जतिमा त आखिर आउनेनै हो भाउ बढार — तेतीन्जेल था पाउन न घरमा पनि कस्तो हुँदो रे छ म नहुँदा — चेतुन न सधैं बिग्र्यो बिग्र्यो भन्या रागले के गर्दो रे छ भन्दै मन बाँधे।
भात सात खाएर अलि ठुलो झोलामा स्टेरियो अनि एक दुईटा लुगा हालेर बाङ्गे काँ पुगें। बाङ्गे हिनी सकेछ।
“तेत्रो झोला बोकेर काँ हिँड्या?” बाङ्ग्या आमाले सोधिन। के भन्ने के भन्ने भो “काई न काईं” भनेर छिटछिटो हिनें।
सुन्धारामा स्टेरियोको भाउ मिलेन। पैला त कोई किन्नै नखोज्ने। कोई चोर जस्तो गर्ने कोई किन बेच्न ला भन्ने नकिन्ने। किन्ने भेट्या एक दुई जना बेपत्ता थोर दिन्छु भन्ने। आफुलाई नी बेला बेला नबिके नी हुने जस्तो पनि लाग्न थाल्यो माया लागेर।
लगातार बेपार तिर लाग्दा फेरी चिन्या जान्याले देख्लान भनेर बेला बेला छेउ लाग्दै च्या चुरोट तान्दै थिम्। छोटा दिन ढलकी हाले।
चिसो बढ्न थाल्यो। घराँ भात पाक्न थाल्यो होला — भात सात खाएर सिरकाँ गुटुमुटु सुत्न छोडेर जस्तो लाग्न थाल्यो। बाङ्गे चैं गाहाकी ल्याउँदैछ।
मैले छोडदे बाङ्गे भन्या उ किन मान्थ्यो। अब चार जना गाहाकी ल्याउँछु किनेनन कसैले भने म सँग गाँठ छ टिकट किन्ने जाने — स्टेरियो आफैलाई सुन्न हुन्छ भन्न थाल्यो।
साँझ पर्यो। मन अरु छटपटाउँदै थ्यो।
पछी फन्दामा परेको खण्डमा मैले पनि रेडियो बेचे पछी बदमास उ एक्लै कहलिदैन थ्यो तेसैले म सित्तैमा भागुम्ला भनेर मेरो रेडियोको दुस्मन भाको हो बाङ्गे जस्तो नलाग्या हैन मलाई। नभए उ सँग कति छ पैसा त्यो मलाई भनेकै थिएन। मेरो रेडियोको भरमा उ भाग्दैन थ्यो। मैले उस्लाई नचिनेको हैन।
चार जना ल्याउँछु गाहकी चार जना– गनी राख भन्दै पस्चिम तिर लाग्यो बाङ्गे। तेस पछी बाङ्गेले ल्याको पैलो गाहकि नै अन्तिम गाहकी भो।
हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
(स्रोत : Sajha.com)