मैले उसको पसलमा प्रवेश गर्दा उसले मुन्टो उठाएर हेर्दा पनि हेरेन । उसका आँखाले मलाई देखिसकेको थियो । किनभने मेरा आँखा निमेषभर उसका आँखासित जुधेका थिए । मैले साबिकझैँ मुस्कान फालेँ । उसले नचाहेर ओठ खुकुलो पा¥यो । तर, साबिकझैँ मुस्कान फालेन । पहिलेपहिले ऊ दुई हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौँ… !” लाग्थ्यो, साहूजी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त… ! तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाएँ । उसले मरेर एक हात ‘हाफ’ उठायो ।
उसको पसलमा प्रवेश गर्दा मसित थिए मेरा दुई लालाबाला र एक श्रीमती… । श्रीमतीले भन्दै थिई, “जाऊँ अरू दोकान पनि हेरौँ । त्यही सोहनेकहाँ जानु भन्ने के छ !”
“होइन त्यो दोकानदार असल छ । त्यसकहाँ नै किन्नुपर्छ । फेरि केही रुपियाँ नपुगे यसो उधारो पनि राखिदिन्छ ।” श्रीमती चुप लागेकी थिई ।
श्रीमतीले लहरै टाँगेका लुगाहरूमाथि दृष्टि पु¥याई । छामी । हेरी । केटाकेटीले लुगा छामे ।
— होइन यो राम्रो होला !
— होइन यो राम्रो होला !
— मलाई त यो मन प¥यो !
— छिः मलाई त कुनै मन परेन !
यस्तैउस्तै कुरा चले । मैले भनेँ, “यसो अरू पनि देखाइदिनुस् न साहूजी !”
“एइ, देखाइदे और… ।” बोली टर्रो पारेर कारिन्दालाई आदेश दियो उसले ।
‘एइ’ नाम गरेको कारिन्दाले एक पटक साहूजीलाई र अर्को पटक मलाई हे¥यो । सायद ऊ मालिकको टर्रोपन बुझ्न खोज्दै थियो । मेरा आँखामा आफ्ना आँखा गाडेर मानौँ सोध्दै थियो— पहिला त तपाईंंलाई देख्नासाथ साहूजी भगवान्लाई देखेझैँ गर्नुहुन्थ्यो । आजकाल के भयो ? के हाम्रो साहूजीसित तपाईंंले झगडा गर्नुभयो ?
मैले उसको आँखैको प्रश्नलाई ओझेलमा पार्दै, प्रसङ्ग अनुकूल पार्दै भनेँ, “देखाऊ न भाइ ! अरू राम्राराम्रा लुगा… ।”
फेरि श्रीमतीले लुगा छामी । हेरी । कति दाम ? केरी । केटाकेटीले लुगा छामे । हेरे । रोजे ।
श्रीमतीले मसित खासखुस गरी, “पैसा त घटाउँदैन होला !”
मैले भने रुन्चे हाँसो हाँस्दै, “सोध न साहूजीलाई” भनेर सुन्ने गरी भनेँ । साहूजीले भाउ घटाउँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि भाउ घटाइदिए हुन्थ्यो भन्ने रुन्चे चाहना मभित्र समेत उब्जिएको थियो । तर साहूजीले नसुनेझैँ ग¥यो ।
फेरि अचानक बम पड्किएझैँ गरी बोल्यो, “हाम्रो दोकानमा एक दाम हुन्छ । तपाईंंहरूलाई लिन मन छ त लेनू, नभए नलेनू…!”
पहिलेपहिले पनि मसित श्रीमती यस पसलमा आएकी थिई । उसलाई पनि अनुभूत भइरहेको थियो साहूजीको यो परिवर्तन र आँखैबाट मलाई ‘विद्रोही’ हुन घचघच्याइरहेकी थिई । ‘नत्र त…’ आँखैले भन्दै थिई, “नत्र त यसको बोलीलाई मै ठेगान लगाइदिन्छु… । यसको कर्जा खाएको छ कि क्या हो हाम्ले… ।”
“कर्जा खाएको छैन तर अब खानुपर्ने हुन सक्छ । चुप लाग न ! नकराऊ न !” म मानौँ आफ्नो हाउभाउबाट श्रीमतीलाई मत्थर हुन अनुनय गरिरहेको थिएँ ।
“उहाँको दोकानमा एक दाम हुन्छ । दाममा तलमाथि हुँदैन । कसैले ठगिनुपर्दैन । अनि किन जाने अरूकहाँ… !” मैले साहूजीको चाकरीमा यसो भनिरहँदा पनि साहूजीमा लचकता आएन । पसलमा उस्तो भीड नभए पनि अरू पनि एक÷दुई ग्राहक आउँदै–जाँदै थिए । साहूजी उति ‘बिजी’ नभए पनि बिजी भएको अभिनयमा व्यस्त बनिरह्यो । मैले साहूजीको चाकरीमा व्यक्त गरेका शब्दहरू सुनेर श्रीमतीले ओठ लेप्¥याई ।
ठूलठूला भइसकेका लालाबालाले आआफ्ना लागि ‘रेडिमेड’ वस्त्र छानिसिद्ध्याए । पसलको नाम नभएको ‘एइ’ कारिन्दाले प्याकिङ गरिसिद्ध्यायो ।
श्रीमतीले आफ्ना लागि ‘ब्रा’ प्याक गर्न लगाई ।
आमाबालाई धोती, कमिज र साडीचोलो जोगबनीमा गएर केही दिनअघि नै किनिसकिएको थियो ।
“मलाई यसपल्ट लुगा चाहिँदैन,” मैले घोषणा गरेको थिएँ ।
“मलाई एउटा सुतीको साडी भए पुग्छ,” श्रीमतीले सन्तोकी भई, “व्यवहार धान्न म हजुरको साथमा नै थिएँ, छु र रहिरहनेछु सदासर्वदा” भन्ने किसिमको अभिव्यक्ति दिइ नै सकेकी थिई ।
बाह्रौँ कक्षामा अध्ययन गर्दै गरेको छोरोले पनि बाबुआमाप्रति सदाशयता प्रकट गर्दै घोषणा गरिसकेको थियो, “मेरो पनि लुगा छँदै छ । मलाई पर्दैन ।”
जागिरबाट निवृत्त भएपछिको यो मेरो पहिलो दसैँ थियो । स्वाभाविक रूपमा जागिरमा रहँदा र नरहँदा आर्थिक अवस्थामा फरक पर्ने नै भयो । मासिक प्राप्त हुने ‘पेन्सन’ ले सबै कुरा धान्न कठिनाइ पर्ने स्वतःसिद्ध नै थियो । कहिले कसैको उधारो नखाने बरु थोरै खाने, तामझाम र उत्ताउलो जीवनशैलीभन्दा प्राप्त आयले जेजति पुग्छ खस्रो मसिनो खाँदै सरल जीवन बिताउने बानी मेरो र मेरा परिवारका सबै सदस्यको थियो । भ्रष्ट आचरणपट्टि नलागी इमानदारीको कमाइबाट दुःखसुख, सकिनसकी जीवन व्यतीत गर्दै थियौँ हामी । ‘स्वेच्छिक अवकाश योजना’ अन्तर्गतको चार साढे चार लाख रुपियाँको प्रलोभनमा फँसेर असमयमा नै जागिर छोडिदिएको थिएँ मैले । एकमुष्ठ नलिएर मासिक पेन्सन लिने रोजाइ गरेर भने अलिकति राहत महसुस गरेको थिएँ । ‘स्वेच्छिक अवकाश योजना’ अन्तर्गत जागिर छोड्दा प्राप्त भएको अतिरिक्त चार÷साढे चार लाख रुपियाँ चार महिनामा नै फुसको घर डढेझैँ खरानी भएको थियो । हुन त पक्की घरमा बस्ने लालसालाई तिलाञ्जली दिन नसक्दा पनि जागिर छोड्न पुगिएको थियो । बाबुआमाको जिन्दगी फुसको झोपडीमै बित्ने भयो, आफ्नो (श्रीमतीसमेत) झोपडीमै बितिरहेको छ र लालाबालाको झोपडीमै जीवन बित्ने होला… ! एकैपल्ट हामी तीन पुस्तालाई स्वेच्छिक अवकाशबाट प्राप्त रकमबाट निर्मित ससानो पक्की घरले भने ठूलै मुक्ति यही जुनीमा दिएको छ भन्ने बुझाइले भने हर्षित बनेकै छु म, आउँदा दिनहरू र दैनिक जीवनयापन कठिन बन्नेछन् भन्ने भित्री आत्मज्ञान भए पनि… ।
विगत सम्झिन्छु, पसलेले भनेको, “हजुर ! पछि दिनुभए भइहाल्छ नि, नपुगेमा… !”
फेरि सम्झिन्छु, प्याकिङ गरेर झोलामा हालिसकेको लुगा पनि झिकेर आपूmसित भएको रकमले पुग्ने कपडाजति मात्र लिएर मैले भनेको, “यो मेरो सिद्धान्तविपरीत हुन्छ साहूजी, तपाईंं त उधारो दिनुहोला तर म उधारो खान्नँ !”
तर, अहिले परिस्थिति फेरिएको छ । म भित्रभित्रै कामना गर्दै छु, केटाकेटीको मन नदुखोस्, प्याकिङ भइसकेको लुगाफाटा फिर्ता गर्नु नपरोस्, हे भगवान् ! पैसाले पुगिहालोस् । नभए पनि पसलेले उधारो दिइहालोस् । हे भगवान् ! केटाकेटीको चित्त दुखाउनु नपरोस्… !
पसलेले टाकटाक, टुकटुक क्यालकुलेटरमा हात दौडाउँदै जोड्यो र बिल तेस्र्याइदियो । मलाई चिटचिट पसिना आउन खोज्यो । श्रीमतीले पनि बिल हेरी र मेरो मुख र मेरो हाततर्फ हेरी । म दोहो¥याईतेह¥याई पैसा गन्दै थिएँ ।
केही नलागेपछि पैसा साहूजीको हातमा राखिदिएँ र भनेँ, “साहूजी ! अलिकति पुगेन । अर्को महिनाको पेन्सन पाएपछि…!”
मेरो वाक्य पूरा नहुँदै साहूजी बोल्यो, “हुँदैन । उता हेर्नुस् ।” साहूजीले भित्तामा टाँगिएको ‘अक्षर पोस्टर’ तर्फ इसारा ग¥यो जहाँ लेखिएको थियो, “उधारो प्रेमको कैँची हो ।”
मलाई झन् चिटचिट पसिना आयो । छोरा बोल्दै थियो, “मैले भनेको थिएँ नि बुबा ! मलाई पर्दैन ।” र, उसले बोकिराखेको उसका लुगाको झोला पसलेको काउन्टरमाथि राखिदियो । मैले मायालु पाराले छोरालाई हेरेँ । आँखा रसाए । श्रीमतीका आँखा पनि टिलपिल भएर भरिएका देखिए ।
नौ कक्षामा पढ्ने सानी पुतलीजस्ती मेरी छोरी झोलालाई बेसरी अँठ्याउँदै बोल्दै थिई, “नाइँ म त दिन्नँ !”
श्रीमतीले छोरीको हातबाट झोला खोसी र भनी, “हिँड्नुस् जाऊँ यो पनि फर्काऊँ !” श्रीमतीले आपूmलाई संयम तुल्याइसकेकी थिई र परिस्थितिसित जुझ्ने प्रयत्नमा पाइला अघि बढाउँदै मलाई हौसला दिन थालिसकेकी थिई ।
छोरीले झगडा गरे पनि अर्को पसलबाट अलिक सस्तो पर्ने गरी दुवै जनालाई नै लुगा किनिदिन सकिने हुन सक्थ्यो । सायद श्रीमतीले यस्तै सोची र मैले पनि ।
यसैबीच श्रीमतीले साहूजीको हातबाट साहूजीले गन्दै गरेको हामीद्वारा प्रदत्त रुपियाँ झम्टेर खोसी र प्याच्च बोली, “अवसरवादी…!”
“ल हिँड्नोस् जाऊँ !” श्रीमतीले हामी सबैलाई घचेडी ।
मैले पसलबाट बाहिर निस्कनुअघि पसलेको आँखामा आँखा गाडेर भनेँ, “उधारो प्रेमको कैँची भनेर मलाई के देखाउनुहुन्छ ! हाम्रो बीचमा पनि कहिल्यै प्रेम थियो र… ?”