यो जीवन
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
रक्सीमाथि दुई टुक्रा
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहु पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।
म आफ्नै बाटो हिंडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कान जस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ ।