कथा : लक्ष्मी इन्टरन्याशनल

~प्रकाश सायमी~Prakash Sayami

‘लक्ष्मी सुकुटी छ ?’
‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । …’
लक्ष्मी यसरी नै बोल्थिन् , जानेका अलिकति कुरा नजानेका अलिकति कुरा थप्दै । तिनले बुझेको संसार यही हो, नयाँनयाँ कुरा गर्नुपर्छ ।
लक्ष्मीसित प्रायः यसरी नै मेरो बातचीत हुन्छ, उनको रेष्टुँरामा खान जाँदा ।
लक्ष्मी हाम्री चिरपरिचित पात्र । उनको परिवारमा कुल मिलाएर पाँचजना सदस्य छन्, उनका बाबु गँडेश । उनका एक बहिनी जसको विहे भइसकेको छ तर वेलावेलामा माइती आगमन भइरहन्छ , एउटा दूधे बालकसहित । अनि उनको एउटा भाइ जो अक्सर हामी जाँदा खाना खाइरहेको हुन्छ । श्यामवर्णका छन् लक्ष्मीसित कतै पनि नाकनक्शा मिल्दैन ।
अनि अघि माथि वर्णन गरिएकी उनकी आमा । जो वास्तवमा लक्ष्मीकी आमा नभएर सौतेनी आमा रहिछिन् ।
“लक्ष्मीकी आमा त गाउँमै छिन् । ..” चिनेकै दिन उनकी सौतेनी आमाले भनेको पहिलो सम्बाद् यही थियो । लक्ष्मीकी सौतेनी आमा जसलाई प्रायःले साहुनी भन्छन् तर नामले कसैले बोलाएको म सुन्दिनँ । एकदिन गरीब विकास कोशको सहायतार्थ रकम सापट लिन आउँदा मैले सोधेको थिएँ, अनि नागरिकता ल्याउनु भएको छ , ?
त्यतिवेला त्यही देखेको थिएँ, तिनको नाउँ ः बैकनीदेवी श्रेष्ठ ।
बैकनीदेवीले आफूलाई त्यो नामबाट चिनाउन निकै गाह्रो मानेकी होली , धेरैले त्यस नामका वारेमा प्रश्नप्रतिप्रश्न गर्दा हुन् , वैकनी हो कि वैगुणी ? जस्तो मैले प्रश्न गर्दा पनि उनी झर्केकी थिइन् , “हा छोड्नु न सर , जल्ले नि त्यही भन्छ क्या सर । कोही कोही त बैगन पनि भन्छन्, वैगन क्या भान्टा । नाममा के राखिएको छ र होइन सर ? काम पो राम्रो हुुनुपर्यो । ”
बैकनीदेवीले शेक्सपिअर पढेकी छन् कि छैनन् मलाई थाहा छैन तर उनी शब्दशः शेक्सपिअर कै भाषामा बोलिन् , नाममा के छ र ? व्हाट इज इन् दी नेम , व्हाट् वि कल द रोज, बाइ एनी अदर नेम वुड स्मेल एज स्वीट । स्कुलमा भक्तसरले अँग्रेजी कक्षामा कन्ठस्थ पार्न लगाएको यो पंक्ति । सम्झेँ एकपटक ।
वैकनीको नाम बैकनी नभएर अरु नै केही हुनसक्छ तर बोलाउनहरुले अशुद्ध बोलाइदिएपछि यो नाम खोलाजस्तै बाँगिदै गयो होला । जेहोस्, उनले भनेजस्तै नाम होइन काम राम्रो हुनुपर्छ । उनको राम्रो काम भनेको दुइटा हो, पसलमा लक्ष्मीलाई छोडेपछि उनी बेपत्ता हुन्छिन्, विहाबटुल , चोकचौतारीको मिटिँगमा । यसबाट सामान्यतया के बुझ्नसकिन्छ भने … बैकनी लक्ष्मीलाई असाध्य माया गर्छिन् , आफ्नो पसललाई जति नै । तर उनी पसललाई दोकान नै भन्थिन् ।
‘हाम्रो उता दोकान भन्छन् , क्या सर । ’ उनी आफू आएको ठाउँको जानकारी यसरी दिन्छिन् ।
ब्याँक्मा ऋण सहायता माग्न आउँदा उनले यो दोकानको कथा अलि अलि सुनाएकी थिइन् । लक्ष्मीका बुबा गँडेश जो हेर्दा कतैबाट पनि गणेश भगवानजस्तो देखिनन, देखिन्छ त उन्मत्त भैरवजस्तो । पेशाले उनी बाइरोडका ड्राइभर रहेछन् । पञ्चायतकालमा पूर्वपश्चिम राजमार्ग बने लगत्तै रात्रिबस हाँक्न थालेका रहेछन् । त्यो रात्रिबस हँकाईको चौबीसघन्टा वीचमा पर्ने कुनै तराईको गाउँमा जहाँ उनी वास बस्थे त्यहीँबाट बैकनीलाई गँडेशले टिपेका रहेछन् । सारसंक्षेपमा उनले सुनाएको कथा यत्ति हो तर कथामा लक्ष्मीकी आमा जेठी कान्छी माहिली कुन हुन् चर्चा छैन , उनी अहिले कुन गाउँमा छिन् भन्ने सार पनि छैन । लक्ष्मीकी आमाको कुरा उठायो कि उनी भन्थिन् , “अब डराइभर हुन् , बुढी त कति हो कति ?”
थाह के हुन्छ भने बैकनी लक्ष्मीलाई बेहद माया गर्छिन्, आफ्नी छोरीलाई भन्दा बढी । लक्ष्मीमा त्यो माया छोरी को हदसम्म त देखिन्न तर भनक चैँ आउँछ ।
गँडेशले उन्मत्त भैरव हुन थालेको हालसालै मात्र होइन रहेछ, रात्रिवस चलाउन छोडे देखि रहेछ, साँझ पर्यो कि ट्वाक् थपेको थपे गर्ने अनि भैरवीय ठाटमा सुतिदिने ।
उनको पहिले नपिउने र अहिले पिउने बानीले गर्दा पसलमा दुवै थरिका ग्राहकको संख्या अलि बढेको रहेछ । कोही कोही त राति ताश पनि खेल्न आउँदा रहेछन् । सानोतिनो क्यासिनो चल्दो रहेछ राति ।
गँडेशले ताश खेलेको देख्यो कि लक्ष्मी कि त रिसाउने कि त छिट्टै सुत्न जाने गर्दिरहिछिन् । लक्ष्मी सुत्न गएपछि गँडेशलाई पिउने मार्ग प्रशस्ति हुँदोरहेछ, जसलाई गँडेश आफ्नै भाषामा चान्स मारो न भन्दा रहेछन् ।
ढिलो सुत्न नसक्ने लक्ष्मी पसलमा दिनभरि एक्लै नै खटिरहेकी देखिन्छे । या त माइती आएकी बहिनीलाई मिठो मिठो पकाएर खुवाउनैमा व्यस्त देखिन्छे, या त बहिनीकी छोरीलाई बोकेर नजीकनजीकै घुमेको सम्म देखिन्छ । उनी पसलबाट टाढा वा फेरिएको नयाँ लुगामा कतै गएको मैले कहिले देखिनँ ।
दिनभरि लक्ष्मी नै त्यो पसलमा देखिने हुँदा हाम्रा अफिसका साथी शेरचनजीले यो पसलको नाउँ राख्नु पर्यो भनेर बैकनीलाई सल्लाह दिँदा उनले नै जसले नि लक्ष्मीको पसल भन्दा चिनी हाल्छ नि , सर । भनेर टारेका रहेछन् ।
शेरचनजी अद्भूत कलाकार थिए । तलब थापेको भोलिपल्ट एकदिन बजार गएर आफ्नै पैसाले त्यो पसलको साइनबोर्ड लेखाएर ल्याएः
लक्ष्मी इन्टरन्याशनल ।
शेरचनजी निक्षेप शाखामा काम गर्ने भएकाले जिल्ला जिल्लाको भ्रमण पानी पँधेरा नै हो तर यो मुकाममा सरुवा भएर आएपछि उनी यहाँबाट डेग हटेका छैनन् । उनैले यो पसलको खोजी गरेर हामीलाई यहाँ खान जान सल्लाह दिएका थिए , अब नाम पनि उनैले जुराइदिए आफ्नै लगानीमा । उनी यसलाई इन्टरनैशनल किन भन्न चाहँदारहेछन् उनकै भनाइमा “ यहाँ दाल भात रक्सी देखि सबै पाइने । अनि क्यासिनो पनि खेल्ने । भएन त नाम गज्जब ? सबै छ त्यसैले ”
शेरचजीलाई हामी कहिलेकाहीँ प्रेमपूर्वक जिस्काएर देवदास पनि भन्छौ, दिलिपकुमारको देवदास बीसपटक हेर्ने शेरचनजीको थर सहितको नाम चैँ देवराज शेरचन नै हो । पुल्चोक इन्जिनियरिँग क्याम्पस पढेर पछि ब्याँकिँग सेवामा पसेको शेरचनजीका वारे दुई कुरा अद्भूत छन् , मुस्ताङ थाकखोलाबाट आएका शेरचनजी अमेरिकाको कुन शहरमा कुन नेपाली कहाँ बस्छ सब भन्न सक्छन् तर आफ्नै थकाली जातिका मान्छेका वारेमा उहाँनलाई पटक्कै ज्ञान छैन । थकाली जातिकै कवि भूपीको उनले नाउँ सम्म सुनेको तर उनको कुनै कविता नपढेको बताउँछन् । जातले थकाली भए पनि उनी खानाका त्यति पारखी उनी होइनन् तर रक्सीका वारेमा उनको ज्ञान अपार छ । रक्सी धेरै खाने र अतीतमुखी भएर गफीरहने बानीले गर्दा नै साथीसर्कलमा उनको नाउँ देवराजको बदला देवदास हुन पुगेको हो । यहाँ आएदेखि उनी आजकाल देवदास कम देवसाहब बढी देखिन थालेका छन्, बृद्धवैंशका देवआनन्द जस्तै ।
उनको नाउँ आफैले राखेको भन्ने पनि व्यापक हल्ला छ तर यसवारे शेरचनजी केही बोल्नु हुन्न ।
“सम्भावना यो पनि छ कि उनी सबैको नाउँ राख्न खप्पिस मान्छे आफँैले आफ्नो नाउँ सुझाए होला …।” विलिँग शाखामा कार्यरत शेरचनजीका पुराना मित्र मधुकरजीको अनुमान हो यो ।
शेरचनजी जसको पनि नामाकरण गर्नमा माहिर हुनुहुन्छ जस्तो लक्ष्मीलाई उहाले शुरुमा ‘लक् मी’ भनिदिनु भो जसको अर्थ मलाई भाग्य भन्ने बुझिन जान्छ । त्यो सुनेर त लक्ष्मीका मातापिता त दुई अलग अलग पूर्ण विराम भए , पछि उनैले सच्याए , “…. शेरचनसर मनको नराम्रो हुनुहुन्न । ”
हुन त शेरचनजीले भनेजस्तै लक्ष्मी उनका आमाबाबुको भाग्य नै हुन् उनको ठूलो ललाट, खुम्चिएको आँखिभौ अनि हाइभोल्टेजका दुई नयन र सदैव व्यस्त ती दुई हातसँगै अभ्यस्त उनको हाँसो, र त्यो हाँसोको परिसरमा चल्ने लक्ष्मी इन्टरनैशनल । अनि त्यहाँ मान्छेको ताँती , यो सब लक्ष्मीको करामत हो ।
भर्खरै बनेको नयाँ बसपार्क छेवको त्यो पसलको वरपर प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै पसल छैनन् । कसैकसैले नयाँ पसल खोले पनि अर्कै धन्दाका खोल्छन् , साइबर, ग्याँस पसल, तरकारी पसल र लुगा सिउने पसल खोलेर लक्ष्मी इन्टरनैशनलसित पराजय स्वीकारेका छन् जो स्वभावतः लक्ष्मीको व्यक्तित्वसितको टकराव हो ।
लक्ष्मी पसलमा उभिएपछि डाइभरदेखि डाक्टरसम्म, खलाँसी देखि बैँकरसम्म लाम लागेर खाजा खान्थे । त्यहाँ कुनै भेदभाव छैन । तर कहिलेकाहिँ शेरचनजी आएपछि लक्ष्मी अलि बढी उनलाई खातिरदारी गर्छिन् , त्यसैले हामी पनि शेरचनजीसितै मात्रै लाम लागेर पस्ने गर्छौ ।
आखिर यो पसलको आविष्कार नै उनले नै गरेका हुन् हाम्रो यो दुर्गम जीवनमा । फेरि उनकै बाहुबलिमा पसलको शुभ न्वारन पनि सम्पन्न हुनु , । त्यसैले शेरचनजी इज ग्रेट , हामी भन्ने गर्छौँ ।
हाम्रो बैँकको शाखा कार्यालय काठमाण्डू बाहिर धनगढी, पोखरा बुटवल, झापा पछि यो मुकाममा पनि थपिने भएपछि नयाँ भवन हेर्न आएको टोलीमा शेरचनजी पनि थिए । त्यहीबेला आउँदा उनले यहाँ लक्ष्मीको पपुलर डाइमिट र जीजीबी झ्याप्प पारेका रहेछन् । शेरचनजीले डे वन् मै मेरा सबै साथी यहाँको गाहक बनाउँछु भनेर टेबिल उचालेका रहेछन् ।
शेरचनजीको त्यो भविष्यवाणी सत्य सावित भयो , अर्को एउटा भविष्यवाणी छोडेर । अर्को ठोकुवा चैँ उनले लक्ष्मीका पिता गँडेशसित गोप्य सम्झौता गरेका रहेछन् , एफएमको । एफएमको अर्थ हो फाँटमाराहरू, जग्गाको कारोवबार गर्नेलाई मधेशतिर त्यतिवेला नयाँ भावमा एफएम भन्दा रहेछन् ।
त्यो धन्दा गँडेशको नयाँ पेशा रहेछ ।
यहाँ बैँकको लगानी बढ्ने सम्भावना देखेपछि गँडेशले चारपाँग्रालाई रोकेर फाँट तिर नजर लगाएका रहेछन् , शेरचनजीले पनि रियर स्टेटको बिजजेशनमा सम्भावना छ भनेर दम दिएका रहेछन् । उनले थप दम यो पनि हालेछन् , म मेरा साथीहरुलाई पनि ल्याउँछु ।
तर कुरा त्यसरी अगि बढ्न सकेन ।
बैँक आउनु र तराईमा जग्गाको कारोबार विग्रिनुमा मधेश द्वन्द्वको पनि मूल भूमिका हुन गयो । गँडेश त्यसपछि च्यासिस विग्रेको गाडीजस्तै सुस्ताए ।
त्यतिवेला शेरचनजी, मधुकरजी र गँडेशको टप सिक्रेट रोजै चल्थ्यो यहाँ । चलिरहन्थ्यो । हाम्रा साथी मध्ये धेरैले ‘कहाँ यहाँ जग्गा किन्ने ? बस्नै सकिँदैन’ भनेपछि शेरचनजी हामीबाट निराश भए भने गँडेशले अर्कै बाटो अपनाएर शेरचनजीसित दुरी बढाए ।
सिलसिला शुरु मात्र भएथ्यो टुँगियो , यसलाई भनिन्छ भदौको खेती असारमा ।
शेरचनजीले त्यो परिवारको निम्ति सबै काममा आफ्नो हात बढाए , उनले नै नै पसलको नाम राखिदिनु भो । उनकै सिफारिशमा ऋण मिलाइदिएर नयाँ फ्रिज थपिए । उनकै परम सौजन्यमा लक्ष्मीका भाइ गोकुल भलिबल खेल्न छोडेर कम्प्युटर क्लासमा एक्स्ट्रा भर्ना भए । तर एउटा काम शेरचनजीले चाहेर पनि गर्न सकेनन् र गर्न पनि चाहेनन् । त्यो हो लक्ष्मीको विहे ।
उमेरले चौबीस चानचुन पुगिसकेकी लक्ष्मी एक्लो ज्यानले त्यो पसल अठार घन्टा धान्थिन् । रक्सी खाएर हल्ला गर्नेलाई घोक्रेठ्याक लाउथी । मोबाइलमा धेरै गफ गरेर हल्ला मचाउनेलाई बाहिर गएर चिच्याउनुस् भन्थी । उधारो खाएर पैसा नतिर्नेलाई शौचालयमा लगेर पूजा गर्थिन् । बेलुका जुवा खेल्ने पार्टी दिउँसो आए भने नो इन्ट्री देखाइदिन्थिन् तर जानेर पनि उनी बाबुको त्यो कुटीर उद्योगमा बाधा चैँ पुर्याउँदैनथिई । यी सब काम प्रेमले गर्ने लक्ष्मीको विहे चैँ प्रेमले कसैसित नहुनुमा के कारण होला शेरचन महोदयको ओटीका विषय थियो ।
विहेको मौसमको कुनै दिन शेरचनजीले उनकी आमा बैकनीलाई विहे गरीदिनु पर्यो भनेर सल्लाह दिँदा ती दुईमा छत्तीसको आँकडा बनेछ , त्यो छत्तीस छैँसाठी हुन धेरै छ सातदिन नै लाग्यो ।
त्यसपछि यो अध्याय केही समयलाई बन्द भो ।
शेरचनजीको भनाइमा लक्ष्मीको विहे हुन नसक्ने कारण आफैँ जन्मियो पछि । कसरी हुन्छ , विहे ?
लक्ष्मी विहे गएर गएपछि लक्ष्मी इन्टरनैशनल कसले चलाउँछ ? वा कसरी चल्छ त्यो पसल ? लक्ष्मीको नाम, शौहरत र सत्तामा चलेको त्यो पसलको सौर्य सेलाइहाल्छ नि , यस्ता धेरै कुरा शेरचनजीले सोचमठमा ल्याए र हराए ।
त्यसपछि लक्ष्मीको बिहेको कुरा अगि बढेन । बढ्नै सकेन । बढोस् पनि कसरी शेरचनजी नै सरुवा भएर काठमाण्डू जानु भो ।
हामी शेरचनजी नहुँदा पनि लक्ष्मी इन्टरनैशनल जान छोडेका छैनौँ , गएपिच्छे कुरा जहाँबाट शुरु भएपनि अन्त्यमा एकपटक शेरचनजीको चर्चा भइहाल्छ, विशेष लक्ष्मीका पिताले भनिहाल्छन्, “शेरचनसर त खास्साको मान्छे हो । दिलदार । अब कहिले आउनुहुन्छ ?”
“कहाँ आउनु अब सरुवा भएर गएको मान्छे ?” लक्ष्मी झर्केर जवाफ फर्काउथी ।
एकदिन चैँ लक्ष्मी आफैँले मलाई सुस्तरी सोधी, मसित ।
“..सर, शेरचनसर कहिले आउनु हुन्छ ?”
“मोबाइल नम्बर छ होइन । फोन गर न , अहिले त लोकल कल हो । ” दूरसञ्चारले भर्खरै नमस्ते सिम्कार्डमा यो सुविधा थपेको एक हप्ता पनि भएको थिएन ।
“होइन, सर । एकपटक भेटेर कुरा गर्न मन थियो । ”
कुरा के हो मलाई थाहा थिएन मैले मनज्ञान पनि दिइँन तर लक्ष्मीको कुरा भयो कि भएन थाहा छैन , म यसपालि काठमाण्डू जाँदा शेरचनजीलाई लक्ष्मीको जानकारी पुर्याइदिन्छु ।
काठमाण्डू जाने साइत नआउँदै म एकहप्ता डँडेल्धुरा जानुपर्ने भो कामविशेषले ।
एकहप्ता पछि आउँदा सबभन्दा पहिले सीधै लक्ष्मी इन्टरनैशनल पसेँ, जुन हामी सबैको नयाँ धन्दा हो । चनाचिउरा र भुटनसित एउटा चिसो पिएँ । शान्त मनले अशान्त भएर सोचिरहेँ, यसपालि मलाई खाजा लक्ष्मीकी आमाले दिइन् । केही वेरपछि मलाई चासो लाग्यो , आज लक्ष्मी कता गइन् होली ? शेरचनजी भएको भए सोधी हाल्थे तर ममा अग्रगामी कदम देखिएन , भएन पनि ।
म खाजा खाएर त्यस्तै अशान्त मनले अफिस आएँ । अफिसमा खाजाको समय साथीसर्कलमा चर्चा चल्दै थियो , लक्ष्मी त भागीछे ।
लक्ष्मी भागी , म त छक्कै परेँ । लक्ष्मी कहाँ भागी ? किन भागी ? किन कसैलाई नभनी भागी ? उनी त्यस्तो खाले त होइन । शेरचनजीलाई फोन गरेर यो खबर सुनाउन र सुन्न मलाई मन थियो तर मेरै मन दोमन भयो , ….शेरचनजीले अन्यथा सोच्नु भयो भने ।
केही दिनपछि बैँकको वार्षिक कार्यक्रममा लक्ष्मीकी आमा पनि सेवाकारी संस्थाको सदस्यको रुपमा सहभागी हुन आएकी थिई , त्यही वेला मैले बस्नोस् दिदी चिया खाएर जानुस् भने ।
उनले हतारिएर भनी , होइन सर । लक्ष्मी इन्टरनैशनलमा पनि कोही छैनन् । गइहाल्नुपर्छ ।
अनि लक्ष्मी खोइ त ?
लक्ष्मीको नाउँ कानमा गुञ्जेपछि प्रश्न पनि उब्जिहाल्यो , म कुनामा बसेर गोलकिपरले बल पर्खेजस्तै डराई डराई जवाफ पर्खिँदै थिए । कुसमयमा पो सोधियो कि भन्ने डर पनि लाग्यो ।
बैकनी नब्बे डिग्रीमा फर्केर मरित आई र लामो सास फेरेर भनी, “गई हाली नि सर । हामीलाई छोडेर । उसको परिवारसित । उसको बाबु र आमाले थाहा पाएर लिन आए ,अब अर्काकी छोरी कति राख्नु पठाइदिएँ नि सर । ”
लक्ष्मी ? अर्काकी छोरी । तपाइँको बुढाको छोरी होइन र ?
होइन, नि सर । कहाँ हुनु ।
बैकनीले रहस्यलाई झन् गहिरो बनाई । कसो अरे यता आउनुस् त, बस्नुस् त यहाँ ।
तिनी त्यस्तो हतारमा पनि पसिना पुछ्दै फ्यानको छेवमा बसिन् , अनि विस्तारै भनिन् , लक्ष्मी हाम्री छोरी होइन त सर । हामीले छोरी जस्तै गरेर पालको मात्र हो । हाम्रा बुढाले बोर्डरमा भेटेका । कता बम्बैतिर वेच्न लान लागेको रहेछ , हाम्रा बुढाले बचाएर ल्याएका । मान्छे डराइभर भए पनि मनको काइदाका छन् नि । उनले माया गरेर ल्याएको भएर हामीले एकवचन गाली पनि नगरी पालेको सर । तर छन् पनि छोरी नै थिई । हाम्रो परिवार , पसल सबै तिनैले धानेकी थिई । अझै पनि मान्छे लक्ष्मीको पसलमा गएर खाने भनेर आउँछन् । हाम्री त लक्ष्मी नै थिई । …”
तिनले त्यति भन्दै गर्दा दुवै आँखाले सम्मानपूर्वक आकार बदलिसकेका थिए । बैकनी बोल्दै थिई, म केही सुन्दै थिएँ के बुझ्दै थिएँ , के गर्नु सर माया लाग्छ । छोरी भन्दा प्यारी थिई । शेरचनसरले त दुबई तिर काममा पठाइदिन्छु पनि भन्नुभा थियो । अब आमाबाबा आएरै लिन आएपछि त उनको त पुनर्जन्म नै भो नि, होइन र सर ? ”
त्यति भन्दा भन्दै तिनले अर्को एउटा विन्ती गरी , तर सर यो कुरा अरुतिर नजावोस् , लक्ष्मीको बेइज्जती हुन्छ । फेरि यो पसल त उसैको नाउँले चल्छ नि होइन र सर ।
बैकनी त्यति भनेर गई तर म त लक्ष्मी अध्याय मै अल्झेँ ।
आजकाल काठमाण्डू जाँदा लक्ष्मी इन्टरनैशनलको बाटोबाट एयरपोर्ट जान्छु र एक झलक साइनबोर्डमा हेर्छु , साइनबोर्ड त्यही छ तर पसलको साइज डब्बल भएको छ , आजकाल पसलमा गँडेश र बैकनी सहित थप तीन वेटर छन् र उनका छोरा गोकुल ल्यापटप् लिएर काउन्टरमा बसेका हुन्छन् ।
म लक्ष्मीलाई झल्झली सम्झिन्छु । लक्ष्मी इन्टरनैशनलकी लक्ष्मी । साँच्चैकी लक्ष्मी रहिछिन् ।
शेरचनजीले कति ठीक भनेका रहेछन्, उनी लक् मी नै हुन् । गँडेश र बैकनीका लक् । आफ्ना सारा भाग्य यही पसलमा छोडेर गइन् । वर्षौँपछि यो पसलमा कुनै दिन लक्ष्मी आई भने उनले पनि यो पसललाई चिन्न सक्दिनन् । यो साँच्चैको लक्ष्मी इन्टरनैशनल भइसकेको छ, लक्ष्मीको नामले ।
म लक्ष्मीलाई झल्झली सम्झिन्छु । लक्ष्मी इन्टरनैशनलकी लक्ष्मी । साँच्चैकी लक्ष्मी रहिछिन् ।

००

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.