व्यङ्ग्य : दान

~राम अविकास~

दान दिने र लिने पनि सान खोज्दा रहेछन् अचेलभरि। दान लिनेहरुले दाम लिने तर दिनु पर्दा चामल नभएको धान दान दिनेहरुको पनि जमात राम्रै रहेछ। त्यसो त प्रगतिवादीहरु दान लिनु/दिनु हुँदैन भन्दारहेछन्। तर बिदेशी डोनेशनको पत्तो पाए भने सुलेशन टाँसिए जस्तो कोटेशन नै नखोली चिप्किँदा रहेछन्।

कुरो जोडौँ रक्तदानबाट। मौसम नै रक्तदानको छ। यो मौसममा विध्यर्थीजति खुसी हुने मैले अरु भेटिनँ। गाँठी कुरो के रहेछ भने रक्तदान गरेको शिक्षकको कक्षामा जतिसुकै हल्का गरे पनि या होमवर्क नहरे पनि शिक्षक फुट्टी पनि नरिसाउने रहेछ। शिक्षक रक्तदान गरेर आएको छ भन्ने थाहा पाए भने विध्यार्थी त्यति खुसी हुँदा रहेछन् जति संविधान सभा विधटन हुँदा कुनै एक पार्टी खुसी भएको थियो। अझ त्यो शिक्षक गणित विषयको हुनु पर्ने रे। यो विषय-शिक्षकको विशेषता भनेको हेर्दा नै रिसाहा र सानो तिनो कुरामा पनि चुटिहाल्ने हुन्छ रे जस्तो कि अहिलेको नेपाल सरकार, आफै सत्तामा बसेर आन्दोलन गर्छु भन्ने।

यो रक्तदानको मौसम हेरेर उनीहरुको एक बुँदे माग पनि रहेछ- हरेक शिक्षकले हरेक टर्मिनलको रिजल्ट हुने दिन रक्तदान गर्नु पर्ने जसरी जनताको एक बुँदे माग छ सरकारसङ्ग देशमा शान्ति, सुव्यवस्ता कायम होस्। धन्य हो ती विध्यार्थीहरु जस्ले सात बुँदे, १२ बुँदे, हुँदै ५० बुँदे माग त राखेनन्। दान लिन्नँ/दिन्नँ भन्ने प्रगतिवादीहरुले दाइजो दान नलिने तर कन्या दान चैं लिँदा/दिँदा रहेछन् जसरी सरकारले जनतालाई राहत दिन्छु भनेर महङगी/लोडसेडिङ बढाए जस्तो।यस्तो दान चैं अपवादी दान भित्र पर्दो रहेछ क्यार! मुठ्ठी दान, माना दान, एक रुपैयाँ दान ‘वादी’ दान भित्र पर्ने होला। त्यसो भए सर्वहारा पार्टीको आठ करोडे महादिवेशन नामक दान चैं कुन दान भित्र पर्दो रहेछ कुन्नि! लाग्छ ‘अपवादी’ र ‘वादी’ दान बाहेक अर्को किसिमको दान पनि छ। र त जनयुद्धको वर्षगाँठको दिन प्रति सिलिन्डर पाँच सय ५० रुपैयाँ प्रति महिना दान दिने घोषणा गरेको भोलिपल्टै टुईटरेले यस्तो सास्ती नदिई सुख दान नदिने निर्णय गर्यो। यो टुइटर त सचिव भन्दा पनि माथिल्लो स्तरको कर्मचारी रैछ! पहिला पनि लोडसेडिङ घटेको जानकारी यसैले द्या’थ्यो।

दान भित्रै अभय दान र भय दान पनि पर्दो रहेछ क्यार। त्यसैले त डेकेन्द्रको हत्यारा भनिएकाहरुलाई अभय दान दिने प्रयास गर्यो रे । – अन्य पार्टीले भन्या’। अनि खिलराज रेग्मीलाई चैं भय दान दियो रे। उनलाई दिन खोजिएको प्रधानमन्त्रीको दान चैँ भय दान हो रे। दान दिन खोज्ने पार्टी र यो बाहेक तथा अदालत र यस वाहेककोले दिएका अभिब्यक्तिहरुको कारणले। जागिरमै रहिने हो कि प्रधानमन्त्री होइने हो या कुनै पनि नभएर हात लाग्यो शुन्य हुने हो भन्ने भयले।

धन्य हो सरकार! म्याद सकिए पछि पनि दानबाट चलेको यो दानै दान दिने यो दानी सारकारको जय होस्।

(Published. हेटौँडा टुडे दैनिक । ३ फाल्गुन ०६९ स्तम्भ- अविकाससङ्ग ५ मिनेट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.