~झलक सुवेदी~
‘हे मुला, तँ धेरै बकबक नगर त!’ म सम्झाउँछु।
‘माफ पाउँ। अब कहिल्यै यस्तो गर्दिनँ,’ उ माफी मागेझैं कान समात्छ।
‘साले, यस्तो माफी तैंले कम्तीमा दस हजारपटक मागिस् होला। दिमागमा कुनै मेमोरी चिप्स भएको भए म तँलाई हिसाब देखाइदिन्थेँ।’
‘होइन होला है। सत्ते, योचाहिँ अन्तिम नै हो,’ ऊ अनुहार रातो पार्छ, लाज मानेझैं।
‘साले, आज त अनुहार पनि पोइल गएकी स्वास्नी खोज्न निस्केको लोइरेका जस्तो बनाएर आएको छस् तँ, के भो?’
ऊ झ्यालको पर्दा खोल्छ र सहरमा थुप्रेको हुस्सुभित्र केके खोजेझैं गर्छ। केही उत्तर दिँदैन।
ऊ मेरो सहयात्री। मेरो छाया भने पनि हुन्छ। साले मैसँग जन्म्याजस्तो छ। ठ्याक्कै उन्पचास वर्ष छ महिनाको भएँ भन्छ। निधार विस्तार भएर टुपीसम्म पुगेको छ। तर ओहो! कपाल रोपेर बैंसालु देखिएको छ।
साले पहिले मभन्दा तन्नम थियो। पुतलीसडकमा साँझसाँझ भट्टीमा जाउँ न भन्दै दलाली गर्थ्यो। अन्तरिम सरकारको पालामा नियुक्तिसियुक्ति भेटाएको थियो। कुन पार्टीको भनेर कुरै नसोध्नुस्। मैलाई थाहा हुन छाड्यो। छ मैना कांग्रेस छ मैना एमाले। अहिले ऊ प्रशंसक बनेको छ बाबुराम भट्टराईको। त्यही नियुक्तिका बेलादेखि सहरमा धाक लगाएर हिँड्छ। जम्मा छ महिना काम गर्यो होला। काम के गर्छ कुन्नि, बताउँदैन। हातमा दुईथरि मोबाइल लिन्छ। स्यान्ट्रो कार चढ्छ। काठमाडौंमा एउट घर र एउटा अपार्टमेन्ट जोडेको छ। अपार्टमेन्ट भाडामा दिएको छु भनेर स्वास्नीलाई समेत झुट बोलेको छ। उसको निकटका अरूले भन्छन्, अपार्टमेन्टमा नगरबधु लगेर रात बिताउँछ। एकपटक त मलाई पनि अपार्टमेन्ट देखाउन लाने निहँुमा त्यहीँ ब्लु लेबल स्कच पिलाएको थियो। भरतपुरमा एउटा घडेरी र धुलिखेलबाहिर पचास रोपनी पाखो किनेर राखेको छ।
बाटोमा प्लस टुका केटी देख्यो भने मलाई आँखा सन्काउँछ र भन्छ : पट्याइदिउँ? संगत गर्न लायकको पनि रहेन। यो साला पहिले त मैसँग अखिलमा काम गर्थ्यो। खुब क्रान्तिकारी बनिटोपल्थ्यो।
सभामा, जुलुसमा, बसमा, बाटोघाटोमा यात्रामा, नियात्रामा धेरैजसो मसँगै हुन्छ। रेस्टुरेन्ट या कफी सपमा अरू साथी कुनै सामयिक सन्दर्भ या साहित्यमाथि बहस गर्दै हुन्छन्। या बाबुराम भट्टराईको लोकप्रियता वाष्पीकृत भैरहेकोबारे चर्चा गर्छन् । ऊ भने फुत्त निस्कन्छ र यताउति लाइन मार्न जान्छ।
म वालस्ट्रिटमा प्रदर्शन गर्नेका बारे चर्चा गर्छु। ऊ कैटि्रना कैफको लेटेस्ट हट पिक्चरमा एकोहोरो टोलाइरहेकोे हुन्छ। म क्यापिटालिज्म अ लभ स्टोरी हेरिरहेको हुन्छु। माइकल मुरले त्यत्रो अमेरिकी पुँजीवादलाई एक्लै के चुनौती देला? मनमनमा भन्छु। साले अमेरिकी साम्राज्यवाद ढले हुन्थ्यो भनेर कामना गरिरहेको हुन्छु र मुरको प्रशंसा गर्छु।
‘हाहा… लभस्टोरी पनि यस्तो हुन्छ त, मुला? मैले त क्यै बुझिनँ है!’ ऊ आधा पनि नहेर्दै निस्कन्छ।
म युरोजोनको संकट र बर्लुस्कोनीको पतनबारे वेबसाइटमा समाचार सर्फ गरिरहेको हुन्छु। मेरो मित्र भने माउस यसो दायाँबायाँ नचाउँछ र क्यामिल्ला भलेजोलाई भेट्न पुगिहाल्छ। उही क्या चिलीमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने भलेजो। जसलाई तीन लाखभन्दा बढीले त टि्वटमा फलो गरिरहेका छन्। ऊ मलाई हेर्न उक्साउँछ।
भर्खरै यो भलेजोले ‘आई एम प्राउड टु बि अ कम्युनिस्ट’ भनेको बारे मैले दि गार्डियनमा पढेको थिएँ। खुब सुन्दर छे। अहिले चे ग्वेभाराभन्दा लोकप्रिय छे।
‘साले तँ राम्री केटीले नेतृत्व गर्ने हो भने चैं कमरेड किरणको पार्टीमा पनि होलटाइमर हुन तयार हुन्थिस् होला हैन?’ म जिस्किन्छु।
…
मेरो यो समस्या आफैं अहिले के समस्यामा परेको छ, कुन्नि?
‘लौन यार संकटमा परेँ म त। तेरो सल्लाह चाइयो।’
‘साले तैंले निम्त्याएको संकट तैं पार लगा न। मलाई कथा लेख्नु छ, बिथोल्न नआइज,’ म हप्काउँछु।
ऊ झन् नजिकै बस्छ र रुँलाझैं गर्छ।
म झर्केर झ्यालतिर हेर्छु। बाहिरको बिग्रेको मौसममा उज्यालो खोज्दै गरेको बेला ऊ मेरो अगाडि ठिंग उभिन्छ र भन्छ : साले एउटा कथा लेखेँ भनेर आफूलाई बडो साहित्यकार भन्छस् हैन। मेरो कथा सुन। तँ तीन फ्ल्याट खान्छस्। बरु त्यै कथा लेखिस् भने बजारमा लोकप्रिय हुन बेर छैन।
‘त्यसो भए एक गिलास कफी बनाएर ले अनि मेरी बुढी अफिसबाट आउनुअगाडि आफ्नो कथा सक्।’
म सुस्केरा हाल्दै पुुर्पुरोमा हात लगाउँछु र खाटमा घ्याच्च बस्छु। ऊ कफी लिएर आइपुग्छ र झ्यालमा उभिएरै आफ्ना कुरा भन्न सुरु गर्छ।
…
यो कथा वास्तवमा पच्चीस वर्षअगाडि सुरु हुन्छ।
ऊ रोकिन्छ र मतिर हेरिरहन्छ।
मैले ए! भनोस् भनेर पर्खिएको म थाहा पाउँछु। मलाई खुब झोक चल्छ। उसलाई खुरुखुरु कथा भन्न आदेश दिन्छु।
‘त्यतिबेला म गामकै हाइस्कुल श्री जनजागृत माविमा शिक्षक थिएँ। भर्खर बिएको परीक्षा सकेर बसेको थिएँ। स्कुलका हेडसरले अंग्रेजी पढाइदिनुपर्यो भनेर काठमाडौंमा नै लिन आए। आफू यता बेरोजगार उता गाममा पढाउन पाइने अफर। रिजल्ट भएपछि जेजे होला अहिलेलाई जान्छु भनेर म पनि उनको पछि लागेँ।
हो, त्यही शिक्षक भएर काम गरिरहेको बेला हो। गाममा एउटी भाउजुले पुत्रलाभको माग गर्दै स्वस्थानी माताका अगाडि झन्डै अनसनको तहमा ब्रत बसेकी छन् (आजकाल भए चक्काजाम गर्दिहुन्)। कहिलेकाहीँ मैलाई कथा भन्नुपर्ने बाध्यता आइलाग्छ। कथाका पात्रलाई उल्लिबिल्ली पार्छु। गामका ठिटाहरू, अझ भनौं भने घरकी स्वास्नीसँग दिक्क भएका अधबैंसे रातरातभर गाएर बस्थे। मायापिरतीका कुरा र तरुनी नचाउने कुरा तिनका प्राथमिकतामा पर्थे। म पनि साँझसाँझ त्यता गैरहन्थेँ। मलाई न गाउन आउँथ्यो न बजाउन। नाच्न त म दाइँमा गोरु धपाउँदा घुमेबाहेक कहिल्यै घुमिनँ। मेरोे काम बाहिर बसेर अरूलाई नाच्न उक्साउनु या गाँजासाँजा मिच्दै तयार पार्नु हुन्थ्यो। केही सर्को गाँजा तानेपछि म पनि अरूसँग मिलेर खुब हाँस्थेँ र सुत्न जान्थेँ।
‘भिनाजु पञ्चामृत लिनोस् त! ‘ एकसाँझ एउटा सुरिलो स्वरले मलाई लक्षित गरेर भन्छ।
हेर्छु, एउटी भर्खरकी ठिटी मतिर हेर्दै एकहातमा पञ्चामृत राखेको कचौरा र अर्कोमा चम्चा समातेर घोप्टिएकी छ। लालटिनको मधुरो उज्यालो। उसको अनुहार दोछायामा छ र मेरो उज्यालोमा। म हात तेर्स्याउनुअगाडि उसलाई लोभिएर हेर्छु। आँखैमा र त्यसभन्दा क्रमशः तल। उसको हातको चम्चा कामेको थाहा पाउँछु। म हात तेर्स्याउँछु र उसले पञ्चामृत हातमा राख्दाराख्दै औंला अतिरिक्त तन्काएर उसको हातमा स्पर्श गरिदिन्छु। ऊ खुम्चिएको अनुमान गर्छु। ऊ अर्कातिर फर्किन्छे। आँखालाई उसको पछि लाग्न छाडिदिन्छु र नजिकै बसेका काकालाई सोध्छु, ‘यो केटी को हो, माइला बा?’
‘किस्नेकी साली क्या, कस्तो नचिनेको?’
‘ए ए लमजुङकी?’
‘किस्नेले अन्त पनि बिया अर्यो छ र?’ उनी व्यंग्य कस्छन् र एकसर्को चुरोट तान्छन्, ‘ओई कान्छा एइसँअ बिया अर्। राम्री छ। अनुहार त दिदीका जस्तै कालो छ तर हिसी परेकी छ। कुरा चलाम्?’
उनी मेरो हातै समात्छन्। म केही बोल्दिनँ।
मेरा आँखा केटीका पछि छन्। ऊ उज्यालोमा पुगी। रातो प्रकाश परेको अनुहार चम्कियो। आँखामा चञ्चलता झल्काउँदै उसले पनि मैतिर ध्यान दिई। अचानक पक्डाउ खाएको चोरजस्तो उसका अनुहारमा केही धर्सा सलबलाए। केटीको लाज मिसिएको डर चैं मलाई मन पर्यो।
केटी भीडमा हराई। मेरो मन त्यही केटीका पछि कुदिरहेको थिए।
साङ्गेको दिन। स्कुलका सबै शिक्षकलाई निम्त्याइएको छ। हामी सबै एकैपटक गयौं र प्रसाद ग्रहणपछि भात खान थाल्यौं। मेरा आँखा चारैतिर नाचिरहेका छन्। उसैलाई खोज्दै।
हो, त्यही साँझ अचानक ऊ मेरो नजिकै बस्न आइपुगी। खोेजेर आई कि संयोगले? थाहा पाइनँ। यति नजिक थिई कि मलाई ज्वरो आउन थाल्यो। यसै त नुगेको डाली … झैं यसै बरालिएको मन उसलाई नजिकै देखेपछि। खै के भनुँ। कपाल दुई चुल्ठो बाटेर रिबनले बाँधेकी। स्कुले निलो सर्टमाथि रातो स्वेटर लगाएकी। अलि लामो घुँडामुनिसम्म पुग्ने स्कर्ट। अनुहार कालो तर ओहो! ब्ल्याक ब्युटी क्या! म उसको शरीरको गन्ध महसुस गर्छु। अनि उसको काननजिकै आफ्नो थुतुनो लगेर भन्छु, ‘ए साली नानी, खुप राम्री रहिछौ गाँठे। म त भुतुक्कै भएँ।’
ऊ अस्पट्टाउँछे, ‘छ्या!’
‘कति कक्षामा पढेकी छौ नि?’
‘ऐले एसेल्सी दिएको,’ ऊ आफ्ना तिखा आँखाले मलाई नियाल्दैछे भन्ने चाल पाउँछु।
‘नामचैं के हो नि?’
‘दिव्या।’
म उसको पिँडुलामा चिमोटिदिन्छु।
ऊ डर, लाज, खुसी र दुखाइ मिसिएको मुस्कान फाल्छे र मेरो हात बिस्तारै हटाउँछे। ओहो, मेरो मन कति भुतुक्कै हुन्छ। म उत्ताउलिन्छु, ‘मलाई त तिमीसँग बिहे गर्न मन लाग्यो है। गर्छेऊ?’
उसको अनुहार रातो हुन्छ, ‘छ्या! मसँग भन्ने हो त यस्तो कुरा पनि?’
उसको अनुहार अचानक गम्भीर देखिन्छ। ऊ उठेर हिन्छे। उठ्ने बेला मेरो फिलामा एउटा हातले टेकेझैं गर्छे। ओहो म आफैं पो आत्तिन्छु। केटीले त बाउआमालाई भेटेर कुरा गर पो भनी त गाँठे!
त्यही बेला मलाई काठमाडौंमा आफ्नी केटी साथीको याद आउँछ। पद्मकन्या कलेजकी त्यो केटी र यो भर्खरकी केटीबीच तुलना गर्छु।
केटी भोलिपल्ट घरतिर जान्छे। म उसलाई कहिलेकाहीँ सम्झँदै एकाध महिना बसेर काठमाडौं फर्कन्छु। यता आएपछि पुरानो प्रेमले नयाँ आकार लिन्छ। अर्थात पिकेवाली गर्भवती हुन्छे। हतारहतारमा हामी बिहेको प्रक्रिया पूरा गर्छौं। म आफ्नो जीवनको धुनमा भुल्छु।
त्यो चञ्चल आँखा भएकी काली केटी मेरो मानसपटलबाट पूरै गायब हुन्छे।
…
यो दसैंमा म गैंडाकोट ससुराली गएको थिएँ। भोलिपल्ट बिहान टहलिन नारायणीको पुलसम्म एक्लै आइपुग्छु। आँखा नारायणीको विस्तारित पानीसँगै गतिमान हुन्छन्। जीवन पनि त गतिमान हुन्छ। छेउमा एउटी चम्किला आँखा भएकी कालो अनुहारकी अधबैंसे महिला उभिएकी थिई केहीबेरदेखि। मैलाई ध्यान दिएजस्तो। म ऊतिर ध्यान दिने गरी मुखातिव हुन्छु। उसले आफ्ना चम्किला आँखा अझ उज्याला पार्दै मलाई नमस्ते गर्छे र सोध्छे, ‘रमेश शर्मा होइन त तपैं?’
‘हो, मैले त चिनिनँ नी यहाँलाई?’
ऊ नजिक छ। पुलमा मान्छेहरू ओहोरदोहोर गरिरहेका छन्। चितवनमा बिहानको घाम पनि तातै महसुस हुन्छ। म उसलाई ठम्याउने कोसिस गर्दैछु। उसको आँखाको चमक विस्तारै बढ्दैछ। ऊ मेरो नजिक आउँछे र मेरो हात समाउँछे।
हेर्छु उसको अनुहार युद्धमा बेपत्ता भएको सन्तान भेटेकी आमाजस्तो चम्किलो छ खुसीले भरिएको। म अचम्म मान्छु। उसले मेरो हात समातेकै छ। म यो अपरिचिताको हातसमाइले पसिना काढ्दैछु। हात छुटाउन सकेको पनि छैन।
धेरैबेर हेरी। हेर्दाहेर्दै उसका आँखा टिलपिल भए। उसले मेरो हात मुसार्दै आफ्नो अनुहारको नजिक लगी र चुम्बन गरी। पहिलो प्रेममा जस्तो समर्पणसहितको अत्यन्त कोमल। म थररर काँपेँ र उसको हात फुत्काएर पछि सरेँ।
‘के गरेको यो? को हौ तिमी?’
ऊ अझै बोलेकी छैन। उसको अनुहारमा खुसीका लाखौं तारा धिपधिप बलेका छन्। मैतिर एकोहोरो हेर्दैछ। जिउडाल आकर्षक छ। कलेजी रङको बुट्टे साडी र ब्लाउजमा उसको अधबैंसे शरीर लोभलाग्दो देखिएको छ। म उसको व्यक्तित्वबाट अलिकति झस्किन्छु। नजिकै बाटो हिँडिरहेको एउटा भर्खर बिहे गरेजस्तो जोडी हामीलाई ध्यान दिँदैछ। एकछिनमा उसले आफ्ना आँखा मिची। अनि भर्खर सपनाबाट ब्युँझेेको बच्चाका झैं निर्दोष आँखाले यताउता हेरी। मलाई उसका आँखा पहिले कतै देखेजस्तो लाग्यो। तर कता कहिले केही थाहा भएन। म भाग्न पनि सकिरहेको थिइनँ।
‘मलाई बिर्सनुभयो? म दिव्या।’
‘को दिव्या? म त कोही दिव्यालाई चिन्दिनँ।’
उसको अनुहारको रङ बदलियो। पानी पर्ने बेलाको बादलजस्तै। उसका आँखाबाट आँसु झरेर गालाको बाटो झरे। उसले पुच्छ्ने प्रयास पनि गरिन।
यो कतै माओवादी जनयुद्धमा आफन्त बेपत्ता भएर मानसिक सन्तुलन गुमाएकी महिला पो हो कि! मेरो अनुहारमा आफ्नो प्रेमीको झल्को देखेर यसो गरेकी हो कि! म कल्पन्छु र उसको बोलीको प्रतीक्षा गर्छु।
सलले गालाका आँसु पुछ्दै मेरा आँखामा आँखा गाडेर हेरी। उसको बोली मायालाग्दो भयो, ‘तपैं म देखेर डराउनुभयो होला। भैगो अहिले म केही भन्दिनँ। मलाई तपैंसँग एकपटक मनका कुरा गर्नु छ। तपैंको मोबाइल नम्बर दिनुस् न है!’
म उम्कने हतारोमा हुन्छु। जिज्ञासालाई भयले जितेको छ। म उसलाई आफ्नो भिजिटिङ कार्ड थमाउँदै भन्छु, ‘फोन गर्नुहोला तर यसरी बाटोमा चैं नअत्याउनु होला। अरूले यस्तो देखे के भन्लान्?’
फरक्क फर्केर हिन्छु।
शरीरले पिठ्युँ फर्काउँदैमा मन के फर्कन्थ्यो? पुलको पश्चिमछेउ पुगेर नारायणगढतिर मुन्टो फर्काउँछु। ऊ अझै त्यहीँ उभिएकी छ मतिरै फर्केर। म आत्तिन्छु। त्यसदिनदेखि राति निद्रा लाग्दैन। दिनमा पनि टोलाउँछु। खाना कम रुच्छ। श्रीमती शंका गर्न थाल्छे। तर म कुनै दिव्या मेरो जीवनमा आएको कुरा सम्भि्कन सक्दिनँ।
तीन दिनअघि। मेरो याहु मेलको इनबक्समा एउटा बिजुलीपत्र आयो। दिव्या पौडेल बरालको नामबाट। दिव्या नामले म झस्किन्छु। एकछिन त डिलिट गरिदिउँ कि भन्ठान्छु पनि। उत्सुकताबस डिलिट गर्न सक्दिनँ। श्रीमतीजी भान्सामा छिन्। म ढोकाको चुकुल लगाएर पढ्न बस्छु। पत्र पढेपछि म पागलजस्तै भएको छु। त्यै भएर तँसग सल्लाह लिन आएको।
…
अब उसको अनुहार पाठ नबुझाएको सोझो विद्यार्थीका झैं कायर देखिन्छ।
‘पहिले पत्रमा के थियो, त्यो त सुना यार!’ म अधिर हुँदै हप्काउँछु।
‘म सुनाउन पनि सक्दिनँ यार। प्रिन्ट गरेर ल्याएको छु तैं पढ्।’
मेरो भगवान!
धर्यतासाथ पत्र पढ्नुहोला। नझस्किनुहोला म तपैंको केही बिगार्न चाहन्नँ।
म त्यही दिव्या हुँ जसलाई तपैंले आजभन्दा पच्चीस वर्षअगाडि स्वस्थानीव्रत सकिने दिनको साँझ बिहेको प्रस्ताव राख्दै पिँडुलामा चिमट्नु भएको थियो। म एसएलसी परीक्षा सकेर दिदीको घर गएकी थिएँ। पहिलो दिनमा नै दिदीले मलाई तपैंतिर देखाएर सोधेकी थिई, ‘ओई दिव्वे, ऊ ती रमेशबाबु राम्रा पनि छन्, बिए पढेर मास्टर भका छन्, बिहे अर्चेस्? भिनाजुलाई भनेर कुरा चलाम्?’
तपैंलाई टाढैबाट नियालेकी थिएँ। मेरो अनुहार नियालेकी दिदीले भनी, ‘हेर त, मख्ख परेकी!’
पहिलो हेराइमा नै मैले तपैंलाई रोजेँ। हो, त्यसदिन राति प्रसाद बाँड्दै तपार्इंको नजिक पुग्दा म झन्डै तपैंको काखमा नै घोप्टिइनँ। तपाईका आँखाले मेरो बाहिरको कपडा र शरीर छेड्दै मेरो मनभित्र प्रवेश गरेको म अहिले पनि सम्झन्छु। पञ्चामृत थाप्न लम्केको हातका औंलाले मलाई स्पर्श गरे। त्यो नै मेरो जीवनमा कुनै पुरुषको प्रवेश थियो। आजसम्म म त्यो पवित्र औंलालाई आफ्नो सर्वस्व ठान्छु। मैले त्यसैलाई वरण गरेकी छु। अर्को दिन तपैंले मसँग बिहेको प्रस्ताव राख्नुभयो। मैले त रोजिसकेकै थिएँ। पूरै तपैंको भैसकेकै थिएँ। म किशोरी चञ्चलता र उन्मादमा थिएँ भनेर आजकाल मन बुझाउन खोज्छु। थिएँ त के भो? म त ढुक्क थिएँ- भिनाजुले कुरा चलाउनेछन् म तपैंको भैहाल्नेछु।
त्यो दिनको निकटता म अहिले पनि उत्तिकै महसुस गर्छु।
म घर फर्कें र तपैं र भिनाजुको बाटो हेर्न थालेँ। दिनको एकपटक इशानेश्वर महादेवको मठतिर फर्केर प्रार्थना गर्थें। टोलाउँथेँ। वनमा घाँसदाउरा गर्न जाँदा गीत गाउन थालेकी थिएँ। सबै तपैंका लागि। मेरो भगवान नै तपैं। मेरो सर्वस्व तपैं। बस अब केही दिनमा नै शरीर र मन दुवैले तपैंको सेवा गर्न पाउनेछु। तपैंको माया पाउनेछु।
शिवरात्रिको दिनमा म बजारमा कतै तपैं हुनुहुन्छ कि भनेर हेर्दै हिँडेकी थिएँ। न तपैं आउनुभयो न भिनाजु। त्यो रात घरमा केही पाउना आएका थिए। भोलिपल्ट बिहान बाले फैसला सुनाउनुभयो : छोरी, लौ बिहे आँटियो। अब उमेरले पनि सत्र लागिस्। एसएलसी पनि दिइहालिस्। राम्रो घरबाट आएको कुरो टार्न पनि सकिएन।
जब बाले केटाको घर र नाम बताउनुभयो अनि पो म झल्याँस्स भएँ। त्यो त तपैं होइन अर्कैको कुरा थियो। बिहान चिया दिने बेलामा पिँढीमा बसेको बेला एक झलक देखेको केटो। म आत्तिएँ। म भाग्न चाहन्थेँ। म उडेर तपैंको काखमा पुगी लुक्न चाहन्थेँ। म मुर्च्छित भैछु। आमाले पानी छम्केर ब्युँझाउनुभयो। एकमन त भागेर तपैंको गाममा पुगुँ र सबै कुरा भनु भन्ने लागेको थियो। तर के थाहा तपैं मलाई स्विकार्न तयार हुनुहुन्न कि? म दिउँसो मादी र मिदिमको दोभानमा पुगेँ। फाल हालेर मरिदिन्छु तपैंको नाममा भनेर। मलाई बाँच्न पटक्कै मन थिएन। दुई घन्टा मादीको किनारमा बसेपछि सोचेँ, कमसेकम एकपटक तपैंलाई भेटेर म कति माया गर्छु भनेर सुनाउन पाउँ। म यसै मरेँ भने त तपैंलाई पनि त यो कुरा थाहा हुन्न। मरेर के सार?
म फर्कें। चार दिनपछि बिहे भयो। यन्त्रवत। मैले सुहागरातमा दुलाहालाई आफ्नो शरीर छुन दिइनँ। यो शरीर त तपैंलाई पो दिउँला भनेको त। यसको पवित्रता अरूलाई छुने के हक? दुलाहा अर्थात मेरो श्रीमान सरल र असल दुवै रहेछन्। उनी मलाई सोधीखोजी गर्थे। कुनै दुःख दिँदैनथे। म भने अरू काम लुरुलुरु गरेर पनि आफ्नो शरीर तपैंलाई सुम्पेर बसेकी थिएँ। छ महिनापछि एकरात श्रीमान मेरो काखमा मुन्टो घुसारेर रोए। खुब रोए र आफ्नो गल्ती के हो भनी मसँग सोध्न थाले। मैले उनलाई ठगेजस्तो लाग्यो। म घरबाहिर निस्केँ। जून लागेको थियो। पश्चिमतिर फर्कें जता तपैंको गाम पर्थ्यो। जुनलाई साक्षी राखेर तपैंको नाममा प्रार्थना गरेँ। आफूलाई तपैंका नाममा अर्पित गरेपछि यन्त्रवत म लोग्नेको ओछ्यान हुन राजी भएँ। आजसम्म पनि मैले मेरो मन उसलाई सुम्पेकी छैन।
हामी पछि चितवन सर्यौं। बाहिरबाट हेर्दा हाम्रो परिवार सुखी छ। दुईवटा सन्तान भए। छोरो एमबिबिएस पढ्दैछ र छोरी इन्जिनियरिङ गर्दैछ।
तर मेरो मनमा कहिल्यै शान्ति भएन। तपैंसँग भेट नभै मर्छु कि भन्ने पिरले। नारायणीको पुलमा तपैंलाई मैले यसअगाडि पनि देखेकी थिएँ। तर या त तपैं दिदीसँगै (त्यो भाग्यमानी नारी जसमा मेरो भाग्य पनि थपिएको थियो) हुनुहुन्थ्यो या त कोही आफन्तसँग। म तपैं कहिले आउनुहुन्छ भन्ने पनि थाहा पाउने अवस्थामा छु। यसपालि पनि तपैंको झल्को पाउन मात्रै त्यहाँ पुगेकी थिएँ। बेहोसीमै सही तपाईंका तिनै औंला चुम्बन गर्न पाएँ जसले मलाई पहिलोपटक स्पर्श गरेका थिए।
मेरो एउटै धोको छ : तपैंसँग एकरात बिताउन पाउँ। मेरो यो जुनी त यसै बित्ने भयो भयो। एकपटक, सिरिफ एकपटक म तपाईंकी हुन र यो शरीर मेरो भगवानलाई चढाउन चाहन्छु। शरीर नभए पनि मेरो मन त अझै उत्तिकै चोखो छ। जीवनमा एकैपटक सै पूरै समर्पित हुन चाहन्छु। त्यसका लागि म जस्तोसुकै जोखिम उठाउन तयार छु। जहाँ बोलाउनुहुन्छ त्यहीँ आउँछु।
तर ढुक्क हुनुहोस् म तपैंको जीवनमा अरू कुनै दखल दिन आउने छैन।
जवाफको प्रतीक्षामा
सदा तपैंकी
दिव्या
पत्र पढिसक्दा मेरो गला अवरुद्ध भएको थियो। आँखा टिलपिल गर्दैथे। उसलाई हेरेँ, आँसु बगाएर बसेको रहेछ। पत्र फिर्ता दिएँ र उसलाई ढोकासम्म घचेट्दै लगेर बाहिर निकालेँ।
‘मसँग आज तँलाई दिनका लागि कुनै सल्लाह छैन। भोलि फोन गर्नु।’
त्यसपछि म मोबाइलको स्विच अफ गरेर बसेको छु। ऊ आइपुग्ला र सल्लाह माग्ला भनेर डर लागिरहन्छ।
(स्रोत: NagarikNews)