कथा : भोलादाइको दशैँ

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

भोलादाइ -(भोलानाथ गौतम) आफ्ना जहान-परविारसँग यसपालिको दसैँ भव्य रूपले मनाउने मनसायले नुवाकोटबाट बसको हुटमा हल्र्याङ्हल्र्याङ गाडीसँगसँगै हल्लिँदैहल्लिँदै लखतरान भएर बालाजुमा ओर्लिए । र, गह्रौँ झोला काँधमा झुन्ड्याएर सोझै नयाँबसपार्कतिर अघि बढे । आवश्यक किनमेल उनले त्रिशूलीमै सिध्याएकाले एक पाउको एक पोको गुँदपाक चैँ बसपार्कमै लिउँला भन्ने उनको सुर थियो । उनको सुरलाई एउटा बेसुरसँग कराउने मने -मनबहादुर खड्का) भन्ने केटाले भताभुंग पार्दै सोध्यो, “ओ दाइ काँ जाने ?”

बसपार्कका गाडीका दलालहरूसँग भोलादाइ उहिल्यैदेखि सचेत थिए । त्यसैले उनले आफूलाई लोकल मान्छे देखाउने प्रयास गर्दै भने, “काईं न काईं !”

“केको काईं न काइर्ं नि ! तीनमनको भारी बोकेर काईं न काईं भन्दा कसले पत्याउँछ ? आउनूस् दाइ, ठाडो फोल्डिङ् सिट भएको इस्पेसल गाडीमा सिट खालि छ ।” मनेले भोलादाइको झोला तान्न थाल्यो । भोलादाइले मनेलाई घँचेट्तै आफ्नो झोला फुत्काए । उनी अलि रसिाए, “म जुन गाडीमा मन लाग्छ, त्यही गाडीमा जान्छु, तिम्रा करले हुन्छ ? बसपारकका सबै दलाललाई मैले राम्ररी चिन्या छु ।”

“ओ दाइ ! कल्लाई दलाल भनेको ? झन् आफ्नो गाउँको दाइ भनेर हेल्प गर्न खोजेको त उल्टै दलाल पो भन्छ यार !” मने पनि रसिाएझैँ गरी जाल बुन्न थाल्यो । आफ्नो गाउँको दाइ भनेको सुनेपछि त्यो केटो कताकता हँडियाखोलाको ह्याम्सेे -हेमसागर कुइँकेल) पो हो किजस्तो लागेर भोलादाइले त्यसको अनुहारमा राम्ररी हेरे । केको हुन्थ्यो ह्याम्सेे ! अर्कै कुनै हरलिट्ठक मोरो रैछ । उनलाई डरडर पनि लाग्यो- दलाल भनिहालियो, गोद्ने पो हो कि ! तर, उनको डरलाई पर पुग्ने गरी मनेले अर्को ढुंगा फ्याँक्यो अँध्यारोमा, “ओ टंक दाइ, किचिकिच नगर्नूस् न ! आफ्नो गाउँको भाइलाई पनि के नचिनेको जस्तो गरेको ?” बिचरा सोझा भोलादाइ छक्क परे र वरपर हेर्न थाले । त्यहाँ नजिक अर्को मान्छे त छैन !

“तिमीले कसलाई टंक दाइ भनेको ?” उनले सोधे । “ल दाइको नाम टंक होइन त ? टंक सुभेडी । मेरा आँखा त तगडै छन् त !” मनेले आँखा मिच्तै भन्यो ।

“तिम्रा आँखा त तगडै रैछन् तर तिम्रो टाउकाको पेचचाहिँ अलि खुकुलो भएछ । कत्ति इन्जिनको पेच मात्रै कस्छौ, आफ्नो टाउकाको पेच पनि कहिलेकाहीँ कस्ने गर न भाइ !” भोलादाइ पनि किन कम हुन्थे, सोझा भए पनि झापाली हावापानीमा हुर्केका । गफ गर्न सिपालु निस्िकए ।

“म पनि कस्तो हुस्सु भएँछु, दाइका काकाकी ठूला बाका छोराको नाम पो हो क्यारे, टंक त ! अनुहार ठ्याक्कै उस्तै रैछ ।” मने छाड्नेवाला थिएन ।

“ए भाइ तिमी आफ्नो बाटो लाग्छौ कि ठीक पारौँ ? तिमीले मलाई के ठानेको छ हँ ? मलाई अरूअरू गाउँले जस्तो सोझो ठानेर झुक्याउन खोज्या होला, म त टिचर हुँ बुझ्यौ ? टिचर ! टंकेसंके मलाई थाहा छैन । तिमी खुरुक्क आफ्नो बाटो लाग ।” भोलादाइले चर्को प्रतिवाद गरे ।

“होइन टंक भनेको चाहिँ को हो त सर ? त्यो सरको कोही न कोही त पर्छपर्छ । सरले ढाँट्तैमा म पत्याउँछु र सर ?” मने चन्डाल भोलादाइलाई सरका सर लगाउन थाल्यो ।

“त्यो गधाको कुरा नगर ! त्यो मेरो छिमेकी हो । के छिमेकी हुनु, शत्रु हो शत्रु,” भोलादाइले उनको मिचाहा छिमेकी टंक सुवेदीलाई सम्झेर दाह्रा किटे ।

“ए…त्यै त भन्या,” मनेले लामो लेघ्रो तान्यो र उत्साहित हुँदै भन्यो, “म त त्यस गधालाई सरकै दाजुभाइ रैछ भनिराख्या । अनुहार ठ्याक्कै मिल्छ ।”

“अँ, त्यस दुष्टसँग मेरो अनुहार मिल्छ ! रगतको नाता हुनेहरूको त अनुहार मिल्दैन । छिमेकीसँग अनुहार मिल्छ ?” भोला सरले अलिअलि आक्रोश र अलिकति आत्मविश्वासका साथ भने ।

“मिल्छ नि सर ! मिस्प्लेस भयो भने अनुहार मिल्न पनि सक्छ, छिमेकमा बसेपछि ।”

मने त मनपरी पो बोल्न थाल्यो । भोला सरले एकछिन त कुरै बुझेनन्, सारै सोझा क्या ! गौप्राणी ! तर, एकछिनमा कुरा बुझेछन्, ट्युबलाइटजस्तो, एक्कासि झोँक्किए, “के भनिस् ? तैले मेरा सोझा बालाई त्यस्तो कुकर्मी ठानिस् ?”

“होइन, होइन, सरको बुबालाई मैले नचिनेको हो र ! त्यस्तो भलाद्मी र ज्ञानी मान्छेलाई । मैले त त्यही गधा टंकेकी आमालाई पो भनेको त ।” मनेको घुमाउरो भाखा भोलादाइले बुझेनन् क्यारे, लामो लेघ्रो तानेर भने, “ए…।”

मनेले भोलादाइलाई आफ्नो गाडीमा लैजान निकै बल गर्‍यो तर भोलादाइले काउन्टरबाटै टिकट काट्ने अड्डी लिएपछि ‘दाइ पनि क्या रड्डी गर्नुहुन्छ’ भन्दै उसले भोलादाइलाई काउन्टरमा लगेर सबै बसका बुकिङ् प्याडहरू निकालेर देखायो । सबै प्याडमा पछाडि-पछाडिका सिट नम्बरमा बेस्कन कोरेको र अगाडिका सीटमा अलिअलि कोरेको थियो । यो धाँधलीका बारेमा भोलादाइलाई उत्ति ज्ञान थिएन क्यारे, उनी चुप लागे । मनेले भोलादाइको झोलाको एकापट्टकिो उझिन्डोमा समातेर भोलादाइ र झोला दुवैलाई घिसार्दै एउटा बूढो गाडीको ढोकासम्म पुर्‍यायो । खलासी राजकुमार चौधरी न्वारानदेखिको बल निकालेर यात्रीहरूलाई ढोकाबाट भित्रतिर घँचेट्तै थियो । त्यो देखेर भोलादाइ भुइँमा थचक्क बसे ।

“सीट भएको तिम्रो बस यही हो ?” उनले मनेतिर हेर्दै भने ।

“पख्नूस् न सर, याँ लोकल पेसेन्जर जबरजस्ती पसेर कस्तो भइरा’छ । थानकोटदेखि यी सबै ओर्लिन्छन् अनि त सुतेर गए पनि हुन्छ,” मनेले फकायो । तर, भोलादाइ टसको मस भएनन् । उनी झोला बोकेर हिँड्न खोजे । मने भोलादाइको झोला तान्दै गाडीभित्रतिर फर्किएर करायो, “ए रुद्रे ! पछाडिको एउटा सिट खालि थियो नि, बाँकी छ कि छैन ?”

पछाडिबाट रुद्रबहादुर लामाको चिल्लो आवाज सुनियो, “छ, छ । तैँले भनेको आफ्नो मान्छे पाल्नुभो ?”

“आउनुभो, आउनुभो, म त्यता पठाइदिन्छु, मिलाएर राख् है ?” मनेले भनेपछि भोलादाइको अनुहारमा पनि चमक आयो । मनेले भोलादाइको झोला बसको हुटमाथि हुत्याइदियो र भोलादाइलाई बसको ढोकामा उभिन लगाएर पछाडि डडाल्न्ााबाट जोडसँग घचेट्न थाल्यो । करङहरू भाँचिनभाँचिन खोज्दै भोलादाइ ८-१० जना मान्छे र दशथरी भारीतारीलाई छिचोलेर अलिकति भित्र पुगे ।

“ल दाइ भाडा दिनूस्, भरे झ्याउ हुन्छ,” मने टिकट लिएर ठिक्क पर्‍यो ।

मनेको कुरा सुनेर भोलादाइ जंगिए, “पहिला सिटमा बस्न त पाउनुपर्‍यो नि !”

“सिटमा त बसिसकेँ भन्ठान्नूस् न ! झन् वाँ सिट रोकेर राखिराख्या छ । ल ल झिकिहाल्नूस्, गाडी हिँड्ने बेला भयो,” मनेले अलि क्रूरता प्रदर्शन गर्‍यो ।

“कति पैसा ?” भोलादाइले लाचार भएर सोधे ।

“काँसम्म पुग्ने ?” मनेले बल्ल यस्तो प्रश्न गर्‍यो ।

“दमक त हो नि, अन्त काँ जाने ?” भोलादाइले झर्किंदै भने ।

“द…द…दमक ?” मने आश्चर्यचकित भयो ।

“अँ ! कति हो भाडा ?”

“विस्तारै बोल्नूस् । अरूले सुने भने किचकिच गर्छन् । खोइ २ सय ५० झिक्नूस्,” मनेले साउतीको स्वरमा भन्यो ।

मनेको उत्तर सुनेर भोलादाइ एकछिन जिल्ल परे । भोलादाइलाई विश्वासै भएन, किनभने उनले दमकका लागि दलाली गरेर साढे छ सयसम्ममा भाडा मिलाउने मनमनमा अठोट गरेका थिए । तैपनि, भोलादाइले आफूलाई सम्हाल्दै आमनेपाली यात्रीधर्म अनुसार भने, “अलिक मिलाऊ न भाइ !”

“ल त ल, दुई सय रुप्याँ ल्याउनूस् । छिटो गर्नूस्,” मने भोलादाइका कानैमा फुसफुसायो ।

भोलादाइ पैसा झिक्न थाले । मनेले नाम सोध्यो । भोलादाइले आफ्नो नाम भनेपछि मनेले आफैँलाई सराप्यो, “थुक्क मेरो गोबर भरएिको दिमाग, भोलासरको नाम पनि बिर्सिने म कस्तो हुस्सु भएँछु ।”

पैसा हात पारेर मनेले भोलादाइलाई भित्रतिर घचेट्यो र सबभन्दा पछाडिको सिटमा गएर बस्न भन्यो । भोलादाइ उता फर्किएर चेप्पिन थाले, मने ओर्लिएर गयो । भोलादाइ भित्र पसेर रुद्रेलाई खोज्न थाले । त्यहाँ कुनै रुद्रे नामक जन्तु फेला परेन । पछाडि समस्यैसमस्या थिए । कसैका सिट डबल परेका, कसैका सिट फोल्डिङ् नहुने, कसैका झ्यालको सिसा नखुल्ने, कसैका खुल्याखुल्यै गर्ने, कुनै झ्यालमा सिसै नभएका इत्यादि, इत्यादि । यत्तिकैमा गाडी स्टार्ट भएर हिँड्न खोजेजस्तो गर्न थाल्यो ।

भोलादाइ छक्क परेर एकछिन उभिए र कराउन थाले, “ए टिकट काट्ने भाइ ! ए टंकेका साथी ! याँ पछाडि त एउटा पनि सिट छैन त ।”

“किन छैन, त्यत्रा सिट छन् । सिटैसिट त छन् नि ! तपाईंको कति नम्बर हो ?” नेपथ्यबाट आवाज आयो । भोलादाइले टिकटमा हेरे र भने, “सीको एक नम्बर वा एमको दुई नम्बर लेखेको छ ।”

“एऽऽऽ, सी भनेको चमेरे सिट हो, एम भनेको मूढेसिट हो । कि त चमेरोजस्तो माथि झुन्डिएर जाने कि त खालि भएपछि मूढामा बस्ने ।” भोलादाइका कन्सिरीका रौँ ठाडाठाडा भएर आए र रसिले रगत उम्लिएर गाडीभित्रै पोखिएलाजस्तो भयो । उनी मान्छेहरूलाई पन्छाउँदै अगाडि आए र मनेलाई खोज्न थाले । मने बेपत्ता भइसकेको थियो । अर्को एउटाले आएर पछि सिट खालि भएपछि मिलाइदिउँला, तपाईं सोझो मान्छे फटाहाका फेला पर्नुभएछ भन्दै चेपारो पार्‍यो । भोलादाइ एक भन्नु न दुई भन्नु भएर आफ्नै मूर्खतालाई धिक्कार्दै पछाडि सरे र चमेरो सिटमा झुन्डिए । गाडी हिँड्यो । थानकोट कट्यो, नौबीसे पछि पर्‍यो, गजुरी गयो, मुग्लिन हरायो, भोलादाइ उभिएको उभियै ।

भोलादाइ त्यसबेला छक्क परे जब गाडीले फनक्कै घुमेर नारायणीको पुलतिर मुख फर्कायो । उनले सोचे तेल भर्न गा होला । गाडी जब पुलमाथि नै कुद्न थाल्यो, तब उनी जोडले चिच्याए, “ए… गाडी रोक्, गाडी रोक् !”

“के भयो ? मान्छे छुट्यो कि क्या हो ?” कसैले सोध्यो ।

“यो गाडी किन पश्चिमतिर लागेको ?” भोलादाइले आत्तिएको स्वरमा सोधे । उनले यो कुरा सोध्दासोध्दै गाडी नारायणी नदीपार िपुगिसकेको थियो ।

उनी फेर िकराए, “गाडी रोक भनेको सुनेनौ ? ए गुरुजी गाडी रोक ।” गाडी बल्ल रोकियो ।

भोलादाइ स्याँस्याँ र फ्याँफ्याँ गर्दै अगाडि पुगे र कराए, “यो गाडी किन यता लागेको ?”

“यसको बाटै यतै हो त कता लाग्नु ?” कन्टेक्टरले ठाडो जवाफ दियो ।

“काँकडभिट्टा जाने होइन यो ? मलाई त दमकको टिकट पो कटाएको छ त !” भोलादाइले विस्मयकारी स्वरमा भने ।

“लौ कस्ता कस्ता मान्छे पनि गाडीमा चढ्छन् ? यो त दाङ जाने गाडी हो,” एक जना यात्रुले भन्यो ।

“थुक्क असती । त्यो अघि मसित पैसा लिने केटो काँ छ ? त्यसलाई याँ ल्याओ,” उनी चिच्याए ।

“तपाईंको टिकट काट्ने मान्छे त बसपारककै मान्छे हो । याँ खोजेर त्यसलाई भेटिन्छ त !” जवाफ सुनेर भोलादाइ अक्क न बक्क भए ।

उनी मध्यरातमा गाडीबाट ओर्लिए, सडकको पारीपट्टी गए र पूर्व जाने गाडीको प्रतीक्षामा सडक किनारामा टुक्रुक्क बसे ।

निकैबेर बसेपछि बल्लतल्ल जनकपुर जाने एउटा गाडीले मुढामा बसाएर ढल्केबरसम्म लैजाने भयो । दंग पर्दै बसमा चढ्नुअघि उनले अचानक आफ्नो सम्पूर्ण सामानसहितको झोला दाङ जाने गाडीको छतमा बसेर पश्चिमतिर लागेको कुरा झल्याँस्स सम्झे । उनले सम्झे, त्यही झोलामा त थियो नि प्राणप्यारी प्रेमकलालाई किनिदिएको धोती, पुतलीजस्ती प्यारी छोरीलाई किनिदिएको जामा, तीन वर्षअघि न्वारान गरेकै दिन छाडेर हिँडेको कलेजाको टुक्रो छोराका लागि किनिदिएको फलाटिनको न्यानो दौरासुरवाल, रगत-पसिना एक गरेर कमाएको तीन महिनाको तलब, नागरकिताको प्रमाणपत्र, नुवाकोटमै बसीबसी प्राइभेट जाँच दिएर पास गरेको आईएको ओरििजनल सर्टिफिकेट आदि सर्वस्वै ।

भोलादाइलाई भाउन्न होलाजस्तो भो । उनको मन कटक्क भएर आयो । स्वास्नी, छोराछोरीका धमिला तस्विरहरू आफ्ना वरिपरी नाच्न थाले । आँखा टिलपिलाए ।

मध्यरातमा फेला परेको लोग्नेमान्छे आँखाभरी आँसु पारेर टोलाएको देखेपछि पूर्व जाने गाडीको खलाँसीले भोलादाइलाई सडकमै छाडेर ‘जाउँजाउँ गुरुजी, पागल पो रैछ’ भन्दै बसको ढोकामा ढ्याङ्ढ्याङ पार्‍यो ।

गाडी झलमल्ल उज्यालो छर्दै पूर्वतिर हुइँकियो । भोलादाइ निष्पट्ट अँध्यारोमा सडकको पारीपट्टी गए र पश्चिम जाने गाडीको प्रतीक्षामा उसैगरी सडककिनारामा टुक्रुक्क बसे ।

(साभार: नेपाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.