~राम अविकास~
ऊ आज आफै चकित पर्यो। नपरोस् पनि किन ! जतिखेर ऊ जुन पार्टीमा लागेर आफ्नो ज्यानको वास्ता समेत गर्दैनथियो त्यतिखेर यिनीहरु त्यो पार्टीको नाम सुनेर सायद घरभित्र लुक्थे होलान्। आज उस्लाई तिनीहरुले नै कुनै अर्को पार्टीको बिल्ला भिराइदिएका थिए। हुन त उस्लाई यस्मा कुनै आपत्ति थिएन। किनकी ऊ अहिले कुनै पार्टीमा थिएन।
त्यसो त कुरा रक्सीको टेबलको थियो। आखिर रक्सी चीजै त्यस्तो हो जो भित्र पसे पछि, भित्रको गाँठी कुरोलाई बाहिर बिस्थापित गरिदिन्छ । न्युटनको तेस्रो नियम – बराबर तर बिपरित प्रतिक्रिया।
+++
यिनीहरु मध्ये एकले उस्लाई भन्यो, “तपाई ‘एमाले’ हो।”
यी एक महासयले आफ्नो भनाइको कारणका पोटुका खोले, “तपाईँ मसङ्गै भएर पनि पत्रकार महासङ्को चुनाबमा मेरो प्रतिद्वन्दीलाई भोट दिएर मलाई तपाईँकै एक भोटले हराउनु भयो। यस्तो द्वैत चरित्र त एमालेले मात्र देखाउँछ। त्यसैले तपाईँ एमाले नै हो।”
(यसो भनौँ – यी महासय क्रान्तिकारीको प्यालनबाट चुनाबको कुनै पोष्टमा हारेको रोष प्रकट गर्दै थिए।)
दोस्रो बोल्यो, “तपाईँ ‘काङ्ग्रेस’ हो।”
औंलामा पृथ्बी अड्याउने बराह-अवतार नै आफूलाई सम्झेर यी दोस्रा महासयले आफ्नो कहानी सुनाए, “तपाईँको बाउ –आमालाई तपाईँकै घरमा हामीले घेरेर हाम्रो पार्टीका कमरेडहरुलाई भात खुवाउन नमानेको झोंकमा, समर्थित पार्टीको नाम बकाउदा, काग्रेस बोलेका थिए। त्यसैले बाउ-आमा काङ्ग्रेस भएकाले तपाईँ पनि काङ्ग्रेस हो।”
(यसरी बुझौँ – यी दोस्रा महासय बिहान-बेलुका हातमुख जोड्न धौ-धौ पर्ने निहत्था गाउँलेलाई आफ्नो आधार ईलाकामा काङ्ग्रेस बनाएर माच्चाएको उदण्डताको पुरुषार्थ पस्कँदै थिए।)
तेस्रोले थप्यो, “तपाईँ ‘राप्रपा’ हो।”
यी तेस्रा महासयले कारण पेशी गरे, “कुनै जमानामा एक पत्रिका निस्कन्थ्यो जस्को सम्पादक थिए, पञ्चराम। त्यसै पञ्चराम (पाँच राम) मध्ये एक राम अहिले पनि राप्रपाका ठूला नेता भैखा’का छन्। त्यसैले तपाईँ पनि राप्रपा नै हो।”
(यस्को अर्थ यसो हुन सक्छ – आफूले जुन किसिमको क्रान्तिकारी स्कुलिङ् पाएका थिए, त्यसैका आधारमा, नामै पञ्च, त्यस्मा पनि एक जना राप्रपा भए पछि बाँकी सबै राप्रपा हो भन्ने अल्पज्ञानी लजिक सगर्व लगाए।)
चौथो – ……………………………..
पाँचौं – ……………………………..
छैटौं – ……………………………..
सातौं – ……………………………..
+++
(थुप्रै-थुप्रै पार्टीका बिल्लाहरु उस्माथि झुण्डिंदै गर्दा उस्को टाउको यसरी फनफनी घुम्यो मानौं ऊ बिशे नगर्ची हो । उस्ले १५ बर्षअघिका घटनाहरु झल्झलि सम्झ्यो।)
प्रहरीले पिट्नुसम्म पिटेपछि उसङ्गै अरु साथीलाई पनि भ्यानमा कोचेर महेन्द्र पुलिस क्लबको कवर्ड हल पुर्याइएको १५ वर्ष अगाडिको घटनाका केही सिन चलचित्रको पर्दामा जस्तैगरी उस्को दिमागमा क्लिक-क्लिक हुन थाले।
सिन १
चार बजेको बिहानी समय हुँदो हो। अस्कल रुम न. ४०२ को ढोकामा एकोहोरो हानेको लातको आवाजले ब्यूँझिएर झ्यालबाट बाहिर हेर्यो। पुलिसले होस्टल घेरिसकेका रहेछन्। ट्राउजर र सेण्डुमा सुतेको ऊ कपडा चेन्ज गर्ने सोच्न पनि नभ्याई ढोका फोरेर दुई पुलिसले उस्लाई त्यहीँ भकुर्नुसम्म भकुरे र झ्याईँकुटी पारेर होस्टल बाहिर ल्याए। उस्को अनुहार कन्फ्यूज्ड देखिन्थ्यो।
सिन २
उस्लाई पुलिस भ्यान भित्र कोचियो । उस्का अरु केही साथीहरु पनि त्यसैगरी भ्यान भित्र कोचिए। पुलिसको एक डफ्फा हातमा पेट्रोल बम लिएर भ्यानतिरै आउँदै गरेको उस्ले देख्यो। पुलिसले फेला पारेका पेट्रोलबमहरु देख्नासाथै ऊ पछिल्ला दुई दिनको फ्यासब्याकमा गयो:
– ढोकाको ताल्चा फोर्न नसके पछि, भ्यान्टिलेसनबाट भित्र पसी केमेष्ट्री ल्याबबाट केमिकल चोरेको।
– पेट्रोल बम बनाए पछि परीक्षणका लागि एउटा सरस्वती क्याम्पसमा प्रहार गरेको । बाँकी निर्धारित दिनको लागि होस्टलको छतमा रहेको पानीट्याङ्की मुनि लुकाएको।
उस्को अनुहार सफलतामा धपक्क बलेको जस्तो देखियो।
सिन ३
महेन्द्र पुलिस क्लबको कवर्ड हल। साँझको पाँच बजेको हुँदो हो। ऊ लगाएतकाले यतिखेरसम्म पानी पनि खान पाएका होइनन्। यसैबिच एक पुलिसले उर्दि सुनायो – राजासा’पले च्युरा पठा’का छन्, खाने भए थाप्न आउने। सयौंका जुत्ताले हजारौं पटक कुल्चेको कागजका टुक्रामा नै किन नहोस्, नामुद ग्याङ्स्टारको नाइकेले उपलब्ध गराएको चिउरालाई घाटीको अन्तर कुन्तरतिर जमेका थुकसङ्ग नै निल्नु परेको किन नहोस्; र पनि उस्को अनुहारमा पश्चाताप देखिएन।
सिन ४
रातको दस बजे आसपासको समय। उच्च पदस्थ तीन प्रहरीको एक टोलीको प्रवेश। पुलिस-गाली भाषामा निर्देशन आयो:
– ” रा……… राप्रपाजति पूर्व छुट्टी ”
– ” मा……… काङ्ग्रेसजति पश्चिम जा”
– ” र………. एमालेजति उत्तर लाग्”
– ” ते………………….. माओबादीजति जहाँको त्यही बस्”
उस्का साथीहरु बिभक्त भए। पालैपालो गरि नेताहरुले बुझेर उस्का साथीहरुलाई लगे। जहाँको त्यही उभिएको ऊ र उस्को साथी बिपिन लावारीश भए। डेढ घण्टाजति पछि ऊ र उस्को साथीलाई ‘राप्रपा हूँ’ भनेर सही गर्न भनियो। मानेनन्। पिटपाट पारेर अङ्गुठाछाप लगाएर छोडियो। उस्को अनुहारमा घोर पश्चाताप देखियो।
+++
ऊ आजभोलि पार्टी होइन, ब्यक्ति हेर्छ। त्यसैले त आज उस्माथि लगाइएका बिल्लाहरुले अचम्मित बनाएकोछ, यद्दपि त्यो रक्सीको टेवलमा नै किन नहोस्।
(सायद, ऊ पात्रको मनमा यस्तो विचार आयो होला – छिचिमिराहरुलाई उड्न कति चाँडै योग्यता पुग्दो रहेछ।)
+++
(स्रोत: Blog)
Thank you very much. I found published it here today.