कथा : बिशाखा

~यादव देवकोटा~Yadav Devkota__2

यही जिन्दगीमा उनीसँग फेरि भेट होला भनेर सोचेकै थिइन ।

बाँचिबसे फेरि भेटौंला–बूढा पाकाहरु भन्थे एकमेसो भेटिएर छुट्न लागेकाहरुसँग । म दंग पर्थे–बाटोमा भेटिएर बाटोमै छुट्टिन लागेकाहरूसँग कसरी भेट्ने होला फेरि ?

यतिका वर्षपछि बल्ल बुझ्दैछु–हो बाँच्नुपर्ने रहेछ, भेटिँदा रहेछन् छुटेका मानिसहरु । जीवनको एउटा याममा दर्केझरीसँग भेटेझैं भेटिएर छुटेका मान्छेहरुसँ पनि भेट हुने रहेछ । सोह्र बर्षपछि उनीसँग फेरि भेट भयो अर्थात् खोलो फर्कियो ।
०००

भर्खर भर्खर स्नातक पढ्न थालेका दिनहरु थिए । साह्रै अन्र्तमुखी थिएँ । अरूले बोलेको सुनिरहने । तिनको जवाफ मनभित्रै दिने मनैले । त्यस्तो दिनमा क्यान्टिनमा चिया पिउन बस्दा भेट भएको थियो उनीसँग ।
‘म ननभेज टी’–उनले भनेकी थिइन् ।

चियापनि ननभेज हुँदो रहेछ भनेर ज्ञानको विशाल किताब भेटेझैं मनभित्रै एकहात लामो खुशी फुलाएँ । केही बेरमा उनको अगाडि कालो चिया आयो । म दगं परें । मेरो घरमा बाले कालो चिया पिउन मन लागे भन्नुहुन्थ्यो–लौ है विरामी चिया भए पनि बसालम् ।

उनीसँग अरू तीनजना केटीहरु थिए । ती मध्ये एउटीसँग मेरो साथी प्रल्हादको चक्कर शुरू भएको थियो । हिरो साइकलको पछि त्यही केटीलाई राखेर काठमाडौंका केही सडकहरुको फन्को मार्दै गरेको देखेको थिएँ दुई तीन चोटी प्रल्हादलाई ।
त्यो भन्दा बढी के के गर्‍यो ऊ आफैं जानोस् । प्रल्हादलाई उसैको प्रेमिकाले बोलाएकी थिई–‘यतै आए हुन्छ ।’ म नबोलाईकनै गएँ प्रल्हादको पछि लागेर । ननभेज टी अर्डर गर्नेवालीले हात अघि बढाउँदै भनि–‘एनी वे म विशाखा, घर विरगन्ज ।’

०००
उसको बारे धेरै सम्झना बाँकी छैन । तर प्रष्ट याद छ, आँखा चहकिला थिए र हेराई साह्रै धारिला । अहिले पनि सिरूका धारिला पातहरू देखेपछि म विशाखाको आँखाको सम्झना गर्छु ।

क्याम्पसमा कार्यक्रमहरू भईरहन्थे । कविता प्रतियोगिता, वादविवाद यस्तै यस्तै । कार्यक्रम सकिएपछि विशाखा भन्थि–‘यी सव् कार्यक्रमहरू तिमिलाई फस्ट बनाउन गरिएका हुन् ।’

मैले कविता वाचन गरिरहँदा सबैभन्दा अगाडि बसेर थपडी बजाउने पनि उही हुन्थि । उसको हरेक थपडीमा मेरो हृदयको तार नपत्याउँदो गरि गुन्जन्थ्यो लजालु पारामा ।

यसरी उसलाई मन भित्रै पट्याउन थालेको थिएँ । तर ऊ त कडा स्वाभावकी थिई । सिधा प्रस्ताव राख्दा मन नपरे गालामै थपडी बजाईदिन सक्थि । प्रल्हाद नै थियो क्याम्पसभरि हल्ला गर्ने र उसका साथीमार्फत् प्रेमको लमी बनेर विशाखासम्म मेरो प्रस्ताव पुर्‍याउने ।

स्नातक दोस्रो वर्षको परीक्षा सकिएको दिन उसले नै थमाईदिएको थियो विशाखाको हातमा मेरो गुलाफी अक्षरहरुको पाना ।

तर, ऊ त हराई एकाएक ।

तेस्रो वर्ष पढ्नै आइन ।

एक किसिमको अपराधबोध जस्तो भयो । किन त्यसो गरेँहुँला भन्ने लागिरह्यो ।

उसँग छुटेको पन्ध्र वर्षमा पन्ध्रै चोटी विरगन्ज पुगे हुँला । ती हरेक यात्रामा एकएक गरि थपिँदै थपिँदै मनभित्र पन्ध्रैवटा सुल रोपिएझैं लाग्छ । मेरो एउटा पत्रले उसले पढ्नै छाडि भन्ने लाग्यो । साथीहरु भन्थे–हाम्रो भन्दा अर्कै परीक्षा केन्द्रमा तेस्रो बर्षको जाँच दिँदै गर्दा भेटिएकी थिई ऊ ।

०००

कुनै अनलाइनमा मैले लेखेको कथा छापिएपछि म जिउँदै छु भन्ने ठम्याइछ । प्रल्हाद भन्थ्यो–‘संकटकालको कुनै दिन पशुपतिमा विशाखासँग भेट भएको थियो ।’ मेरो बारे सोधिछ । उसले भनिदिएछ–‘प्रतीक त लडाईमा हिँड्यो ।’ पशुपतिमा जलिरहेका शवहरुलाई छाड्दै आकासतिर बत्तिएका धुवाँजस्तै अनुहार बनाएर छुट्टिइछ प्रल्हादसँग ।

त्यहीँ अनलाईनवाला कथा पढेपछि उसले फेसबुकमा मेरो खोजी गरिवरी फ्रेन्ड रिक्वेस्ट पठाएकी थिई । पत्र बोकेर फरार भएको डेढ दशक अघिकी साथीले फेसबुकमा पठाएको अनुरोध स्वीकार गरिरहँदा मेरो छोरो संयोगले पछाडिबाट मलाई चिमोटिरहेको थियो ।

त्यसदेखि यता विशाखासँग भर्चुअल रिलेशन शुरु भयो । कुराकानी शुरू भएको केही दिनपछि मैले पूराना दिनहरु सम्झाएर उनलाई भने–‘मेरो घाँटीको किलकिलेमा नजानिँदो गरी एउटा सकस अड्किएको छ । त्यो पत्र तिमिलाई दिनु र पत्र पाउनासाथ तिमि हराउनुले मेरो मनको श्वास घरमा अड्किएको सकस आजसम्म निस्कन सकेको छैन । मेरो भागका लागि भनेर तिम्रो मनको भण्डारभित्र माफीको केही ग्राम मात्रै बाँकी छ भने पाउँ ।’

लामो समय उसको जवाफ आएन ।

अर्को दिन इन्बक्समा उसको म्यासेज थियो–‘इमेल खालेर पढ्नु ।’
०००

उसको इमेल खोलिवरी पढ्न बसेको छु म ।

चिर निद्रामा सुतेको घण्टाघरलाई फन्को लाएर रिक्साले बसपार्क छेऊ ल्याएर छाडिदियो । बसपार्कबाट काठमाडौंको बस समात्दा विरगन्जको भुई सूर्यको तापले भुङग्रोजस्तै रापिलो बनाएको थियो । मानिसहरू शरीरभरि गच्छे अनुसारको मूल फुटाईरहेका थिए पसिनाको ।

बसमा उक्लिएँ, आरनमा भर्खरै अर्चापेर राखेको फलामजस्तै तातो थियो ।

तराईको उग्र गर्मीमा तातेको बसमा डामिदैं डामिदैं आएँ मनभरि उठेका तरंगहरुले पखालिएर काठमाडौं ।

आइए पास भएपछि त्यत्तिकै बसेको थिएँ बीरगन्जको घरैमा ।

त्यत्तिकै पनि के भन्नु आमाको साथी बनेको थिए बोल्ने र सुन्ने ।

आमाको बुढ्यौली लागेपछि जन्मिएकी छोरी । हजूरआमा र नातिनीजस्तै । बाटो हिँड्दा पनि त्यसै भन्थे नचिनेकाहरू ।

म बोलेपछि बोलेको बोल्यै, आमा सुनेपछि सुनेको सुन्यै ।

एकदिन आमाले सुनाउनुभयो–‘रेडियोमा जागिर मिलाईदिएकी छे रे दिदीले । पढ्दै जागिर गर्दै गर्न हुन्छ । उता सहर पनि ठूलो छ । ठूलो ठाउँमा गएपछि बाटो पनि ठूलो हिँड्न पाइन्छ । ठूलो बाटो हिँड्दा जिन्दगी पनि ठूलै खेलोमा उक्लिन सक्छ । दाईदिदीहरु उतै छन् ।’

आमा आदेश निर्देश गर्ने शैलीमा बोल्नुहुन्न । मन लागे मान, नलागे नमान भनेजस्तो गरि । सबैसँग । उहाँ बोल्नुहुन्छ, तर लाग्छ उहाँ भजनका श्लोकहरु फलाकिरहनुभएको छ ।

सैतिस वर्ष फरककी छोरीलाई उहाँले मायाले भन्नुभयो होला–‘जाउ र हिँडिहेर उतैको बाटो ।’ म माथिका दाई दिदीहरु सबैले विहे गरिसके । आ–आफ्नो जीवन ब्यवस्थापनमा अल्झिएर सबै तितरवितर भए घरबाट । आफ्नो साथे बनेर घरैमा बसेकी छोरीलाई जा आफ्नै जिन्दगीको स–सानो गल्ली भएपनि बनाई हेर भनेर भनिसकेपछि उहाँको मनको घण्ट कतिचोटी बज्यो होला घण्टाघरको समेत साटोमा ।

काठमाडौं आएँ । सिनामगंलमा दिदीको घरमा बसेँ । घट्टेकुलोको एउटा रेडियोमा जागिर पाएँ । भिनाजू सरकारी हाकिम । दिदी आईएनजिओको हर्ताकर्ता । सरकारी स्वामित्व समेत भएको रेडियोको जागिर दिलाउनु उहाँहरुको लागि कुनै पहाड खोस्रने काम थिएन । दिउँसो जागिर । त्यो पनि अपरान्ह पछि चार घण्टा । बाँकी समय खाली नै रह्यो । स्नातकमा भर्ना भए प्रर्दशनीमार्गमा रहेको मानविकी क्याम्पसमा ।

क्याम्पसमा पनि बोलिरहनुपर्ने ।

क्यान्टिनमा बसेर गफ थाल्यो भने साथीहरु सबैको भाग पनि म एक्लै बोल्थें ।

०००

म सानोमा कम बोल्ने र संकोची स्वभावकी थिएँ । आफैमा मस्त रहन्थे ।

‘बुवाको कार्बनकापी, जस्तै स्वभाव लिएर जन्मेकी’– सबै यस्तै भन्थे मलाई देखेर, भेटेर । एकछिन आमालाई छोड्थिन । ‘आमाको पुच्छर’– सबैले गिज्याउंथे–‘यसले बिहे गरेर जाँदा आमालाई पनि दाईजोमा लैजान्छे ।’

घरको माहौल धार्मिक थियो, सधै केही न केही पूजापाठ भईरहन्थ्यो । चोखोनितो गर्ने वातावरणमा हुर्केकीले आमा जस्तै थिएँ यो मामिलामा ।

आमा भन्नुहुन्छ–जन्मदा मेरा दुईटै खुट्टा चल्थेनन् । म घर्सेर हिँड्थे । उहाँकै स्याहार र उपचारले निको भएँ र साढे तीनवर्षमा ताती गर्न थाले ।

बुवालाई दुईपल्ट पक्षघात भईसकेको र त्यस पछि जन्मेकोले सबैलाई म निको हुन्छु भन्नेमा शंका थियो ।

आमाबुवाको बेमेल विवाह थियो । आमा भन्दा बुवा एकाइस वर्ष जेठो हुनुहुन्थ्यो । बुवाको पहिलो पत्नीको मृत्यु भएपछि आमासँग दोस्रो विहा गरिएको रहेछ । आमा एघार वषको हुँदा बत्तिस वर्षका मेरा बुबासँग विहे भएको रहेछ ।

सात वर्षकी हुँदा फेरि टाईफाईडले थलिएँ । टाईफाईड बिग्रेकोले मेरो कानको सुन्ने शक्तिमा प्रभाव पर्यो ।

त्यसपछिका धेरैवर्षसम्म कानको उपचारको लागि काठमाण्डौंदेखि भारतका देशीविदेशी डाक्टरको शरण लिनुपर्यो । सबै डाक्टरहरु मेरो कान एकदम कमजोर छ भन्थे तर मैले सुनेको र पढेको देख्दा अचम्म मान्थे ।

सत्र वर्षको उमेरमा कलेज पढ्दै गर्दा फेरि बिरामी परँे । टाईफाईडले घाँटी बाँङियो । दुई महिनासम्म ओछ्यान परेपछि बल्ल अलि निको भएँ ।

त्यसको केही महिनामै फेरि जण्डिसले समायोे । जण्डिस भएर निको भएको केही महिनापछि फेरि क्षयरोगले समायो । यसरी म रोगको स्थायी घरमा परिणत भएँ । त्यसले डाक्टर र परिवारका सबैलाई चिन्तित बनायो । लगातार दुई वर्षसम्म बिरामी परेँ । अरु केटीहरुले सपना देख्ने, हाँस्ने, खेल्ने र रमाउने उमेरमा म ओछ्यान परेँ ।

तर पनि मेरो जीवन टुंगिएन । भोग्नु रहेछ जीवनका यो विधि पीडाकष्ट । किन निख्रन्थ्यो र सजिलै । त्यसैले बाचेँ ।

०००

सानोमा मेला हेर्न खुब मन लाग्थ्यो । वीरगन्जमा दशैंमा लाग्ने मेलाको छुट्टै रौनक थियो । माईस्थान मन्दिरमा अष्टमीमा भव्य मेला लाग्थ्यो । सप्तमीकै राति भगवतीलाई खोंर्इँच भर्न (देवीको नौ वटा पीठलाई आव्हान गर्दै नौ ठाउँमा पानको पातमा राखेर पुरी, हलुवा, लड्डु, केरा, काँचो केराउ र सिन्दुर राखेर चढाउने) आमा खोईँचको तयारी गर्नुहुन्थ्यो । हामी राति एक बजे नै मन्दिर पुग्थ्यौं र बिहान घर फर्केर सुत्थ्यौं ।

दशैंमा अर्को रमाईलो मेला नगवाको बौद्धीमाईमा नवमीको दिनमा लाग्थ्यो । त्यो बेला नगवा गाउँ नै थियो । पोखरीको डिलमा देवीको मन्दिर थियो । त्यो बेलाको त्यहाँको स्वरुप सिनेमामा देखाईने गाउँले मेलाकोझैं थियो । आमा माईजुहरु खोईंच भर्नुहुन्थ्यो । हामी केटाकेटीहरु चाँही आफूलाई मन लागेको चिज किन्थ्यौं ।

त्यो मेलाको आकर्षण केटाकेटीले खेल्ने माँटाका लोभलाग्दा भाँडाहरु हुन्थे । भाँडा र बेलुन किनेर हामी रमाउंदै घर फर्किन्थ्यौं । बौद्धीमाई जाँदा आमा हामीलाई पहिले नै सतर्क गर्नुहुन्थ्यो । किनकि त्यहाँ अघोरीहरु बस्दथे ।

आमाहरू हामीलाई तर्साउनुहुन्थ्यो–‘अघारीहरू मान्छेको मासु खान्छन् ।’ कालो शरीरभरि खरानी घसेर राता राता आँखा पल्टाउंदै चिलिम लिईरहेका उनीहरु मन्दिर वरिपरि घुमिरहँदा डर लाग्थ्यो ।

घरबाट सबैभन्दा नजिक अलखिया मन्दिर पथ्र्याे । शिवरात्री, तीज र साउने सोमबार अलखिया मन्दिर जाने गर्दथ्यौ आमासँग । जटा पालेका नागाँ सन्यासीहरु जीउभरि खरानी घसेर चिलिम तानिरहेको देख्दा अचम्म लाग्थ्यो ।

सबैभन्दा बढी उनीहरुको राताराता आँखा देख्दा डर लाग्थ्यो ।

तीजको दिन बिहान बुवा बित्नुभयो ।

सबै महिलाले आफ्नो अखण्ड सौभाग्यको कामना गर्दै ब्रत लिईरहँदा मेरो आमाको जीवन रंगहीन भएको थियो ।

मेरो भरोसाको खाँवो गर्लम्म ढलेको थियो । तीजको दिन भएकाले आफन्त र छिमेकीहरु सबै रातो, हरियो लुगा, चुरामा सजिएर आमालाई सान्त्वना दिनआएका थिए ।

सान्त्वना दिनभन्दा आमालाई जिस्काउन आएका हुन् कि जस्तो लाग्यो ।

बुवा बितेपछि हामीकहाँ कहिल्यै तीज आएन ।

बुवाले साँझमा हात समातेर घुमाउन लगेको, कपाल कटाएर मलाई रातो लाईफब्वाय साबुनले परको हातेकलमा दलिदलि नुहाईदिएको अहिले पनि याद छ ।

त्योबेला कसैको घरमा ट्युवेल थिएन । नजिकै रहेको थारू छात्राबासमा मात्रै थियो ।

जहाँ सबैले आफ्नो विहानको नित्य काम भ्याएर घरमा पानी भरेर ल्याउँथे । थारू छात्रावासमा बस्ने विधार्थी हामीलाई जिस्काउँथे ।

माईली दिदी धेरै राम्री भएकीले सबै उमाथि आँखा लगाउँथे र जिस्काउँथे । म सानैदेखि अली अटेरी र निडर भएकोले तिनीहरूसँग झगडा गर्थे ।

दिदी डरपोक थिईन् म चाँही छुच्ची ।

पछि काठमाडौं आएपछि थाहा पाएँ म पो रहेछु डरपोक । माइली दिदी डरपोक भएपनि जेठी दिदी त छुच्ची मात्रै होइन निकै क्रुर र अपराधीको जस्तो मनोवृतिलाई पालेर बाँचिरहेकी रहिछन् ।

०००

दिदी घरमा भन्दा बाहिरै ब्यस्त रहने । देशमा भन्दा विदेशमा बढी । शुरूको वर्ष ठीकठाकै थियो । तर दोस्रो बर्षबाटै काठमाडौंको बसाई कष्टप्रद हुन थाल्यो । दिदी घरमा नहुने । भिनाजु फेरि फेरि केटी घुमाउने । रक्सी धेरै पिउन पर्ने । रक्सी पिएपछि फेरि फेरि महिला भोग्नुपर्ने ।

घरमा काम गर्न राखिएकी एकजना महिला थिइन लोग्नेले छाडेकी । तिनको सानो बच्चा थियो । तिनले घरको काम मात्रै गरेर धर पाइनन् ।

लोग्नेको अपमान र यातनाका कारण लोग्ने त्यागेर बसेकी उनी मेरा भिनाजुको निरन्तर शोषणमा परिन् ।

तर पनि खै किन हो तिनले प्रतिवाद गर्न सकिनन् । एकदिन देख्नै नहुने अवस्थामा दिदीले देखे पछि तिनी निकालिइन् र भित्रिइन् अर्की विधवा ।

मानिस फेरेर समस्या समाधान कसरी हुन्थ्यो र ? फेर्नु पर्ने थियो बानी, ब्यवहार, चरित्र भिनाजुको । तर, फेरिएका थिए घरकी नोकर्नी । ती बाल विधवा थिइन् लोग्ने भनेको के हो भन्ने नै नबुझ्दै सिउँदो पुछिएकी । देहसुख को रंगीन उत्कर्ष के हो भन्ने अनुभुत नहुँदै सेता लुगाले खुशी छोपिएकी । तर तिनको मनको एकतारे मेरा भिनाजले भाँचिदिए । सेता लुगाले छोपेको शरीर तिनले उस्तै स्निग्ध राख्न पाइनन् । एउटा शनिवार दिउँसै रूवाई र चिच्याहटलाई सिरकले छोपेर ती विधवाको सफेद जीवनलाई हिलाम्य बनाईदिए उनले ।

त्यसपछि निरन्तर निरन्तर तिनी त्यसैगरि लुटिईरहिन् तर घर छाड्न सकिनन् जीवनको बोझ अड्याउने चौतारो नभेटेर ।

घरमा काम गर्न राखिएका विधवा र लोग्नेबाट छुटेका महिलाले आफूलाई जोगाउनै सकेनन् उनीबाट । अरूको पालो पुगेपछि म मात्रै कतिदिन बच्न सक्थे र उनको पिपासु रहरबाट ?

त्यहाँ त काल पर्खेर बसेको जसरी मेरो जीवनको सर्वस्व लुट्ने मौका पर्खेर बसेका रहेछन् मेरै आफन्त ।

म सुन्थे, पढ्थे घरेलु हिंसा, यौन हिंसाका बारे । तर भोग्नु रहेछ आफैले ।

त्यसैका लागि बोलाइएको रहेछ विरगन्जदेखि मलाई । एउटा बेलुका रक्सी खाएर आएपछि उनले मलाई च्याप्पै समाए ।

सिधै संवेदनशील अगंमा हात पुर्‍याए ।

म कराउन, चिच्याउन थाले ।

कराएपछि अलि सम्हालिएजस्तो गरेर मबाट अलग भए । त्यही बेला उनलाई हुत्याएर दौडदैं कोठामा पसेर चुकुल लगाएँ ।

उसले फेरि ढोका ढक्ढक्यायो । ढकढक गर्दै बेस्सरी उफ्रिएका मुटुलाई हत्केलाले थिच्दै आमालाई सम्झिएँ । किन राखेकी होलिन् उनले मेरो नाम विशाखा ?

आफ्नै नाम भत्भती पोल्यो मनै डढाउनेगरि । आमाले चिच्याई चिच्याई कराईरहेझैं लाग्यो–‘भो नानी नबाँच् यस्तो जिन्दगी, बरु बिश खा ।’ कोठाको चारैतिर हेरें कहीँ छैन विषको बोत्तल ।

सलले पासो लगाएर मर्छु भनेर उठें ।

घाँटीमा कसेँ र सिलिङ्गमा गाडेको हुकमा छिराएँ । मानिसलाई मर्न डर लाग्छ ?

बाँच्न बहाना खोज्छ ।

हो कि ।

आँखा अगाडि फेरि पनि आमा नै उभिइन् । बलिन्द्र धारा आँसु झार्दै मेरो लासलाई अँगालो हाल्दै छाति पिटि पिटि राईरहेकी आमाको आकृति फिल्मको दृश्यझैं मनको कल्पनामा आयो ।

तर्सिएँ ।

आमाको साह्रै माया लाग्यो । घाँटीबाट सलको पासो फुकाएँ ।

शरीरबाट खल्खली पसिना चुहिईरहेको थियो र आँखाबाट मुल फुटेझैं आँशु । त्यही रात आकासबाट जमिनै बगाउलाजस्तो गरि पानी पर्यो । कोठामा रातभर बाहिर दर्किएको पानीभन्दा बढी मेरो मन दर्किईरह्यो ।

०००

म सानैदेखि साकाहारी हुँ । माछामासु छुँदै छुन्न । भिनाजू मासु, रक्सी खान्थे र त्यो भाँडा मलाई सफा गर्न लगाउँथे । नुवाउन बाथरूम पसेको हुन्थेँ तर उनी पानी नै बन्द गरिदिन्थे । मध्यरातमा म सुतेको कोठा ढक्ढक्याउँथे । आमा
काठमाडौं आएको दिन पनि उनले त्यसै गरे । आमा आत्तिनु भयो । राति नै दिदीको घर छाडें ।

काठमाडौं छाडें । काठमाडौं सँगै पढाई पनि छाडियो । क्याम्पसमा भेटिएका साथीहरु छुटे ।

साथीहरूको समूहमा रहेर मलाई प्रेमको निम्तो दिँदै पत्र लेख्ने स्वप्नधारी मित्र पनि छुट्यो ।

उसको पत्रको जवाफै दिन पाइन । मनले एकसाथ हजार पत्र लेख्यो मनमै र र्धधरी च्यातिए ती पानाहरु मनकै चुलेसीमा रेटिएर ।

तेस्रो वर्षको जाँच दिन गएको थिएँ तर भेटिन पत्र लेखेर मेरो मनमा सपनाको डाली रोप्न खोज्ने स्वप्नधारीलाई । उसलाई भेटिएला कि कतै भनेर कुर्दाकुर्दै अब त जीवन कुराईको यो घाट छाडेर अन्त जाने नसक्ने गरि कुँजिएको छ ।

आमा भन्नुहुन्थ्यो, रातीको घटनाबारे पछि दिदीसँग कुरा गर्दा दिदीले उल्टै मलाई गाली गरिछन् । विशाखा पागल भएकी छे, उपचार गराउनु पर्छ भनिछन् । त्यसपछि आजसम्म न दिदी न भिनाजु कसैसँग पनि मेरो दोहोरो बोलचाल छैन ।

आमासँग पनि बोल्दिनन् उनी । केही वर्ष त भयो ति मेरा भिनाजु भ्रष्टाचार गर्दागर्दै सरकारी छड्के टालीले रंगेहात पक्राउ गरेपछि निलम्बन भए ।

हिजोआज पाटन र राँचीका अस्पतालमा मानसिक रोगको उपचारमा धाईरहेका छन् । मेरो आँशुको हिसाबको पाना खुल्दैछ विस्तारै उनको बुढ्यौलीमा ।

म १६ वर्षको हुँदा आमा र म काठमाडौ गएका थियौं । केही दिन बसेपछि आमा मलाई दिदीकोमा छाडेर फर्किनुभयो । बस्न त मलाई पनि पटक्कै मन थिएन तर दिदीको छोराको हात भाँचिएकोले बस्नुपर्यो । एकदिन शनिबारको बिदा थियो, म दिदीको छोरीसँग खेल्दैथिएं । दिदी र उनका लोग्ने पनि नजिकै बसेर गफ गर्दै थिए । एक्कासी भिनाजुले मेरो अगाडिको भर्खर विकसित हुदैं गरेको छाती च्याप्प समाए ।

दिदी हाँसीरहिन् केही भनिनन् । म लाजले रातोपिरो हुर्दैं त्यहाँबाट हँटे ।

उतिबेला उति धेरै बुझिन पनि मैले, किन त्यसो गरे भिनाजुले ?

०००

प्रल्हाद त थियो जसले दिन्थ्यो तिम्रो खवर । खवर पनि के भन्नु ? उहिल्यै पशुपति गएको थिएँ आमालाई लिएर । भेटियो ऊ । भन्थ्यो प्रतीक त लडाईमा हिँड्यो ।

त्यसपछि त जव रेडियो फुक्थ्यो–‘दोहोरो भीडन्तमा आतंककारीको मृत्यु ।’ तिम्रो नाम पनि फुक्छ कि भनेर मेरो मनमा एकैसाथ बाह्र घण्टी बजाउँथ्यो घण्टाघरको साँटो ।

विरगन्जकै मेरी साथी जो कलेज पढ्दा तिम्रो पनि साथी थियो उसले भनि संकटकालको एकदिन–‘प्रतीकलाई अलखिया मोडमा देखेको थिएँ ।’

शायद तिमी कुनै फौजी मिशनमा आएका थियौ । अरूले देख्थे तर त्यसरी देख्नेमा म पर्थिन । बन्दुक बोकेर लडाईमा हिँडेको दिन तिम्रो मनमा मायाको गुलाफ पनि सँगसँगै फुलिरहेको थियो होलाझैं ठान्थे मेरो नाममा । तर त्यो गुलाफलाई मैले देख्नै पाइन । तिमीले सिउरिनै पाएनौं ।

शायद ओइलायो कतै ।

फेसबुकको चलन आएको धेरैपछि म यो हुलमा मिसिन आएँ ।

एकदिन प्रल्हादले रिक्वेष्ट पठायो । स्वीकारेँ । वर्षौपछि ऊ फेरि साथीको रूपमा जोडियो । एउटा अनलाईनमा तिम्रै नाम र फोटो सहित छापिएको कथा पढें ।

मैले निक्र्यौल गर्न सकिन । उसैले दियो तिम्रो फेसबुकको लिङ्क । खोलेर हेरें । देखें तिम्री पत्नी र छोराछोरीसँगै बसेको तिम्रो फोटो ।

ए तिमीले त लडाईमै मनमा नयाँ गुलाफ फुलाएका रहेछौ ।

कस्तो भयो होला है बन्दुक पड्काउँदै हिँड्दा मनमा मायाको रंगीचङी पे्रमिल इन्द्रेणी सजाउँदा ? लडाईमै विहे गर्‍यौ कि लडाईको खाल रोकिएपछि ? जे होस् गरेछौ खुशी लाग्यो ।

बाँचेको थिएँ र हेर्न पाएँ तिम्रो खुशी ।

तिमी पनि बाँच्यौ र देखायौ आफ्नो खुशी । शायद आजसम्म पनि रिसाएका हौला है पत्रको जवाफ नदिएकोमा ।

यतिपछि आज लेख्दैछु तिमीलाई तर, ढिलो भएको छ । लेख्नुको कुनै अर्थ छैन ।

यसले तिमीलाई मेराबारे परेका भ्रमहरु चिर्न सक्यो भने यसको ठूलो अर्थ हुनेछ ।

०००

म आफैसँग एक्लै बोलेछु–‘विशाखा तिम्रो जीवनलाई वर्वाद पार्ने त्यो नरपिचासलाई म बाँकी राख्दिन ।’

अर्कोदिन च्याटमा उसले भनि–‘त्यो त हिजो विहानै झुण्डिएर मर्‍यो ।’

(स्रोत: Setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.