~रमेश सायन~
कहिले काहीँ संयोगहरुले काम गर्छन् । तर,आज गरेन ।
यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो तर भएन । आजको रात बिना संयोग बाँच्ने छु ।
काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास घरि यो कान घरि ऊ कान गरिरहेको छ ।
सरासर काठमाडौँ जाऊँ भोलि फर्कन सक्दिन । काम छ, गल्छि त्रिसुलीमा । जे परोस् रोकेँ गाडी । उत्रेँ अँध्यारो सडकमा ।
म किन अचानक सडकमा उत्रेँ रु अब सम्झनु छैन ।
लागेँ नुवाकोट जाने बाटोतिर । एक्लै छु । डर छैन र सम्झनु छैन त्रासका बल्याकहोलहरुलाई ।
अलि पर सडकको ल्यामपोष्टमुनी उभिएँ । किराहरु घुमिरहेछन् ल्यामपोष्ट ओरीपरी । हेरेँ आफूलाई । ठ्याक्कै लाग्यो किरा जस्तो । अलि ठूलो किरा । हातमा बोकिराखेको पानी पिएँ ।
उत्तिनै खेर मोबाईलमा घन्टि बज्यो । ए मत मान्छे पो त १ सम्झेँ । म मान्छे किरा ।
नुवाकोट जाने बाटो अलि परै पुगेँ । गाएँ साइको गङनम स्टायल….।
कसैले सुन्यो, सुनेन । त्रिशूलीले चाहिँ सुसेली हाल्यो ।
बग्यो मेरो गङनम स्टायल… ओरालै ओरालो ! नाचे होलान् ढुङ्गाहरु ! उफ्रे होलान् माछाहरु !
आज रातभर त्रिसुलीसँग जिस्कनु छ । पर्खनु छ बिहानको उज्यालो । हेर्नु छ भोलि बिहान सवारी नगुडेको रित्तो राजमार्ग !
डिलमा उभिएँ । हातमा उठाएँ ढुङ्गो र हाने पानीमा । अफ्नो गति बिथोलिएको भावमा हल्लियो नदी । सम्झेँ जिन्दगीको गति पनि यसैगरि बिथोलिन्छ । कहाँ, कसले, कुन बेला हान्छ ढुङ्गो र बिथोल्छ जिन्दगीको गति ।
भोक, अभाव, दुःख, खुसी, प्रेम, सुख के–केले बिथोल्छ जिन्दगीको तलाऊ र पाहाड झैँ शृखलाहरुमा उभिन्छ जिन्दगी ?
सडकै सडक अलि परै पुगेपछि फेरि फर्कि आएँ । रातको एक बजेको छ । किनाराका घरहरु उभिएका छन् थामेर नदीको वेग । जसरी उभिन्छ समयको वेग थामेर जिन्दगी ।
गल्छि चोकैमा छ एउटा होटल । जहाँ अझैँ बाँकी छ चहल पहल । छिरेँ, बिसाएँ झोला र सोधेँ ‘दाइ यहाँ सुत्न पाइन्छ ?’
‘पाइदैन, सबै प्याक छ । ’
यातायात मजदुरहरुको भिड छ । साहू मध्यरातीसम्म रक्सी बेचिरहेछ । म जस्ता कति आउँछन जान्छन् सबैलाई राखेर कहाँ साध्य ?
मान्छेहरु हल्ला बीच आ–आफ्नै जीवन बाँचिरहेकाछन् । बिर्सदै छन् दिनभरको थकान । मान्छेलाइ कसरी दौडाउँछ सपनाले फेदिदेखि टाकुरासम्म ? कसरी पुर्याउँछ जन्मदेखि मृत्युसम्म ? हरेकको अनुहारमा जीवनको दौड कुदिरहेको छ ?
जीवन एउटा सपनाहरुको दौड हो । यी मजदुरहरु, मालिकहरु सबै आ–आफ्नै दौड्मा कुदिरहेकाछन् ।
आज यतै सडक तिर बिताउँनु पर्ला । खाना मलेखुमा खाएँ । धेरै पछि एक्लै यसरी रात रात भर हिँड्दै छु । अलिक पहिले काठमाडौँमा एक कवि र म रातभर हिँडेका थियौ । आज आँखाको एक कुनामा उनको सम्झना आई उभियो ।
तर लगतै उनलाई बिर्सेँ ।
‘दाईको घर कता ?’ एक किशोरले सोध्यो ।
‘बिराटनगर ।’
‘यता कता ?’
‘यसै डुल्न ।’ पत्याएन ।
‘भाइ तिम्रो घर कता नि ?’
‘मलेखु । ’
‘के गर्छौ ?’
‘ट्रकको खलासी ।’ गर्वले भन्यो ।
‘म पनि खलासी हूँ । जिन्दगीको । सधै बिहान बेलुका ढ्याढ्याप पार्दै चलाउनु पर्छ ।’ मैले भने उसले के बुज्यो कुन्नी, हाँस्यो ।
उसले खाना खाई सकेको रहेछ । उठेर हिँड्न खोज्दै थियो । मसँग बिदा माग्यो ।
अब होटल साहू उज्यालो निभाएर सटर तान्दै छ । एकाध मान्छे पनि उठेर हिँडिसकेकाछन् ।
सडकका म छु र मसँग हिँडिरहेने मेरो छायाँ छ । बिजुलीको उज्यालोमा मेरो लामो नाक अझै तन्कियो ।
मलाई त मेरी आमाले जन्माएकी हुन तर यो छायाँलाई कसले जन्मायो ? रात बिरात मैसँग हिँडिरहन्छ । म रुँदा हाँस्दा मैसँग हुन्छ । दुनियाँमा कोही नभए, मसँग छायाँ हुन्छ । यहि छायाँले मेरो गीत सुन्छ । मेरा कविताहरु टिपी हिँड्छ । मलाई एक्लो हुनबाट बचाउँछ र खुसिहरु कुदी हिँड्ने बाटो तिर लैजान्छ । यहिँ छायाँ हो, मेरो चित्र भित्ता भित्तामा टाँगी हिँड्छ र मलाई ‘रमेश सायन’ चिनाउँछ । कहिलेकाँही म आफ्नै हुलिया बिर्सन्छु र छायाँ हेरेर आफुलाई भेट्छ, एक नक्सामा ।
अग्ला डाँडाहरुबाट खसेको छायाँ त्रिसुलीमा तैरी रहेको छ । यत्रो बेग बोकि हिँड्ने नदीले छायाँ बागाई लान सकेन । छायासँग नदी, हारेको युद्ध बगिरहेको छ ।
छायाँ मान्छेलाई अनुहारको चित्र सिकाउँने पाठशाला हो । हरेक उज्यालोमा चित्र बोकेर उभिन्छ ।
मेरो छायासँगको यात्रा कसैले बिथोलिदियो र ट्रकको क्याविनबाट बोलायो दाइ आउनुहोस् ट्रकमै सुतौँ । यसो टाउको उठाएर हेरेँ । अघिको खलासी भाई रहेछ ।
म सँगै छायाँ पनि ट्रकमै चढ्यो ।
मोबाइलमा फेसबुक खोलेँ । अझै केहि साथीहरु अनलाईन छन् । फेसबुकको कमाल बुजिनसक्नु छ ।
‘दाई मोबाइलमा फिल्म छैन । ’
‘छ । हेर्छौ ?’
‘हेर्छु । ’
खोलेँ ल्यापटप र क्याराभान प्ले गरें ।
खलासी भाई फिल्म हेर्न थाल्यो । नेपाली सब टाइटल बिस्तारै पढिरहेको छ । लामो लामो संबादको आधा वाक्य मात्र पढ्न भ्याउँछ । यो फुच्चे पनि जिन्दगीको क्याराभानमा थिन्ले न हो । यसले पनि छिचोल्नु छ, जिन्दगीको क्याराभान । हिड्नुछ, पुर्खाहरु हिँडिगएको बाटो । उसै गरि बिलाउनु छ हिँड्दा हिँड्दै बाटाबाटै हराएको पुर्खाहरुको आदिम पैतला झै ।
दिक्क मानेछ क्याराभान । भन्यो, बुजिन, र सोध्यो, ‘दाई सन्निलिओनको छैन ?’
‘के जिस्म टु ?’
‘हैन अरु ।’
‘छैन । भाई । यहाँ नेट राम्रो चलेको छैन । नत्र देखाई दिन्थें ।’
‘मैले जिस्म टु हेरेको थिएँ । सन्नि निक्कै सेक्सी लागेकी थिई । त्यसैको ब्लु पनि छ रे हेर्न मन थियो’ । उसले भन्यो ।
यो फुच्चे पनि पुर्खाहरु हिँडेकै बाटो हिँडि आयो र यो त्रिशूली किनारामा उभियो । तर पुर्खाहरु भन्दा जिन्दगीको फरक स्वाद भोगिरहेछ —ऊ । छामिरहेछ, दुर दराजका अंगहरु । र, आफनै मनसँग कामुक बनिरहेछ । अचेल, कयौँ पल्ट सपनामा सन्नि लिओन आएर, उसलाई बिथोलेर जाँदि हो ।
जिवनका अनेक स्वादहरुछन् । कुनै तिता । कुनै मिठा । जिन्दगी जन्म र मृत्युको कक्टेल पार्टी जास्तो लाग्छ ।
खलासी भाई स्टेरिगं छेउमा निदायो । म ओल्लो सिटमा बसेर फेसबुक चलाई रहेको छु । यो राती एक मित्रलाई रुगा लागेछ , राख्यो स्टाटस ‘रुगालाग्न थाल्यो ज्वरो आउला जस्तो छ ।’ कमेन्टमा लसऐन्जल बस्ने एक भुटनिज साथीले सु—स्वस्थको कामना गर्यो । सायद त्यो स्टाटसवला खुसीको स्खलनमा हरायो होला ।
अचेल मान्छे बाँच्ने कला फेरिएको छ । सहरको मध्य विन्दुमा होर्डिङबोर्ड भएर उभिन चाहान्छ, मान्छे ।
आफ्नो स—साना दुःखहरु बाँड्छ र अरुबाट समवेदना लुट्छ ।
अचेल हरेक दिन मान्छेहरु समवेदना लुटिहिँड्छन् । सायद कतैबाट प्रेम नपाए पछि मान्छेले समवेदनाबाट पनि प्र्रेम महसुस गर्दो हो । र, अलिकति खुसी समेटेर उभिदो हो ।
खलासीको टाउको अहिले स्टेरिङमा अडिएको छ । भोलि उसलाई यो स्टेरिङको टाउकोले कहाँ पुर्याउँने हो । जिन्दगीको स्टेरिङ कुन मोडमा पुगेर मृत्युबाट स्खलित हुनेहो, कसले भन्न सक्छ ?
जसरी बगेको छ, हिमालबाट स्खलित हुँदै यो त्रिशूली । जसरी हिँड्दा हिँड्दै पैतलाबाट स्खलित भयो र सकियो क्याराभानको थिन्ले । उसैगरि सकिए मेरो पुर्खाहरु पनि जीवनबाट । म पनि एक दिन मृत्युबाट स्खलित हुनेछु र सकिने छु, पुर्खाहरु झै ।
आखिर जीवन, मृत्यु स्खलन त हो नि । एक दिन जीवन मृत्युबाट स्खलित हुन्छ र सकिन्छ ।
(स्रोत: Setopati)