साहित्यलेखनलाई जीवनको राजमार्ग बनाएर उसले अतुलनीय कृतिहरू प्रकाशित गर्यो। नवीन प्रयोग, दार्शनिक अभिव्यक्ति, चोटिलो एवम् पोषिला काव्यहरू, अग्रगामी चिन्तनमा आधारित कथा एवम् उपन्यासहरूको बाढी ल्यायो उसले। उसको मस्तिष्कमा चिन्तन एवम् लेखनको तन्तु यति सक्रिय थियो कि उसभित्र सिर्जनाको समुद्र नै छचल्किएको थियो। साहित्यलाई विद्युतीय सञ्चारमाध्यमले एवम् कुबेर बन्ने होडबाजीले थिचिरहेको परिप्रेयमा पनि उसका लाखौँ पाठकहरू थिए, उसका कृतिहरू एक छाक खाएर भए पनि पाठकहरू किन्ने गर्दथे।
साहित्यमा पुरस्कार, सम्मान, पदक एवम् दोसल्लाको हल्ला उसले पनि सुनेको थियो तर त्यसको लागि प्रभु म सबैभन्दा बढी योग्य छु भनेर विन्तीपत्र लेख्ने काइते कृत्रिमता उसको स्वाभिमानले दिएन।
हेर्नुहोस् साहित्यकारज्यू यहाँ चर्चा, पुरस्कार, सम्मान र पदक पाउन लेखेरमात्र हुँदैन । यसको लागि त तपाईका दाँत फुक्लनुपर्छ, कपाल फुल्नुपर्छ, मुखबाट र्याल चुहिनुपर्छ, लौरो टेकेर खोक्दै हिँड्नुपर्छ, बहिरो हुनुपर्छ, आँखामा मोतिविन्दु लाग्नुपर्छ….. यतिमात्र हो र किडनी फेल वा क्यान्सर भयो भने झन् राम्रो। अझ असामयिक निधन भयो भने त सुनमा सुगन्ध
(स्रोत : NepaliLaghukatha.com )