अनूदित कथा : हिराको हार

~ गेइ डि मोपासा~Guy De Maupassant
अनुवादक: सिपी अर्याल

उनी निकै सुन्दर, आकर्षक र सुशील युवती थिइन् । तर एउटा सामान्य कर्मचारीको घरमा उनी जन्मनु नियतीको प्रहार नै मान्नुपर्थ्यो ! दाइजो लैजाने क्षमता उनीसँग थिएन, कुनै महत्त्वाकांक्षा थिएनन्, नाम कमाउने चाहना थिएन, कुनै धनी पुरुषले बिहे गरेर लैजाला र सधैँभरी माया गरेर राख्ला भन्ने अपेक्षा पनि थिएन । त्यसैले एउटा निम्छरो कर्मचारीसँग बिहे गरेर खुरुखुरु गइन् ।

धेरै नक्कल पार्न नजानेकाले सामान्य लुगाफाटो लगाउँथीन् उनले । ठूलै चोट परेजस्तै देखिन्थिन् र भित्रभित्रै असन्तुष्ट पनि । परिवार र जन्मले सौन्दर्य, हिस्सीपना र आकर्षणजस्ता सबै ठाउँ ओगट्ने हुनाले महिलाका कुनै कुल र श्रेणी हुँदैनन् । प्राकृतिक चातुर्यता र टाठो मष्तिष्क नै उनीहरूको अब्बल श्रेणी हो । र यही कुरा गुणवान् महिला हुनुबराबर हुन्छ ।

मथिल्ड नराम्ररी पिल्सिएकी थिइन् । सम्पूर्ण आनन्द र सुखभोग आफूले भोग्न पाए हुँदो हो भन्ने पनि ठान्थीन् कुनैकुनै प्रहर । आफ्नो जीजिविषाप्रति बेखुस थिइन् । ठिङ्ग उभिएका चारभित्ताहरूको नाङ्गोपन, भाँचिएका कुर्सी तथा मैला र च्यातिएका पर्दा देख्दा उनी निकै उदास हुन्थीन् । उनीबराबरका अन्य महिला चाहिँ त्यस्ता कुराबाट सुर्ताउँदैनथे । घरायसी काम गर्ने महिलालाई देख्दा मात्र पनि उनलाई ठूलो पछुतो हुन्थ्यो, सपनाहरूले डस्थे । पूर्वीय सभ्यतामा प्रयोग हुने कुरुषले बुनेका उत्कृष्ट पर्दाहरू, मैनबत्ती राख्न प्रयोग हुने ढलौटका ठूला–ठूला भाँडा र आर्मचेयरमा आरामसँग सुतिरहेका पुरुष मूर्तिहरूको कल्पना गरीन् उनले । त्यस्तो कल्पनालाई स्टोभको तातो रापले उत्तिखेरी पगालिदियो ! फेरि, लामा–लामा स्वागतकोठी र त्यसमा झुन्डिएका प्राचिन रेशमी पर्दाहरूबारे सोंचीन्, आफ्ना सहेलीलगायत अन्य सबै महिलाले मरिहत्ते गर्ने प्रख्यात पुरुषहरूसँग साँझको पाँच बजेपछि गफिन मिल्ने अत्तरले मगमगाएका कोठाबारे कल्पिइन् जसमा क्युरियोका प्राचिन वस्तुहरू पनि हुन्थे ।

कपडाले छोपेको डाइनिङ टेबलमा खाना खान बस्दा फूलथुङ्गा जस्तै खुसी भएर उनको लोग्नेले भने, “ओहो कस्तो मीठो सुप । ह्याँभन्दा मीठो अर्को कुरा मलाई थाहै छैन ।” त्यतिबेला उनले संसारका उत्कृष्ट भोजनबारे सोंच्थीन् जुन सिल्भरका महङ्गा प्लेटमा धनीहरूले खान्थे । उडिरहेका अनौठा चरा र प्राचिन मानिसहरू डुलिरहेका चित्र भएको भित्तामा टाँगिएको महङ्गो पर्दाबारे सोंच्दै मग्न हुन्थीन् । अझ महङ्गा प्लेटहरूमा राखेर खाइने खानाबारे पनि सोंच्थिन्, ट्राउट र बट्टाइका मासु खाइरहँदा हलुका मुस्कान छोडिरहेको पनि कल्पना गर्थिन् ।

उनीसँग गाउनहरू थिएनन्, गरगहना थिएनन्, श्रृंगारका केही सामग्री थिएनन् । उनलाई त्यही जो मन पर्थ्यो। आफू त्यस्तै अभावको लागि जन्मिएको जस्तो लाग्थ्यो । अझ, आफूलाई कसैले खोजुन्, कसैले उनको इष्र्या गरुन् वा उनले कसैलाई खुसी पनि बनाउन सकुन् जस्तो पनि लाग्थ्यो बेलाबेला ।

उनकी एउटी धनी साथी थिइन्, विद्यालयकी सहपाठी । ती सँगीको घरमा जान उनलाई मन पर्दैनथ्यो किनकी उनको घरमा गएर आफ्नो घर फिर्दा उनी दुखी मात्र हुन्थिन् ।

एकदिन उनका श्रीमान् आए, हातमा निम्ता–खाम बोकेर । खामको आकारै ठूलो थियो ।

“त्यहाँ हेर त” श्रीमान्ले भने, “तिम्रो लागि केही कुरा त्यसमा छ ।”

हतार हतार खाम च्यातेर हेरिन्, जसमा प्रिन्ट गरिएका अक्षरमा यस्तो लेखिएको थियोः

यस मन्त्रालयको कार्यक्रममा श्रीमान्/श्रीमती लुइजेलको सादर उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौँ । मितिः जनवरी १८, साँझको समय ।

श्रीमान्ले अपेक्षा गरेअनुरूप उनी खुसी भइनन् । बेपत्ता रिसाएर त्यो कार्ड हुर्राइन् र भित्रभित्रै मुर्मुरिँदै भनिन् “म किन जाने त्यहाँ ?”

“मेरी प्रियतमा, तिमी खुसी हौली भन्ने पो ठानेको थिएँ मैले । तर रिसायौ त । तिमी कहिल्यै बाहिरतिर हिंड्दिनौं । हेर त यसो डुल्ने कस्तो राम्रो अवसर हो यो । यो निम्ता पाउन पनि मैले कम्ति संघर्ष गर्नुपरेन ! भतेरमा जान सबै खोज्ने, तर म जस्तो कर्मचारीले निम्ता पाउन साह्रै गाह्रो । तर मैले पाएँ । अफिसका सबै मानिस त्यहाँ आउँछन् ।”

श्रीमान्सँग झर्किंदै उनले भनिन्, “कुन लुगा लगाएर म जानु त्यहाँ ?”

“नाटक हेर्न जाँदा तिमीले लगाउने गाउन राम्रो छ, होइन र ?”

श्रीमान् बोलेर नसक्दै श्रीमती धर्धरी रुन थालिन् । आँखाको डिलबाट दुईथोपा आँसु बग्दै–बग्दै ओठको दुई छेउतिर लाग्यो ।

“के भयो प्यारी ?” श्रीमान्ले सोधे ।

आँसुले भिजेका गाला हातले पुछिन् र रुन्चे स्वरमा बोलिन्, “केही भाछैन । मसँग गाउन छैन, त्यसैले यो पार्टीमा म जान सक्दिन । अफिसका अरू कसैलाई यो निम्ता कार्ड दिनुस् जसको श्रीमतीसँग मेराभन्दा राम्रा लुगाकपडा छन् ।”

केहीबेर पछि श्रीमान्ले भने, “प्यारी मथिल्ड, तैपनि केही सोचौं न । अँ, ठिक्कको नयाँ गाउनलाई कति पर्ला हँ, जुन तिमीले अरू यस्तै बेला पनि प्रयोग गर्न मिलोस् ?”

मनमनमा हिसाब गर्दै केही बेर उनी गमिन् । सामान्य आर्थिक हैसियत भएको कर्मचारीको सातो नउड्ने गरी भन्नुपर्ने थियो उनलाई । र पतिको प्रस्तावलाई बेवास्ता गरिहाल्न पनि भएको थिएन ।

हडबडाउँदै भनिन्, “ठ्याक्कै त कति पर्ला थाहा भएन । तर पाँचसय फ्र्यांक सम्ममा व्यवस्थापन गर्न सक्छु ।”

ओहो ! त्यति पैसा त उनले साथीहरूसँग बिदाको दिनमा शिकार खेल्न जानलाई बन्दुक किन्न साँचेर राखेका थिए । त्यसैले तिनको अनुहार निलो भयो ।

सम्हालिँदै भने, “ठिकै छ नि त, चारसय फ्र्यांक दिन्छु । त्यतिमा राम्रो गाउन किन न त ।”

लुगा तयार भएपनि उनको अनुहारबाट पिर हटेन । घाम डाँडामाथि पुग्दै थियो । श्रीमान्ले साँझ भने, “के भयो तिमीलाई ? तीन दिनयता एकदम बेखुस देखिन्छ्यौ ?”

उनले भनिन्, “मसँग एउटा पनि गहना छैन, त्यसैले म बेखुस छु । गहना नलगाइ जाँदा म साह्रै गरीबजस्ती देखिन्छु । त्यसैले म त्यहाँ नजानु नै ठीक छ ।”

“तिमीले सुन्दर फूलका गहना बनाएर लगाऊ न त । कस्तो राम्रो देखिन्छ ।” श्रीमान्ले भने, “अचेल त्यस्ता गहना खुब चलेका छन् नि । दस फ्र्यांकमा त तिमीले तीनओटा गुलाबका गज्जबका गहना किन्न सक्छ्यौ नि !”

बुढाको कुरा उनलाई के चित्त बुझोस् !

“धत्, धनी आइमाइहरूबीच निमुखो देखिनु लाजको मर्नु हुन्छ ।”

“हरे ! पटमुर्ख !” श्रीमान् कराउँदै उपाय सुझाए, “श्रीमती फरेस्टियरसँग गएर केही छिनलाई उनकै गहना मागेर लगाउ न त । उनी त तिम्री मिल्ने साथी पनि हुन् ।”

खुसीले उनी चिच्याइन्, “हे भगवान् ! कस्तो ख्यालै नगरेकी मैले !”

अर्को दिन उनी ती सँगीकोमा गइन् र उनलाई आफ्नो व्यथा सुनाइन् ।

श्रीमती फरेस्टियर गहना राखेको दराजतिर गइन् जुन ऐनाजडित चट्टको थियो । गहना भएको ठूलो बक्स झिकिन् र श्रीमती लुइजेलको हातमा राखिदिइन् ।

“यसबाट छान प्रिय साथी ।” भनिन् ।

उनले सुरुमा ब्रासलेट हेरिन्, त्यसपछि मोतीको हार अनि भेनस सहरमा बनेको सुन्दर पत्थरजडित अर्को गहना पनि हेरिन् । ती सबै उत्कृष्ट बनोटका थिए । उनले प्रत्येक गहना लगाउँदै आफूलाई ऐनामा हेरिन् । ती गहना फुकालेर फिर्ता दिन पनि मन लागेन उनलाई । साथीलाई प्रश्न गरिन्, “अरू पनि छन् र ?”

“किन ? छन् छन् । हेर न हेर । तिम्लाई कस्तो मन पर्ने हो कुन्नी ।”

अचानक उनको नजर एउटा हिराको हारमा गयो । त्यसलाई देख्नेबित्तिकै उनको मुटु काँप्न थाल्यो, त्यो जिनिस मनपरेर । त्यसलाई लिँदा उनका हात काँपे । हत्तपत्त आफ्नो घाँटीमा त्यसलाई बेरिहालिन् । ऐनामा आफ्नो प्रतिबिम्ब देख्दा अपार आनन्दले बिभोर भइन् ।

आत्तिँदै, डराउँदै साथीलाई सोधिन्, “यो गहना दिन्छ्यौ त मलाई ?”

“लौ ! दिइहाल्छु नि । लैजाउ न ।”

त्यसपछि उनी निकै खुसी भइन्, खुसी मै साथीलाई अँगालोमा बेरिन्, पागल भएर चुम्बन गरिन् । अनि त्यो गहना लिएर बेपत्ता कुदिन् ।

भतेरमा जाने साँझ श्रीमती लुइजेल निकै खुसी थिइन् । उपस्थित जोसुकै महिला भन्दा उनी कम थिइनन् । उनको व्यक्तित्व र मुस्कान भब्य देखिन्थ्यो । सबै पुरुषहरूले उनीतिर आँखा बढाए, नाम सोधे, परिचित हुने रहर गरे । मन्त्रालयका सम्पूर्ण सदस्यहरूले उनीसँग नाच्ने इच्छा देखाए । मन्त्री स्वयंले उनको उपस्थिति ख्याल गरे ।

सातौं स्वर्ग पाएजसरी उनी मजाले नाचिन् । आफ्नो सुन्दरतामा समग्र संसार बिर्सेर नाचिन्, आफ्नो सफलतामा अपार खुसी भएर कम्मर मर्काइन् । त्यहाँ प्राप्त भएको खुसी, सम्मान र विजयले एउटा महिलाको मनमा झंकृत गराउने संगीत सुनिन् उनले ।

भतेरबाट बिहानको चार बजे मात्र हिँडिन् उनी । श्रीमान््चाहिँ मध्यरातबाटै एउटा सानो कोठामा सुत्न गएका थिए जहाँ अन्य तीनजना भद्रहरू पनि थिए । ती तीन भद्रका श्रीमतीचाहिँ भतेरमा नाचिरहेका थिए ।
फर्कने बेला श्रीमानले उनलाई बर्को ओढाइदिए । बर्को सामान्य थियो, भतेरमा लगाएका आकर्षक लुगाको सौन्दर्यसँग मेल नखाने र गरीबीको ल्याप्चे लागेको । महंगा भुवादार बर्को ओढेका अरू महिलाले नदेखुन् भनेर उनी छिटोछिटो हिँड्न खोजिन् ।

श्रीमान् लुइजेलले भने, “पर्ख न । तिमीलाई चिसोले समात्छ । मैले क्याब बोलाउँछु ।”

श्रीमान्लाई नसुनेरै उनी सिँढीबाट खुरुखुरु ओर्लिन् । बाटोमा पुगिसकेपछि उनीहरूले एउटा पनि मोटर–क्याब भेट्न गाह्रो पर्यो, पर भएको एउटा क्याबलाई चिच्याएर बोलाए ।

कठ्यांग्रिदै र काम्दै उनीहरू हिँडिरहे । एकैछिनमा एउटा थोत्रो रात्रीकालीन क्याब भेटे । लाग्थ्यो त्यो क्याबले दिउँसोमा आफ्नो थोत्रोपन देखाउन पर्छ भनेर गुड्दैनथ्यो ।

उनीहरू मार्टर्स स्ट्रिट हुँदै आफ्नो घरको भर्या‍ङ चढ्न थाले, निरास हुँदै । श्रीमती लुइजेलको लागि सबैथोक सकिएको थियो । भोलि बिहान दस बजे अफिस पुग्नुपर्ने थियो श्रीमान्लाई । त्यही कुरा उनले श्रीमतीलाई भने ।

आफ्नो सौन्दर्यको प्रतिबिम्ब एकपटक फेरि हेर्न ऐनाअगाडि उनी उभिइन् र ओढेको बर्को हुर्राइन् । एउटा चित्कार निस्क्यो उनको मुखबाट । घाँटीमा हार थिएन !

“के भयो तिमीलाई हँ ?” आफ्नो लुगा फुकाल्दै श्रीमान्ले सोधे ।

आत्तिँदै श्रीमान्तर्फ मुख फर्काइन् उनले ।

“म…म…मै…ले फरेस्टियरको हार हराएँ ।” उनी चिच्याइन् ।

होशहवास गुम भएझैँ गरेर श्रीमान् उभिए ।

“हँ ??? के भनेकी ??? कसरी भयो ??? असम्भव ! ! !”

गाउनको गोजीलगायत सबैतिर अत्तालिँदै खोजे । तर भेटेनन् ।

“भतेरबाट निस्कँदा तिमीसँगै थियो नि हैन ?” सोधे श्रीमान्ले ।

“अँ मन्त्रीको घरको ढोकाबाट बाहिरिँदै गर्दा थियो जस्तो लाग्छ ।”

“तर बाटोमा खसेको भए खस्दाखेरीको आवाज हामीले सुन्नुपर्ने त । त्यो क्याबमा छ कि !”

“हुनसक्छ । उसको नम्बर तपाईँले लिनुभएन ?”

“लिइनँ । खसेको चाल पाइनौ तिमीले !”

“अहँ !”

उनीहरूले एकआपसलाई आश्चर्यचकित भएर हेरे । हराएको गहना खोज्न जान श्रीमान् तयार भए ।

“म हिँड्दै जान्छु ।” भने, “हामी आएको बाटो, भेटिन्छ कि !”

श्रीमान् निस्किए । श्रीमतीचाहिँ कुर्सीमा बसिरहिन्, किंकर्तब्यबिमुढ भएर, भतेर जाँदा लगाएको लुगा लगाएरै । उनीसँग कुनै बल थिएन, भावसुन्य थिइन् ।

बिहानको सात बजेतिर श्रीमान् फर्किए, रित्तो हात ।

उनी प्रहरीकहाँ पुगे, पत्रिकामा सूचना पनि दिए, गहना फर्काउनेलाई उपहार दिइने जानकारी गराउँदै । क्याबका कार्यालयहरूमा पुगे । झिनो आस रहेका हरेक ठाउँ पुगे । जहाँसुकै पुगे ।

श्रीमतीले दिनभरी श्रीमान्लाई कुरेर बसिन्, एउटै आसनमा, डरको भयंकर भावभंगिमासहित ।

निलो अनुहार र खोक्रो मन लिएर श्रीमान् लुइजेल राति घर आए । उनले साथमा केही पनि लिएर आएनन् ।

“तिमीले ती साथीलाई चिठी लेख्नुपर्छ अब” भने, “उनीबाट लिएको हार भाँच्चियो र त्यसलाई बनाएर फिर्ता दिन्छु भन्दै । त्यतिञ्जेल खोज्ने समय हामीलाई मिल्छ ।”

श्रीमानले भनेअनुरूप उनले पत्र लेखिन् ।

सप्ताहन्तसम्म उनीहरूसँग कुनै आस बाँकि थिएन । त्यतिञ्जेलमै लुइजेल पाँच वर्षको उमेर खाइसकेकी जस्ती देखिन्थिन्, पिरले ।

“कसरी तिर्ने अब त्यसबारे सोंच्नुपर्छ हामीले ।” श्रीमानलाई भनिन् ।

त्यो गहनाको बाकस लिएर एउटा पसलमा गए । बाकसमा सुनारको नाम लेखिएको थियो । सुनारले खातापाता उल्टाएर हेरे ।

“त्यो हार बेच्ने मानिस म थिइनँ मेडम । मैले त त्यो बाकसमात्र बनाएको थिएँ ।” सुनारले भन्यो ।

बुढाबुढी भएर प्रत्येक सुन पसलहरू चाहारे, सुनारलाई भेटे । केही हात लागेन, शिवाय असिमित पिडा र असन्तुष्टि ।

प्यालेस रोयल नामक गहना पसलमा उनीहरूले ठ्याक्कै त्यस्तै हार देखे जसको मूल्य ४० हजार फ्र्यांक थियो । त्यसलाई ३६ हजार सम्ममा पाउने भए ।

त्यो गहना कम्तिामा तीन दिनसम्म नबेचिदिन पसलको साहुलाई आग्रह गरे । फेब्रुअरीको अन्तिमसम्म पनि हराएको गहना नभेटिए त्यसलाई ३४ हजारसम्ममा किन्न मिल्ने आग्रहसहित कुरा मिलाए ।

लुइजेलसँग १८ हजार फ्र्यांक थियो, बाबुले दिएर छाडेका थिए त्यतिका पैसा । र बाँकि चाहिँ उनले सरसापट गरेर गर्जो टार्नुपर्ने भयो ।

उनले ऋण माग्न थाले । कसैसँग एकहजार फ्र्यांक, कोहीसँग पाँच सय । धेरै थोरै गरी मागे । ऋणदातासँग अप्ठेरो अवस्थाका सामना गर्दै आफ्नो काम जारी राखे । आफ्नो बाँकि रहेको जिन्दगीसँग उनले सम्झौता गरिरहे, परिणाम के होला भन्ने थाहा नपाएर पनि हस्ताक्षर गरेर ऋण काढे । भोग्नुपर्ने भविष्यसँग डराएरै हिँडे । र अन्त्यमा ३४ हजार फ्र्यांक बोकेर नयाँ गहना किन्न गए ।

श्रीमती लुइजेल नयाँ गहना लिएर श्रीमती फरेस्टियरकहाँ गइन् । फरेस्टियरचाहिँ हल्का झोंकिएर भनिन्, “अलि पहिला ल्याइदिनुपथ्र्यो नि, मलाई चाहिन सक्थ्यो ।”

उनले गहना राखेको बाकस पनि खोलिनन्, किनकी उनकी साथी लुइजेल खुब डराइरहेकी थिइन् । साटेर ल्याइदिएको गहनाबारे थाहा पाएको भए उनले के भन्दी हुन् ? श्रीमती लुइजेललाई चोर नभन्दिहुन् त ?

त्यसपछि बल्ल श्रीमती लुइजेलले जिन्दगीको डरलाग्दो अस्तित्वबारे थाहा पाइन् । एकैछिन भएपनि उनले नायकत्व त देखाएकी हुन् । ऊफ् ! त्यो ऋण नतिरी हुँदैन । तिर्न त सक्लिन् । घरमा काम गर्ने मानिस विस्थापन भयो, बुढाबुढी नै एउटा सानो बुइँगलमा बस्न थाले ।

काम गर्ने मानिसलाई हटाएकोले अब बल्ल उनले थाहा पाइन् घरधन्दा कति गह्रुङ्गो हुनेरैछ र भान्छामा काम गर्नु कति झिझ्याटलाग्दो हुँदोरहेछ । सुन्दर औँलाले भाँडा मस्काउनुपर्ने भयो । धुन अप्ठेरो हुने कपडाहरू धुनु पर्‍यो, त्यसलाई तारमा सुकाउनु पर्यो‍ । पानी बोकेर बुइँगलसम्म पुर्या‍उनु पर्यो‍ । प्रत्येक खुड्कीलो चढ्दा रोकिएर लामो सास तान्थिन् उनले । एकदम सामान्य महिलाले झैँ लुगाफाटो लगाउनुपर्यो‍ । बास्केट बोकेर तरकारी पसल, मासुपसल चाहार्दै चाहिएका खान्की किन्दै मोलमोलाई गर्नुपर्यो‍ । आफूसँग भएको कम्ती पैसालाई खुब माया गर्नुपर्यो‍‍ उनले ।

प्रत्येक महिना ऋणदातालाई भेट्नुपर्यो‍, ऋण तिर्ने समय थप गरिदिने आग्रह पनि गर्नुपर्यो‍ ।

व्यापारीहरूको बहिखाता बनाउँदै श्रीमानले साँझमा पनि काम गर्नथाले । निकै थोरै पैसामा भएपनि रातबिरात काम गर्नथाले ।

यो चर्या दस वर्षसम्म चल्यो !

दस वर्षको अन्त्यमा उनीहरूले सबैथोक तिरे, ऋणमुक्त भए । ब्याज पनि तिरेर ढुक्क भए ।

श्रीमती लुइजेल यतिञ्जेलसम्म निकै बुढी देखिइन् । दुखी महिला जस्ती देखिन्थिन्, बेढङ्गी र रुखी । जिङ्रीङ्ग परेको कपाल, मैला लुगा र रातै भएका हातसहित बेस्मारी चिच्याउँदै भाँडा माभ्mथीन् उनले । लोग्ने अफिसमा हुँदा उनीचाहिँ भ्mयालनिर बसेर सोंचमग्न हुन्थिन् । सोंच्थिन्, त्यो रङ्गीन पार्टी, उनको आकर्षक रूप र सबैले उनलाई गरेको प्रशंसा !

त्यो हिराको हार नहराएको भए के हुन्थ्यो होला ? कसले के अनुमान गर्न सक्नु र ? जिन्दगी कस्तो अनौठो र परिवर्तनशिल छ ! हामीलाई भुइँमा बजारिदिन सानै कुराहरू भए पुग्ने !

हप्ताभरीको थकान मेट्न उनी घुम्न हिँडिन् । बाटोमा अचानक उनले एउटी महिला देखिन्, तिनले एउटा बच्चा डो¥याइरहेकी थिइन् । उनी मेडम फरेस्टियर थिइन् । अझ सुकुमारी, उस्तै राम्री र आकर्षक ।

श्रीमती लुइजेललाई अप्ठेरो लाग्यो । फरेस्टियरसँग बोल्ने कि नबोल्ने होला त ? किन नबोल्नु नि ? उनले सबैथोक तिरिसकेकी थिइन् नि त । विगत्बारे सबै बताउने जिकिर गरिन् उनले ।

नजिकै पुगिन् ।

“हेल्लो, जेन्नी ।”

फरेस्टियर अचम्ममा परिन्, चिनेको आवाजले उनलाई सम्बोधन गरेर आत्मीयतासाथ बोलाउँदैछ । बोलाउने महिला भद्र नै देखिन्थिन् तर उनले चिन्न चाहिँ सकिनन् ।

“अँ….मैले तपार्इँलाई चिनिन त । तपाईँलाई भ्रम भयो ।”

“हैन हैन । म श्रीमती मथिल्ड लुइजेल ।”

लुइजेलकि साथी बेस्मारी चिच्याइन् ।

“हरे मेरी प्यारी मथिल्ड । तिम्रो रूप कस्तो फेरिएको नि !”

“हो त नि । पछिल्ला वर्षमा मैले कस्तो रुखो जिन्दगी बिताउनु पर्यो‍ । मैले चरम गरीबी सहेँ । र तीसबै तिम्रै कारण !”

“मेरो कारण ? कसरी नि ?”

“तिमीले मलाई त्यो पार्टीमा लगाउन दिएको हिराको हार सम्झना छ नि है ?”

“छ, छ ।”

“खासमा मैले त्यो हराएकी थिएँ ।”

“हँ ? के भन्या ? तिमीले मलाई फिर्ता दिएकी थियौ नि त्यो त ।”

“मैले पछि ठ्याक्कै त्यस्तै गहना किनेर फिर्ता दिएकी थिएँ । र त्यसको ऋण तिर्न मलाई दस वर्ष लाग्यो । तिमी बुझ्छौ नि, हामी केही नभएका बुङ्गाहरूलाई त्यो काम सजिलो थिएन । जे होस्, सबैथोक सकियो र अहिले म खुसी छु ।”

फरेस्टियर वाल्ल परिन् ।

“हराएको गहनाको ठाउँमा तिमीले असली हिराकै हार दिएकी हौ मलाई ?”

“हो नि त । त्यतिबेला तिमीलाई थाहै भएन । किनकि फिर्ता दिएको गहना दुरुस्तै थियो ।”

श्रीमती फरेस्टियरले यस्तो मुस्कान फुत्काइन् जसमा घमण्ड र इमान्दारीता दुवै थियो ।

श्रीमती फरेस्टियरले आश्चर्य भावमा लुइजेलको हात समाउँदै भनिन्, “हरे भगवान् ! म्याथिल्ड, मेरो हिराको हार त नक्कली थियो नि । त्यसलाई लगभग पाँच सय फ्र्यांक मात्रै पथ्र्यो !”

(स्रोत : setopati)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.