~दिलिप अविरल~
हर्केलाई अघिल्ला वर्षहरू झैं आज पनि महाशिवरात्री पर्वले आलिङ्गन् गरिसकेको छ।अघिल्लो वर्षमा महाशिवरात्रीको दिन साथीसंगीसँग मिलेर हुक्का-चिलिम भाङ धतुरो खाएर रातभरि महादेव जस्तो लठ्ठिएको क्षणलाई सम्झी आज फेरी उही कार्य पुनरावृति गर्ने म्याराथुन दौडमा छ ऊ।त्यसैले ऊ सामानको सबै बन्दोवस्त मिलाएर साथीभाइलाई एकिकृत गर्न गाउँघर तिर निस्कियो।विडम्बना घरको एक मात्र चुलबुले छोरो राहूलले बाबाले भरे खान भनेर राखेका ती विविध पदार्थहरू(भाङ,धतुरो,हुक्का)खाइदियो।विस्तारै त्यो कलिलो बालकलाई नशाले छोप्न थाल्यो।नशाको अधिक मातले बालक भूइँमा लड्यो…केवल निस्प्राण भएर।उता आफ्नो काम फत्तेपारी घर फर्कदा हर्केलाई घरको मझेरीमा मान्छेहरूको भिडले बेस्सरी खिच्यो।ऊ भिडको नगिच पुग्यो।छेउमै एउटा अबोध बालक निकै दर्दनाक तवरले वमन गरेर लडिरहेको थियो अचल भएर।त्यो अबोध बालक कोही नभएर उसैको प्राण भन्दा प्यारो छोरा राहूल थियो।ऊ चिच्यायो करायो तर व्यर्थ थियो ।अनि पुर्पुरोमा हात राख्दै धर्म संस्कृतिको नाउँमा गलत विचारको अनुशरण गर्दाको पिडा बोध भएर ऊ पश्चतापमा जलिरह्यो।