~गीता थापा~
उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते व्याक च्यापेर उसको पछि लागें । ऊ कार पार्क गरेको ठाउँमा पुगेर टक्क अडिइ । सुटकेश डिकीमा थन्क्याइ । जिन्स प्यान्टको गोजिबाट साँचो झिकेर कार स्टाट गरि । उसको आत्मविश्वास देखेर ‘वाउ ! क्या जिन्दगी’ सोच्दै उसको छेउमा बसें ।
हामी विपरित ध्रुवका दुई तारा । म अबिकसित, अशिक्षित र गरिबमुलुककी महिला । ऊ बिकसित, शिक्षित र धनी मुलुककी स्वतन्त्र महिला । मेरो लवाइ, खवाइ, हिँडाइ र बोलाईमा उसको जस्तो उदारता थिएन । मेरो स्वभावमा तीन कुरा झल्किन्थे, डर त्रास र शंकोच । ऊ भने डर, त्रास शंकोचरहित निस्फिक्री थिइ । टाइट जिन्स प्यान्ट र पारदर्शी टिसर्टमा बेरिएको उसको सलक्क परेको शरीर । उसको शरिरबाट आएको अत्तरको वासनाले भने मेरो टाउको घुमाउँथ्यो । तर म त्यो भाव अनुहारमा आउन दिन्नथें । ऊ भने मेरो शरीरबाट आउने तितेपातीको सुगन्धलाई दुर्गन्ध सम्झिएर नाक, मुख र निधार एकैचोटी खुम्च्याउँदै बट्टाबाट चुरोट झिकेर सल्काउँथी । उसलाई इरिटेट गराउने त्यो दुर्गन्ध चुरोटको धुँवासँगै फुरुरु पारेर झ्यालबाट बाहिर फुक्थी । म बुझे पनि नबुझेको बहानामा घुसे मुन्टो लगाएर हातका औंला खेलाइरहन्थें । घरिघरि आँखा जुद्दा म ङिच्च दाँत देखाईदिन्थें । ऊ पनि फिस्स हाँसे जस्तो गर्थी ।
घर पुर्याएर एक हप्ता जति खाना बनाउने, खुवाउने तौरतरिका र औषधी दिने समय तालिकाबारे सुझाइ उसले मलाई । अब म उसकी हजुरआमाको ईशारामा नाच्न सक्ने भएँ । ऊ हामीसँग बस्दिनथिइ । उसको घर हजुरआमाको भन्दा दुई घर मास्तिर पर्थ्यो । दिनको दुई तीन पल्ट फोन गरेर बुझ्थी ’औषधी दिइस ? खाना खुवाइस् ?’
शुक्रबार किनमेल गरेर ल्याउँथी उ । शनिवार बिहान खाना खाने गरि उसका सपरिवार आउँथे । म त्यो घरमा काम गर्न थालेको पत्तै नपाई दुई वर्ष बितेछ । ति दुई वर्षमा उसले दुइटी छोरी जन्माइ । उसकी पहिल्यै एक छोरी थिइ । अब ऊ तीनटी छोरीकी आमा भइ । उसको फेरि अर्को गर्भ रहेको थियो । जन्मेका नानीहरूले भूइँ छाडेका छैनन् । उ चाहिँ अझै गहुंगी हुँदै कस्तो अचम्म ? म भित्रभित्रै छक्क पर्थें । उकुस मुकुस भएर एक दिन मैले उसलाई सोधिछाडें- एरिका तेरा पहिल्यै तीनटी छोरीहरू छन् । फेरि तँ गर्भवती ? के तीनटी छोरी सन्तानकारुपमा काफी छैनन् र ? उसको मुखबाट मैले नसोचेको जवाफ फुत्त निस्कियो “तर एउटा छोरा चाह्यो नी ।”
उसको छेउमा हाँस्दा असभ्य र उसलाई गिज्याएको हुने । त्यसैले म बाथरूमभित्र छिरेर खित्त्का छाडेर हाँसें । यो सोचेर बिकसित मुलुकका प्राणीको गिदिमा अझैंसम्म पनि छोरारुपी हाउगुजीले त्रसाउन छोडेको रैनछ । शायद मेरो चर्को हाँसोले उसका कान घोचेछन् क्यार ! उसले बाथरूमको ढोका ढकढक्याउँदै सोधी- आर यू ओके ? यस आइएम ओके । त्यसपछि म ढोका घुरुक्क उघारेर बाहिर आएँ । उसले मेरो अनुहार वाल्ल परेर नियालिरही । तर केहि बोलिन ।