~गीता थापा~
अबुझ परिवार वा अबुझ समाजमा जन्मलिनु पनि जीन्दगी एउटा अभिसाब रहेछ। किनकी त्यहाँ बुझिन्छ कम । अनेक थरिका संस्कार कुसंस्कार लादिन्छ बढि । अब नमान्दा पनि नहुने मान्दा पनि आफ्नो मनका हरेक कुरालाई तिलाञ्जली नदिई सुखै नपाइने । यसरीनै सरीता एउटा किताब हातमा च्यापेर घोत्लिन्छे। किताब बिकसित मुलुकका हरेक कुरालाई समेटेर लेखिएको थियो । तर किताब र जीन्दगी धेरै फरक हुन्छ यहाँ । किताब पढिन्छ । पढुन्जेल किताब संगै हाँसिन्छ भने कहिं कतै रुइन्छ पनि । यसरीनै सरीता रुँदै हुन्छे ।
बाटो तलबाटै बोलाउँदै रत्न दाई “के छ स्वास्थ्य कार्यकर्ता नानी” भन्दै सोध्दै माथि आउँदै हुन्छ । सरीता पनि हातको किताब भूइँमा राखेर जवाफ फर्काउँछे “ए रत्न दाई के हुनु ! आज शनीबार बसेर घाम तापीतपाई छ ।
रत्न पनि सरीताको आँगनमा आएर उभिन्छ । अनी सरीता नजिकैको कुर्सी सारिदिँदै भन्छे “बस्नुसन दाई कति कामले पाल्नु भएको हो कोन्नी ? ”
रत्न “के हुन्थ्यो अरु त यसो नानीलाई दु:ख दिउँकी भनेर आएको ” ।
सरीता भन्छे “भैहाल्छनी दाई कस्तो दु:ख होला कोन्नी ? नसक्ने हो भने’त गाह्रो हुन्छकी दाई ? ” दुबै हाँस्छन ।
त्यतिकैमा सरीताकी आमा जानुकाको प्रबेश हुन्छ ”कस्तो जाडो भयो ” भन्दै । सरीता र रत्नको छेउमा आएर बस्छिन जानुका नि ।
सरीता आमातिर हेर्दै भन्छे ”चिसो पानीले नुहाउनु भयो होला ? ” अनी उसैबेला रत्नपनी सरीताको आमालाई ढोग गरे हैं भाउजू ? यसो कहिले काँही हाम्रो घरतिर पनि पाऊँकस्ट गरे हुन्थ्यो नि ? ” भन्छे ।
सरीताकी आमा जानुका भन्छिन, “खै बाबु अलिकती उकालो हिँड्योकि सास बडेर गाह्रो हुन्छ। हिजो यो सारासंसार पाखो भारी बोकेर घुम्दापनि केही हुँदैनथ्यो । त्यहिँ तल भाईको घरमा नगएको पनि झनै बर्ष दिन हुनै लागेछ । त्यति बेलासम्म सरीताले चिया बनाएर आउँछे । र रत्नतिर चिया बोकेको हात बढाउँदै भन्छे-ल रत्न दाई यही कालो दुध बेगरको चिया भएपनी खाउँ ।
रत्न पनि सरीताको हात बाट चिया समाउँदै भन्छ “ए यो त सुवास्थ्यको लागि लाभदायक हुन्छ नि ।
चिया खाँदै सरीता भन्छे “अनी दाई खै के दु:ख दिन आएको भन्नु हुदैथ्यो नि ?
रत्न भन्छ “कुरा के भने नी सरीता नानी उही तपाइकी भाउजू यसोधाको के। साह्रै कमजोर भएकी छ। फेरी भारी जीउँकी भए जस्तो छ, उसको लक्षण हेर्दा । काँही गएर भाँती पुर्याएर बोल्न जान्ने पनि होइन । जहाँ जाउँ आफैं । आमाले बुढाबुढी मान्छे छोरा नभै मेरो छोराको बंश चल्दैन भन्दिनु भएछ । उ चाहिँ त्यहि कुरामा अल्झेकी छे-छे। सम्झाउँदा सम्झाउँदा थाकें म त नानी । बुद्धि आउने औषधी पाए पनि हुन्थ्यो उसलाई खुवाउँन जस्तै भयो मलाई त । कुरा नबुझेको देखेर।
सरीता “होइन दाई ठिकै छ । म भोलितिर तपाईंको घरमा आउँछु नि त ? ”
रत्न भन्छ “अब नानी सँग कुरा के लुकाउनु मिल्छ, भने बरु त्यो बच्चा नै जन्म नदिउँकी भनेको चार-चार वटी छोरी छदैछन ।
सरीता भन्छे “हुन्छनी दाई पहिला भाउजूको स्वास्थ्य हेरेर के गर्दा राम्रो हुन्छ सोही गरौँलानी त दाई ।
अनी रत्न पनि “हुन्छ नानी सक्भर यसोधा मानेदेखी नानीले सम्झाइबुझाई गरेर भने त तिनै छोरी’नै मेरा लागि छोरा भन्दा के कम र ।
अनी रत्न आफ्ना कुरा त्यतिमै टुंगाउँदै बसेठाउँ बाट उठेर सरीता र सरीताकी आमा जानुका सँग बिदा लिएर हिँड्छ ।
अनी केही माथि पुगेर फेरी रत्न भन्छ “ए नानी एउटा कुरा माग्नु पर्ने त भुसुक्कै भूलेछु ।
सरीता “के नि दाई ? ”
” दुइ चारवटा भिँटामिनको गोली दिनु न खाना नखाएको कतिदिन भयो तपाईंको भाउजूले। ”
अनी सरीता “दाई भोलिनै भाउजूको प्रेसर नापेर दिउँला है औषधी। किनकी त्यस्तो अवस्थामा कुनै पनि औषधी नजाँची नबुझी खुवाउँनु हुदैन।”
”ए होर नानी ? त्यसो भए हुन्छ त नानी म लागें भन्दै रत्न घरतिर लाग्छ । अनी सरीता आमाको टाउको मुसार्दै फूलेका केही कपाल निकाली दिन्छे । सरीताको बुवा मानधोज सरीता पाँच बर्षकी हुँदै औलोको महामारीमा परेर उसले ज्यान गुमाउनु परेथ्यो। यो छोरी सरीतालाई आज सुवास्थ्य कार्यकर्ता बनाएर उभ्याउन जानुकालाई कति तिता कुरासँग सामाना गर्नु परेथ्यो । सरीताले पनि आमाले भने जस्तै ज्ञानी भएर पढ्दै गई । आज सबै गाउँलेले स्वास्थ्य कार्यकर्ता भनेर चिन्छन । आज गाउँमा आमाले बाउबिना हुर्काएकी छोरी भएनी सबैको भलो हुने काम गरेकोमा सबै दंग छन् ।
सरीता आफ्नो भन्दा आफ्ना गाउँलेको साह्रै हेरचाह गर्छे। बिशेष त रोगी र बुढाबुढी र बच्चाहरुलाई । आफ्नै गाउँघरमा पाउने कुराहरु कसरी सुवास्थ्यको लागि लाभदायक हुन्छन भन्नेवारे धेरै जनाले सिकेका छन् आज सरीताबाट। सरीताले गाउँमा स्वास्थ्य केन्द्रमा काम गर्न सुरु गरेपछि धेरैले जान्ने बुझ्ने मौका पाएका छन् । र आज गाउँलेले छोरीको महत्व कति रहेछ एउटा समाजलाई रुपान्तरण गर्ने भन्ने खाले शिक्षाको वारेमा नि केही बुझ्ने र चेतना फैलाउने शुभ-अवसर प्राप्त भएको महसुस गरेका छन्, सरीतालाई देखेर !