~रन्जु ‘मार्ग’~
ईश्वरी देवी एक सामाजिक कार्यकर्ता थिईन् । उनी गाउँ गाउँमा जनचेतना फिजाउँदै हिँड्ने गर्थिन । समाजमा उनको निक्कै नाम र इज्जत थियो । त्यो दिनपनि उनको जनचेतना फिँजाउने एक महत्वपूर्ण कार्यक्रम थियो । उनी सुदूरपश्चिमाञ्चल क्षेत्रमा विधमान विभिन्न प्रथाहरु मध्ये ’छाउपडी ’प्रथाको बारेमा मन्तब्य दिईरहेकी थिईन् ‘हाम्रो देशमा अझैपनि विभिन्न किसिमका प्रथाहरुले जरो गाडेर बसेको छ । ती प्रथाहरु मध्ये ’छाउपडी’ प्रथा पनि एक हो ।
‘छाउपडी’ भनेको सुत्केरी वा रजस्वला भएकी महिलालाई घरमा नराखेर घर देखि अलिपर छुट्टै गोठमा राखिन्छ । त्यतिबेला उनीहरुलाई दुध दहि, माछा, मासु केहिपनि खान दिँदैनन । यदि उनीहरुले खाए भने घरका देवता, पितृ रिसाउँछन् । घरमा अनिष्ट हुन्छ भन्ने गहिरो मान्यता रहीआएको छ ।
यस्तो बेलामा महिलाहरु घरदेखि बाहिर गोठमा बस्नु पर्ने, पौष्टिक आहार खान नपाउने, राम्रो लुगा लगाउन नपाउनुको साथै गोठमा एक्लै बस्नुपर्ने हुनाले जंगली जनावरले आक्रमण गर्ने सम्भावना हुन्छ । यसबाट महिलाहरुको ज्यान जोखिममा पर्दैआएको छ । यो एक किसिमको महिलामाथि हुने हिँसा मात्र नभएर सम्पूर्ण मानव माथिको एक कलङ्क हो । यस्तो अमानविय कुप्रथालाई तपाई हामि सबै मिलेर समाजबाट हटाउनु जरुरी छ ।
उनको मन्तब्य सुनेर त्यहाँ भेला भएका सबै जनाले ताली पिटे । यता त्यतिनै बेला गाँउको एक युवक उनको नजिक गएर भन्दै थिए ’दिदि ! दिदि ! तपाइको बुहारीलाई छाउपडीको बेला बाघले झम्टिएर …….!!!! हजुर छिट्टै घर जानु परयो रे । त्यहाँ उपस्थित जमात निशब्द इश्वरी देवीलाई हेरिरहेका थिए ।