~बिजु सुवेदी ‘विजय’~
ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ । तर समाजले उसलाई उल्टै पागल सावित गर्दछ ।
उसलाई समाजले पागलखानामा भर्ना गर्दछ । आफू पागल होइन भन्ने कुरा उसले पागलखानामा सावित गर्दछ । तर समाजमा उसका परिवर्तित स्वरहरु सुपाच्य नभएकोले अर्को फेरि अर्को पागलखानामा उसलाई राखिन्छ । त्यहाँ पनि उसले आफू पागल होइन भन्ने पुष्टि गर्दछ । फेरि समाजमा आइसकेपछि समाजलाई उसको कुरा पच्दैन । यसरी पागलखानामा जाने र आउने क्रममा ऊ उक्त शहरको सबै पागलखानामा आउने जाने भइसकेको हुन्छ र ती सम्पूर्ण पागलखाना बारे राम्ररी जानिसकेको हुन्छ । तर ती प्रत्येक पागलखाना सञ्चालकहरुले उसलाई सद्दे बनाएको भनेर सबभन्दा अगाडि प्रदर्शन गर्न भने चुक्दैनन् ।
प्रत्येक पागलखानामा उपचार गर्दा ती पागलखानाहरुमा आफूजस्तो कुनै नराम्रो लतमा नलागेको कोही भर्ना गरिएका थिएनन् । त्यसैले उसको उपचार पागलखानाले कुलतमा लागेका मान्छेलाई उपचार गर्ने जसरीनै उपचार गर्न खोजेका थिए । यो उसले आफैले प्रत्यक्ष भोगेको थियो । यस्तो कुरा उसलाई ती पागलखानाहरुमा पाच्य भएको थिएन ।
तर समाजको यस्तो ऊप्रतिको सधैंको वैमनस्यताको भावनाले गर्दा उसको दिमागले थाम्नै नसकिने बोझ उसलाई हुन्छ । अब उसको दिमागले साँच्चिकै राम्रोसँग काम गर्न छोड्छ । त्यसैले उसले आफ्नो दिमागको उपचार गराउनुपर्ने अवस्थामा आफू आएको महशूस गर्दछ ।
तर त्यत्तिबेला ऊ जस्तो सद्दे मानिसको उपचारको लायक , मानसिक उपचारकेन्द्र उसले कतै देख्दैन ।