~गिता थापा~
घाम खपिनसक्नु भएर चर्केको छ। उखरमाउलो गर्मीको प्रभा नगरि मकै गोडेर आयो राउत जेठो । स्वास्नी ढोडको आगोमा गुन्द्रुक तताउँदै थिई । ‘मरिने भइयो । यसपाली त झन् पोहोर परारको साल भन्दा पनि गर्मी छ बा ! यो के हुन आँटेको हो ? ‘ राउत जेठो पिँढीमा टुक्रुक्क बसेर शिरको टोपी झिकेर हम्किन थाल्यो ।
भित्रबाट स्वास्नी कराई ‘ए डल्लेका बाउ, भोकायौ होला ! लु आऊ ढिँडो खान ।
‘ल ! ल ! पस्किँदै गर । आएँ ।’ स्वास्नीलाई अह्राइ राखेर राउत जेठोले गाग्रीबाट एक औंखोरा पानी सारेर हात खुट्टा पखाल्यो । र चुलोमा गएर काठको पिर्कामा पलेटी कसेर बस्यो ।
स्वानीले ढिँडोको डल्लो र गुन्द्रुकको झोल उसको अघिल्तिर राखिदिइ । हातमा ढिँडो डल्लो पार्दै भन्यो ‘आज दही, मोहीको, सेतो पानी छैन केटी ? ‘
‘छैन । हिजो साँझको दूध नैने बोगटीकोमा सत्यनारायाणको पूजा लगाउने भनेर उतै पठाइदिएँ ।’
‘यो गुन्द्रुकको झोलसँ’ग उसो भए आज कसरी ढिँडो निल्नु त ? ‘
‘अब आज एक दिनलाई जसरी पनि निल बुढा । के गर्छौ त ? छिमेकमा बसेपछि छिमेकीको भर अभर पनि बुझ्नै पर्यो । पूजा जस्तो शुभकार्यमा कसरी हुन्न भन्नु ? भन्ने मुखै लागेन ।’
स्वास्नीका कुरा मननगर्दै राउत जेठोले अर्को डल्लो ढिँडो हातमा बटार्दै भन्यो ‘मङ्सिरमा चुनाव हुने भएछ । भोटमाग्न दुइचार दिन त गाउँघरतिर हिँड्नुपर्छ है दाजै’ भन्दै थियो रत्ने बुढाथोकीले ।
स्वास्नीले निधार कच्याककुचुक्क पारेर नाकका पोरा फुलाउदै भनी ‘पर्दैन यो भन्दा अघि अघिको चुनावमा रातदिन भोकनिद्रा माया मारेर जाँदा के नापियो ? हामी जस्ता गरीब निमुखाको न नुन टर्यो । न भुटुन टर्यो । न जिउँको थोत्रो कपडा फेरियो । न बर्षामासमा चुहुने छानो टालियो । नेताले कुर्सी पाउछन् । गाउँका रत्ने बुढाथोकी जस्ता लाउकेका घरमा चामलका बोरा भित्रिन्छन् । आगनमा घोर्ले खसी ढल्छन्।हुँलाशको जस्तापाताहरूले घरको छानो रंगिन्छ । हामी भने सधैं भोकाका भोकै । नाङ्गाका नाङ्गै ।
त्यसो भनेर मुख बटारेर पनि पो सुख पाइदैन । कहिलेकाहीँ आफूलाई आपतबिपत पर्दा लौन भाइ मेरो यति गर्जो टारिदेऊ । अथवा साह्रो गाह्रोमा कतै एक दुई शब्द बोलिदेऊ भनेर मुख फोर्ने तिनै हुन् । तिनैसित दुश्मनी मोलेर पनि नहुने ।
खानपिनको लन्ठो सकेर राउत जेठो ‘एक झप्को निदाउँनु पर्यो’ भन्दै चोटातिर उक्लियो । स्वास्नीले गाईलाई गोठबाट निकाली । बारीको पाटोमा लगेर वर्तिर-पर्तिर घुमीघुमी चरोस् भनेर दाम्लो लामो पार्दै काठको मुङ्ग्रोले कीलो ठोक्दै थिइ । एक्कासी आकाशमार्गबाट हवाइजाहजको चर्को आवाज सुनेर गाई बुरुक्क बुर्कुसी मारेर पुच्छर बटार्दै तीन कान्ला मुन्तिर झर्यो । राउत जेठोका परेली ढपक्क भएर ढप्केका मात्रै थिए ।
स्वास्नी बारीकोपाटोबाटै घाँटीका नसा चुडिने गरेर चिच्याइ ए!डल्लेका बाउ गाईको साँढे उफ्रिएर तीन कान्ला मुन्तिर झर्यो । अब म एक्लैले समात्न सक्दिन । तिमी यहाँ आऊँ र गाई समातेर ल्याऊँ । अनि तिम्रो त्यो नेतालाई भन यहाँ हाम्रा वस्तुभाउ तर्सिन्छन् भोटमाग्न आउँदा हावाइजाहजमा चढेर मुन्टिने होइन ।
स्वास्नीका कुराले राउत जेठो जिल्ल पर्यो ।