~गीता थापा~
आक्कलझुक्कल बाउआमाको भनाभनसम्मको द्रिष्य देखेका थिए उसका आँखाले । तर बाउले आमाको शरीरमा निलडाम हुनेगरि मुक्का बर्साएको भने कहिल्यै थाहा पाइन उसले । कहिलेकाहिँ आमालाई सोध्ने गर्थी ऊ ” के बिषयमा भनाभैरी हुन्छ हुन्छ आमा ?” तर आमाले लोग्ने स्वास्नीको झगडा परालको आगो भनेर टार्थी । त्यसपछि ऊ ती कुरालाई लम्ब्याउन चाहन्न थिई ।
ऊ क्याम्पस भर्ना भएकै पहिलो वर्ष अचानक उसको बाउको सुतेकै ठाउँमा मृत्यु भयो । उ मुनि मसिना भाइ बहिनी थिए । उसले पढाईलाई एस.एल.सीमै पूर्णविराम लगाउनु पर्यो । मनमनै दुखि थिई । तर त्यो दु:ख अनुहारसम्म कहिल्यै आउन दिईन उसले । किनकी ऊ पहिलो सन्तान भएकोले घरको अवस्थाको ज्ञान थियो ।
‘सानोतिनो नोकरी गर्न पाए त पढाईलाई निरन्तरता दिन र घर खर्चमा सहयोग हुन्थ्यो’ भन्ने कुरा खेलिरहन्थे उसको दिमागमा । एक दिन उसले आमासँग आफ्नो साथीको बाउको गार्मेन्ट कारखानामा जागिर खाने कुरा सुनाइ । तर आमाले उसको त्यो प्रस्ताव स्वीकार गरिन । बरु बेलैमा विवाह गरेर घरजम बसाउने सल्लाह दिइ । आमाको वचन काटेर उसले जागिर खाने हिम्मत गर्न सकिन । त्यसैले आमाले भनेकै केटासँग विवाह गर्ने राजी भई ऊ ।
बाउले जोडेको दशधुर घडेरी बेचेर आमाले उसको विवाह राम्रैसँगले गराइ । विवाह गर्नुपूर्व “केटा गैह्र सरकारी संस्थामा जागिरे छ । राम्रै कमाई गर्छ” भनेर लमीले कुरा ल्याएको थियो । तर केटो आवारा भएको सत्य विवाह पछि मात्रै थाहा पाइ उसले । अब के गर्न सक्थी र ऊ । जे थियो त्यसैलाई स्वीकारेर अघि बढ्नु विकल्प थिएन ।
एक रात लोग्नेले जाड खाएर उसँग धेरै झगडा गर्यो । भनाभन मात्रै होईन, लोग्नेले उसको गालासमेत चड्कायो । उसले आमाले भनेका कुरा सम्झि “लोग्ने स्वास्नीको झगडा परालको आगो । तर बाउले आमाको गाला कहिल्यै चड्काएन । उसको झगडा आमाको भन्दा अलग थियो । रपनि पहिलो पटक भएकोले नराम्रो सपना सम्झेर भुल्ने विचार गरि । तर अवस्था उसले सोचेको जस्तो भएन । लोग्नेले उसको गाला हरेक साँझ चड्काउन थाल्यो ।
त्यसपछि ऊ ‘आमासित सल्लाह गर्नु छ’ भन्दै माईत गई । आमालाई सबै कुरा बेलीविस्तार लगाई । कुरा सुनिसकेर आमाले भनि ‘सानोतिनो झगडा कसको घरमा हुँदैन ? एक दुई झाप्पड खाँदैमा सबैले घर छोडेर हिँड्न थाल्ने हो भने यहाँ सबै एक्ला-एक्लै हुन्छन् । त्यसैले घर तोड्न होईन जोड्न जान्नुपर्छ । आफूले खाएको थप्पड भूलेर आमाको कुरामा गम्भीर भई ऊ ।