~गीता थापा~
उनको पुरै उमेर जागिरमै ब्यतित भयो । खाइ लाई उभ्रेको दुई चार पैसा बचाएर जोडेको एउटा घर छ उनिसित । श्रीमतीले चार चार सन्तान जन्मदिए पनि अन्तिममा एउटा छोरा बच्यो । त्यहि भा’को छोरा पनि उच्च शिक्षाको लागि अमेरिका पुगेको छ । छोरा सम्झेर कहिलेकाहीँ त जोइपोइको श्वास फुल्छ । गह भरिन्छन् ।
उनी बिहान उठेर चिसो हावा खान निस्किछन् । केहिबेर घुमफिर गर्छन् । घर फर्किँदा उसिनेको फुल र एक गिलास दूध तयार पारिसकेकी हुन्छे श्रीमतीले । खाँदै पत्रिकाको समाचारमा नजर डुलाउँछन् उनी । र वगैंचामा पस्छन् । फूलमा पानी हाल्छन् । फूल वरपर उम्रिएका झारपात मिल्काउँछन् । उनी सानैदेखि फूलको अतिनै शौखिन हुन् ।
खानपिन सकेर सुत्नु अघि श्रीमतीले भनी “राम्री केटी हेरेर यसपाली छोराको विवाह गर्दिन पाए ! घरको सारा जिम्मेवारी बुहारीलाई सुम्पिएर धर्म-तिर्थको लागि निस्किनु हुन्थ्यो ।”
श्रीमतीले लामो हाइ काढेर आफूभित्रको आलस्यता धपाइ । निक्कैबेर गमेपछि श्रीमानको वाक्य फुट्यो “अहिले केको हतार ? पढ्दै छ । हाम्रो स्वार्थको लागि एकोहोरो निर्णय गर्नु उचित हुन्न । फेरि अचेलका केटाकेटी आफ्नो बारेमा आफैं निर्णय गर्छन् । हामीलाई बुहारी चाहिएर मात्रै पनि भएन । छोरालाई पनि स्वास्नीको आवश्यक हुनुपर्यो । फेरि विवाह जस्तो कुरामा जवर्जस्ती गर्नु ठीक हुँदैन । अब गन्थन बन्द गरेर निश्चिन्त भएर सुत । समय आएपछि बुहारी भित्र्याउने, धर्म-तिर्थ गर्ने सबै इच्छा पूरा हुन्छन्।” त्यसो भन्दै श्रीमानले भित्तातिर फर्किएर आँखा चिम्लिए । श्रीमती पनि पल्टिएर निदाउने क्रममा लागि ।
सधै झैं श्रीमान बिहान उठेर बाहिर निस्किए । घर फर्किँदा श्रीमतीको चालचुल थिएन । उनी दगुरेर कोठामा पसे । श्रीमती चिर निद्रामा मस्त झैं देखिन्थी । उनले श्रीमतीको पाखुरामा समातेर उठाउने चेस्टा गरे । तर श्रीमतीले आँखा खोलिन । विवश भएर टेबुलमा राखेको गिलासको पानी मुखमा छ्याप ! पारेर छ्यापिदिए । तै पनि श्रीमतीका टालिएका आँखा उघ्रिएनन् । हतार हतार डाक्टरलाई फोन लगाए ।
डाक्टर आएर स्टेथेस्कोप लगाएर जाँचे पश्च्यात हृदयघातले श्रीमतीको मृत्यु भइसकेको घोषणा गरिदियो। उनी इन्तु न चिन्तु भएर जडवत् उभिरहे ।