~गीता थापा~
दुईजना साथी थिए । ति दुईले सानामा स्कूल सँगसँगै पढे । कलेज पढ्ने बेलामा ति दुईको बिषय अलग भयो । बिचार अलग हुन पुग्यो । एउटाले होटेल म्यानेजमेन्ट पढ्ने सोच बनायो । अर्कोले इन्जिनियर पढ्ने निर्णय गर्यो । कलेज पनि भिन्नभिन्नै रोजे । तिनले ।
दुबै लागे आआफ्नो सपना पूरा गर्न । पढ्दै गए । पढाइ सकियो । त्यसपछि आआफ्नो योग्यता अनुसार तिनले कामको आआफ्नो क्षेत्र सम्हाले । समय सँगसँगै।।। तिनको उमेरको शिखर पनि अग्लिँदै गयो । विवाह गरे । विस्तारै सन्तान भए । अनि त घरव्यवहारको बोझ । परिवारको जिम्मेवारी । भविष्यको चिन्ता दिनप्रति दिन थपिन थाल्यो । ति दुई बस्न त एउटै सहरमा बस्थे । तर तिनलाई एकअर्कासँग भेट्ने फुर्सतसम्म हुँदैनथ्यो ।
एक दिन कसो कसो संयोगले ति दुई साथीको अचानक भेट ठमेल चोकमा भयो । एकछिन् दुबै एक अर्कालाई खुट्टादेखि शिरसम्म नियालेर जिल्लिए । केहिबेर पश्चात आफ्नो जिल्लिएको अवस्थालाई सुधार्दै एउटाले सोध्यो-के छ यार खबर ?
अर्कोले निन्याउरो अनुहार लगाएर जवाफ दियो -के हुनु यार । सधैंको तनाव । पीर । चिन्ता । अभाव । तेरो के छ सुनान ?
साथीले जवाफ दियो-मेरो सबै ठीक छ ।
तँ त निक्कै खुसी पनि छस् । खजना हासिल गरिस् कि क्या हो ?
खुसी हुनलाई कुनै भौतिक खजना प्राप्त गरिरहनु पर्दैन । हामी भित्रै छ यार खजना । हामीलाई थाहा हुनुपर्छ सासाना कुरा मिलेर एउटा ठुलो कुरा बन्छ । तँ आज यी सहरवासीका महल पजेरो देखेर बेखुसी छस् । सोच्तो होलास्, तिनीहरूको अनुपातमा मैले प्रगति गर्न सकिनँ । त्यसो हो भने तँ अज्ञानी होस् । अज्ञानी मात्र होइन । पटमुर्ख होस् ।
कसरी ?
तँ तिनीहरूलाई होइन । हिजो आफ्ना बाउ बाजेका अवस्थालाई सम्झि । आजको आफ्नो प्रगतिलाई मूल्याङ्कन गर । आज तँसँग जागिर छ । कम्प्युटर छ । मोवाइल छ । मोटरसाइकल छ । टाइसुटमा सजिएको छस् । तर पनि तेरो ओँठमा हाँसो छैन । आफ्नो प्रगतिमा खुसी छैनस् । सोच त हिजोका ति बाउबाजेलाई कछाड र भोटो पहिरिएर । एक मानो भटमास । दुइ चार मानो गुन्द्रुक । दुइ चार मुठा रायको साग बेचेर गुजारा गर्थे । तर गालाको रगत तप्प भूइँमा चुहुला जस्तो लाग्थ्यो । हँसिला रसिला कति खुसी थिए । घरमा आउने पाहुनाको कति स्वागत सत्कार गर्थे । गाउँ छिमेकमा मैत्रिपूर्ण प्रेम सद्भाव राख्थे ।
बाँसको कलम अंगारको कालोपानीमा चोबेर लेख्थे,पढ्थे । तँ आज पाइलोट पेनले लेख्छस् । ईन्टरनेट चलाउँछस् । आधुनिक जमानाको भौतिक सुख सुविधा भोगेर देश विदेशसँग प्रतिस्पर्धा गर्न सक्छस् । यो भन्दा प्रगति र सुख के हुन्छ जीवनमा ?
त्यसपछि दश वर्ष देखि हाँस्न नसकेको साथी पनि दिल खोलेर हाँस्यो । हा हा हा हा हा ।।।। फेरि दुबै हाँसे सँगसँगै । हा हा हा हा हा ।।।। बिना सम्वाद ति दुईको ओँठबाट हाँसोको अमृतमय धारा बहिरह्यो ।