लघु कथा : छोरो मोह

~गीता थापा~

उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतिक्षा गरिरहेकी थिइ । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अंकमाल गरि । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते व्याक च्यापेर उसको पछि लागें । ऊ कार पार्क गरेको ठाउँमा पुगेर टक्क अडिइ । सुटकेश डिकीमा थन्क्याइ । जिन्स प्यान्टको गोजिबाट साँचो झिकेर कार स्टाट गरि । उसको आत्मविश्वास देखेर ‘वाउ ! क्या जिन्दगी’ सोच्दै उसको छेउमा बसें ।

हामी विपरित ध्रुवका दुई तारा । म अबिकसित, अशिक्षित र गरिबमुलुककी महिला । ऊ बिकसित, शिक्षित र धनी मुलुककी स्वतन्त्र महिला । मेरो लवाइ, खवाइ, हिँडाइ र बोलाईमा उसको जस्तो उदारता थिएन । मेरो स्वभावमा तीन कुरा झल्किन्थे, डर त्रास र शंकोच ।  ऊ भने डर, त्रास शंकोचरहित निस्फिक्री थिइ । टाइट जिन्स प्यान्ट र पारदर्शी टिसर्टमा बेरिएको उसको सलक्क परेको शरीर । उसको शरिरबाट आएको अत्तरको वासनाले भने मेरो टाउको घुमाउँथ्यो । तर म त्यो भाव अनुहारमा आउन दिन्नथें । ऊ भने मेरो शरीरबाट आउने तितेपातीको सुगन्धलाई दुर्गन्ध सम्झिएर नाक, मुख र निधार एकैचोटी खुम्च्याउँदै बट्टाबाट चुरोट झिकेर सल्काउँथी । उसलाई इरिटेट गराउने त्यो दुर्गन्ध चुरोटको धुँवासँगै फुरुरु पारेर झ्यालबाट बाहिर फुक्थी । म बुझे पनि नबुझेको बहानामा घुसे मुन्टो लगाएर हातका औंला खेलाइरहन्थें । घरिघरि आँखा जुद्दा म ङिच्च दाँत देखाईदिन्थें । ऊ पनि फिस्स हाँसे जस्तो गर्थी ।

 घर पुर्याएर एक हप्ता जति खाना बनाउने, खुवाउने तौरतरिका र औषधी दिने समय तालिकाबारे सुझाइ उसले मलाई । अब म उसकी हजुरआमाको ईशारामा नाच्न सक्ने भएँ । ऊ हामीसँग बस्दिनथिइ । उसको घर हजुरआमाको भन्दा दुई घर मास्तिर पर्थ्यो । दिनको दुई तीन पल्ट फोन गरेर बुझ्थी ’औषधी दिइस ? खाना खुवाइस् ?’

शुक्रबार किनमेल गरेर ल्याउँथी उ । शनिवार बिहान खाना खाने गरि उसका सपरिवार आउँथे । म त्यो घरमा काम गर्न थालेको पत्तै नपाई दुई वर्ष बितेछ । ति दुई वर्षमा उसले दुइटी छोरी जन्माइ । उसकी पहिल्यै एक छोरी थिइ । अब ऊ तीनटी छोरीकी आमा भइ । उसको फेरि अर्को गर्भ रहेको थियो । जन्मेका नानीहरूले भूइँ छाडेका छैनन् । उ चाहिँ अझै गहुंगी हुँदै कस्तो अचम्म ? म भित्रभित्रै छक्क पर्‍थें । उकुस मुकुस भएर एक दिन मैले उसलाई सोधिछाडें- एरिका तेरा पहिल्यै तीनटी छोरीहरू छन् । फेरि तँ गर्भवती ? के तीनटी छोरी सन्तानकारुपमा काफी छैनन् र ? उसको मुखबाट मैले नसोचेको जवाफ फुत्त निस्कियो “तर एउटा छोरा चाह्यो नी ।”

 उसको छेउमा हाँस्दा असभ्य र उसलाई गिज्याएको हुने । त्यसैले म बाथरूमभित्र छिरेर खित्त्का छाडेर हाँसें । यो सोचेर बिकसित मुलुकका प्राणीको गिदिमा अझैंसम्म पनि छोरारुपी हाउगुजीले त्रसाउन छोडेको रैनछ । शायद मेरो चर्को हाँसोले उसका कान घोचेछन् क्यार ! उसले बाथरूमको ढोका ढकढक्याउँदै सोधी- आर यू ओके ? यस आइएम ओके । त्यसपछि म ढोका घुरुक्क उघारेर बाहिर आएँ । उसले मेरो अनुहार वाल्ल परेर नियालिरही । तर केहि बोलिन ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.