~प्रदीप नेपाल~
२०६५ साल, भदौ ६ गतेको बिहान । पाँच बज्न केही मिनेट मात्र बाँकी थियो । हिमाञ्चल भट्टराईको फोन आयो, “एउटा अत्यन्तै दुःखद समाचार सुनाउँदैछु – अग्निशिखा हामीसँग रहनु भएन । म गङ्गालाल हृदयरोग केन्द्रबाट बोल्दैछु ।”
अपत्यारिलो थियो समाचार । अग्निशिखा बिमार भएर सुतेको सुनेको थिइन । उमेर मभन्दा झण्डै डेढ वर्ष कान्छै हुनुहुन्थ्यो । लामो समयदेखि हामी सँगसँगैको सहकार्यमा थियौँ । अग्निशिखा आन्तरिक बिमारीको शिकार भएको जानकारी पनि मसँग थिएन । त्यसैले त्यो फोन मेरा लागि पत्याउनै नसक्ने समाचार लिएर आइदियो । हो भन्न मनले नमान्ने, होइन भन्न परिस्थितिले नदिने किनभने हिमाञ्चल भट्टराई, अग्निशिखाको नाताभित्रको मान्छे हुनुुहुन्थ्यो । अग्नि र म दुवैको साथी हुनुहुन्थ्यो । एकछिन नौनारी गले । बाहिर उदास अनुहार बोकेको आकाश खुल्दै थियो ।
त्यतिबेला मलाई अन्तिम संस्कार कसरी गर्ने भन्ने चिन्ता लागेन । हतार-हतार मैले पत्रकार मित्रहरूको फोन मिलाउन थालेँ । जसलाई समाचार सुनाउँदा पनि ‘हँ ?’ भनेर झस्किएको मात्रै पाएँ मैले । उहाँका र मेरा केही साझा नातेदारहरूलाई पनि मैले फोनबाट यो समाचार दिएँ । उहाँहरूले पनि समाचारको सत्यतामाथि विश्वास गर्न चाहनु भएन । त्यस्तो सज्जन मान्छे , यत्तिकै हामीलाई छोडेर कहाँ जानसक्छ ? टेलिफोनमा नसुनिए पनि प्रत्येकको निश्वासमा यही सुस्केरा हुन्थ्यो । कसैलाई अत्तोपत्तो नदिई यति सजिलै अग्निशिखा जानुहुन्छ भनेर कसैले पत्याउनै मानेन ।
हामी कसैको मनले नमाने पनि अग्निशिखाले यो समाजलाई छोडिसक्नु भएको थियो । बढीमा दिनभरिका लागि उहाँको पार्थिव शरीर हामीसँग हुनसक्थ्यो । भरेको साँझले उहाँलाई हामी सबैबाट चुँडाएर लग्ने नै थियो ।
एफ.एम. रेडियोबाट साहित्यकार, पत्रकार अग्निशिखा रहनु भएन भन्ने समाचार सुनेपछि, टेलिभिजनको पर्दामा त्यही भाकाको समाचार पढेपछि मैले मनमनै अग्निशिखालाई बिदा गरेँ । गह्रुँगो र अँध्यारो शून्यताले छोप्यो मेरो मानसलाई शून्य भएजस्तो लाग्यो यो सिङ्गो संसार नै मलाई । किन ? थाहा छैन । एउटा सहयोद्धा गुमाएर ? त्यो पनि हुनसक्छ । एउटा घनिष्ट मित्र गुमाएर ? त्यो पनि हुनसक्छ । जे पनि हुनसक्छ । नौनारी गल्ने भन्छन् नि गाउँघरतिर । त्यस्तै भयो मलाई एक्कासि । केही लेख्न मन लागेन कम्प्युटरको पर्दामा किनभने बिदाइको त्यो क्षणमा धेरै सम्झनाहरू तरङ्गति भए ।
मैले कहिले चिनेँ अग्निशिखालाई ? थाहा छैन । हाम्रा पुर्खाहरू एउटै भएको हुनाले सायद त्यत्तिकै चिनाजान भयो होला । २०४२ सालमा म उपत्यकाको जिम्मेवारी सम्हालेर काठमाडौँ आएँ । काठमाडौँको पार्टी साह्रै कमजोर थियो त्यतिबेला । सहरभित्रको अलिअलि थालिएको काम धेरै सेलाएको थियो । बाहिरबाट आएका काठमाडौँको ठर्रो भाकाका पर्वतेहरू नै काठमाडौ जिल्ला कमिटीका सदस्य हुनुहुन्थ्यो । ललितपुर र भक्तपुरको स्थिति पनि झण्डैझण्डै उस्तै थियो । बाहिरबाट आएर काठमाडौँमा काम थाल्नु भनेको साह्रै गाह्रो काम थियो उतिबेला । त्यसैले उपत्यकाको जिम्मेवारी पाएपछि मै रैथाने साथीहरू खोज्ने काममा भिडेँ । यही खोजीको उपहार हुनुहुन्थ्यो अग्निशिखा ।
भूमिगत कालमा काठमाडौँमा घरबास भएका साथीहरूले हामीजस्ता पूर्णकालीन कार्यकर्तालाई आफ्नो घरमा दसैँ मान्न बोलाउनु हुन्थ्यो । जीवन अत्यन्तै आत्मीय र एकात्मक हुन्थ्यो त्यस्तो बेलामा । चाबहिलको कुनै घरमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । परिचयको क्रममा मैले अग्निशिखालाई त्यहीँ ख्याल गरेको थिएँ किनभने उहाँले आफ्नो घर चाबहिलमै रहेको जानकारी गराउनु भएको थियो ।
राजनीति र पत्रकारिताको मैदानमा झ्वाम्लाङ्ग हामफाल्नु अघि अग्निशिखा शिक्षा मन्त्रालयको कर्मचारी
हुनुहुन्थ्यो- शुकदेव नेपालको नाममा । यद्यपि मैले उहाँलाई शुकदेव नेपालका रूपमा तीन वर्ष अघि मात्र चिनेको हुँ तर पनि सरकारी खातापाताहरूमा उहाँको नाम शुकदेव नेपाल नै रहिरहृयो । राजनीतिले नौलो मोड लिएपछि मैले नै उहाँलाई सल्लाह दिएँ, “पेन्सन भैसकेको छ भने तपाईं जागिर छोड्नुस् । हामीलाई साहित्य, पत्रकारिता र पार्टी तीनै क्षेत्रमा रैथाने साथीहरूको खाँचो छ । चाबहिल इलाका प्रगतिशील साहित्यको केन्द्र बनेको छ । रमेश विकलको अग्रज पुस्तादेखि तपाईंहरूसम्मको पुस्ता चाबहिलमै चलखेल गरिरहेको छ … ।”
भाषण मैले लामै गरेँ । उहाँलाई त्यसले छोयो कि अरूहरूसँग पनि सरसल्लाह गर्नुभयो – केही कालपछि उहाँले जागिरबाट राजीनामा दिएको जानकारी गराउनुभयो मलाई ।
झण्डै बीस वर्षको सहकार्य रहृयो हाम्रो बीचमा । उहाँले पत्रकारितालाई आफ्नो मूल पेसा बनाउनुभयो । म प्रचार विभागको प्रमुख भइरहेँ । पछिल्लो कालमा मैले उहाँलाई प्रचार विभागको सदस्यमा सिफारिस गरेँ र विभागले उहाँलाई सर्वसम्मतिबाट आफ्नो सचिव चुन्यो । १५ वर्ष उहाँले सचिवको कार्यभार सम्हाल्नु भयो । १० वर्ष मैले प्रचार विभागको जिम्मेवारी सम्हालेँ । प्रकारान्तरले पाँचौ महाधिवेशनपछिको १५ वर्ष हाम्रो सहकार्यको काल रहृयो ।
अग्निशिखामा एउटा प्रतीक्षा हुन्थ्यो सधैँभरि । अब के गर्ने ? उहाँका आँखाले प्रश्न गरिरहन्थे ।
अग्निशिखाले कविताबाट आफ्नो साहित्यिक जीवनको आरम्भ गर्नुभयो । विद्रोह ? उतिबेलाका, अर्थात् २०३० को दशकका युवाहरूको यो एउटा स्वभाविक गति थियो । पञ्चायती राजको निरङ्कुशताको चरम रूप गाउँर्फक राष्ट्रिय अभियान तथा त्यो चरमताका विरुद्धको ०३५/३६ को विद्यार्थी आन्दोलन र त्यो आन्दोलनको प्रतिफलका रूपमा जन्मिएको जनमत सङ्ग्रह ३० को दशकका नमूना परिचय हुन् । त्यो विद्रोहचेतलाई आत्मसात् गर्दै धेरै युवाहरूले कवितामार्फत त्यसमा प्रवेश गरे । समाजवादको सपना देख्ने नेपाली युवाहरूको एउटा प्रतिनिधि पात्र भएर अग्निशिखाले लेख्नुभएको रक्तबीज अहिले पनि विद्रोह बोलिरहेछ ।
कवितापछि उहाँ उत्रनु भयो नाटकमा । उहाँले गद्य र गीति, दुवै भाकामा नाटकहरू लेख्नुभयो । नेपाली समाजका भिन्नभिन्न समस्यालाई उद्घाटन र दिशावोध गराउने ती नाटकहरूले उहाँलाई साहित्यिक संसारमा परिचित गरायो । उहाँले लहर र उत्साहजस्ता साहित्यिक पत्रिकाहरूको सम्पादनमा पनि आफ्ना घनिष्ट मित्रहरूसँग सहकार्य गर्नुभयो ।
०४६/४७ को सफल जनआन्दोलनपछि उहाँ छलफल, दृष्टिजस्ता त्यतिबेला पार्टीद्वारा सञ्चालित साप्ताहिक पत्रिकाहरूको सम्पादक हुनुभयो । आफ्नो मिलनसार स्वभावका कारण उहाँ पार्टी बाहिरको पत्रकारितामा पनि सहज ग्राहृय व्यक्ति बन्नसक्नु भयो । एक्काइसौँ शताब्दी तथा प्रतिपक्षजस्ता पत्रिकाहरूमा पनि उहाँले सम्पादकको जिम्मेवारी अङ्भर गर्नुभयो ।
पछिल्ला दिनमा मैले उहाँलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्च र समाजवादी मान्यताका बारेमा टिप्पणीहरू लेख्ने जिम्मेवारी सुम्पिएँ । उहाँ पहिलेदेखि नै फाट्टफुट्ट अन्तर्राष्ट्रिय मुद्दाहरूमा टिप्पणी लेख्नुहुन्थ्यो । ती पठनीय लाग्थे । त्यसैले नवयुगको सम्पादन कार्यमा सहभागी भएपछि उहाँको भागमा अन्तर्राष्ट्रिय विषय, जिम्मेवारीको अंश हुनपुग्यो । आफ्नो समाजवादी मान्यतालाई प्रस्फुटीकरण गर्ने मौका पनि उहाँले त्यसमा पाउनुभयो । आखिरी दिनहरूमा उहाँको परिचय विश्व समाजवादी आन्दोलनका जराजुरी खोतल्ने लेखकमा रूपान्तरित भैसकेको थियो ।
खाली लेखक, कवि अथवा नाटककार भएर मैले अग्निशिखालाई सम्भिmन खोजेको होइन । अग्निशिखाजस्ता मानिसहरू समयका नमूना हुन्छन् । विशेष गरेर अहिलेको नेपाली राजनीतिका लागि अग्निशिखाहरू चाहिएका छन् । अग्निशिखाले वामपन्थताको राजनीति तीन दशक अगाडि आरम्भ गर्नुभयो । बहुदलको आगमनसँगै उहाँको राजनीतिचेत र कर्म हृवात्तै माथि उठेर गयो । जीविका साधनका लागि उहाँले कलमलाई आफ्नो साथी बनाउनुभयो भने पार्टीले सुम्पिएका जिम्मेवारीलाई उहाँले आफ्नो मुख्य काम बनाउनुभयो । अहिलेको नेपाली राजनीतिमा मैले यति वर्ष काम गरेँ, अब मेरो पनि ब्याज पाक्न थाल्यो भन्ने चेतना बाक्लरी हुर्किएको छ र यो धमिरे चेतनाले कुनै पनि पार्टीलाई मक्किएको काठ बनाउने कुरो पनि सुनिश्चित छ तर अग्निशिखाले कहिल्यै आफ्नो लगानीको ब्याज उठाउने कुरो सोच्नुभएन ।
पार्टीले जे दिन्छ त्यो अङ्भर गर्ने, जे दिँदैन त्यसका बारेमा आफूबाहेक अरूसँग कुनै गुनासो नगर्ने स्वभावका मानिसहरू अहिले नेकपा एमालेभित्रै पनि थोरै नै छन् । पछिल्लो कालमा एक साँझ उहाँले मलाई फोन गर्नुभयो र भन्नुभयो, “मैले नयाँ पत्रिका र अनुवादका काममा समय धेरै दिनुपर्ने भयो । त्यसैले मैले प्रचार विभागको सचिवबाट बिदा लिने विचार बनाएँ । काम थोर गर्ने, पद सचिव लिने कुरो मलाई त्यति राम्रो लागेन । तपाईं के भन्नुहुन्छ ?”
मैले भन्ने केही थिएन । त्यसैले मैले केही भनिन । हामीले केहीबेर प्रचार विभागमा सहकार्य गर्दाको संस्मरण गर्यौँ । नवयुगले निरन्तरता पाए हुन्थ्यो भन्ने चिन्ता जाहेर गर्यौँ ।
भदौ महिनाको आरम्भतिर हुनुपर्छ, अग्निले फोन गरेर मलाई भन्नुभएको थियो, “म एउटा पुस्तकको तयारी गर्दैछु समाजवादी आन्दोलनसम्बन्धी । त्यसैले यतिबेला नयाँ पत्रिकामा पनि ढुक्कले समय दिन पाइरहेको छैन । म तपाईंका टिप्पणीहरू चाहिँ नियमितरूपमै पढिरहेको छु ।”
माथिका शब्दहरू औपचारिक भएजस्तो लागिरहेछ । अग्नि र म बीचको सम्बन्ध यस्तो औपचारिक कहिल्यै रहेन । अरूसँग त्यस्तो सम्बन्ध रहृयो कि रहेन अग्निको मलाई थाहा छैन तर हामी कहिलेकाहीँ भावुक चर्चाहरू गथ्र्यौँ । त्यो चर्चा काभ्रे जिल्लाको मण्डनबाट आरम्भ हुन्थ्यो र जताततै छरिन्थ्यो । चैत महिनाका उराठ दिनहरूमा, प्रचार विभागको गर्मिलो छतमुनि बसेर, आफू दुई जना मात्र भएको बेलामा हामी बुद्ध जयन्तीका दिन मण्डनको जोगिटारमा जाने र रक्तपातरहीत मनाइने दिवालीमा सामेल हुने सपना देखिरहेका हुन्थ्यौँ । यद्यपि हामी सँगै दिवाली मनाउन कहिल्यै गएनौँ । २०६४ मा हामी दुई जना दिवालीपछिको पन्ध्र/सोह्र दिनमा जोगिटार पुगेका थियौँ र यहीँबाट हाम्रो बलो छुट्टयिो भनेर ठट्टा पनि गरेका थियौँ ।
अग्निशिखाकी छोरी र मेरी छोरी एकै ब्याचका चिकित्सा विज्ञानका विद्यार्थी थिए । दुवै अहिले डाक्टर बन्ने माथिल्लो सिँढीमा पुगेका छन् । ती छोरीहरूलाई सम्भिmँदै हामी हाम्रो मित्रताको दीर्घकालीनताको चर्चा गथ्र्यौँ र आफूहरूको गन्थनमा कल्पिदै खिस्खिस् हास्थ्यौँ पनि ।
सपनाहरू न हुन्, एकछिन देखिन्छन्, त्यसपछि हावासँगै उडेर कतै हराउने गर्छन् ।
शुकदेव नेपालहरू जन्मिएलान् समय समयमा, तर अग्निशिखाहरूको निरन्तरता असम्भव त भन्न हुँदैन तर शुकदेव जत्तिको सहज पनि मान्न सकिँदैन । अग्निशिखालाई निस्पृह त भन्दिन म तर आफ्ना लागि यो हुनैपर्छ भन्ने अहिलेका दर्जनौँ राजनीतिक नेताहरू भन्दा महान् व्यक्तित्व चाहिँ हामी सबैले कन्जुस्याइँ नगरी मान्नै पर्छ । अग्निभन्दा कम लगानीकर्ताहरू अहिले पनि सोझै सांसद र मन्त्रीको दावी गरिरहेका छन् तर अग्निले एकदिन पनि मलाई यो पद चाहिन्छ, तपाईंले यसमा सहयोग गरिदिनु पर्यो भनेर मलाई भन्नुभएन । यद्यपि त्यसरी भन्ने खालको सम्बन्ध हामी दुई बीचमा करिब पाँच वर्ष अघि नै तयार भइसकेको थियो ।
अग्निशिखाका अधुरा कामहरू पूरा गर्न पाइयोस् । आफ्नो मित्र,आफ्नो बन्धु, आफ्नो सखा अग्निशिखा, अर्थात् शुकदेव नेपालप्रति यही नै हुनेछ भावपूर्ण श्रद्धान्जलि ।
१९ असोज ०६५, काठमाडौँ
(स्रोत :मधुपर्क, मंसिर २०६५)