कथा : सासूआमा

~छायादत्त न्यौपाने ‘बगर’~

एक दिन त बाबूढाले- “सबैको रोपो हरियै भयो, हाम्रो त व्याडमै पसाउने भो” भनी आमा र बुहारी यानि मेरी श्रीमती विमलासँग करकर गर्दै हुनुहुन्थ्यो । संयोग खालबाट रित्तिएर अबेला ओठमुख सुकाउँदै मैले आँगनमा टेकेको मात्र के थिएँ भरखर घाँसको भारी टेकएर गाईवस्तुलाई घाँस दिँदै गरेकी विमला ममाथि पोलो घोचिएका अरिङ्गालझैँ गरी खनिई । मेरो उपस्थिति विमलालाई करकरको मसला बन्यो । ऊ चर्कै स्वरले कराई, बुबाआमासँगै लोली मिलाउन पुगी । उसको करकरले मेरा कन्सिरी ततायो असहृय भयो । बुबाआमालाई के भन्नु थियो र स्वास्नीमै रिस पोख्न जङ्गिएँ । हात उध्याएर एक झापड दिन के तम्सिएको थिएँ, आमाले च्याप्प समाउनुभयो । तँ स्वास्नीमाथि हात उठाउने बहादुर भइस् ? बाह्रमासेमा रित्तिँदाको रिस पोख्ने ठाउँ यी दाम्लाका पशु र पिँढीका बाआमाको घाँटी भिजाउने विमला बनाइस् ? तँ पहलवान् लौ पहिला मलाई कुट् । किन त्यो बिहानदेखि बेलुकासम्म काममा जोतिएकी दोजियालाई सताउँछस् ? भन्दै चर्कनुभयो । आमाको त्यो व्यवहारले मलाई पानीपानी बनायो । केही बोल्न सकिनँ, मरेतुल्य भएँ । सुकेका ओठमुखमा नीलो रङ थपियो । फनक्क फर्केर जुवाखाल तिरै हानिएँ ।

आमा साँच्चै आमाका रूपमा देखिनुभयो । विमला पनि सासूआमाप्रति नतमस्तक भई । आमालाई राम्रै ख्याल थियो कि आफू पनि बुहारीबाट बढुवा भएरै सासूसम्म आइपुगेको यथार्थ । अहिले पनि आफ्नी छोरी कसैको बुहार्तनमा खटिएको तथ्यप्रति उहाँलाई पूरै हेक्का थियो । स्वभावैले दूधपानी छुट्याउने क्षमता थियो आमाको । त्यसैले त “म पुरुष हुँ, म स्वतन्त्र छु, मलाई श्रीमतीले नियन्त्रण गर्न पाउँदिन, म पो उसलाई अधीनमा राख्न सक्छु” भन्ने स्वार्थी सोच र पुरुषप्रथम संस्कार हाबी हुन पाएन, बूढीले त्यस्तो मौकै दिनुभएन ।

म झोक्किएर घरबाट निस्केँ । सोझै हुँदा त सिन्को नसर्केको, बाङ्गिएर हिँडेपछि काम बन्ने भरोसा झन् उछिट्टयिो, पर पुग्यो, भर पर्ने ठाउँ रहेन । उहाँहरूलाई कुरा बुझ्न पनि गाह्रो परेन । सासूससुरा र बुहारी मिलेर सल्लाह गर्नुभएछ ।” फाँट हरियो भो, हाम्रो खेत बाँझै राम हेर्नुछ, गाउँलेहरू खेतको काम सकेर बारीमा मकै रोप्ने तरखरमा छन् । लौ, बुहारी अब त्यो बाह्रमासेको मुख ताकेर भएन । तिमी आफैँ पहल गर, हलीखेतालाको चाँजो मिलाऊ” भनी बुबाले भनेपछि विमलाले हलीबाउसेको जोहो गरिछन् । यहाँनेर सासूबुहारीको मिल्ती राम्रै काम गर्‍यो । वास्तवमा हो पनि “सुखी परिवार र खुसी जीवनको स्रोत पारिवारिक मेल नै हो ।” भोलिदेखि रोपाइँ गर्ने निर्णयमा पुगिएछ मलाई सुइँको दिइएनन् । मैले पत्तै पाइनँ ।

बेलुका पनि जुवा खेलेर म अबेर फर्केको थिएँ । खालमा बस्दा मैले घरको खटपट साथीहरूलाई पनि सुनाएँ । रमाइलो मानी मानी सुनेका मध्ये झवीलालले भन्यो- यी आइमाईहरू कति बढी भा’का भन्या, हामी नहुने हो भने यिनीहरूको पाइलो सर्दैन, साहरामा जिउनेहरूको के-को फुर्ती हो कुन्नि यत्रो ठूलो, अचम्म छ ।” आगामा पर्याप्त घिउ थप्ने प्रयास भयो । “लौ खा” चिडीको एक्का मिल्काउँदै एकेले भन्यो- “यो मुला दिले लाछी, होच्याउनु होच्यायो त्यसले पनि रात छिप्पिन थालेको पत्तो भएन ।” नौ बज्यो अब पसल बन्द गर्नुपर्छ” भनेर तिलाहारेदाइ सिरूपाते भट्टीका मालिक कराउँदा पो सबैजनाले पल्र्याकपुर्लुक मुख ताक्यौँ । खाल उठायौँ र भोलि बिहान सातै बजे जमाउने सहमतिमा आ-आफ्नो बाटो समात्यौँ पनि ।

एक्लै घरतिर लागेपछि पो भोकले झस्कायो । दिउँसोको घटना सम्झेँ । मनभरि कुरा खेले । आफू उठेदेखि जुवामा, गोठभरि वस्तुभाउ छन्, खेतीपाती कतै केही सघाउनु छैन । आखिर श्रीमती त अर्काकी छोरी, मेरा बाआमाको मन जितेर बसेकी छ । म उहाँहरूकै छोरो जुवाडे बानीले अपि्रय भएँ । मान्छे अनुहारपि्रय हुँदैन नै । फेरि साइनो मात्रले मान्छेको मन जित्न सक्तो रहेनछ । व्यवहारमा आत्मीयता र आफ्नोपन माग्दो रहेछ मनले । यस्तै शब्दहरूलाई पौठेजोरी खेलाउँदै घर पुगेँ ।

अबेरसम्मै टुकी बलिरहेको थियो । लाग्यो मेरै बारेमा चिन्ता गरिरहनुभएको होला आमाबाले । अडकलसँगै आँगनमा ओर्ले तर सत्य अर्कै रहेछ । विमला करेलाका सुकेका चाना सफा पार्दै थिई । आमा दुनाटपरी मिलाउँदै । म सुटुक्क भान्छामा पसेँ । आमाले मेरो प्रवेश थाहा नपाएझैँ गर्नुभो । म आफैँले कसौँडीको भात, ताप्केको तरकारी, कुँडेको दूध एउटै थालमा घप्ल्याकघुप्लुक खन्याएँ र अँध्यारोमै बसेर कप्ल्याककुप्लुक पेटतिर पठाएँ । सटाकसुटुक खोपीतिर छिरेँ । लाग्यो मेरो गतिविधि देखेर सासूबुहारी खासखुस गर्दैछन् तर मैले कुनै प्रतिक्रिया जनाइनँ । ओछ्यानमा पल्टेँ ।

आमा र विमला काम गर्दै थिए । त्यो भोलिको रोपाईंका निम्ति तयारी रहेछ । बिहान म ओछ्यानमै थिएँ । विमला दैलोकुचो, घाँसपानी नियमित कार्यमा निस्किसकेकी थिई । सूर्यका तीखा किरणले झ्यालबाट छिरेर मेरा आँखा घोचे । “उठेर भैँसी दुहीदिएँ चिया खान पाइन्थ्यो ।” बुबाको बोली कानमा सोझियो । म जर्‍याजुरुक उठेँ । मुलीखाँबाको नौनी कोट्याएर बाल्टीको बिटमा टाँस्दै गोठतिर लागेँ । भैँसी दँुहुदै थिएँ । झबेले- “म गएँ है, दिले छिटै आइज” भन्दै गरेको आवाज सुनेँ मनमनै हतारिएँ । दूधको बाल्टी पिँढीमै छाडेर पाडी बाँधे र लुरुक्क सिरूपाते भट्टीतिर सोझिएँ । म त्यहाँ पुग्दा झबे, बिर्जे चौलानी तिया सुक्र्याउँदै थिए त्यसैमा मिसिएँ । हर्के पनि आइपुग्यो । छिट्टै भित्र पस्यौँ । मैले झ्याल खोलेँ । झबेले हिजोअस्तिका पुराना तास हातमा खेलाउँदै भन्यो- “यी पुराना तास फिटिँदै फिटिँदैनन् आज नयाँ खेलौँ । “पहिलो खालमै पैसा उठाउनुपर्छ है” भनेर तिलाहारेदाइले तास दिए । म, ‘म फिट्छु नि’ भन्दै खल्तीबाट श्रीमतीको बालो झिकेर च्याँखे थापेँ । बीचमा एकपटक काँचो प्याज र हरियो खर्सानीका टुक्रा छरेर एक प्लेट चना दिए तिलाहारेदाइले । हामी तास राम्रो आएन, खेल जमेन भनी मुख जुधाउँदै थियौँ । दाउ त बिर्जेलाई गएछ, जतिबेला पनि सोहोरेको सोहोर्‍यै छ ।” मैले भनेँ र बालो हातमा लिएर “जाने भो बिचरा ससुराको चिनो” सात बजे बिहानदेखि सुरु भएको खाल बाह्रबजेसम्म चल्यो । मैले च्याँखे थापेको बालो सिद्धियो, पच भयो । मसँग बाँकी केही रहेन बिर्जेसँग हरिया दाँत ङच्िच देखाउँदै भने- “बिर्जे यो मेरी श्रीमतीलाई ससुरालीले दिएको उपहार हो । तँ मलाई यो बालो फिर्ता दे बरु पुछारपाटो बारी बन्दकी खा ।” अनुरोध गरेँ । मेरो गिडगिडाहटले उसलाई के हुन्थ्यो, छोएन । उल्टै “हृया, तँ दिले जहिले आज तँलाई दिने मही छैन भरे गोठालो पठाइदे दही दिउँला भनेझैँ गर्छस्” भनी उल्यायो । मेरो अनुनयविनय सुनेन ।

मध्यान्तरका घाम टाउकोमा थाप्तै दूधमात्र खाने दाउ जुराउँदै घर पुग्छु त ठ्यापठुप्पै झ्यालढोका बन्द । खिसि्रक्क परेँ । सोझै ढोका खोलेर भित्र पस्ने आँट आएन । गोठतिर लागेँ । लहरै बसेका भैँसीले टाउको उठाए सायद केही खानेकुरा दिन्छ कि ? भन्ने उनीहरूको मौन माग थियो । म एकोहोरिएँ । किम्बुको रूखबाट कुहुकुहु न्याउली बोल्यो । मन छोइयो । बूढाआमा र गर्भवती श्रीमती रोपाईंमा सकिनसकी काम गर्दैछन् । म बुढेसकालको साहरा एक्लो छोरो, हरेक क्षण साथ दिने वाचा गरेको जीवन साथीचाहिँ बाह्रमासेमा । नमजाले मन थिचिरहेको थियो । रोपाइँ र दाइँजस्ता असजिला काममा त जानकारी दिने गर्थे, एक/दुई दिन भए पनि सघाउन पाइन्थ्यो किन यसरी मलाई छाडेर गएछ ? आँगनतिर फकर्ंे । एक्कासी दीनानाथकाकाको- “ए दिले ! आज तिमीहरूको रोपाईं होइन र ?” आवाजले कान तान्यो । ‘बूढा कहाँबाट टप्के’ असजिलो मान्दै शिष्टाचार निभाएँ ।

बूढा बा कोदालो बोकेर खेतमा, तिमी घरमा ?” म अकमकिएको देखेर आँ गर्दा अलङ्कार बुझ्ने बूढाले धेरै कुरा थाहा पाइहाले । अर्काका घरको मामिला केको टाउको दुखाउनु भन्ठानेर हो कि र्फलक्क फर्के । मैले खुइया गरेँ, तातो सास फालेँ तर बूढा र्फकन खोजेमात्र सकेनन् । खुट्टा आँगनको डिलबाहिरै राखेर घाँटीमात्र मोडेर अडिए । यो अर्काका घरको मामिलामात्र कहाँ हो र ? छिमेकीको पनि समस्या हो । असल छिमेकी भएर पनि एकअर्काको काम आएन भने के को छिमेकी”, बूढाले बम्किने सुर कसे । खलनायक सुनिल थापाझैँ एक्सनमा देखिए । मैले मनले गाली गर्दै थिएँ । “सुरुक्क आफ्नो बाटो नतताएर” सुकेको अनुहारमा रस मर्न असफल प्रयास गर्दै औपचारिक भएँ । “कुनै काम थियो कि काका ।”

के चेपारे कुरा गर्छस् ?  बूढा बा आमा र दोजिया श्रीमती रोपाइँमा ? तँ भुसतिघ्रे बाह्रमासे । लाज लाग्दैन तँलाई घर परिवारको डर नलागे पनि नरको डर मान्नु पर्दैन ? बूढा बीच-बीचमा रोकिदै बम्के । बूढाको मुखमा बिर्को बस्ने गरी बोल्न खोज्छु साहसले साथ दिँदैन । म अरूचिका कारण बटारिएको देखेर होला बूढाले चलाखी गरे, बुद्धि खेलाए, कुरा घुमाए सान्त स्वरले भने- “हिजो म गाविस भवन गएको थिएँ । त्यहाँ जुँगामुठे रतनदास राष्ट्रियस्तरको नेता पनि आएका रहेछन् । उपस्थित धेरैले लामो खडेरीपछिका असिनाझैँ गरी प्रश्न बर्साए । रतन पनि के कम हुन्थे एक-एक प्रश्नको जवाफ दिँदै गए ।

नयाँ नेपाल बनाउने विषयसँग गाँसिएर आएका थुप्रै प्रश्नको छोटो र चोटिलो उत्तर थियो- “अबको नेपाल सरकारले देशका सम्पूर्ण नागरिकको क्षमताअनुसार काम र कामअनुसार दाम उपलब्ध गराउनेछ । नेपाली जनतामध्ये धेरैले काम नगरी खान्छन् । परिवारका महिलाहरू काम गर्छन् । पुरुषहरू काम गर्दैनन्, अति भयो । अब भने सबैले श्राम गर्नैपर्छ । नयाँ नेपाल यत्तिकै बन्दैन । यो काम युवाहरूले गर्नुपर्छ । नेपालको प्रगति नहुनुको मुख्यकारण युवाजमात श्रमबिना भौँतारिनु नै हो । यिनीहरूलाई काममा लगाउनैपर्छ । अब अरूको पसिनामा रमाउनेहरूका दिन गए । जानेसिकेका काममा हरेकले सहभागी हुनैपर्छ । घरपरिवार, खेतीपाती, जागिर, कहाँ कसलाई अनुकूल मिल्छ ? त्यहीँ कामको जिम्मेवारी हुन्छ । अब भट्टीमा गफ गर्नेहरूको ठूलो सङ्ख्या कारखानाको मजदुरमा र सडक विभागको कुल्लीमा पुग्छ । काम नगरी अल्लारिने र बाह्रमासेमा बतासिनेहरूलाई सरकारले समातेर लानेछ ।” ती नेताले यिनै शब्दहरू प्रयोग गरे जोडतोडका साथ प्रस्तुत भएका थिए । दीनानाथ बूढाले यति कुरा के भनेका थिए म त माथिबाट कसैले हृवात्त हुत्यायो, जस्तो भएँ तल पुगेर पछारिएझैँ झसङ्ग झस्किएँ । लाग्यो, ढिलै भए पनि बूढाले घैंटामा घाम छिराइदिए .. सासूआमाले ‘लौ मलाई कुट्…’ भनेको सम्झें । आफूलाई सही बाटोमा हिँडाउने प्रतिज्ञा गरेँ ।

(स्रोत :मधुपर्क, मंसिर २०६५)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.