मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~

कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग डाँडामा हात कान र घाँटीमा नाचेका संगीनहरु ! राम्चेको विभत्सतामा आज पनि तिमी डुल्छौ होला । सेतु जैसीको आँगन तिम्रो पर्छ की पर्दैन । तिमी आँगनिमा एकैछिन गम खान्छौ होला । दारबोटको जंगल तिम्रो कर्म क्षेत्रमा फुल्छ कि फुल्दैन अँ आज पनि उस्तै रातो भएर फुल्छ होला । तिमी फुस्रदको बिसौनीमा आज पनि पाभेल गुनगुनाउँछौं होला । ताओचिङ्ग बुनेर मनभरी भरी एक अंगालो खसे्रटो बोकेर ओयाङ्ग हाइ जस्तै रमाउँछौं होला । छिन्ताङ्ग सुखानी र पिस्करको दुखाईमा तिम्रो चेत आज पनि दुख्दै होला । दुखाई र कष्टको संयोजनमा आजपनि तिमी सल्लेरी बुन्छौ होला मनभरी र सलाम टक्रयाउछौं होला जेलवाङ्गलाइ ।

तल बेसिकी मझिनी भाउजु पाङताङ्ग र गोल्चेका आस्याङ्ग र ज्यो-ज्यो सबै सबैलाई सन्चै होला या नहोला बेसिको लमतन्न फाँटमा आमाहरु दिदीहरु र बहिनीहरु डल्ला फोर्दै होलान । सुनकोशिको बहाबमा मुक्तिको फलैचा फुल्यो कि फुलेन कान्छा अँ कोदो टिपेर बुहारीहरु साँझ घर फर्किदा तिम्रा नाममा एक छ्याम्बा ढिडो हुन्छ कि हुदैन पक्कै हुन्छ होला । तिमी साधेको गुन्द्रुक र भटमास दाविलोको दाबमा मस्काएको एक डल्लो ढिडोमा क्रान्ति हुकाईरहेको हौला । तिमी बाटो काटेको साँझ धुस्रुल च्यापेर एक अंगाली बाख्रे घाँस आज पनि सेल्टर पस्दै हौला । हेर न कान्छा म बसेकेा ठाउँ त धुसु्रल र मुसाखरी कही देखिदैन ।

धार्पाको रात या चिलौनाघारीको सम्साझ स्मृतिपटको यो क्षणमा म अतित सम्झीरहेछु । शहिदका सपनामा तिम्रो मन साटिन्छ होला गाउँमा । यो शहर त विकृत छ बिसंगत छ र बेसुरको छ । आकाशे पुलका गौडाहरुमा आज पनि नाङगो शरीर पल्टेको छ । भन कान्छा के याङ्गला कोटको च्याङबाले पिढ्यौमा इष्टीकोट भिर् यो पक्कै भिरेको हुनुपर्छ । चौकोसोमा बसेर प्रमुख बा आज पनि न्याय दिदै होलान जनअदालत बनाएर । यहाँ त न्यायको कुरै छोड्औं- सडकमा छुरा घसेर गुन्डाहरु दिन दहाडै भुक्न थाल्छन् । त्यहाँ त गुन्यौ चोलिमा सजिएर दिदी-बहिनीहरु सलाम र लालसलाम भन्छन होला हिजोजस्तै यहाँ कोल्टिदा ढल्किदा नाङगै हुन्छन । हेर न कान्छा आँखा उघारौं गाहो हुन्छ नउघारौ लडिन्छ ।

महलहरु मोटाउँछन झुप्राहरु दुब्लाउँछन । उही पोहोरको सालजस्तै महगीले दपेटिको काइली आज पनि वाग्मतीमा बालुवा चाल्छिन । घर घरमा मान्छेहरु बाधिन्छन् अदृष्य साङ्गलोले र रोजगारीको नाममा दास बनाइन्छन् । मालिक मालिक छन धनि – धनि छन् । शासकका अनुहार मात्र फेरियो कान्छा । सबै महलमा बस्छन् र पजेरोमा सएर हुन्छन् । ठेस लागेको मान्छे उठायो भने बेकुफ बन्छ उठाउने -सज्जन बन्छ हाँस्ने । शोषणको ताज आरामी सोफामा बन्छ साइला, धनी बन्ने सपना ! गरिबहरु लुटिन्छन् । ति पहाडहरुमा त लुटिन्न ति गाउँहरुमा त कुटिन्न गरिब ।

यहाँ त मानवियता झिकिएको हुन्छ मष्तिकबाट । ठर्रा झोलमा डुबे जस्तै मनै नमिठो बोल्छ शहर । उहिले उहिले बाले भन्थे – शहरले धर्म छोडेको छ बाबु । हाम्रा गाउँघरमा त दुःख साट्थ्यो गाउँले र सुख बाड्थ्यो । समाज बनेर एक गाँउ मुक्तिको सपनामा उठ्थ्यो यो विकृत शहर कतिबेला सुत्छ र कतिबेला उठ्छ थाहै पाइन्न कान्छा । धिप-धिप टुके दियालोमा आधा रातसम्म बैठक चल्दै होला गाउँमा संगठन सघर्ष र सत्ताको एजेन्डामा छलफल हुन्छ होला माइला र धनेहरु उस्तै मुठी कसेर रिपोर्टिङ्ग गर्छन होला । आलोचना-आत्मआलोचना पनि उस्तै गरी गम्भिरतापूर्वक चल्छ होला । डम्फुको तालमा आस्याङ्ग र ज्यो – ज्योहरु चउर भरी नाच्छन होला । राता ध्वजा पताकाहरु मुनिको जनमास स्वतन्त्र र उन्मुक्त बन्दै आज पनि भन्छ होला नेपाली क्रान्ति जारी छ ।

गाउँबाट खेदेकाहरु सोझा र गरिबहरुलाई ठगेकाहरु चेलिबेटीको इज्जत नभनेकाहरु यही थुपि्रएका छन् । स्वतन्त्रका लागि उठेको हाम्रो आन्दोलनका विरोधीहरु सुराकीहरु र हत्याराहरु उही के त कान्छा खारा जलाउने राक्षसहरु । सबै सामन्तहरु सबका सबले डेरा बनाएका छन् । निरकुश दरवारका लठैतदेखि साम्राज्यवादका दलालहरु सबै अटछन् शहरमा । उनिहरु यही छन् । काग्रेसीहरु कम्युनिष्टका नाममा कलंकित रायमाझिका सन्तानहरु । सिआइएका एजेन्टहरु दलाल भष्टाचारी ब्याभीचारी र घुसखोरीहरु जो हाम्रो सपनाका ज्यानी दुश्मनहरु हुन- तिनि यही छन् । अरनिको पहरा फोर्दा तिम्रो दाजु मार्ने ठेकेदारहरुका कुरुप महलहरु छन् !

कहिले कहिले यिनी कुर्लन्छन् र बहुलाउँछन हाम्रा सपनाको विरुद्धमा । महलहरुबाट सपना तुहाउने योजना बन्छ र सडकमा दुई चार लठैतहरु भुक्छन । संचार छोटे राजा हो कान्छा यिनी सबैका कचेरा हाम्रा विरुद्धमा हुरी मच्चाउन खोज्छन् रिस त उठ्दो हो नि यिनीहरुलाई पनि । दुई चार उर्फदा जुलुश नै हुदोरहेछ । अँ गरिबहरु पनि छन् हाम्राहरु पनि छन् । वागमतिका किनारामा बालुवा चाल्ने श्रमिकहरु महल बनाउने ज्यामीहरु भारी बोक्ने हाम्रा सन्तानहरु । मेहेनतकस श्रमजिवीका पाखुराहरु बेला बेला टुडीखेलमा नाच्छन राता झन्डामुनि र क्रान्तिको गीत गाउँछन । फ्याक्ट्रीका मजदुरहरु छन् घरी – घरी रसियन विद्धोहको झलक दिन्छन । हो कान्छा विकृत र विसंगती शहरको साम्राज्यमा स्पार्टकसहरु पनि छन् । गरिब । म टोलाउन पाए भने सम्झन्छु छोरा गुमाएकी पहाडि आमाहरु छोरी हराएका मुजे निधारका गाउँले बाबाहरु घर जलेका पाटो गुमाएका रोमियो किलो सेरा टु र संकटकाल खपेका मेरा पि्रय लेकाली दाइ भाइहरु – के कान्छा त्यो गर्वकॊ पहाड उठेर शहर पस्दा क्रान्ति नजित्ला र जित्छ पक्कै जितिन्छ सबै सन्तान गुमाएका आमाहरु र बाबाहरु श्रीमान गुमाएका भाउजुहरु ति दूधे नानीहरु जसले बाबाहरु देखेनन् । ति सबैलाई शहर आउने चुलै निम्तो यो गन्धकीबस शहरी बेसवाट !

कान्छा । तिम्रा बैठकहरुमा यो शहरको छलफल चलोस तिम्रो कम्युन र सर्वहारा कमिटीमा यो शहरको बहस परोस । शहिदका आमाहरु दिदीहरु र दाजुहरु सबै सबैमा यो सन्देश परोस शहर फेर्न बाँकी छ । शहर बदल्ने दायित्व र कर्तब्यमा जुटेका हामीहरु त कस्ता कस्ता अपूर्ण जस्ता छौ । यो सहर फेर्न आउनुपर्छ । क्रान्तिका रापिला योद्धाहरु बेपत्ता पारिएका सन्तानहरु रोमियो पचाएका खाम बाबा र आमाहरु । किलो शेरा टु र संकटकालमा पनि लडेका पहाडी सन्तानहरु । जसले बहादुरिता पूर्वक प्रतिरोध गरेर गाउँहरुमा कम्युन बनाए । पराले फाइटर ब्याग ब्ानाउनॆ ति कलात्मक हातहरु ! बन्दुकका फित्ता बनाउछन होला नी आजपनि खोष्ठाका । ति महान पौरखहरु गाउँ त खाली छ कान्छा भुतहरुबाट अब शहर खाली गर्नुछ । सबै सबैलाई चुलै निम्तो । गर्वको पश्चिमी पहाड जलजलालाई मनाष्लु र सगरमाथा सबै सबैमा निमन्त्रणा । कान्छा शहर जित्नुपर्छ एकफेर अनि मात्र पूरा हुन्छन् सपना । हामी आधार बनाउँला आमन्त्रणको तिनै पहाड र समतल तराई गर्वले उठेर आउनु है ।

(स्रोत : DipSikha )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.