~राजु दाहाल~
“अब, म यो देशमा बस्न सक्दिन । लाग्छ यो मेरो देशनै हैन, नत्र, नत्र एउटा नेपालीको छोरो भएर पनि त्यहि ब्यबहार पाउन नसक्नु कहाँ हुन्छ र ? बल, मात्र बल भएपछि पुग्ने, निर्बलीयाहरुले बोलेको आवाज कसैले नसुन्ने । वा ! कस्तो गतिलो काम गरेछु मैले । चाहेको भए युरोप वा अमेरिकामा पनि त बस्न सक्थेँ म………… ।” – डाक्टर रमेशले गालामा लागेको चोट सुम्सुम्यायो । चोटको पिडा सँगै उस्को देशभक्ति दुख्यो ।
“हैन, मैले के गल्ती गरेको थिएँ र ? एउटा नचाहिने ढिपी गर्ने बच्चालाई एक थप्पड लगाएको नै त हो । सुई लगाउनै पर्ने थियो अनि जतिसुकै फकाउँदा पनि केहि नलागेपछि एक थप्पड नै त लगाएको…….. ।
त्यो बच्चीसँग न मेरो कुनै दुश्मनी थियो न त उस्को परिवार सँग नै । न त घरबाट जाँदा उस्लाई पिट्ने उद्देश्यले नै अस्पताल गएको थिएँ ।” – हातको रिमोट थिचेछ क्यारे रमेशले । न्युज च्यानल लाग्यो, जस्मा उसैले पिटाई खाएको दृश्य बारम्बार दोहोरिरहेको थियो ।
“बिरामीको गाला पड्काउने डाक्टर रे, लापरवाह डाक्टर रे ? वा मिडीया, तिमीहरुको प्रताप पनि गज्जबको ? तिमीहरुले चाहे कालोलाई सेतो अनि सेतोलाई कालो बनाउन सक्छौ । बजारको मुल्यबृद्धि बिरुद्ध बकवास रुपमा आवाज उठाउने तिमीहरु तिमीहरुका बिज्ञापनले पोतिएका पुङ न पुच्छरका समाचार लेखिएका पत्रहरुको मुल्य एकैपल्ट दोब्बर बनाउन सक्छौ । तिमीहरुले नै सहि गलत, राम्रो नराम्रो सबै छुट्टयाउने भए प्रशासनको के काम ? तिमीलाई समाचार चाहिएको छ अनि तिम्रा स्वार्थ पुरा गर्न नसक्नेहरुलाई कुरै नबुझि खेदो खन्छौ ? सत्य तथ्य के हो बिचारै नगरी समाचारलाई बङ्गयाएर …………।” – उठेर झ्याल बाहिर पिच्च थुक्छ डाक्टर रमेश ।
“अनि, अनि मान्छे पनि के भाका त ? मैले उपचार गरेपछि नै उस्को अभिभावकलाई बोलाएर माफी मागेर पठाएकै हो नी ।
माफ गर्नुहोला, नानी ले सुई लाउन अनि मुख खोल्न केहि पनि नमानेर मैले एक थप्पड लगाउन पर्यो भनेर । हुन पनि भर्याङबाट लडेर दाँत भाँच्चीएकी बच्ची निकै रोईरहेकि थिई । दाँतको जरा उखेलेर फ्याँक्नु पर्ने, नदुख्ने सुई त लगाउनै पर्यो । फकाउने हर प्रयास कामयाब नभएपछि डर देखाउन एक थप्पड लगाएर सुई लगाइ दाँत झिकीदिएको थिएँ । मेरो पनि त बाध्यता थियो, आधा घण्टा भन्दा पनि बढि सम्झाउँदा पनि नमानेपछि केहि न केहि त गर्नै पथ्र्यो । अभिभाबकसँग क्षमा मागेपछि सामान्य रुपमा लिएर घर फर्केका थिए सबैजना । मैले पनि त रहरले कहाँ थप्पड हानेको हो र ? एउटा अभिभाबक हो नि म पनि, मेरा पनि त छोराछोरी छन् घरमा………. ।”– भित्तामा झुन्ड्याइएको छोराको तस्बिर हेरे डाक्टरले ।
“त भोलिपल्ट त्यही कुरालाई लिएर सबै छरछिमेका आफन्त लिएर हात हाल्न आउने कहाँसम्मको उदण्डता त ? मैले माफी मागीसकेको अनि फेरि पनि माफि माग्छु वा के गर्नु पर्छ भन्दा भन्दै ………..। भिडमा मेरो बोली सुन्ने पनि कोही छैन ल, मार्लान कि जस्तो पो डर लागेको थियो त मलाइ।” – लामो सुस्केरा हाले डाक्टरले ।
“अब त खोई काम गरेर खान पनि नसकिने भइयो । अस्ति डाक्टर हरिले पनि बित्थैमा पिटाई खानुपर्यो । अनि दशैँको बेला डाक्टर शिलाको अस्पतालमा पनि तोडफोड भयो क्यारे । यस्तै उदण्डता बढ्दै गए बिरामीको उपचार गर्न सकिन्न । झन दुघर्टना बाट ल्याईएका अनि सिरीयस बिरामीलाई त उपचार गर्न सबैलाई डर भइसक्यो अस्पतालमा भर्ना गर्नै मान्दैनन् कोहि पनि ।” – चुपचाप टोल्हाइरहेछन् डाक्टर ।
“हैन, सारै भनेको मानेनन् भने त म मेरै छोरालाई पनि थप्पड लगाउँछु नी । त मैले ती नानीलाई शत्रु नै ठानेर सांघातीक रुपमा आक्रमण गरेको त हैन नी ? के अरु कसैले पनि आफ्ना नानीले बदमासी गरे वा केहि जायज कुरा भनेको मानेनन् भने थप्पड लगाउँदैनन् होला त ?
थुक्क जिन्दगी ……………..।” – डाक्टर रमेश एकोहोरो टेबलमा हेरिरहेका छन् । टेबलमाथि, जहाँ पासपोर्ट राखिएको छ …………………………… ।
समाप्त
(स्रोत : Shabda )