दुई गोलार्धका दुई छेउमा तिमी अनि म
अचेल मेरो आगन म घाम हाँस्दा
तिम्रो कोठा अँधेरिन्छ
अनि तिम्रो कोठामा बिस्तारै जूनले लुकेर हेर्दा
मेरो आँगनमा घाम उदाउँछ
बाह्र बजे फूलले मन खोलेर हाँस्दा
मलाई थाहा छ तिम्रो संसार अँधेरिन्छ
तिम्रो अनि मेरो भूगोलको फरक भित्र
एउटै घाम कहिले उदाउँछ ?
म पर्खी रहेछु
हाम्रो धड्कनको एउटै जून कहिले हाँस्छ पर्खिरहेछु
अचेल घामको अस्ताई,निकै मन पर्छ मलाई
बढ्दै जाने गाढा रात झनै मन पर्छ
अस्ताउने घामले सधै
मेरो माया सुटुक्क बोकेर लैजान्छ तिमीलाई
गाढा अध्यारोले थुप्रै -उज्यालो
पठाउँछ दूर देशका तिमीलाई
म सँग बिदा मागेर घाम
मेरो तिमीलाई उज्यालो पस्कन जान्छ
मेरा तरंगीत भाव संवेग कोसेली बोकेर
घाम तिमीलाई न्यानो दिन जान्छ
म त भन्छु, न आओस मेरो आगानमा घाम
बरु तेही रात प्यारो मलाई
बरु तेही औसी प्यारो मलाई
अविश्रिन्न अध्यारा रातहरु प्यारा लाग्छन्
अनन्त अनन्त एक्ला पलहरु रमाइला लाग्छन्
घामले सधै हिजो मात्रै सम्झाईरहन्छ
आधिरता अनि आतुरता पस्किरह्न्छ
तिम्रो मायाको न्यानोको तुलना कहाँ हुन्छ घाम संग
तिम्रो हेराइको प्रेमिल उज्यालो कहाँ दाँजिन्छ घाम संग
मलाई तिम्रो मायाको उज्यालो भए पुग्छ
सिन्दुरको रातोमा सजिन पाए पुग्छ
घाम,बतास,बादल अनि जुनेली मधुर साँझहरु
मनका कान्ला कान्लामा निस्फिक्री बएली खेल्ने
अबिसारका स्वप्नील प्याउलीहरु
आरोह अवरोह भोगाईहरुमा सदैब
एउटै लयमा झंकृत मुटुहरु
फरक हेराईका उस्तै दृश्यहरु
छेक्दो रहेनछ भूगोलका बारहरुले
प्रेमका अविरल नदिहरु
पठाई दिएर घामलाई सम्पूर्ण तिमी तिर
म तिम्रो मायामा रमाइरहेछु
फिर्ता गर है ति सबै अँध्यारा रातहरु
प्रेम उत्सवमा निमग्न म
तिनै अँध्यारा रातहरुमा
तिम्रो आँखाको उज्यालो पर्खिरहेछु
भूगोलको अर्को गोलार्दमा तिमी
मनको प्रेम र विश्वास संगै
जिन्दगीको फूल फूलाई रहेछु
भुलेर सबै पीडाहरू
तिम्रो खुसीका लागि आज
यो दिनमा हाँसी रहेछु
(काठमाडौँ )
(स्रोत : Satakosahitya)