कथा : बलराम मास्टर

~उत्तम सापकोटा~

‘सर ! तपाईँसँग एकछिन काम छ, जानेबेलामा मलाई भेटेर जानुहोला ।’ प्रिन्सिपलले बलराम मास्टरलाई भने ।

बलराम मास्टरले त्यस विद्यालयमा पढाउन लागेको ११ वर्ष पुगिसक्यो । एघार वर्षअगाडि पढाएका कतिजना ठूला मान्छे बनिसके होलान् । निजी स्कुलको शिक्षक हुनुको पीडा बोकेर हरेक दिन बलराम चक र डस्टरसँग व्यङ्ग्य गरिरहन्छ । कालोपाटीमा सेतो चकले लेख्नु अनि त्यसलाई मेटाउनु आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका छन् । कुनै बेला नमेटिनुपर्ने अक्षर पाटीबाट मेटिँदा ऊ आफ्नो भाग्य लेख्ने बेलामा भावी निदाएको सम्झना गरिरहन्छ ।

‘आज मलाई किन प्रिन्सिपलले भेटेर जानु भने ? तलब बाँड्न दुई दिन बाँकी छ…।’ मनोद्वेग बढ्दो छ । केही समयदेखि उसको अध्यापनकार्य केही शिथिल बन्दै गएको हो कि ? उसलाई कहिलेकाहीँ लागेको थियो । उसले अघिल्लो दिन कक्षाको उदयलाई गृहकार्य नगरेकोमा आक्रोश पोखेको थियो । उदय पनि प्रिन्सिपलको नाता पर्ने केटो हो । उसलाई गृहकार्यको उत्तरपुस्तिका परीक्षण गर्न पनि त्यतिसारो मन लाग्दैन । हिजो मात्र सबै विषयका उत्तरपुस्तिका प्रिन्सिपलले अफिसमा लगेका थिए ।

‘मैले उत्तरपुस्तिका राम्ररी हेर्नुपर्थ्यो’– मनमनै विचार ग-यो उसले । आखिर यत्रो वर्ष काम गर्दा उसलाई आत्मसन्तुष्टि मिल्नुपर्थ्यो । उसको मानसिक प्रतिक्रियाले उसलाई सन्तुष्ट पार्न सकेको सङ्केत गर्दैनथे । घरपरिवार भइसकेका छन् । जहानबच्चासहितको उसको डेरेजीवन भविष्यको चुनौती बनेर अडिएको छ । छोरो आजै झोला च्यातेर आएको छ, सिलाएर अस्थायी समाधान निकाल्ने ठाउँ छैन, थप दुईतीन सयको आर्थिक बोझ थपिएको छ ।

डेरामा पुगेर पालीटोपी टेबुलमा राख्दै सुस्केरा हाल्छ ।

‘मट्टीतेल पनि सकियो, बजारमा हाहाकार छ, पाइँदैन भन्छन्, के गर्ने भरेलाई नै छैन ।’ भगवतीले प्याट्ट भनिहालिन् ।

भगवती उसकी श्रीमती । आठ वर्ष भयो बिहे भएको । छ वर्षको एउटा छोरो र चार वर्षकी अर्की छोरी छे ।  दुईटा कोठा लिएर केही समय बसे, खर्चले धानेन अहिले एउटैमा छन् ।

‘नपाए के गरौँ त ? मैले  कुनै मन्त्रीप्रधानमन्त्री चिन्या छैन, कहाँबाट ल्याऊँ ।’ अनायास नै बम्कियो ऊ ।  श्रीमती जिल्ल परी । ‘खोइ केही छैन खानेकुरा ? भोक लाग्यो, ल्याऊ ।’ अह्रायो उसले श्रीमतीलाई । ‘किन आज स्कुलमा खाजा खान दिएनन् ?’ भगवतीले प्रश्न गरी । ‘हो  त आज खाजा खान नै बिर्सेछु !’ मनमनै बिचा-यो उसले । आखिर त्यो सुविधा त आजको गयो उसको । खाजा नखाए पनि त्यसको पैसा तलबमा बढेर आउने होइन । ‘बरबादै भयो नि !’ उसले निकै गम खायो । परन्तु यी सबै घटनाका लागि त्यही प्रिन्सिपलको भनाइ कारक थियो । ‘भेट्ने भनेपछि आफूचाहिँ किन चाँडै मुन्टिनु परेको होला नि ! उल्टो एक घन्टा कुरेर बसेँ ।’ उसको मनमा असह्य भो ।

‘सेसनको अन्त्यमा प्रिन्सिपलले भेट्नु भन्नुको तात्पर्य के होला ? हिजो मात्र तीन जनालाई यो वर्षबाट हटाउने भन्ने कुरा सुनेँ’– धेरै तर्कना चल्यो उसको मनमा । ‘गाउँबाट सबैलाई ल्याइयो अब कुन मुखले फर्कने त्यहाँ ? छोराछोरीले पनि पढ्न नपाउने भए । श्रीमती पनि पल्लो घरकी कल्पनासँग बाझेर आएकी, फर्केर जाँदा खुब खिसी गर्ने भए हामीलाई ।’– उसले धेरै सोच्यो ।

पढाउन त राम्रै पढाउँथ्यो ऊ । विद्यार्थी सन्तुष्ट थिए तर प्रिन्सिपललाई चाहिँ रिझाउन नसकेकै हो नत्र भने पोहोर साल सबैको तलब वृद्धि हुँदा उसको मात्र भएन । प्रिन्सिपललाई भन्दा तलब थोरै भए धेरै दिने ठाउँमा जान सल्लाह पाएको थियो उसले । दोस्रो त्रैमासिक परीक्षामा पहिलो हुने विद्यार्थीको नम्बर जोड्दा पाँच नम्बर जोड्न बिर्सेछ, आठ कक्षालाई पढाउन पनि झर्नु प-यो ।

‘यत्तिकै रहेछ त्यस स्कुलमा पढाउन पनि । सायद तलब दिएपछि नराख्ने होला ।’– तर्कना ग-यो उसले । ‘पत्रिकामा कतै विज्ञापन छापिएको त होला नि । विज्ञापन गर्ने सिजन यही हो ।’ उसलाई जागिरको चिन्ता भयो, छोराको च्यातिएको झोलाको चिन्ता भयो अनि मट्टीतेलको चिन्ता पनि भयो । तुम्लेट झुन्ड्याएर पसलतिर लाग्यो । साँझ झमक्क परिसकेको थियो । बिस्नेसँग धक्का लागेपछि झसङ्ग भयो । पसलको डिलमा बसेर बिस्ने चिसो पिउँदै रहेछ । बिस्ने पनि प्राइभेट स्कुलकै मास्टर हो, मोटरसाइकल चढ्छ, घर पनि बनाइसक्यो ।

‘ओहो बलराम ! के छ हालखबर ? कता नि ?’– बिस्नेले सोध्यो ।

कति रबाफ छ बिस्नेको बोलीमा अनि व्यवहारमा पनि । सुकिलो लुगा लगाएर मोटरसाइकल छेवैमा राखेको छ र एक हातमा चिसोको बोतल र अर्को हातमा चुरोट च्यापेको छ । उसले भने छ महिनाअगाडि एउटा पाइन्ट सिलाएको त्यो पनि लोकल बसमा ओहोरदोहोर गर्दा किलाले प्वाल पारिसक्यो । आफूले बोकेको मट्टीतेलको तुम्लेटले गिज्याएजस्तो लाग्यो उसलाई ।

‘मेरो त कोठा यतै हो नि । यसो मट्टीतेल पाइन्छ कि भनेर खोज्न हिँडेको’ – उसले उत्तर दियो ।

‘कोठामा ग्याँसचुलो पनि राखेका छैनौ ?’ – बिस्नेले बलरामको असमर्थतामा घाउ लगायो र नुनचुक छ-यो ।

‘छ न त छ तर कहिलेकाहीँ अपर्झटमा काम लाग्छ भनेर…।’

‘…….. भरेलाई नै छैन ।’ श्रीमतीको यस भनाइलाई बिस्र्यो उसले र आफैँले मलमपट्टी लगाउने प्रयत्न ग-यो । बिस्नेले अर्को चिसो मगायो त्यो बलरामका हातमा प-यो । समातेर अनकनाउँदै उसले मुखमा लगायो । उसले मुख लगाएको चिसोको स्वाद आज अर्कै छ, यस्तै प्रकारको चिसो पहिलापहिला खाँदा उसलाई मीठो लाग्थ्यो तर आज यसको स्वाद यति नमीठो पायो उसले कि यो त बिखबराबर छ । बोतलमा हे-यो नाम उही छ, स्वरूप त्यस्तै छ । घाँटीमा त्यो झोल डल्लो प-यो, निस्सासियो ऊ, झन्डै सर्केथ्यो–बच्यो । बिस्नेले पैसा ति-यो र जाने तरखर ग-यो, बलेले अगाडि बढेर पैसा तिर्ने सामान्य औपचारिकता निभाउने प्रयत्न पनि गर्न सकेन, न त आफ्नो डेरामा जाने आग्रह नै गर्न सक्यो ।

‘साहूजी, पाँच लिटर मट्टीतेल भरौँ न ।’– उसले साहूसँग अनुरोध ग-यो ।
‘सर, सर्तेजमा दिँदै छु, उधारोचाहिँ हुँडैन है ?’– साहूले जवाफ फर्कायो । खल्तीले उसलाई व्यङ्ग्य ग-यो । ‘हुन्छ, दुई लिटर मात्र भर्नुस् न यसो काम चलाउनलाई । खाना बनाउन त ग्याँस छँदै छ नि ।’– ढाँट्यो उसले आफ्नो मनलाई । साहू उपेक्षापूर्ण हाँसो निकालेर मट्टीतेल भर्नपट्टि लाग्यो ।

सबै कुरा एकैचोटि किन आइपर्ने ? ‘भोलिदेखि स्कुल पनि हिँडेर जानुपर्ने भयो अब । तलब नआउन्जेल बसभाडा पनि छैन । हुन त अब कति नै दिन होला र त्यसरी स्कुल जानुपर्ने ? भोलि छिनोफानो हुने नै छ ।’ सोच्दै हिँडेको थियो पल्लो गल्लीमा पुगिसकेछ । फर्केर आफ्नो बाटोतर्फ लाग्यो ।

भोक लागेकै थियो । भगवती भात पकाउनतिर लागिन् । छोराछोरी गृहकार्य गर्दै थिए । रेडियो सुन्ने विचार आयो । एफ.एम्. खोलेर बस्यो । समाचारको बेला भएको रहेछ । रेडियोले समाचारका मुख्य शीर्षक भन्दै थियो– राजनीतिक स्थिरताबाट मात्रै विकासनिर्माण सम्भव हुनेमा सरकार विश्वस्त, …..निजी विद्यालयका बारेमा सरकारले तत्कालै विशेष कदम चाल्ने, ….कार्यालयमा बमविस्फोट, इराकमा……. आदि । रेडियोको आवाज ठूलो बनायो । निजी विद्यालयसञ्चालकहरूले नवनियुक्त शिक्षामन्त्रीसँग आफ्ना माग राखेछन् । लगानीको सुनिश्चितता, बन्द भएका विद्यालयलाई उचित क्षतिपूर्ति, संस्थापकहरूका लागि शैक्षिक उद्देश्यको विदेश भ्रमण, सरकारी अनुदान आदि । उसले निजी विद्यालयमा आफू कहाँ पर्छु भनेर हे-यो । आफ्ना समस्या कुनचाहिँ बुँदामा समेटिएका छन् उसले बुझेन । आफ्नो डेढ दशकको अध्यापनको कार्यकाललाई सम्झ्यो । आफूलाई अह्राउने संस्थापकको छोरो प्रिन्सिपल जसलाई उसले केही वर्षपहिले पढाएको थियोलाई सम्झ्यो । १०–१० वर्ष पढाइसकेका र आउने सत्रबाट अनिवार्य बिदा लिन लगाइएका आफ्ना सहकर्मीलाई पनि सम्झ्यो । चित्त बुझेन अनि रेडियो बन्द गरेर पत्रिकाको वर्गीकृततिर ध्यान दिन थाल्यो ।

खाना खाएर ओछ्यानमा पल्टियो । विगतका सम्पूर्ण घटनाक्रमहरू मानसपटलमा दृश्य बनेर उभिए । बाबुको सपना, आमाको चाहना, दाजुभाइको विरोध अनि छिमेकीहरूको चासोका बीचमा सङ्घर्षपूर्ण व्यतीत भएको जीवन । अध्ययनका क्रममा देखिएका भविष्यप्रतिका आशा र भरोसा अनि त्यसपछि खप्नुपरेको वास्तविकता । आफन्तहरूको हेय दृष्टिकोण र समाजमा निजी स्कुलको शिक्षक भएर परिचय दिनुको निरीहता कतै पनि सन्तुष्टिको अवशेष छैन । पारिवारिक दायित्वलाई पनि स्कुलकै घन्टी र कापीले खाएको छ, सामाजिक र सांस्कृतिक दायित्व पनि विचलित भएका छन् । कुन नैतिक साहस बटुलेर उसले भोलि सामाजिक र पारिवारिक अस्तित्वलाई पुनर्जीवन देओस् ? त्यसमाथि अधबैँसे उमेर र पारिवारिक भरणपोषणको जिम्मेवारी । भो, यी सबै दुःखका लहरा हुन् जति तान्यो गर्जँदै झर्न थाल्छन् ।

कोल्टे फेर्छ, आँखामा निँद छैन, मनमा चयन । भित्तापट्टि दुई टुक्रा उत्तानिइसकेका रहेछन् । सिरकले शरीर छोपाएर छेउपट्टि फर्कन्छ । भगवती बत्ती काट्दै छे । उठेर बोतलबाट पानी पिउँछ, घोप्टिन्छ । मौनता छिप्पिँदै गएको छ । न ऊ बोल्न इच्छुक छ न उसकी प्रिया । उठ्छ र बसेर प्रश्न गर्छ– ‘भगवती, सुन त म भोलिदेखि स्कुल छाडौँ क्यार !’

‘किन ? के भयो र ? अचानक स्कुल…’
‘होइन, त्यति मन लागेन काम गर्न ।’
‘के अन्तै काम गर्ने विचार आयो ? पाउनुभयो र ?’
‘होइन, छैन । बरु तिमी मान्छ्यौ भने हामी गाउँ नै फर्कने कि ….?’

भगवतीको अनुहारमा उदासीनता छायो । अनुहार मलीन भयो । कोठाको भाडा तिर्ने बेला भयो, पसलको उधारो अनि केटाकेटीको परीक्षाको मुख । सबैतिर चाँजोपाँजो मिलाउन झनै समस्या देखियो । भगवती पनि सुतिन् । ऊ अनिर्णीत भयो । बिहान बिउँझदा ऊ खाटमा थिएन । भुईँमै आँखा लागेछन् अनि आँखा पनि पोलेका थिए ।

भात खाने बेला भयो । सबैजना सँगै खान बसे । उसले भन्यो–‘आज एक दिन जाऊँ क्यार ! यो महिनाको तलब पनि त लिनुप-यो नि ।’ श्रीमतीले केही प्रतिक्रिया जनाइन । खाना खाएर ऊ हिँड्यो । बसस्टेसनमा बस कुर्न अलमलियो । बस चढेर अगाडि पुग्दा उसलाई थाहा भयो ऊससँग बसभाडा छैन, पछाडिपट्टि फर्केर हेरेको आफ्नै विद्यार्थी उदय रहेछ । हत्तपत्त कन्डक्टरलाई भनेर ऊ त्यहीँ ओर्लियो समान छुटेको बहाना बनाएर । अब हिँडेर जानुको विकल्प रहेन । स्कुलमा पुग्दा एसेम्ब्ली सकेर सबै कक्षामा गइसकेका रहेछन् । इन्चार्जको कोठामा पसेर हाजिर ग-यो । इन्चार्जले भन्यो–‘सर भर्खर ?’ ऊ नबोली कक्षातिर लाग्यो । कक्षामा केटाकेटी हल्लाखल्ला गर्दै थिए । सबैले उठेर अभिवादन गरे । उदय मुसुमुसु हाँस्यो, उसलाई असह्य भयो । पढाउन पनि त्यति सारो मन लागेन । विद्यार्थीलाई आफ्नै तालमा छोडेर ऊ अघिल्लो दिनको गृहकार्य परीक्षण गर्दै थियो, विद्यार्थीहरू चल्दै रहेछन् । प्रिन्सिपलले यो सबै झ्यालबाट हेरिरहेका रहेछन् । ऊ झन् त्रसित भयो ।

घन्टी लाग्यो । उसलाई दोस्रो घन्टी पढाउन मन लागेन । ऊ सरासर प्रिन्सिपलको अफिसतिर लाग्यो । प्रिन्सिपल आफ्नै काममा व्यस्त थिए । ‘सर ! किन केही थियो कि ?’– प्रिन्सिपलले प्रश्न गरे । ‘सरले हिजो भेटेर जान भन्नुभएको थियो त्यही भएर..’– उसले जवाफ फर्कायो । ‘ए ! त्यस्तो केही होइन, अब नयाँ सेसनलाई किताब छनोट गर्ने बेला भयो त्यसैले यहाँ केही किताब आएका छन्, सरले राम्ररी हेरेर दिनुहोला तर हतार केही छैन ।’– प्रिन्सिपलले भने । ‘त्यति मात्र हो सर ? अरू पनि केही कुरा छ कि सर ?’– उसले थप जिज्ञासा राख्यो । ‘त्यस्तो केही छैन बरु क्लास होला जानुस्, यत्ति मात्र हो ।’– प्रिन्सिपलले भने ।

लामो सास फेरेर ऊ बाहिरियो । आफूलाई ठूलो युद्धबाट विजयी भएर फर्केको योद्धाका रूपमा कल्पियो । एकाएक अनुहारमा चमक आयो । सरासर कक्षामा गएर उत्साहका साथ पढाउन लाग्यो ।

स्कुल छुट्टी भएपछि उसले विज्ञान पढाउने साथी गुणराजसँग पचास रुपियाँ सापट लियो । पसलमा दुई पोका बिस्कुट किनेर बस चढेरै ऊ डेरामा पुग्यो । उज्यालो अनुहारमा बडो फूर्तिसाथ कोठामा आएको पाउँदा श्रीमती पनि दङ्ग परिन् र सोधिन्–

‘किन खुसी हुनुहुन्छ नि ! स्कुल छाड्नुभयो होइन ?’

‘छोड्छु भनेर कुरा गरेको, कहाँ छाड्न दिए र ! प्रिन्सिपलले नछाड् भनेर साह्रै अनुरोध गरे नि । बरु हेर न इः यी किताबहरू राम्रा छन् कि छैनन् भनेर हेर्न पो दिए । वास्तवमा म राम्रै पढाउँछु नि, सबैजना मलाई राम्रो पढाउँछ भन्छन् ।’– उसले एकै सासमा भन्यो । श्रीमतीले खाजाको बन्दोबस्त गरी । उसले खाजा खाएन बरु आफूले ल्याएको बिस्कुट छोराछोरीलाई बाँड्यो । उसलाई आज अरू कुनै काम गर्न मन छैन । श्रीमतीले खाना खान बोलाउँदा पनि ऊ प्रिन्सिपलले हेर्न दिएको किताबमा नै ध्यान दिइरहेको थियो ।

(स्रोत : Nepali Kala Sahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.