कथा : अदृश्य पर्खाल

~सुधीर ख्वबि~

यतिखेर म हस्पिटलको इमर्जेन्सी वार्डको बाहिर राखिएको बेडमा अवाक मनस्थितिमा पसारिएको छुँ । मेरा वरिपरी परिचित मुहारहरु झुम्मिएकाछन् । मेरा आँखाले ती मुहारहरु चिन्न सकिराखेको छैन । मात्र म स्वर सुनिरहेको छुँ । होहल्लाहरुको माझ , चिच्याहटको त्यो मुटुनै सेरिनेखालको आवाजसंगै मानसपटलमा झ्ल्याक्क झुलूक्क फ्ल्यास जस्तै केहि निमेष अगाडिको घटनाको दारुण दृश्य चम्किरहेको छ ।

सीमा आफ्नो सल्किरहेको गाउन निभाउने प्रयास गर्दै थिई, जतिबेला म उसको चिच्याहट सुनेर भान्छामा पुगें । आगोले उसको कपाल पनि टिपिसकेको थियो । आफ्नो हातले आफ्नो शरीरमा लागेको आगो निभाउने कोशिश गर्दै थिई । उसको मुखबाट लगातार चिच्याहट निस्की नै रहेको थियो ।

म एकछिनको लागि स्तब्ध जस्तै बने । विवेक शून्य झैं बने । फेरि हत्तपत्त हातैले उसको शरीरको आगो निभाउने प्रयास गर्नथालें । भान्छा साँघुरो थियो । एउटा शटरमा भान्छा पनि , सुत्नेकोठा पनि अनि बिचमा रायक राखेर अगाडीको भागमा किराना पसल । एउटा बाध्यता ,एउटा संघर्ष , एउटा यात्रा अनि महँगो काठमाडौँको बसाइमा पसिनासंग साट्न लालायीत केहि थान सपनाको स्यामस्वेत रेखाचित्र जसमा साकारको इन्द्रेणी रंगले रंगाउने रहर, जुन यो आगलागीमा नराम्ररी घाइते भैसकेको थियो ।

मेरो हातले मात्र आगो निभाउन गाह्रो लाग्न थाल्यो । मैले उसको हुरुरु बल्न थालेको शरीरलाई जुरुक्क काँधमा बोकें र बाहिर कुदें । यतिन्जेलसम्म बाहिर मानिसहरुको भीड जम्मा भैसकेको थियो । सीमा चिच्याउँदै थिई । शरीरको लुगा पूर्णत: जलिसकेको थियो । कसैले बोरा भिजाएर ल्याएर सीमालाई छोपिदियो । त्यतिन्जेल सम्म उ बेहोश प्राय: भैसकेकी थिई । कोहि एम्बुलेन्स बोलाउ भन्दै थियो , कोहि छिटो अस्पताल लैजाउ भन्दै थियो । दुर्घटनाको

समय बाहिर खेल्दै गरेकी छोरी बिनिषा कहालिएर मलाई अंगाल्न आइपुगी ।

‘बाबा ! बाबा !! मम्मी ! मम्मी….!’- भन्दै डरले अबोध मुहार कालो निलो पार्दै रुँदै थिई । मैले मेरी छोरीलाई अंगालोमा लिएँ ।

‘के भो , के भो ? ‘- भीडको जिज्ञासा स्वभाविक नै थियो ।

‘कसरि, कसरी भो ? ग्यास लिक भा’को होला नि !’ – आ-आफ्नै अनुमान र निर्क्यौल पनि ।

‘सिलिन्डर बिस्फोट भएको हो ?’- कोहि घटनाको बारेमा थप पुस्टि को लागि मरिमेटेको जस्तो पनि लाग्यो ।

‘आफैले मट्टीतेल छर्केर आगो लगाएको होला नि !’- – नकारात्मक सोचका हिलो छ्याप्न पनि भ्याए , कुनै कुनै मुखले ।

‘बुढाबुढीको खटपट थियो नि अस्ति देखि ! ‘- दुर्घटनालाई आ -आफ्नै ढंगले शंकाको लंका गर्न थाले ।

‘होइन , लोग्नेले नै जलाएको होला नि ! विचरी सीमा !’- रमिते भीडबाट चरम निक्रिस्ट विचार पनि फ्याँकियो ।

‘उफ़! यो लोग्नेमान्छे भनेको यस्तै हुँदो हो !’- कुनै महिलाको यो आवाजले मेरो कानमा होइन मुटुमा नै चसक्क बिझ्यो ।

उफ ! जतिवटा मुख त्यति नै कुरा । डेराबाट अस्पताल नजिकै थियो । सीमालाई एउटा तन्नामा राखेर छिमेकीहरुले अस्पतालतिर कुदाइ हाल्यो … त्यसको पछी पछी म पनि छोरीलाई बोकेरै बदहवाश बनेर दौडें । मेरो हालत पागलको जस्तै भैसकेको थियो । रमितेहरु पनि मेरो पछी पछी आइरहेको थियो । बाटोमा छिमेकी दिदीले बिनिशालाई बोकिन ।

अस्पताल पुगें म । सीमालाई इमर्जेन्सी वार्डको ड्रेसिंग कोठाभित्र लगियो । मलाइ बाहिरै एउटा बेडमा राखियो ।

भित्र कोठाबाट सीमाको चित्कार बाहिरसम्म सुनी नै रहेको थियो । उसको चित्कार सामु मेरो जलेको घाउको कुनै तुलना नै थिएन ।म एकछिन आँखा चिम्लेर बसें ।मनलाई सम्हाल्ने कोशिश गर्न थालें ।मलाइ बिस्तारै अनुहारमा जलन महसुश हुन् थाल्यो । दुईवटै हातमा पनि जलन महसुश हुन थाल्यो । आगोले पोलेको ठाउँमा फोका उठ्न थालिसकेको थियो ।

यतिन्जेल बा आमा दिदिबहिनिका साथै सीमाका दाई दिदिबहिनिहरुपनि आइपुगे । कसले कसलाई कहिले खबर गरे केहि थाहा भएन । उनीहरू देखेपछी अनायासै मेरो आँखा रसाउन थाल्यो । दुखमा, पीडामा आफ्ना मानिस देखेपछि मन झन कम्जोर हुँदो रहेछ । आँखालाई पनि आँसु बगाउन हतार लाग्दो रहेछ । सबै अवाक बने ।

अनुहारको रंग फुरुंग उडेको जस्तो । कोहि केहि बोल्न सकेनन् । छिमेकी एकजनाले घटनाको विवरण दिन थाले । बा त केहि बोल्नु भएन तर उहाँको आँखामा उर्लन उद्यत पीडाको बोध मैले गरें । आमा कहालिएर रुन थाल्नु भो । दिदि बहिनीहरुका पनि आँखा बहन थाल्यो । केहिछिन पछी बल्ल सोध्नु ‘भो बुहारी खोइ त् ?’-जवाफमा मैले आँखा ले नै ईसारा गरें , त्यहाँ भित्र छ भनेर…! अनायासै मन भक्कानिएर आयो । मलाइ आकाश नै फाट्ने गरि , धर्ति नै भासिने गरि बेस्सरी रुन मन लाग्यो … तर म रोईन । किन हो किन रुन पनि सकिन ।

प्राथमिक उपचारपछी हामीलाई एउटै कोठामा राखियो जहाँ दुइवटा बेड राखिएको थियो । सीमा प्राथमिक उपचार पछी पेनकिलरको कारण कराउन छोडेकी थिई । म आँखा चिम्लेर सोच्न थालें । डाक्टरले भनेको कुरा भत्भती उम्लेको तेल जस्तै भएर कानको बाटो भएर मुटु नै पोलेको महशुश हुन थाले । …’धेरै नै जलेको छ पेट, छाती र अनुहार पनि ‘ तर पनि ठिक त हुन्छ । महिना दिन जति लाग्छ होला ।’

अनायास म झस्कें । सीमा मुस्कुराउन्दै मेरो सामु देखापरी …पोते , सिन्दूर र चिटिक्क रातो सारीमा सजिएकी । मैले हत्तपत्त आँखा खोलें … सीमा आफ्नो बेडमा सुति नै रहेकी थिई । उसको शरीरभरि मात्र होइन , पुरा अनुहार नै ब्यान्डेजले बाँधिएको थियो ।


आज सीमा बितेको महिना दिन भो । डाक्टरले निको हुन महिना दिन जति लाग्ला भनेको थियो । तर महिना दिनमा निको हुनुको साटो उसले जीवनबाट नै मुक्ति पाई । म अक्सर सोच्न थाल्छु अचेल । प्रलयको लागि मात्र केहि सेकेन्ड समय लाग्छ तर त्यसले छोड्ने प्रभावबाट उन्मुक्ति पाउन एउटा जिन्दगीले भ्याउन गार्हो हुने गर्छ । हाम्रो जीवनको यो त्रासद समयमा मेरो उ प्रतिको मायामा कमि आएको हो की जस्तो लाग्छ । किन कि जब म १५ दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ त्यति बेला सम्ममा म जनरल वार्डमा शिफ्ट भैसकेको थिएँ ,उ आई सी युमा । तर म उसलाई न भेटिकन नै , केहि नबोलिकन नै म चुपचाप घरतिर आएँ । दुर्घटना भएको दिन देखि नै उ मेरो मानसपटलम़ा आउन थालेकी थिई । आँखा चिम्लेर बस्दा पनि , अनि सपनामा पनि । उही सजिसजाउ रातो सारीमा मेरो अचेतन मनभित्र देखिन थालेकी थिई । किन हो किन मलाई डर महशुश हुन्थ्यो ।

दुई वर्षको प्रणय सम्बन्ध पछि घरपरिवारको सहमति नभएपनि आफूखुशी गरेको विबाहपनि पाँचवर्ष बितेको पनि पत्तो पाएनौ हामीले ।अथाह खुशीको इन्धनुषी रंगको बिचमा छोरी बिनिशाको आगमनले जीवनलाई अझ सुन्दर र संघर्षप्रति अझ हौशला र उत्साह थपिदिएको थियो ।

खुशीका पलहरु किन क्षणिक हुने गर्छ ? किन यति छिटो समयले आफ्नो रूप फेर्ने गर्छ ? किन अप्रत्यासित असहज अवस्थाहरुले सुन्दर जिन्दगीलाई घेर्न , सताउन आउँछन् ?

सायद जिन्दगि जस्तै खुशीको पनि भरोसा छैन रहेछ । कहिले कसरि नाता तोडेर विलय हुने गर्छ , थाहा भएन । जिन्दगि रहस्यमय पनि हुँदो रहेछ । माया , बिश्वास र आस्था पनि कम्जोर धरातलमा प्रस्तूत हुँदो रहेछ । सीमासितको यो जीवनको सहयात्रामा कसरी कसरी असहज परिस्थिति प्रतिबिम्वित हुन् थाल्यो । सुन्दा पनि विश्वास गर्ने गार्हो लाग्ने , आँखाले देखेर पनि विस्वाश गर्न नसकिने , हुन त मैले उसित वर्तमानमा माया गरेको हुँ , साईनो गाँसेको हुँ । उसको अतीतसंग मैले सरोकार राख्नु नपर्ने हो तर मैले सायद सोच्नै नसक्ने , सोच्दै नसोचेको कुराको खुलासाले म आक्रोशीत भएको हुनु पर्छ । जब मैले अहिलेको समयमा आएर सीमाको पहिलो बिबाह , सम्बन्ध विच्छेद अनि दस वर्ष को एउटा छोराको बारेमा थाहा पाएँ ।

पर्दा त उठ्यो ,तब मैले सोधें सीमालाई – ‘के यसमा सत्यता छ सीमा ?’- उ नाजवाफ बनेकी थिईन . मुहार कान्तिहीन । उ जहाँको त्यहीं थचक्क बसेकी थिईन ।

मलाई लाग्छ , विहे हुनु पारपाचुके हुनु अथवा बच्चा हुनुमा उसको दोष त होईन । उ परिस्थितिमा फंसेकी मात्र हो । तर पनि मैले उसको अतीतको कुनाकाप्चा सबै चहारें र यो कुराको थप पुस्टिपछी म ठगिएको जस्तो भएँ । त्यो दिन म उसित एकपटक फेरि धेरै नै कराएँ तर उसले केहि बोलिनन् । त्यसदिन पछी उसले हाँस्न बिर्सेकी थिईन । सँधै चुपचाप बस्थी ।

आज सोच्छुं म , जब हुनु उसको स्मृति मनभरि भक्कानिएर भरिएर आउँदा , मैले मन पराएँ उसलाई , हृदय देखि आत्मा देखि तर पनि किन उसको अतीत प्रति सहज हुन सकिन । हामी बीच एउटा अदृश्य पर्खाल ठडिन थाल्यो । र चुलिंदै पनि गयो । दिन बिते महिना कटे वर्ष फेरे तर पर्खाल ढलेन । हामी बिचको त्यो अदृश्य पर्खालको पारी मलाई लाग्छ उसले आफ्नो जीवनको दियो आफैले निभाउने प्रयास गरेकी थिईन । उसको प्रयासले उसलाई त जित्यो तर उ आफै त हारिन हारिन मलाइ मात्र होइन आफ्नी छोरीलाई समेत हराएर गईन . मलाई छटपटी लागेर आउँछ । उसले अतितको चोट मात्र लुकाइन म देखि । सायद जिन्दगी भरिका ती तीता दुस्वप्न भुलाई नयाँ रूपमा शुरु गर्न चाहेकी होलिन तर समयले किन फेरी उसको घाऊको खत देखाए ? के समय बलबान छ भनेको यहि त होइन ? मन मरेपछि संसार रितो लाग्न थाल्छ , जिन्दगि बोझ लाग्न थाल्छ , नातागोता समाज बिरानो लाग्न थाल्छ । यस्तोमा भावुक ज्यानलाई सम्हाल्न सकेन भने कसरी खण्डित हुनपुग्छ , ओझेल पर्न सक्छ , एउटा निर्जीव तस्बिरमा अनुवाद भएर स्मृतिको भित्तामा झुन्डिन पुगेको हुन्छ ।

उ निरासाको भुमरीमा फँस्न पुगिन जहाँबाट मैले उसलाई निकाल्नु पर्थ्यो म अदृस्य पर्खालको वारी बसेर आफ्ना गुनासाका प्लास्तरले त्यो पर्खाललाई अझ बाक्लो बनाउंदै लगें …करिब वर्षदिन सम्म … र आज त्यो पर्खाल मेरो मनमा हुनु नहुनुको अर्थ केहि रहेन तर … उ पनि त रहेन सायद मेरो असहिश्नुताको ,कारण .. यस्तै लाग्छ ….के अतीत भुलाई हाँसि हाँसि जिउन किन गाह्रो हुन्छ ?

संगै सुतेकी छोरी बिनिशा चलमलाउन थाली , निन्द्रामा बर्बराउन थाली ….’ मम्मी मम्मी पानी खाने , मम्मी तपाइँ कहिले आउने !…’

मेरो आँखा धमिलो भएर आयो सायद आँखामा पनि आँसुको पर्खाल बनिदियो स्मृतिको यो पलमा ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.