~ठरकि दादा~
सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।
सर्प पनि मर्ने लठ्ठी पनि नभाँचीने जुक्ति निकालेर आज बहिर्गमन र भोली फेरि प्रत्यागमन हुने हिसावले सत्ता छाडेको बेलामा सर्प नमरेर उल्टै लठ्ठी मात्रै भाँच्चेपछि के के मात्रै उपाए लगाईएन । हिरोईनसंग नाचीयो, कत्तीको ढाड भाँचीयो। यज्ञ-यज्ञादि, हवन र भैंसी दोहन समेत गरीयो चरण चरणको आन्दोलन भयो तर खै, आफुले जितेको कुर्सीमा त अर्कै हरुवा टाँस्सीएको टाँस्सीयै छ ।
बिचमा निक्कै दिन फुर्सद भएपछि महान नेताहरु विश्व ईतिहास पढ्न व्यस्त भए । छिमेकी देश भारतमा भएको “भारत छोड” आन्दोलन जस्तै यता पनि सिधैं “कुर्सी छोड” आन्दोलन गर्नुको विकल्प पनि बचेन । कुरा घुमाई फिराई गरेर “नागरिक सर्बोच्चता” को नारा लगाएकै हो तर नागरिक हैन आफ्नै लठैतले समेत राम्रो साथ नदिएका कारण सो पनि प्रायोजकको अभावमा चल्दा चल्दै टेलिभीजनको पर्दाबाट हराएका टेली श्रीखंलाजस्तै गरेर बिचमै तुहियो ।
शान्तिपूर्ण आन्दोलनको अगाडि नै लठ्ठी, खुकुरी, बन्दूक र ग्रेनेड सहित समतिएका कार्यकर्ताको समाचार पढेर कामरेड सोच्दैछन। लठ्ठी र ग्रेनेड भेटीँदैंमा त्यो आन्दोलनमा प्रयोग हुन्छ नै भन्ने के छ र?, ऊबेलामा हाम्रा देशका लिटिल बुद्धका हातमा पनि तरवार भेटिएकै हो नि । जे होस जसरि होस अबको दिनमा यो कुर्सी हाम्रै हुनुपर्छ। आखिर चुनाब जितेको त हाम्ले नै हो नि ! । भलै ७०% मत हाम्रो विपक्षमा थियो, तर हाम्रो तर्फ नखसेको मतको के गणना… ति सबै प्रतिगमनका मतियारहरु हुन ।
कामरेड सोच्दा सोच्दै अचानक मन्द मन्द मुस्कुराउँछन : हैन संविधान सरकारले हैन संसदले बनाउने हो भन्ने जान्दा जान्दै पनि “हाम्रो नेतृत्वको सरकार नभए संविधान नै बन्दैन” भन्दा किन कोही पनि बोलेका छैनन् ? । मन्द मुस्कान तुरुन्तै हराउँछ….कामरेड अलि असहज देखीन्छन्… हैन हाम्लाई “यस्तै” ठानेर चुप लागेका होलान त ?, जे सुकै होस, अहिलेको लागि कुर्सी महत्वपूर्ण कुरा हो । संविधान बने बन्छ, नबने बन्दैन (नबनेसम्म कुर्सीमा हामीनै बस्नु पर्छ…जत्ती दिन बन्दैन उत्ती नै राम्रो हाम्लाई) । आखिर “भाले” हुन त सत्तामै बस्नु पर्ने रहेछ …..के दशा लागेर त्यतिबेला छाडिएछ यो कुर्सी …! ।
कामरेड क्यालेण्डरमा हेरेर दिन गन्छन, १,२,३,४ …अब …दिन जत्तीमा त आफैंले किनेको पलंगमा सुत्नु पर्छ …फेरि सपरिवार देश विदेश घुम्नु पर्छ … कार्यकर्तालाई ठेक्का पट्टा दिनुपर्छ, बिचमा आफ्नो कुरा नमान्नेलाई हटाउनु छ, कत्तीलाई तर्साउनु र कत्तीलाई ठटाउनु छ । महामहिमसंग विग्रेको सम्बन्ध सुधार्नु छ, मिलेमा एक पटक उत्तरतर्फ पनि चहार्नु छ….ओहो कत्ति काम … संविधान त त्यस्तै हो….नेपाली जनताको भाग्यमा नै नभएको कुरा कसरी बन्ला ! ।
अर्को मनले भन्छ हैन कुर्सीमा बसेपछि जनताले संविधान मागे भने के गर्ने त ? । आ!… के गर्नु चमत्कार मैले हैन जनताले नै गर्ने हो भनेर त पहिल्यै भनिसकेको छु। अब संविधान पनि मैले नै बनाउने पनि त हैन नि !। संविधान बनाउने त संसद छँदै छ नि …. । कामरेड लामो सास फेर्छन, अब उनलाई सबै वैचारिक समस्याको समाधान मिलेको भान हुन्छ र सरकारी पलंगको सपना देख्दै आफ्नो पलंगमा निदाउँछन ।
(स्रोत : Dautari)