कथा : सहिद दिवश

~केशु बिरही~Keshu Birahi_new

बिहानैदेखि गाउँमा माइकिङ भैरहेको छ । बजारको ठाउँ त्यसै त कोलाहल त्यसमा पनि माइकिङ्गको ठूल् ठूलो हल्ला । हल्लाले गरामुनि बजारलाई नै कोलाहल बनाइरहेको थियो ।

लगातार रुपमा ठूल् ठूलो आवाजमा घर अगाडीको सडकमा माइकिङ्गक भैरहनाले सोहनको निन्द्रा पनि गिजोल्लिरहेको छ । हुन त अगरामुनि त्यति ठूलो शहर त होइन तर विर्तामोड-चन्द्रगढी सडक खण्डमा पर्ने यो शहरोन्मुख वजार सधैं व्यस्त देखिन्छ । झन केही सालदेखि यो बजार विर्तामोडलाई नै जितौँला झैँ गरेर वाक्लिदै गइरहेको छ । उचाल्लिदै गइरहेको छ । गाडीहरू पनि छिचिमिरा झैँ देखिन थालेका छन ।

सोहनलाई अघिल्लो दिनको काम अलि वढी नै परेछ क्यार । काम सिद्ध्याएर अफिसबाट घर आइपुग्दा साढे बाह्र भैसकेको थियो । घरमा आउने बित्तिकै सुतिहाल्ने कुरो पनि भएन । नुवाइधुवाई पनि गर्नै पर्यो । खाना पनि खानै पर्यो । नुवाइधुवाई सकेर खाना खाँदा झण्डै एक बजिसकेको हुँदो हो । त्यसै त सोहन खाने बित्तिकै सुत्न मन नगर्ने मान्छे । जति नै समय भएको भए पनि उसले खाना खाए पछि एक छिन त नसुतिकन यता उता हिडडुल गर्नै पर्छ ।

गाउँघरमा मानवअधिकार हननका घटनाहरू दिन प्रति दिन चुलिइरहेका थिए । त्यस्ता घटनाहरूमा कमि हुनुको अलावा ‘दिन दुईगुना रात चौगुना’का हिसावले बढिरहेका थिए । पक्ष तथा प्रतिपक्षमा रहेका राजनैतिक पार्टीहरूले संझौता पत्रमा जति नै पटक हस्ताक्षर गरे पनि । जतिसुकै पटक सार्वजनिक समारोहमा मानवअधिकारको बारेमा वचनवद्धता दोहोर्याए, तेहेर्याए पनि त्यस्ता घटनाहरूमा भने कमि हुन सकेका थिएन । दिनहुँ जसो उजुरीका घटनाहरू आाइरहन्थे । कहिले कहि त उस्को कार्यालयमा एकै दिनमा चार पाँचवटा पनि उजुरीहरू दर्ता हुने गर्थे ।

झन केही दिनदेखि त मानवअधिकार हननका घटनाहरू घट्ने क्रम चरमोत्कर्षमा पुगेका थिए । साना तिना जुनसुकै कामका लागि पनि बन्द हड्ताल गर्ने र त्यसकै आडमा चोरी, लुटपात, चन्दा-आतङ्क मच्चाउने । अपहरणदेखि लिएर हत्या समेत गर्ने क्रम बढदै गइरहेका थिए । फिल्डमा गयो । अनुसन्धान गर्यो र रिपोट तयार पारेर माथि पठाउँदा कहिले कहि त घर आउदा सोहनलाई मध्यरात नै हुन्थ्यो ।

फिल्डमा जाने, रिपोट तयार पारेर माथि पठाउने र राति अबेर मात्र घर फर्कने त उसको दिनचर्या नै वनिसकेको थियो । ऊ लखतरान वनेर मध्यरातमा मात्र घर फर्कन्थ्यो । यसरी उसले एउटा यन्त्रवत जीवन जिइरहेको थियो । त्यसैले प्रायः सधैं वेलुका ढिलो सुत्ने र बिहान अवेला उठ्ने त सोहनको वानि नै परिसकेको थियो । यो उसको लागि कुनै नयाँ कार्य थिएन । कुनै अनौठो पनि थिएन ।

सोहनलाई ओछ्याननै छाड्न मन लागिरहेको थिएन । ऊ विस्तारामै पल्टिरहेको थियो । सिरानमा भएको रेडियोले विहानको समाचार वजाइरहेको थियो भने भित्ताको घडी पनि टिक टिक गर्दै आफ्नै पारामा दौडिरहेको थियो । भित्ते घडी संग उसले आफ्नो जीवनलाई दाँजिहेर्यो । उसलाई यस्तो लाग्यो कि मानौ यो घडी र उसको दिनचर्यामा एकरुपता छ । अर्थात यी दुवैमा धेरै समानता पाउन सकिन्छ ।

“हैन ए पुनमका बाबा अब त उठ्ने होइन । ” चियाको कप लिएर सोहनको कोठामा राधाको प्रवेस हुन्छ ।

“एक छिन त सुत्न देउन हो । निन्द्रै पुगेको छैन । ” सोहनले अलि लाडे पारामा त्यसो भनेको हुन्छ ।

राधा सोहनकी धर्मपत्नी हो । झण्डै बाह्रवर्ष अघि मात्र उनीहरू वैबाहिक सम्बन्धमा बाँधिएका थिए । हाल उनीहरूका प्रभात र पुनम नामका दुई कोपिला छन, सानो तथा सुन्दर पारिवारिक फुलबारीमा ।

साच्चै उनीहरूको एउटा सुन्दर तथा आदर्श परिवार छ । दुवै शिक्षित तथा सहयोगी भएकाले गाँउघरमा पनि उनीहरूको स्थान उचो रहेको छ । सबैले उनीहरूलाई मान्ने गर्छन । शिक्षित तथा सहयोगी भएकैले गर्दा गाउँलेहरूले उनीहरूलाई मान्नुपरेको हो । सोहनलाई यस्तै लाग्छ । गाउँघरमा हुने स-सना कममा पनि उनीहरूलाई वोलावट हुने गर्दछ । हुनत त्यस्ता आइपर्ने जुनसुकै कार्यमा पनि सहभागी हुनु उनीहरू आफ्नो धर्म नै ठान्छन ।

पुख्र्यौली घर ताप्लेजुङ्ग भए पनि उनीहरू केही सालदेखि झापाको गरामुनिमा वस्दै आएका हुन । त्यहाँ उनीहरूको एउटा सानो काठको चार कोठे घर छ । घरदेखि नजिकै दश कठ्ठा धानफल्ने फाँटिलो खेती छ । जग्गा जमिनको आयस्ताले खान लाउन राम्रैगरी पुग्दै आएको छ भने जागिरले घर खर्चलाई भ्याएकै छ ।

“अनि आज त पल्लो बजारमा कर्यक्रम छ हेर्न जाने होइन भन्या ?” पतिदेवले ओछ्यान छाड्नै नमानेको देखेर सिरक उठाउन खोज्दै राधा वोलेकी हुन्छे ।

“एक छिन त सुत्न देऊ न हो । राति देखिनै हल्ला खल्ला भइरहनाले सुत्न पाइएकै छैन । अनि आज के कार्यक्रम रहेछ । रातिदेखि नै प्रचार प्रसार भइरहेको छ नि ?” नवुझे झैँ गरेर ऊ श्रीमती सामु प्रस्नको झटारो फ्याक्छ ।

“हैन तपाइँ पनि कस्तो मान्छे । ” श्रीमानले फ्याँकेको झटारोलाई उतैतिर फर्काइदिन्छे । उसमा आश्चर्यभाव प्रदा हुन्छ । ऊ असमञ्जश वन्न पुग्छे ।

“अस्ति नै भन्या होइन आज पल्लो बजारमा कार्यक्रम हुँदैछ भनेर । अनि माननीय पनि आउने भनेको भुल्नुभो । देख्नु भएन, त्यसैले त प्रचार प्रसारमा यति जोड दिइरहेका छन । यसो रेडियो सुन्ने, टि.भी. हेर्ने भए पो थाहा हुन्छ त । हजुरलाई फिल्डमा हिड्दै फुर्सद हुदैन । जागिर भन्दा अरु कुराको चासो दिने भए पो ! तपाईलाई जागिर भन्दा अरु कुराको पत्तै हुदैन । एकदिन पनि फुर्सद नहुने तपाईको कस्तो खाले जागिर हो ?”

राधाले श्रीमानको प्रस्नको उत्तरको झटारोको साथमा अलि दुखेको मन पनि मिसाएर यसो भनेकी हुन्छे ।

हुन पनि कामकै व्यस्तताले गर्दा सोहनले घर परिवारलाई भनेजति समय दिन सकेको थिएन । आफू श्रीमान भएको दावा गर्ने कार्य भन्दा केही पनि गर्न सकेको थिएन । त्यो कुरा उसलाई पनि राम्ररी नै थाहा थियो । त्यसैले सम्हालियो र भन्यो ।

“ए हो त नि मैले त भुसुक्कै पो विर्सेको । आजदेखि त शहिद सप्ताह पो शुरु भएको छ त । अनि कार्यक्रम त हुने नै भैगयो नि । अनि आज माननीयबाटै वीच बजारमा निर्माण गरिएका सहिदका शालिकहरूको पनि अनावरण गर्ने भनेको होइन त ?’ श्रीमती नरिसाओस भनेर उसको कुरालाई अलि ध्यान दिए झैँ गरेर भनेको हुन्छ ।

राधाले सरल रुपमा हो भनेर टाउको हल्लाउछे । उसमा रीसको भाव भने देखिदैन । ऊ नाम झैँ सरल छे ।

घडी आफ्नै पारामा दौडिरहेको हुन्छ । भित्ते घडिले घण्टा घरको घडीले झैँ कानै खाने गरी ट्याङ्ग, ट्याङ्ग गरेर सात वजेको संकेत गरिदिन्छ । ऊ नउठी ओछ्यानबाटै यसो नजर दौड्याउँछ । घरका सबै कुनामा सूर्यको किरणले आफ्नो उपस्थिति जनाइसकेको छ । उसलाई यस्तो भान भैरहेको छ कि सूर्यको किरणले छिटो उठ, छिटो उठ ढिलो भयो भनिरहेको छ । अर्थात अबेरसम्म सुतेको देखेर गिज्याइरहेको छ ।

सात बजिसक्दा पनि घरमा कसैको पनि चालचुल थिएन । सोहन संझन्छ – सधैँ यति बेर सम्ममा त केटाकेटी चिया नास्ता गरेर पढ्न वसिसकेका हुन्थे । आमा पनि पूजा पाठमा ब्यस्त हुनुहुन्थ्यो ‘‘खोइ आज आमालाई सञ्चो भएन कि क्या हो । यति अबेरसम्म उठ्नु भएको छैन त । अनि केटाकटी पनि देख्दिन नि, कता गए ?” कसैलाई पनि नदेखे पछि उसले श्रीमतीलाई त्यसरी सोधेको हुन्छ ।

“आमा यति अवेलासम्म पनि सुतिरहनु हुन्छ र । ” सरलाले हाँस्दै उत्तर फर्काउछे । “आमा अघि नै उठेर मन्दिर जानु भएकोछ । अबत आउने वेला पनि हुन लागिसक्यो । अनि आज सार्वजनिक विदा होइन त ? विद्यालय लाग्दैन भनेर दुवैजना छोराछोरी सुतिरहेका छन । केटाकटीलाई विद्यालय विदा भनेपछि त के चाहियो र । आधा दिनसम्म पनि सुत्न मन पराउँछन । सबै इतिवृतान्त बताए पनि ऊ पुनः वोल्छे ‘ल, तपाइँ पनि उठ्नुहोस । म खाना तयार पार्छु । आज सबैजना कार्यक्रम हेर्न जानुपर्छ । ” त्यति भनेर राधा भन्सा कोठातिर लाग्छे ।

सोहनलाई थाहा छ राधालाई यस्ता खाले कार्यक्रमको नशा नै छ भन्ने कुरा । कार्यक्रम भने पछि माइलकै वाटो धाएर भए पनि जान पछि पर्दिनथी । उसको यो वानी केटा केटी देखिकै हो । पहाडमा हुँदा त ऊ एक दिनकै वाटो धाएरै भए पनि कार्यक्रम हेर्न जानलाई पछि नपर्ने मान्छे । झन यो त गाउँकै डिलमा हुने कार्यक्रम ।

राधाका पाइलाहरू भन्सा कोठातिर मात्र के बढेका हुन्छन एक्कासी विचमै रोकिन पुग्छन । भान्सातिर नगई ऊ फेरि सोहन भएतिरै फर्किएर आउछे र खाटमा वस्छे । श्रीमती फर्किएर आएको देख्दा सोहन सशंकित हुन्छ । मनमा एकखाले भय पैदा हुन्छ । गुनासो पो गर्ने हो कि । घरमा समय दिनु भएन । खालि अफिसको काममा मात्र ध्यान दिनु हुन्छ । यसो केही समय त हामीलाई पनि दिनु पर्यो नि भनेर नमिठो पो मान्ने हो कि भनेर उसलाई मनमा डर पनि त्यतिकै लागेको हुन्छ । हुन पनि लामो समय नै भएको थियो श्रीमान श्रीमती वसेर कुराकानी नगरेको । माया प्रेमका कुरा नगरेको । आफूले आफ्नो पौरुसत्व कायम गर्ने काम भन्दा अरु केही पनि गर्न नसकेकोमा उसलाई आत्मग्लानी भएर आउँछ । ती सबै कुरा संझिएर मनमा अपराध वोध भएर आउँछ । समय समयमा उनीहरू वीच नयाँ नयाँ विषयमा छलफल हुन्थे । व्यापक वहस पछि एउटा निचोड निस्कन्थ्यो । कहिलेकही त छलफल घण्टौ घण्टासम्म पनि जारिरहन्थ्यो । प्रायः छलफलमा छोरा छोरीले पनि सहभागिता जनाउँथे । छोराले आमाको पक्ष लिन्थ्यो भने छोरीले बाबाको । छलफल जुनसुकै विषय वस्तुमा आधारित भएपनि । बहसमा जति सुकै टिक्का टिप्पणी भए पनि निचोडमा भने दुवैजनाको सहमति भएरै छाड्थ्यो । दुवैको एउटै निर्णय वनेरै छाड्थ्यो ।

“ए लाटी तिमीले कायक्रममा जाने त भन्यौ तर यस्ताखाले कार्यक्रमको कुनै अर्थ देखेकी छ्यौ र तिमीले ?” सोहनले वहसको सुरुवात गर्यो तर ठट्यौली पारामा । बहसको सुरुवात प्रायः उसैले गर्नेगर्थ्यो । त्यसैले आज पनि उसैले गर्यो ।

“किन र ?” भन्दै राधाले पनि सरल रुपमा उत्तर दिई ।

‘‘उनीहरूले हिजो देश र जनताका लागि आफ्नो ज्यानको समेत पर्वाह गरेनन् । दिन-रात घाम-पानी र भोक-तिर्खा नभनी लड्दा लड्दै आफ्नो ज्यानकै उत्सर्ग गरे । सहिद भए । त्यही अदम्य शाहस र उत्सर्गको मूल्याङ्कन आज कार्यक्रम मार्फत भैरहेको छ, होइन र ?”

“कसरी ?” सोहनले पनि राधाले झैँ छोटो प्रश्न तेस्र्यायो ।

“कुरा प्रष्टै छ नि, हिजो देश र जनताका लागि लड्दा लड्दै वलिदान प्राप्त गरेका हुनाले आज उनीहरूको बीच वजारमा शालिक वन्दै छ । त्यही शालिकको आज अनावरण पनि हुंदैछ, हैन र ?” उसले पनि श्रीमानको प्रश्न माथि प्रश्न तेस्र्याइदिई ।

“शालिक वनेर के हुन्छ र ?”

सोहनलाई पनि स-साना केटाकेटी संग झैँ सवाल जवाफ गर्न मन लागिरहेको छ । ऊ एउटा पूर्व शिक्षक, त्यही पेसा गरेरै उसले आफ्नो जीवनको उत्तरार्ध विताएको थियो । सायद आजसम्म पनि उसमा त्यही प्रभाव रहेरै होला । उसले आफ्नो पुरानो मास्टरी पेसाको प्रभाव छोड्न सकेकै थिएन । एउटा उत्तर नआउँदै केटाकेटीलाई झैँ अर्को प्रश्न तेसाई हाल्ने वानी छ उसको ।

“बीच वजारमा शालिक वनेपछि उनीहरूलाई सबैले चिन्ने छन । उनीहरूको योगदान सबैले सम्झिरहने छन । सरकारले पनि उनीहरूलाई सहिद घोषण गरिसकेको छ । पत्र पत्रिकामा उनीहरूका तश्वीरहरू बारम्वार रुपमा छापिदै आएका छन र छापिइरहने छन पनि । यसले उनीहरूको चर्चा परिचर्चा देश विदेश सबैतिर हुनेछ । ” राधाले आफूले जानेको सबै कुरा पोखिदिई, सरल रुपमा । ऊ हरतरह रुपमा श्रीमानका सवालका जवाफहरू दिन प्रयासरत थिई ।

जतिजति सोहन जिज्ञासा उठाउँदै जान्थ्यो त्यति नै राधा पनि उत्तर दिँदै जान्थी । एक जनाले प्रश्न गर्ने र अर्को जनाले उत्तर दिने क्रम लामो समयसम्म चलिरह्यो । यो क्रम चलिरहदा यस्ते आभाष हुन्थ्यो कि उनीहरू श्रीमान श्रीमती नभएर गुरु चेला हुन । एक असल गुरु र एक आज्ञाकारी चेला । अथवा यो एउटा अन्तरवार्ता थियो, थेसिको विध्यार्थीको अन्तरवार्ता जस्तै । जुन अन्तरवार्ताले उसको प्राप्ताङ्कलाई अर्थात उसले पाउने उपाधीलाई प्रभाव पार्ने छ । मानौ त्यसैले त ऊ सकेसम्म सही उत्तर दिने प्रयाश गरिरहेको छ । राधा भन्दै जान्छे – “हेर्नुहोस अरुभन्दा पनि ठूलो कुरा भनेको त इतिहास हो । उनीहरूको नाम इतिहासको पानामा स्वर्ण अक्षरले पोतिने छ । उनीहरू सधैं अम्मर रहने छन । अनन्त अनन्त कालसम्म । ”

“ल ठीक छ । शालिक वन्यो । अनावरण पनि भयो । पत्रपत्रिकामा तश्वीर पनि छापिए । देश विदेशमा पनि चर्चा परिचर्चा भयो । इतिहासको पानामा नाम पनि लेखियो तर यी सव हुँदामात्र के हुन्छ र ?”

सोहनको यस्तो कुरा सुनेर राधा अकमक्क पर्छे । केही वुझे केही नवुझे जस्तो । कतै भाषमा फसेजस्तो हुन्छ उसलाई । कता कता उसलाई श्रीमानको कुरा तालन वेतालको जस्तो पनि लाग्न थाल्छ । त्यसैले कुरा विचैमा रोक्दै भन्छे – “हैन हजुरले यहाँ कुन कुरालाई उठाउन खोज्नु भएको हो मैले त वुझ्न सकिन नि । अलि प्रष्ट पारिदिनुहोस न । ”

“हेर शालिक वन्नु । त्यसको उद्घाटन हुनु । तस्वीर पत्र-पत्रिकामा छापिनु र चर्चा परिचर्चा हुनुमात्र ठूलो कुरा होइन ।”

सोहनले सोच्यो अझ धेरै बेरसम्म श्रीमतीलाई गुम्राहमा राख्नु राम्रो होइन । हुन त ऊ जति सक्दो चाँडो आफ्नो आशय बताउन चाहन्थ्यो । जिज्ञासा चाँडै मेटाईदिन पनि नचाहेको होइन तर उसले त मात्र श्रीमतीलाई बहसमा सहभागी गराउनु थियो । बहसको माध्यमबाट केही कुरा बताउनु थियो ।

‘तिमीलाई थाहै होला समय गतिशील छ । ’ ऊ बहसको विचोडमा पुग्न खोज्दै थियो । ‘हिजोको कुरा आज र आजको कुरा भोलि नहुन पनि सक्छ । समयको गतिशीलता र युगको मागलाई रोक्ने कसैसंग पनि सामर्थ्य हुँदैन । आजसम्म कसैले रोक्न सकेका पनि छैनन । र भोलि पनि रोक्नलान भन्ने आधार पनि देखिदैन । यो विज्ञानको विश्वव्यापी नियम पनि हो, होइन र ?”सोहनको पछिल्लो कुरामा भने राधाले सहमतिको टाउँको हल्लाउँछे । उसलाई श्रीमानको कुरा मुनासीव जस्तो लागेर आउँछ । मौन रुपमा स्वीकृति जनाउछे । सायद सोहनको त्यो पछिल्लो भनाइमा केही दम भए जस्तो लाग्यो होला उस्लाई । अथवा श्रीमानको कुरालाई गलत ठानेकोमा आत्माग्लानी पनि भएको हुन सक्छ । त्यसैले ‘मौनम् सम्मति लक्षणम्’ भने झैँ उसले चुपचाप स्वीकृति जनाएकी पनि हुन सक्छे ।

‘तिमी केही वर्ष अघि र अहिलेको अबस्थाको बारेमा अध्ययन गरेर हेर न प्रष्ट भैजान्छ्यौ नि । तिमीलाई थाहै छ हिजो के थियो । आज के छ र के भैरहेको छ भन्ने कुरा । हिजो राज्यको करोडौ रुपैया खर्चेर बनाइएका ती शालिकहरू खै आज कहाँ गए ? खै कसले सुरक्षा प्रदान गर्यो । कसैले संरक्षण र सम्बर्धनमा चासो देखाए र ? सबै हेर्दा हेर्दै ढले । अझ भन्नु पर्दा ढालिए । हामी रमिते मात्र भयौँ । आँखा अघि आफ्नै इतिहास ढलेको हेरेर हामी रमायौँ र रमाइैरहेका छौ । आखिर ती मूर्तिहरूको के दोश थियो र ? के साच्चै ती मूर्तिहरू दोषी थिए त ? अनि ती ढान्लेहरूले के नै जिते र ? यो सवाल मेरो मनमा आइरहन्छ । यस्को उत्तर दिने कस्ले ? अरुको त के कुरा साहित्यक स्रष्टाहरूको अस्तित्वसम्म सिध्याउने चेष्टा भएका थिए । ‘

सोहनको कुरा राधालाई झन भन्दा झन मुनासिव लाग्न थालेको थियो । श्रीमानले त्यसो भनिरहदा राधा मौन वन्न विवश थिई । आफ्नो उत्तर मिलेर हो या श्रीमानलाई सम्झाउँने कुनै उपाय बाँकी नभएर हो । ऊ चुपचाप कुरा मात्र सुनिरहेकी थिई । ऊ आवाजसुन्य वनेकी थिई । मूर्तितुल्य वनेको थियो उसको शरीर । भाबनासुन्य वनेको छ उसको मनमस्तिष्क । उसको अबस्था देख्दा यस्तो आभास हुन्थ्यो- मानौ ऊ एउटा मूर्ति हो । जसको आवाज खोसिएको छ । अथवा ऊ एउटा शर्प हो जसको मणीहरण भएको छ ।

सोहनले आज भन्दा अगाडी कहिलै पनि श्रीमतीले त्यसरी गम्भीर भएको पाएको थिएन । हुन त ऊ कुनै पनि विषय वस्तु माथि वढी चासो त लिन्थी नै तर आज भने अलि वढी नै भएको पायो । गम्भीर र धैर्यताका साथसाथै उसमा सहनसिलताको गुणमा पनि कमि थिएन । त्यति लामो दाम्पत्य जीवनको अनुभवमा आज पहिलो पटक यसरी वढी गम्भीर र धर्य भएको जस्तो लाग्यो उसलाई ।

राधाको कौतुहलता वढ्दै गइरहेको थियो । ऊ यति कौतुहल भएकी थिई कि जुन कुराको उसले तुलना नै गर्न सकिरहेको थिएन । सोहनलाई त्यो कुरा चाँहि राम्ररी थाहा थियो, आगो सल्काउन जान्नेले निभाउन पनि जान्नु पर्दछ भन्ने कुरा । हुन त यहाँ आगो सल्काएर निभाउँन नै नजान्नेहरू पनि कम छैनन । यहाँ आगो निभाउँने भन्दा पनि अझ आगो वढाउँनलाई खप्पिस छन । अथवा वलेको आगोमा तेल हाल्नलाई सिपालु छन । वलेको आगोमा तेल हाल्न त सजिलै हुन्छ तर त्यही आगोलाई निभाउँन भने त्यति सहज छैन । अझ कौतुहलता वा जिज्ञासाको आगो सामान्य आगो भन्दा कम हुदैन । त्यसैले कौतुहलताको आगोबाट निस्किएको जिज्ञासाको ज्वालालाई जति सक्दो चाँडो निभाउँनु नै सही ठान्यो सोहनले । ऊ विषयवस्तुको वीटमा आउन चाहँदै थियो । हुन त उसले पहिला नै श्रीमतीलाई आफ्नो आशय बताउन नचाहेको पनि होइन तर विना झलफल, विना बहसको निचोडको के महत्व होला र भन्ठानेर उसले गुदी कुरा लुकाइराखेको थिो ।

“तिमीले अघिल्ला जनआन्दोलनका बारेमा त केही पढेकी छ्यौ हौली नि, होइन र ?” अर्को प्रश्नको झटारो फ्याक्यो सोहनले ।

राधाले पनि झटारो समातेर श्रीमानतिरै फर्काइदिई – “पढेकी छु । ” भनेर ।

“त्यसो भए ती आन्दोलनमा शाहदत प्राप्त गर्ने सहिद परिवारका बारेमा पनि केही थाहा होला नि । सुनेकी हौली । पढेकी हौली ?”

“अँ, त्यति धैरै त होइन अलि अलि भने सुनेकीछु । ” उसले पनि सटिक उत्तर दिई ।

“अलि अलि के सुनेकी छौ भन त । ” सोहनले पुनः प्रश्न तेस्र्याइहाल्यो ।

राधाले हालसालै मात्र सहिदका सन्तानले व्यहोर्नु परेको हविगतको बारेमा एउटा रिपोट पढेकी थिई । सहिदका परिवारले दुःख पाएको । उनीहरूले खान लाउन नपाएको । हिजो मात्र एउटा दैनिक अखवारले शालिककै मुनि वसेर सहिदका सन्तानहरूले भीख मागिरहेको रिपोट प्रकाशन गरेको थियो । त्यही कुरा बताई उसले । ”

“हो यहीनेर छ गुदी कुरा । तिम्रा सारा प्रश्नहरूको उत्तर पनि यहींनेर लुकेको छ भन्ने लाग्छ मलाई त । ”

“मैले त बुझिन नि । अलि बुझ्ने गरी बताइदिनुहोस न । ” राधाको कौतुहलता झन झन बढ्दै थियो ।

“तिमी न आत्तेऊ न । तिमीलाई म राम्ररी बुझाउँछु । ”

उसले अझ प्रष्ट पार्दै भन्यो – “हेर सहिद घोषणा गरेर, शालिक बनाएर, पत्र पत्रिकामा तश्वीर छापिएर मात्र हुदैन । पहिलो कुरा त सहिदले देखाएको बाटोमा हिड्नु पर्यो । दोश्रो महत्वपूर्ण कार्य भनेको सहिदका सन्तान र तिनका आश्रित परिवार के कति छन, के कस्तो अबस्थामा छन भन्ने कुराको पहिचान गरी उनीहरूलाई सहयोग पुर्याउनु पर्यो । उनीहरूको शिक्षा तथा रोजगारिको ग्यारेन्टी गरिनु पर्यो । राज्यबाट उपलब्ध हुने सबै खाले सेवा सुविधाहरू उनीहरूलाई छिटो र छरितो ढङ्गबाट प्राप्त गर्न सक्ने प्रावधान मिलाउनु पर्यो । सहिद घोषणा गरेर, शालिक बनाई अनावरण गरेर तथा पत्र -पत्रिकामा समवेदना छपाएर मात्र हुदैन । त्यति गरे पछि मात्र सहिद प्रति सम्मान हुनेछ । उनीहरूको आत्माले शान्ति पाउँने छन । नत्र यी सबै देखावटी कुरा मात्र सावित हुनेछन । ” सोहनले कुरा छर्लङ्ग हुने गरी भनिदियो ।

श्रीमतीका मनमा लागेका अन्य जिज्ञासाहरू पनि साम्य पारिदियो । श्रीमानको यो कुरामा अहिले भने राधा सहमत हुन पुगी । जिज्ञासाको उत्तर पाएर होला अनुहार प्रसन्न देखियो । उसलाई ऐना झै छर्लङ्ग भयो ।

“अहिले भने म हजुरको विचारसंग पूर्णरुपमा सहमत हुन पुगें । यस्ता खाले कार्यक्रम त वर्षेनी हुने गरेकै हुन नि । खालि सहिदको नाम मात्र लिने तर उनीहरूले देखाएको वाटो भने नहिड्ने परिपाटि आज मौलाएको रहेछ । वर्षेनी सहिद सप्ताह मनाइन्छ । उनीहरूको तश्वीरमा एक चिम्टी अबीर र एउटा फूलमाला चढाउने काम हुन्छ । तस्वीरमा एक चिम्टी अबिर र एउटा फूलमाला चढाउने काम भन्दा अरु वढी केही पनि हुन सकेको छैन । सहिदका नाममा अरवौ खर्च भैरहेको । राज्यको ढिकुटी मासिएको छ तर उनीहरूको लागि भने केही हुन सकिरहेको रहेनछ । उनीहरूको चहर्याइरहेको घाउमा मलम लगाउने काम को अलाव यहा त घाउलाई झनै चर्काउने काम मात्र पो र्भका रहेछन । ओहो ! म त पुरै अन्धकारमा पो रहेछु । अहिलेमात्र छर्लङ्ग भयो । ”

राधामा यस्ता गलत प्रवृतिको विरोध गर्ने रहर बढेर आयो । दृढता सलमलायो । मनमा विद्रोहका ज्वारा भाटाहरू फुट्न थाले । त्यही विद्रोह वोल्न थाल्यो – “अब भने यस्ता गलत कामले निरन्तरता पाउनु हुदैन । यस बारेमा सबैलाई सचेत गराउँनु पर्दछ । ”

सोहनले श्रीमतीसंग गफ गर्दा गर्दै चिया पिउँन पनि भुलिसकेको थियो । चिया सेलाएर हिउँ जस्तै भैसकेको थियो । उसले चिसो चिया एकै घुट्कीमा पिइदियो र कप श्रीमतीलाई दियो । राधा पनि रित्तोकप बोकेर भान्सा कोठातिर लागी ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.