म समय हुँ । घडीको आविस्कार पछी मेरो जन्म भएको भ्रममा छन् , मान्छेहरु । होइन , म सूर्य भन्दा धेरै जेठो छु ।मैले धेरै कुरा देखेको छु , अनुभूतिका थुप्रै कथाहरु छन् , मसंग । धेरै कथाहरु लेखिए तर लेखिएका भन्दा नलेखिएका कथाहरु लाखौँ गुणा बढी होलान । यस्तै नलेखिएका कथा मध्ये एक्कैसौं शताब्दि शुरु तिरको एउटा कथा हो यो ।
हिन्दुकुश नाम गरेको एउटा गाउँमा लम्बोदर नामको एउटा पन्डित थियो । पन्डित मात्र होइन,त्यो गाउँको धर्माधिकारी नै थियो । देश खाएर शेष पल्टेका शिक्षित विद्वानहरु पनि सामाजिक बहिस्कार हुने डरले उसको कुरा काट्न सक्दैनथे भने अरुको झन् के कुरा गर्नु । विज्ञानका केहि युवा बिद्यार्थीहरुले पिठ्युँ पछाडी बिरोध त गर्थे तर प्रभावहीन हुन्थ्यो । एक दिन त्यो पन्डितलाइ के सनक चढेछ , गाउँलेहरुलाई भेला गरेर भन्यो ” धर्मात्मा गाउँले दाजुभाई दिदीबहिनी हो ! म केहि दिन भूमिगत भएको रहश्य खोल्दैछु । मैले खुब ध्यान दृष्टि लगाएर के कुरा पत्ता लगाएँ भने बिघ्नहर्ता लम्बोदर श्रीशिद्धि विनायक गणेश भन्दा धेरै गुणा बुद्धिमान र शक्तिशाली त मुसा रहेछ । मुसालाई खुशी तुल्यायो भने सबै देविदेवताहरु खुशी हुँदा रहेछन । हाम्रो बालीनाली ,अन्न , बस्त्र पनि जोगिने रहेछ त्यसैले आउनु होस् अबदेखि हामी मुसाको पूजा गरौँ । गाउँले सबैले समर्थनमा पर्र ताली बजाए । मुसाको लागि पित्तलको मन्दिर जस्तो खोर बनाइयो।ध्वजा पताकाले हल् सजाइयो । शुभ लगनमा मुसा समातेर खोरमा राखी पूजा अर्चना शुरु भयो । खोर भित्रको मुसा चीं चीं स्वरमा आर्तनाद गर्दै भनिरहेको थियो ‘ए मूर्ख मान्छे हो ! हामी स्वतन्त्र प्राणीलाई कैदमा राखेर के पूजा गर्छौ ? हेर यो चैतको महिना मुसा जातिको ऋतु दानको मौसम हो । मेरी प्यारी मुसी मेरो बिछोडमा कल्पेर रोएर बसिरहेकी होलि, छोड मलाई । पूजाको नाममा मेरो अपमान नगर ।मलाई छोडि देऊ……! मलाई छोडि देऊ……!! मलाई छोडि देऊ…..!!!”
तर मुसाको आर्तनाद कसैले सुनेन । खैंजडी , मादल , सनाही र नर्सिन्गाको तालमा भजन कीर्तनले मुसाको चीं चीं दिन परदिन दबिंदै जाँदा १५ दिन बिते पछी मुसा मर्यो । हिन्दु परम्परा अनुसार मुसाको दाहसंस्कार काजकिरियाको अन्तिम दिनमा त्यो मुसाको मृत्यु अपशकुन मानेर ठुलो यज्ञ गरे, स्वस्ति शान्ति गरे ।
मान्छेहरु भन्ने गर्छन,समय वलवान हुन्छ । म के वलवान छु र ! जसले समयको सहि सदुपयोग गर्छ त्यो वलवान हुन्छ ।यदि म आफैमा वलवान हुन्थें भने मैले त्यो मुसालाई खोरबाट मुक्त गर्थें । मुसाको भाषा बुझ्ने त्यहाँ कोहि थिएन । कोहि भए पनि भजन र बाजाको आवाजले सुन्न सक्ने थिएन । मेरो भाषा त झन् मुसाको भाषा जति पनि छैन किनभने मेरो भाषा मौन हुन्छ । मौन भाषामा मैले सधैं सचेत गराई रहेकै हुन्छु । जसले पशुपन्छीको भाषा बुझेको हुन्छ उसले धेरै हदसम्म मेरो भाषा बुझ्न सक्छ । मेरो अर्थात् समयको कार्यकर्ता हुन्छन ,पशुपन्छिहरु । मृतक मुसाले मर्नु अगावै धेरै कुरा भनेको थियो । अन्धविश्वासमा रमाउने ती मान्छेहरु पूजाआजा मात्र गर्न जान्दा रहेछन ।त्यसैले तिनीहरु सधैं गरिब छन् ।
मृतक मुसाले मर्नु अगाडी भनेको थियो ” ए , आँखा भएर पनि अन्धा मान्छे हो !हेर रुपकलाई शिक्षा मान । शास्त्रहरू रुपक हुन् । गणेशको टाउको हात्तिको हुनु , हात्ती जतिकै वलवान र बुद्धिमान हुनुको प्रतीक हो ।उन्नैशौं शताब्दीदेखि गणेश कम्प्युटर भएर जन्मेका छन् । शिवको तेस्रो आँखा अन्तरचक्षु ज्ञानको प्रतीक हो ।शिव,वर्च्युअल लाइब्रेरी भएर जन्मेका छन् । बिष्णुको चक्र समयको प्रतीक र शंख, समयको उद्घोष हो ।बिष्णु ,समय मापन यन्त्र घन्टाघर र आणविक प्रयोगशाला भएर जन्मेका छन् भन्ने कुरा खोइ बुझेको ! शास्त्रहरूको पुनार्परिभाषा गर्न सिक । अप्ठ्यारो पर्दा विष्णुले अवतार लिएर सङ्कट मोचन गरिदिन्छ भन्ने आशामा नपर ,ब्रम्हा , बिष्णु , शिव र तेतीस कोटी देवता तिमी आफै संग छ । आफ्नो लागि आफै गर्न अघि सर । नवद्वारको मन्दिर तिमि नै हौ ।मेरो पूजामा समय नस्ट नगर बरु मेरो कला सिक र भूमिगत रेलमार्ग बनाउन , सडकको जाल बिछ्याउन तथा खनिज पदार्थ निकाल्नमा समय लगाऊ । प्रकृतिले दिएको सम्पदाको सदुपयोग गर ।
मौन भाषामा मैले युगौंदेखि भन्दै आएको कुरा मुसाले बुझेको रहेछ । मान्छे त झन् शक्तिशाली र बिबेकशील प्राणी भएर पनि किन बुझ्दैन ? आखिर मान्छे पनि मेरै सक्रिय कार्यकर्ता हो नि । अल्छी र अर्काको भरमा बाँच्ने कार्यकर्ताले कहिल्यै प्रगति गर्न सक्दैन ।