एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुंगुरको खोरमा पुगेछ ।त्यो खोरमा एउटी सुंगुरनी आफ्ना पाठापाठीहरुलाई दूध ख्वाउँदै थिई । सुंगुरनीलाई देखेर मुसाले भन्यो सुंगुरनी दिदी नमस्कार ! आरामै हुनुहुन्छ !
ए मुसा भाई पो ! ल ल नमस्कार । भगवानको कृपाले हामी सुँगुर जातिलाई कहिल्यै पनि बिसन्चो हुँदैन भन्ने तँलाई थाहा छैन ? यस्तो फोहर , ठसठसी गन्हाउने ठाउँमा बस्दा पनि रोग लाग्दैन ?
मुसाको प्रति प्रश्नले सुंगुरनीको रिशको पारा चढ्यो र भन्यो ‘तँलाई नरकगामी चोर ! हाम्रो यो स्वर्गलाई फोहर , ठसठसी गन्हाउने पो भन्दो रैछ ए ! हामीले धर्म कमाएका थियौं र यो स्वर्गमा बस्न पाएका छौं । तँ जस्तो अँध्यारो दुलोमा बस्ने हौँ हामी ? ‘
मुसाले हाँस्दै भन्यो ‘ के त्यस्तो धर्म गर्नु भो र यस्तो स्वर्ग पाउनु भो ?’ सुंगुरनीले गौरबका साथ छातीमा हात राखेर भनि ‘मालिकको जुठोपुरा खाने अनि धेरै भन्दा धेरै पाठापाठी जन्माउने यहि नै हाम्रो धर्म हो । यति गरे पछी बाँचुन्जेल यो स्वर्ग त छंदैछ मरे पछी मालिक भगवानले घीऊ,दूध र महको समुद्र , लटरम्म दाख फल्ने बगैंचा , दाख मद्द्यको झरना बग्ने स्वर्गमा पठाई दिनु हुन्छ ।’
वाह वाह क्या मालिक पाउनु भएछ तपाइले , तपाई त भाग्यमानि हुनुहुँदो रहेछ अनि तपाईका पाठापाठीहरु नि ? मुसाले जिज्ञाशा राख्यो ।
ईश्वरको कृपामाथि शंका गर्ने पापी , नरकगामी हुन्छ । पाठापाठीहरुको बारेमा मैले चिन्ता लिनै पर्दैन । किनभने मालिक दयालु हुनुहुन्छ ।मालिकले हुर्केका पाठापाठीहरुलाई कतै काममा खटाइ दिनु हुन्छ र मेरो लागि च्वांक सुँगुरको व्यवस्था गरि दिनु हुन्छ । जय होस् ! तपाइको मालिकको भन्दै मुसा आफ्नो बाटो लाग्यो ।